महषि शौनक र सूतजीको सम्वाद

नैमिषारण्य क्षेत्र अठ्ठासी हजार ब्रहृमचारी ऋषि महषिर्हरुको जमघट हुने स्थलो हो। यो क्षेत्र भारतको उत्तर प्रदेशको राजधानी शहर लखनऊबाट नजिकै पर्दछ। पहिलेकै कुरो हो भगवान् श्रीविष्णुले अत्यन्तै छोटो समयमा बल नाम गरेको दैत्य र उसको सैन्यशक्ति समेतलाई तृण समान मानी निमेष भरमै संहार गर्नु भएकोले त्यस क्षेत्रको नाम नै ‘नैमिषारण्य’ रहन गएको हो भन्ने शास्त्रीय मान्यता छ। धार्मिक दृष्टिकोणमा यो ठाउँबढी नै पवित्र भएकाले सदैव ऋषि महषिर्हरुको ठूलो जमघट हुने स्थलोका रुपमा परिचित छ।

यही नैमिषारण्य क्षेत्र हो, जहा कुलपति महषि शौनकजीको नेतृत्वमा बाह्रवर्षे सत्र (बहुजन सहयोगद्वारा बहुजनलाई अन्न वस्त्र वितरण गर्ने, बहुशिक्षा प्रदान र बहुजन तृप्तकारी महोत्सव) चलिरहेको हुन्थ्यो। अर्कोतर्फ यिनै महषि शौनकजीकै सक्रियतामा महषि वेदव्यासद्वारा निर्मित महाभारत लगायत अन्य समस्त पौराणिक ग्रन्थका कथाहरुको प्रारम्भ पनि यही क्षेत्रमा यिनै शौनक र सुतजीको प्रश्न(उत्तर सम्वादबाट शुरु भै अगाडिबढ्दै आएको थियो।

आजका हामी समस्त पौराणिक श्रोतागणहरुले यिनै प्रश्नकर्ता र उत्तरदाताका सम्वाद बीचको सवालको फलस्वरुपनै ती सबै पौराणिक कथाहरुको रहस्य र जानकारी पाउन सकेका हौं। यदि महषि वेदव्यासका शिष्य सूतजीसँग ती पौराणिक प्रश्नहरु महषि शौनकजीले नराखिदिएको भए ती गूढ प्रश्नका कथाहरु कुन किसिमबाट वाहिर श्रोताहरु समक्ष आउदथे, अथवा सूतजीमै सीमित पो हुन पुग्दथे कि यो कुरो यसै भन्न सकिँदैन। यसैले विभिन्न पौराणिक जिज्ञासाहरुका साथ प्रश्नकर्ता शौनकजी र ती प्रश्नहरुको निरुपणकर्ता सूतजी यी दुवै नै पौराणिक साहित्यमा उच्च सम्मान ओगट्न पुगेका छन। अतः पाठकहरुका माझ यी दुवैको चिनारी गराउने अभ्रि्रायले यो छोटो आलेखमा केही चर्चा र परिचर्चा गरिने छ।

महषि शौनक नैमिषारण्य क्षेत्रका अठ्ठासी हजार ब्रहृमवादी ऋषिहरुमा प्रधान ऋषि मानिन्छन्। भृगुवंशमा उत्पन्न भएका कारण यिनलाई भार्गव र शुनक ऋषिर्का पुत्र भएकाले यिनको  नाम शौनक रहन गएको हो। समस्त पुराणहरु र महाभारतका कथाहरु यिनले सूतजी र उनैका पुत्र सौति -उग्रश्रवा) का मुखवाट सुनेका थिए। हिजो मात्र होइन, आज पनि पुराणहरु सुन्ने जुनसुकै व्यक्ति यिनको नामवाट परिचित छन। समस्त पुराणहरुमा ‘शौनक उवाच’ पहिले नै आउदछ। यदि हामीले कुनै पनि पुराणमा भगवान्का बारेमा वा व्रतहरुको महात्म्य अथवा तीथहरुको महिमा जे सुकै सुन्ने चाहाना राख्दछौ, त्यो सबै यिनै शौनकजी कै कृपाको फल हो। यी ऋग्वेदी ऋषि भएकाले यी आफै पनि विद्वान थिए र विद्वतापूर्ण तवरले सूतजी समक्ष विभिन्न पौराणिक प्रश्नहरु राख्दथे। सुतजीले पनि ती प्रश्नहरु पौराणिक हुन होइनन् यकिन गरी प्रश्नकर्ताको आशयलाई बुझी आफ्ना गुरु वेदव्यासजीले पढाएको स्मरणका आधारमा ती पौराणिक प्रश्नहरु माथि गुरुजीको आशीर्वादका फलस्वरुप जस्ताको तस्तै व्याख्या गर्ने क्षमता राख्दथे।

