महानगरीय वातावरणका विभिन्न आयाम

यतिखेर मुलुकको राजनीतिक वातावरण तातेको छ। आसन्न वैशाख ३१ हुने निर्वाचनमा उम्मेद्वारको तँछाडमछाँडको स्थिति छ। नेता कार्यकर्ता आ-आफ्नो पक्षको उम्मेद्वार छान्न व्यस्त छन् भने कोही छनौट भइसकेकाप्रति असन्तुष्टि पोख्दै छन्। अब केही दिनमै आफ्नो चुनावी नारा लिएर आमसभामा व्यस्त हुँदै छन्। निर्वाचनमा कतिपयलाई उम्मेद्वारी पाइनँ भन्ने छ भने कतिपय उम्मेद्वारहरुलाई भ्याइनभ्याइ छ।  मानिसहरु झुण्डझुण्डमा देखिन थालेका छन्। तराई क्षेत्रको माहोल बेग्लै छ। सरकारको जसरी पनि चुनाव गराइ छाड्नुपर्छ भन्ने छ भने अर्काथरी चुनावी रणनीति नै बिथोल्न उद्दत देखिन्छन्। यो माहोलले सामाजिक, सांस्कृतिक वातावरणमा केही धक्का पुर्‍याएको छ। राजनीतिक वातावरण पूर्णतः देशभर पोखिएको छ।

पोखरा सुन्दर, स्वच्छ र हराभरा छ। विश्वभरका मानिसलाई यसले आकृष्ट गरिरहेको छ। तर स्वस्थ्य समाज निर्माणका लागि प्रकृत्रि्रदत्त वातावरण सुन्दर हुनुमात्र परिपूर्णता हुँदैन। वातावरण सुन्दर बन्नुमा यसलाई स्वस्थ्य र जीवन्त राख्न स्वयं मानिस पनि जिम्मेवार छन्। आ-आफनो दायित्व सबैले निर्वाह गर्ने हो भने जुनसुकै प्रकारका कार्य पनि उदाहरणीय बन्ने गर्दछ। यतिखेर देखिएका मानवीय गतिविधि हाम्रो सरोकारको प्रश्न हो।

अधिकांश विदेशीलाई नेपालका मानिस कस्तो लाग्यो भनेर सोध्दा प्रायः एउटै जवाफ पाइन्छ, धेरै सहयोगी, धेरै राम्रा। यसको अर्थ हो, अन्य मुलुकका मान्छेका तुलनामा नेपालीको आतिथ्यता धेरै राम्रो छ। भौगोलिक भूदृश्यांकन र त्यस स्थानका बासिन्दाले स्थानलाई स्र्वर्गमय बनाएका हुन्छन्। विश्वमा हेर्ने हो भने नेपालीलाई सह्राहना गर्नेको संख्या कमी छैन। सामाजिक वा सांस्कृतिक पक्ष बलियो भएमा वातावरण अत्यन्तै सबैका लागि अनुकूल देखिन्छ।

वातावरण भन्नेवित्तिकै प्राकृतिक संरचना र मानवीय गतिविधिका साथसाथै जीवजन्तु र वनस्पतिको समष्टि स्वरुप भन्ने बुझिन्छ। प्राकृतिक संरचना छोडेर मानवीय क्रियाकलापमा राजनीतिक, सामाजिक, सांस्कृतिक, वातावरण पर्दछन्। आदर्श समाज निर्माणका लागि मानवीय गतिविधि स्वस्थ्य हुनु जरुरी छ। प्राकृतिक विविधता र हराभरा भएरमात्रै स्वस्थ्य वातावरणीय अवस्थाको आँकलन गर्न सकिन्न।

हाम्रो संविधानमा उल्लेख भएअनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। नेपालको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सबैसँग सुमधुर रहेको छ। तर वातावरणीय माहोल यहीबाट सुरु हुन्छ। धर्म निरपेक्षबारेमा अझै पनि गम्भीर विवाद रहेको छ।

वातावरणले ठूलो क्षेत्र ओगटेको छ। आफ्नैपनको सँस्कृति, रीतिरिवाज, धार्मिक सहिष्णुता, सामाजिक प्रचलन पनि प्रमुख कुरा मानवीय क्रियाकलापअन्तर्गतको वातावरणमा पर्दछ। सामाजिक वातावरणमा ऐतिहासिक र धार्मिकस्थल विकास निर्माण, कार्य, उद्यान, चरन, गुफा मूर्ति, मठमन्दिर, पाटीपौवा, धर्मशाला मनोरञ्जन स्थल पर्दछन्। त्यसरी सांस्कृतिक वातावरणमा सँस्कृति विशेष विभिन्न पक्षहरु जस्तैः बोलीचाली, भेषभूषा, कलाकौशल, चार्डपर्व, साहित्य, संगीत, बाजागाजालगायत पर्दछन्। हामीले गणतन्त्रको अभ्यास गरिरहँदा जातिजातिबीच विभिन्न अनावश्यक प्रसंग उठाएर कुनाकुनाबाट मान्छे उराल्यौं भने हाम्रो सहिष्णुता भत्कन सक्छन्। सँस्कृतिमै हलचल मच्चिरहन सक्छ। अझ निर्वाचनलाई लिएर जातियता, सँस्कृतिविरुद्ध आवाज उठाइयो भने मुलुक नै खाडलमा जाकिन सक्छ।

