महानगरीय ट्राफिक संयन्त्र

पृष्ठभूमिः

नेपालका हरेक शहरहरु बढ्दो सवारी साधनको चापले दिनानुदिन खुम्चन थालेका छन्। सडकको दायाँबायाँ पार्किङले निकै ठाउँ लिइसकेको छ। सरासर गन्तव्य स्थलमा पुग्न समय खर्चनपर्ने स्थिति छ। पहिलेपहिले निर्वाध रुपले हिंड्दै गरेको आजको पोखरा पनि हिजोको जस्तो छैन। केही वर्ष यता ट्राफिक जाम बढ्दो मात्रामा छ। तीन वर्ष अघिसम्म कुनै पनि चोकमा ट्राफिक जाम हुँदैन्थ्यो। तर आजभोलि मोटरगाडी र सडकको स्थिति बेग्लै छ।

ट्राफिक प्रहरीहरु बिहानदेखि रातिसम्म सडकमा व्यस्त छन् भने गाडीहरु झण्डै रातभर गुडिरहन्छन्। सीमित जनशक्तिलाई परिचालन गरेर दैनिक थपिदैं गरेका मोटरगाडीलाई नियन्त्रणमा लिनु आजभोलि त्यति सजिलो छैन। नियमानुसार कारबाही गर्नुपर्‍यो भने बाहृय हस्तक्षेप उत्तिकै चुनौतीपूर्ण छ। अझ आन्दोलनको समयमा ज्यान जोगाएर हिंड्न हम्मेहम्मे पर्ने स्थिति छ। जुलूसमा हैरानी खेपेका प्रहरीका गुनासा त्यत्तिकै छन् । सडक दुर्घटना पनि बढिरहेको छ भने चालकको लापार्वाही पनि चुलिदों क्रममा छ।

अहिले लगभग एक लाख ७० हजार सवारी साधन गण्डकी अञ्चलमा गुड्ने गर्छन्। यस अवस्थामा यातायात क्षेत्रले निकै फड्को मारिसकेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोटरगाडीमात्र नभई पैदल हिँड्ने बटुवाहरुलाई पनि यथोचित रुपमा सडक प्रयोग गर्न सिकाउनुपर्ने अवस्था छ। त्यसरी नै दुर्घटना भइराख्ने पोखराका पालिखेचोक, यम्दी, विजयपुर, सैनिकबस्ती, नयाँबजार, न्यूरोड, कुभिन्डे, बाग्लुङबसपार्क, चाउथे, एयरपोर्ट र नागढुङ्गामा कत्ति पनि दृष्टि घुमाउन नहुने अवस्था छ। पोखरा-लेखनाथ महानगरपालिका अन्तर्गत तनहुँ जिल्लाको कोत्रे, पर्वतको नयाँपुल र स्याङ्जा जिल्लाको कुभिन्डे क्षेत्रसम्म कास्की जिल्ला ट्राफिक प्रहरीले कार्य क्षेत्रमा नजर पुर्‍याएकै छन्।

२०३६ सालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना भए पनि पोखरामा प्रहरी निरीक्षक ०५५ सालमा मात्र आएर खटाइएको हो। त्यतिखेर ट्राफिक प्रहरीको संख्या २८ जना थियो हाल १९ वर्षपछि आएर यो ९० जनामा सीमित भएको छ। अधिकांश सडक साँघुरा भए पनि मोटरगाडीको संख्या त्यत्तिखेर कमै थिए। धेरै गाडी नभएको अवस्थामा पनि मुख्यमुख्य स्थानमा ट्राफिक प्रहरीले धानेकै थिए र आवश्यक स्थानमा त्यसै अनुसार परिचालित हुन्थे। तर आजको परिस्थिति भने भिन्न छ। राजनीतिक माहोल र उदण्ड प्रवृति हावी छ। सामाजिक सचेतना पनि अझै परिष्कृत खालको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीमा कार्यरत ९० जनामध्ये ५८ जना ट्राफिक प्रहरी जिल्ला कार्यालयमै छन्। यसबाहेक बगर (६ जना), बैदाम (९जना), डाडाँकोनाक (५ जना), औद्योगिक क्षेत्र (४ जना), छोरेपाटन (५जना), गगनगौंडा (३ जना), नयाँपुल -१ जना) मा ट्राफिक प्रहरीहरु कार्यरत छन्। पृथ्वी राजमार्ग (२३ किमी), सिर्द्धार्थ राजमार्ग (१७ किमी) र भूपिशेरचन राजमार्ग (४४ किमी) मा समेत ढाकिन बाध्य हुनुपर्ने अवस्था छ। प्रहरी नायव निरीक्षक शिवबहादुर थापा भन्छन्, ‘कहिलेकाहीं विभिन्न स्थानमा एकै समयमा कुनै पनि घटना घटेमा पर्याप्त सवारी साधन नहुँदा अप्ठ्यारो परेका परिस्थिति छन्। सवारी नियमको जानकारी नहुँदा पैदलयात्री र चालकसित अनावश्यक झञ्झट व्योहोरिरहनु परेको अवस्था छ।’ कार्यालय जीर्ण अवस्थामा छ, सुत्ने, बस्ने, खाने त कुरै छोडौं, भवनमा समातिएका मोटरगाडीहरु राख्ने आफ्नो ग्यारेज समेत छैन।