महषि शौनकजीको अधिकांश समय भागवत् कथा श्रवणमा नै व्यतीत हुन्थ्यो। यिनी विशुद्ध संयमयुक्त र भगवत्लीला कथा रसिक स्वभावका ऋषि हुन। आफ्ना दैनिक हवन आदि नित्यकर्म गरिसकेपछिको अन्य समय कथामा नै बिताउँदथे र यसैमा तल्लीन रहन्थे। पुराण कुन तरिकाले सुन्नु पर्दछ, कथामा कुन प्रकारले एकाग्रता राख्नुपर्दछ र समयको कसरी सदुपयोग गर्नु पर्दछ, भगवान्को भजन कीर्तनमा कस्तो निष्ठा राख्नुपर्दछ जस्ता समस्त कुराहरुको शिक्षा हामीलाई यिनै शौनकजीको चरित्रबाट मिल्दछ।

रोमहर्षण सुतजातिका भएकाले यिनी ‘सूतजी’ कै नामबाट परिचित छन्। यही नामले नै यी पौराणिक साहित्यमा चिनिन्छन्। यी भगवान् वेदव्यासजीका परमप्रिय शिष्य थिए। वेदव्यासले आफ्ना शिष्यहरु मध्ये ऋग्वेद पैललाई, सामवेद जैमिनिलाई, यजुवेद वैशांपायनलाई, अर्थववेद सुमन्तुलाई र महाभारत सहितका समस्त पुराणहरु यिनै रोमहर्षण सुतजीलाई पढाएका थिए। यिनको गुरुभक्ति देखेर भगवान् व्यासले “तिमी समस्त पुराणहरुको वक्त्ता होवौला।” भन्ने आशीर्वाद दिनुभएको थियो। यही आशीर्वादका फलस्वरुप यी समस्त पुराणहरुका श्रेष्ठवक्ता मानिन्थे। यी कोमल र पवित्र हृदयका वक्त्ता थिए, यिनी सदा ऋषिहरुकै आश्रममा घुमिरहन्थे र सबैलाई पुराणका कथाहरु सुनाइ रहन्थे। ऋषि महषिर्हरुको खुसी नै आफ्नो खुसी मान्दथे।सूतजातिका भएर पनि पुराणको वक्त्ता भएका कारण समस्त ऋषिहरु यिनलाई ठूलो आदरका साथ उच्चासनमा राख्दथे।

सूतजीका कथाहरु अद्भूत-अद्भूत हुन्थे, आसपासका सवै ऋषिगणहरु ती कथा सुन्नका लागि अमुक ठाउँमा सूतजी आएका छन् भन्ने कुरोको जानकारी पाउँना साथ हतार हतार एकत्रित भै सूतजीलाई घेरी ती विचित्र(विचित्रका कथाहरु सुन्नका लागि लालायित भै बस्दथे। पहिले त सूतजी समस्त ऋषिगणहरुको अभिवादन गर्दथे, उहाँहरुसँग कुशल मंगलका प्रश्नहरु सोधी ऋषिगणहरुलाई सन्तुष्ट गर्दथे। त्यसपछि बढी नै मधुर स्वरमा ( हे ऋषिगणहरु हो ! हजुरहरु के कुन किसिमको कथा मबाट सुन्न चाहनुहुन्छ – यिनको प्रश्न सुने पछि सवै ऋषिगणहरु महषि शौनक तर्फ नजर राख्दथे। त्यसपछि ऋषिहरुमा श्रेष्ठ महषि शौनकजीले सवैको आशयलाई बुझी शान्त स्वरमा आफ्ना प्रश्नहरु राख्दै भन्थे कि रोमहर्षक सूतजी, यदि यी मेरा प्रश्नहरु पौराणिक हुन र पुराणहरुमा  यी गाइएको छन् भने यी प्रश्नहरुको उत्तर दिनुहोस्।