यस निर्वाचनमा मेयर वा अध्यक्ष विभिन्न पार्टीरुले उठाउने क्रममा पार्टीभत्र घात, अन्तघात तथा वल्लापल्ला घर छिमेकीबीच असहयोगको अवस्था आयो भने यसले सामाजिक वातावरणमा प्रभाव पर्दछ। मूल कुरो मिल्नु मिलाउनु जरुरी छ। समन्वय भावको आवश्यकता छ। राजनीतिक वातावरण स्वस्थ्य रुपमा भएमा आपसी सम्बन्ध बलियो रहन्छ भने विकास निर्माणको कार्यमा पनि अविराम गतिले अघि बढ्छ।

वातावरणीय प्रदूषण विश्वभरको गम्भीर समस्या हो। प्रकृतिमा वरपरको अवस्था परिवर्तन भइराख्छन्। हिजोको दिनजस्तो आजको हुँदैन। केही न केही हदमा न्यानो या जाडोको मात्रामा घटबढ हुन्छ। सामान्य अर्थमा वातावरणले वरपरको अवस्थासित सरोकार राख्दछ। वरपर भएका वस्तु नै वातावरणीय अवस्था हो। अर्ल्बर्ट आइन्स्टाइनले भनेका छन्-’मबाहेक वरपर जे छन्, त्यो वातावरणीय अवस्था हुन्।’ इन्साइक्लोपेडिया ब्रिटानिकामा उल्लेख छ-’वरपर घेरिएको वस्तु वा अवस्था, भौतिक, रसायनिक र जैविक तत्वको समागम जसले सामाजिक, सांस्कृतिक वा जीवनमा प्रभाव पार्दछ।’ वातावरणीय शब्दावलीमा हाम्रा वरपर निहीत समस्त प्राकृतिक तथा कृत्रिम वस्तुको अन्तक्रिर्याबाट सिर्जित परिवेश, जीवित वस्तु तथा यसलाई असर पार्ने सम्पूर्ण भौतिक वस्तुको समष्टि रुपलाई वातावरण वा पर्यावरण भनी अर्थ्याइएको छ।

विकसित मुलुकहरुमा सम्पन्न गरिने चुनाव प्रक्रिया र नेपालजस्ता विकासोन्मुख देशमा गरिने चुनाव एकदमै फरक छ। हामी उम्मेद्वारलाई सँगै लिएर हिड्छौं, भेला गछौ, आफ्नो पक्षमा पार्न भाषण गछौ तर अमेरिका, बेलायतजस्ता मुलुकमा प्रत्यक्षतः उम्मेद्वारलाई देख्न सकिन्छ। चुनावी प्रचारप्रसार टेलिभिजनद्वारा हुन्छ। आफ्नो व्यक्तित्व, काम कर्तव्य जनाउने भनाइ सञ्चारमाध्यमबाटै राख्ने गरिन्छ। जनताले उनीहरुको व्यक्तित्व हेरेर भोट हाल्ने गर्दछ। तर खुला चौरमा भेला गरेर आमसभा गरिँदैन। यतिसम्म कि सर्वसाधारण व्यक्तिलाई चुनाव आएको छ आएको छैन भन्ने कुराको पत्तै हुँदैन। हामी नारा र पार्टीका विश्वास राख्छौ। तर विकसित मुलुकहरु व्यक्तिको व्यक्तित्व हेरेर मतदान गर्छन्। जथाभावी टाँसिने चुनावी नाराका पोस्टरदेखि भाषण गर्नेसम्म हाम्रो देशमा प्रदूषण प्रदूषणै छ।

नेपालमात्र होइन विश्वका हरेक मुलुक आफ्नो वरपरको अवस्थासित अनभिज्ञ छैनन्। विश्वको सर्वाधिक चासोको विषय यही वातावरण हो। चाहे पोखराको कुरा गरौं या काठमाडौं, यात्रामा बसबाट तल ओह्राल्दाको अवस्था के कस्तो महसुस हुन्छ – शान्त, कोलाहल, भीड, गुम्म या खुलालगायत मात्र नभई मानव निर्मित भवन, गाडी, सडक या प्राकृतिक डाँडाकाँडा, हावा, पानी, वनस्पति, जीवजन्तु आदिका बारेमा जे अनुभूति गरिन्छ, ती वातावरणका अंग हुन्। त्यसैले वातावरण प्राकृतिक र मानव सिर्जित गरी दुर्इ प्रकारका छन्। पोखरा प्रकृत्रि्रदत्त र मानव प्रदत्त दुवै अवस्थामा रहेको छ।