गत वर्षका कार्य:

ट्राफिक प्रहरी कार्यालय, कास्कीले गत वर्ष गरेका केही उदाहरणीय कार्यहरु छन्। पोखरा लेखनाथ महानगरपालिकाको समन्वयमा ठाउँठाउँमा जेब्राक्रस, रोड मार्किङ  पार्किङ लाइन कोरिए। ठाउँठाउँमा क्याट आइ राखिए। नियमित रुपमा मापसे जाँच, ट्याक्सी मिटर, चर्को भाडा असुलीलाई कार्वाही आदि गरिए। अझ महत्वपूर्ण कुरो त सभागृहचोक, पृथ्वीचोकका आइल्यान्ड हटाइएको छ भने सिर्जनाचोक र महेन्द्रपुलमा रेलिङ निर्माण गरिएको छ। ट्राफिक व्यवस्थापन अन्तर्गत हर्न निषेध, मिटर ट्याक्सी लागू, ८ स्थानमा स्मार्ट आइल्यान्डको स्थापना, हेभी सवारी साधनलाई बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नगर प्रवेशमा निषेध, लेकसाइड क्षेत्रमा शुक्रबार र शनिबार ५ बजेदेखि राति १ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको छ। यसबाहेक अन्य नियमित रुपमा गरिने कार्यहरु सम्पन्न गरिदैं आएको छ।

स्वतःस्फूत र सुरक्षित ट्राफिक जामको व्यवस्थित प्रवाह गर्ने मुख्य लक्ष्य बोकेको जिल्ला ट्राफिक कार्यालयले अन्य प्रतिबद्धता पूरा गर्न सदा तत्पर छ। ट्राफिक जामलाई व्यवस्थित गर्ने, दुर्घटनामा न्यूनता ल्याउने, विना पूर्वाग्रही भएर वैयक्तिक लाभ वा भेदभावरहित ऐन, नियमानुसार सेवा प्रदान गर्ने, आइपर्ने चुनौती समयउपर व्यवस्थित तवरले समाधान गर्ने ेजस्ता दायित्व जिल्ला ट्राफिक कार्यालयले बोकेको छ।

ट्राफिक प्रहरीका काम, कर्तव्यः

नागरिक वडापत्रमा उल्लेख गरिए अनुसार ट्राफिक कार्यालयले सवारी दर्ता किताब, सडक इजाजत पत्र, सवारी चलाक अनुमति पत्र हराएमा सिफारिस दिने, ट्राफिक सम्बन्धी जानकारी दिने, सडक अवरोध भएमा खुलाउने दायित्व ट्राफिक प्रहरीको हो। यसबाहेक सवारी नियम उल्लङ्घन गरेमा आवश्यक कारवाही गरेपछि कागजपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता दिने, कारवाहीका लागि यातायात कार्यालय पठाउने, सवारी दुर्घटना प्रमाणित गर्ने, दुर्घटनाको अनुसन्धान तथा कारबाही गर्ने, चोरी, दुर्घटना गरी फरार, सामान छुटेको जस्ता कार्यका लागि तत्काल पक्राउ गर्ने, सार्वजनिक स्थानमा अनाधिकृत रुपमा पार्किङ गरी राखेमा सवारी आवागमनमा बाधा पुर्‍याउनेलाई हटाउने, गलत स्थानमा राखेका सवारी साधनलाई सिक्री लगाएकोमा सिक्री खुलाउने आदि कार्यहरु निःशुल्क रुपमा सेवा दिने कार्य पर्दछन्। यस अन्तर्गत सवारी चालक अनुमति पत्र हराएमा आवश्यक कागजात निवेदन, परिचयपत्र, नागरिकताको प्रतिलिपि प्राप्त गरेको ७ दिनभित्रमा सिफारिस दिने र दुर्घटनाको अनुसन्धान तथा कारबाहीमा सम्बन्धित कागजात तथा दुवै पक्ष भएमा बढीमा ३ दिनभित्रमा दिनुपर्ने कानूनी व्यवस्था छ। तर यसबाहेक अन्य उल्लेखित कार्यका लािग तत्काल गरिने कार्यहरु छन्। गत वर्ष सडक दुर्घटनामा ७० जनाको ज्यान गएको तथ्याङ्क छ।