समस्त पुराणहरुमा नगाइएको के नै कुरो होला र ? तै पनि पहिले सूतजी उनका प्रश्नहरुको अभिनन्दन गर्दथे, र ती प्रश्नहरु माथि विचार राखिसकेपछि भन्दथे- हजूरका यी प्रश्नहरु सवै पौराणिक नै हुन्। यी प्रश्नहरुको सम्वन्धमा मैले आफ्ना गुरु भगवान् वेदव्यासजीबाट जे सुनेको छु, ती कुराहरु हजुरहरु समक्ष भन्न गइरहेको छु। तपाईहरु सावधान भएर सुन्नुहोस्। यति भन्दै सूतजी समस्त प्रश्नहरुको उत्तर दिँदै कथाहरु सुनाउँदथे। सबै ऋषिगणहरु एकचित्त हुदै कथाहरु सुन्दथे। यस प्रकारले सूतजी कथाहरुकै माध्यमबाट सदा भगवत्लीला कीर्तन मै लागिरहन्थे। यसैले गर्दा नैमिषारण्य क्षेत्र ऋषि महषिर्हरुले ढाकिएको थियो।

एक समयको कुरो हो, सूतजी नैमिषारण्य क्षेत्रमै ऋषि महषिर्हरुको ठूलो जमघटका बीच उच्च व्यासासनमा बसेर पौराणिक कथाहरु भन्दै हुनुहुन्थ्यो। यही समयमा विभिन्न क्षेत्रहरुको यात्रा गर्दै वलरामजी पुग्नुभयो। ऋषिहरुले शेषावतार बुझी वलरामजी आएको देखेर सवै ऋषि महषिर्हरु उठी उहाको अभिवादन गरे। तर सूतजी व्यासासनमा वसेर पौराणिक कथाहरु भनिरहनु भएकोले उहाँ उठ्नुभएन र उठ्न आवश्यक देख्नु भएन। बलरामजीले आफ्नो ठूलो अपमान सम्झी तत्काल आवेशमा आई सोही समयमा नै सूतजीको शिर काटिदिनु भयो ! यो घटनाले सवै ऋषिहरु ज्यादै दुःखी भए अनि वलरामसँग भने”तपाईले यो राम्रो काम गर्नु भएन।” यिनलाई उच्चासनमा हामीले नै राखेका हौं। तपाईलाई अब ब्रहृमहत्याको पाप लाग्दछ, तपाई पापको प्रायश्चित्त गर्नुहोस्।” ऋषिहरुका कुरोलाई शिरोधार्य गर्दै वलरामजी ऋषिहरुले बताएको प्रायश्चित्त गर्न तिर लागे।

व्यासासन खाली भएकाले ‘आत्मा वै जायते पुत्रः’ भन्दै रोमहर्षण सूतजीका ठाउँमा उनका प्रिय पुत्र उग्रश्रवा (जसलाई सौति पनि भनिन्छ)लाई सो आसनमा विराजमान गराइयो। त्यस समय देखि यिनै उग्रश्रवा पुराणहरुको वक्त्ता भए। यिनमा पनि पिताका समस्त गुण मौजूद थिए। यसैले यिनले पनि पिता समान नै पुराणहरु भन्ने क्षमता राख्दथे। अन्त्यमा, यहा विचारणीय कुरो यो छ कि जुन पुराणहरुमा प्राय गरी सूतजीका नामबाट सम्बोधन भएका छन्, ती सबै पुराणहरु वक्त्ताको रुपमा बाबु रोमहर्षणजीबाट र जुन पुराणमा सौतिका नामबाट सम्वोधन भएका छन्, ती पुराणहरु र महाभारतको कथा समेत पुत्र उग्रश्रवबाट वाचन गरिएका हुन्।

- कुलप्रसाद भण्डारी