पोखरा विश्वकै आँखा हो, जसको वर्ण अन्तर्राष्ट्रिय जगतमा समेत हुने गर्दछ। हामीले यसलाई प्राकृतिक नजरबाट आँखा डुलायो भने वरपर हरियाली पाखाकन्दरा, रहस्यमय गुफाहरु, हिमाच्छादित पहाड, समथर भूमि, खोला, नदीनाला, तरेली परेका फाँटहरु मनमोहक सिमसार जस्ता दृश्यावलीमा संसार भेटिन्छ। जैविक, अजैविक सम्पूर्ण हिमाली र पहाडी भूभागको संगमले जैविक विविधताको अनुपम स्थल पनि हो, पोखरा।

केही वर्ष यतादेखि पोखराको प्राकृतिक सुन्दरतामा उदण्ड मानवीय गतिविधिमा निलिर्प्त छ। शोभायमान बनाएको तालतलैया, नदी, पाखापखेरा विज्ञहरुको पर्खाइ छ। सहरले ताललाई धक्का दिएको छ। सेती नदीको स्वरुपलाई गलगैंटीले सिध्याइसक्न लागेको छ। महानगरका विज्ञहरु सुन्दरताकै परिकल्पनामा रुमलिँदा रुमलिँदा तालतलैयाले आफ्नो सतह घटाइसकेकी छन् भने तालले जलकुम्भी झार थुपार्न व्यस्त छिन्। राजस्व थुपार्न व्यस्त विचरा सम्बन्धित निकायहरु जल, थल, वायुसँग अनभिज्ञ छन्।

दार्जलिङस्थित गंगाजमुना पार्कमा त्यही रहेको ठूलो ढुंगा बाहिरबाट बारेर त्यसको महत्व बढाएको छ। ढिकी जाँतो, हलोजुवा, कोलढुंगा आदिजस्ता परम्परागत प्रचलनलाई देखाएर आयआर्जनको स्रोत बढाइएको छ। तालतलैयाको छेउछाउ तारबारसहित पैदलमार्ग बनाउन सके त्यस्तै देखासिकी गर्न सकेमा उदाहरणीय बन्न सक्छ। जापान, मलेशिया, हङकङ, भारतलगायत मुलुकमा पनि प्राकृतिक दृश्यांकनमा जोड दिएको पाइन्छ।

काठमाडौंमा भूकम्पले गर्ल्याम्म जाँदा दायाँबायाँका सबै छिमेकी घरहरु प्रभावित हुन्छन्। खाली जमिन कहीं कतै देख्न सकिन्न। कंक्रिटको सहरमा धुँवा र धूलो अत्यधिक छ। नाति पुस्ताहरुले गर्न सक्ने अवस्था केही छैन। तर यसको तुलनामा पोखरामा धेरै हदमा भवन, घरहरु केही सुरक्षित अवस्थामा देखिन्छ। तर पनि अव्यस्थित सहर हुनबाट जोगाउन विज्ञहरु लागिपरेका छन्, या त भवनको नक्सांकनमा होस् या सहरी मापदण्डमा। पुरानो मापदण्डलाई छोडेर अबका घरहरु अलि भित्रनै पसालेर घर बनाउनुपर्ने प्रावधान राखिएको छ। सडकका दायाँबायाँ घरै नबनेको अवस्थामा वैज्ञानिक ठरिन्छन् नै। तर ८० प्रतिशत घर बनिसकेको अवस्थामा केही घरमात्र भित्र पसालेर बनाउँदा व्यवस्थित सहरको परिकल्पना साकार हुन्छन् ?

समग्रमा भन्दा वातावरण शब्दावली प्रकृत्रि्रदत्त हावापानी, माटो, भू-सतह आदिमा मात्र सीमित छैन। जनसंख्या वृद्धिदर, प्राकृतिक स्रोत र साधनको दुरुपयोग, यातायात साधनको बढ्दो प्रयोग, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, विषाक्त औषधिको प्रयोग आदि स्वच्छ वातावरणलाई ध्वस्त पार्ने खालका क्रियाकलाप हुन्। यी क्रियाकलापमा नियन्त्रितरुपमा समयमै ख्याल गर्न सके वातावरण स्वस्थ्य बनाउन सकिन्छ। तर यसबाहेक मूल जड त्यस स्थानका विभिन्न थरीमा मानवको समष्टि स्वरुप पनि भएकोले देशको परिस्थिति र हरेक व्यक्तिको सोचाइ अनुसार कुनै स्थानको वातावरण स्वच्छ राख्न सकिन्छ। राजनीतिक वातावरण पनि शान्ति सुव्यवस्था कायम राख्न ठूलो मद्दत गर्दछ।

- कल्याण पन्त