पीडित पक्षले ट्राफिक पुलिसलाई मौखित वा लिखित रुपमा जानकारी गराउँदा गराउँदै पनि कुनै वास्ता नगरेको खण्डमा ट्राफिक प्रहरीको बिरुद्धमा प्रहरी निरीक्षकलाई सम्बोधन गरी लिखित वा मौखिक निःशुल्क रुपमा उजूरी  दिने व्यवस्था पनि छ।

कसुर अनुसार जरिवानाः

पोखरामा आव २०७४/०७५ मा  मोटरगाडी -ट्रक, बस, जीपकार, टयाक्टर, मोटरसाइकल) ३७ हजार २ सय ५१ वटा कारबाहीमा परे। यसबाट २ करोड ६६ लाख ५६ हजार ५ सय रुपैंयाँ राजस्व उठेका थियो। सडकमा ट्राफिक प्रहरीले सवारी साधनलाई उचित तरीकाले प्रयोग नगरेमा जरिवानाका आधारमा गर्नसक्ने तीन प्रकार कसुरहरु वर्गीकरण गरेका छन्। तोकिएभन्दा मालसामान वा यात्री राखेमा, अरु सवारी साधनलाई खतरा हुने गरी चलाएमा वा आवागमनमा बाधा पुर्‍याएमा, छतमा यात्रु राखिएको खण्डमा यस अनाधिकृत कार्यको लागि ५ सय रुपैंया जरिवान गरिन्छ। ्

यसबाहेक बिना लाइसेन्स चलाएमा, मापसे गरेमा, लाइसन्स नभएका व्यक्तिलाई सवारी साधान चलाउन दिएमा, सार्वजनिक स्थलमा बाधा पुग्ने गरी मालसामान वा पार्किङ गरेमा एक हजार रुपैंयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

त्यसरी नै ट्राफिक इशारा वा संकेत उल्लङ्घन भएमा, निषेधित स्थलमा पर्किङ गरेमा, गलत साइडतिर चलाएमा, रातमा बत्ति नबाली चलाएमा, प्लेट नराखी सवारी साधान चलाएमा, बेल्ट नबाँधी वा हेल्मेट नलगाई चलाएमा, लापारवाहीका साथ चलाएमा, ठीक नभएको साधन चलाएमा रु ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ।

यसका अतिरिक्त निर्धारित भन्दा बढी भाडा लिएमा, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा वा साधनको तोडमोड गरेमा, नम्बर प्लेट आफू खुसी राखेमा यातायात कार्यालय मार्फत जरिवाना गरिने व्यवस्था छ।

समस्या र समाधानः

शान्तमय सुन्दर पोखरा बनाउन ट्राफिक प्रहरीको ठूलो हात रहन्छ। पर्यटकीय शहरमा यथेष्ट जानकारी दिने आधिकारिक स्रोतका हकदार ट्राफिक पनि हुन्। पर्यटकलाई ट्याक्सीको बार्गेनिङले दिक्क पारेका कयौं उदाहरणहरु छन्। बसपार्कमा झर्नासाथ पाखुरा तानेर होटल देखाउने परम्पराको अन्त्य हुन जरुरी छ। अझै पनि ट्याक्सी मिटरमा जान गाह्रो मान्ने अवस्था छ। उजूर गर्ने निकाय छ भन्ने जान्दाजान्दै पनि दोब्रिएर बस्नुपर्ने बाध्यता धेरै छन्। पार्किङलाई व्यवस्थित गराउन हरसम्भव प्रयास गरे पनि नगरपालिका र अन्य निकायहरुका सक्रियता पनि उत्तिकै आवश्यक छ। समाधान लागि विभिन्न निकायसित समन्वय र सवारी नियम अक्षरशः पालना गराउनु नै हो।

अन्तमा ट्राफिक हाम्रै साथी हुन्। पोखराका सडकलाई शान्त, सुन्दर, स्वच्छ  र सडकको स्तरोन्नति गर्न अझै धेरै कार्य बाँकी छ। ट्राफिक लाइट तथा सिसि क्यामरा अत्याधिक सवारी चाप र साँघुरो सडकलाई ध्यान दिन सकेमा पोखरा समृद्ध र शान्त बनाउन सकिन्छ।

- कल्याण पन्त