भानुभक्त र उनका केही कविता

एक्दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरुँ हित् भनी।

ब्रह्मा ताहिं थिया पर्‍या चरणमा खुसी गराया पनि।।

यी पङ्क्ति आदिकवि भानुभक्त आचार्यद्वारा रचिएका हुन्। म सानो हुँदा उनका यी र अन्य यस्तै कविताहरू पढेर मुग्ध हुन्थेँ र कण्ठस्थ पार्थे आज पनि म उनको कविता पढेर भावुक हुन्छु। तर आदिकवि भानुभक्त आचार्यका विषयमा त्यति जानकारी थिएन। दश कक्षामा पुग्दा गुरु गोपीराज वाग्लेबाट उनका विषयमा केही जानकारी पाएको हुँ। जेहोस् यस आलेखमा म उनै आदिकवि भानुभक्त आचार्यको र उनका केही रचनाका बारेमा केही लेख्ने जमको गरेको छु। हुन त महाकवि देवकोटाले भने झैँ आजभोलि हामी भानुभक्त पढेर शिक्षा शुरु गर्दछौं र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौं। तापनि नेपाली साहित्यका प्राथमिक कालका महान् कवि भानुभक्त आचार्यप्रति शब्दद्वारा श्रद्धासुमन अपण गर्नु र आफ्नो कर्तव्य सम्झन्छु।

भानुभक्तलाई वि.सं. १९४८ मा नेपाली साहित्यका युवाकवि मोतीराम भट्टबाट सबभन्दा पहिले आदिकविको उपाधि प्राप्त भएको हो। भानुभक्त भन्दा अगाडि थुपै्र नेपाली कविहरू भएका कारण उनको आदिकवित्व विवादस्पद बनेको छ। तर धेरैले भानुभक्तलाई आदिकवि मान्नुपर्छ भनेर आफ्नो सहमति प्रकट गरेका छन्। मेरा विचारमा पनि भानुभक्तलाई आदिकविको पगरी गुँथाउनु न्यायोचित ठान्दछु किनभने नेपाली साहित्यको इतिहास केलाउँदै जाँदा यिनका रचनामा पाइने सरलता, सहजता र सरसता एवम् ठेट नेपाली भाषाको प्रयोग उनीभन्दा अगाडिका साहित्यकारमा पाइँदैन। जतिबेला भाषाको बोली फुटेको थिएन, वाणीले स्वर पाएको थिएन। त्यति बेला नै भानुले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरे। रामायणबाहेक उनका बधूशिक्षा, भक्तमाला, रामगीता र प्रश्नोत्तरी नामक कृति प्रकाशित छन्। साथै उनका थुप्रै फुटकर कविताहरू पनि प्रकाशित छन्।

यसरी नेपाली साहित्याकाशमा भानुका रूपमा उदाएका भानुभक्त आचार्यको जन्म वि.सं. १९७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको थियो। उनका पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावती हो। उनका बाजे श्रीकृष्ण आचार्य संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए। भनिन्छ, उनकै सानिध्यमा रहेर भानुभक्तले अनौपचारिक शिक्षा घरमै आर्जन गरेका थिए। उनकै प्रेरणाबाट साहित्यिक यात्रामा लागेर भानुभक्त आचार्यले माथि उल्लेखित तिनै पुस्तक पुस्तिका र फुटकर कविता लेखी भानुभक्त नेपाली साहित्यका अमर प्रतिभा बनेर चम्किएका छन्। उनका कवितामा काव्य सौन्दर्यको राम्रो छनक पाइन्छ। साथै, देशप्रेम, देशभक्ति, मौलिकता र सुधारवादी चेतना पाइन्छ। त्यसैले उनलाई नेपालीहरूका बीच भाषिक र सांस्कृतिक एकताका सूत्रधार पनि भनिन्छ। उनको भाषा छन्द, शैली, व्यंग्य चेत आदि सौन्दर्य पक्षको विश्लेषण यस आलेखमा गर्न नसकिए तापनि केही सौन्दर्य पक्षको उदाहरण प्रस्तुत गरिन्छ।

रोज् रोज् दर्शन पाउछू चरणको ताप् छैन मनमा कछू

रात्भ नाच् पनि हेर्र्छुुखर्च नगरी ठूला चयनमा मछू।

लामखुट्टे उपिया उडुस्र् इ संगी छन् यिनकै लहड्मा बसी

लामखुट्टेहरू गाउँछन् यि उपियाँ नाच्छन् म हेर्र्छुुबसी ।।

प्रस्तुत कविता भानुभक्तले आफू थुनामा परेका बखत लेखेका हुन्। मोतीरामका अनुसार वि.सं. १९०७ ताका भानुले तराईतिर दुर्इ वर्ष सरकारी जागिर खाएथे। त्यसैबेला कुमारी चोकमा आई आफूले दुर्इ वर्ष काम गरेको कागजपत्र र आम्दानी खर्चको स्याहा बुझाउँदा केही सरकारीया बाँकी लागेर यिनी पाँच महिनासम्म कुमारी चोकमा थुनिएछन्। त्यसै सन्दर्भमा उनले तत्कालीन प्रशासनिक ढिलासुस्तीलाई व्यंग्य प्रहार गरेको एक टुक्रा यहाँ उद्धत गरिन्छ।

बिन्ति डिठ्ठा विचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली

बोल्छन् ता ख्याल गर्‍या झैँ अलिपछि दिन दिन् भन्दछन् भोलि भोलि।

की ता सक्तीन भन्नु कि त छिनिदिनु क्यान भन्दछन् यि भोलि

भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।

यसैगरी राम वन जाने बेलामा कौशल्याले उनलाई केही खाएर जाऊ भन्दा रामले दिएको जवाफ कति छोटो र मीठो बनाएर भानुभक्तले अयोध्या रामायणमा लेख्छन्।

गयो खान्या बेला मकन त मिल्यो राज्य वनको

भरत्ले राज् पाया यही बसी गरुन् राज्य जनको।

विदा बक्सि जावस् खुसिसित म जान्या छु वनमा

म चाँडै फिर्न्याछू विरह नरहोस् कत्ति मनमा।।

यसको साथै, आदिकवि भानुभक्त आचार्यले हाम्रो राजधानी कान्तिपुरलाई स्र्वर्गको राजधानी अमरावतीसँग र बालाजुलाई स्र्वर्गको रमणीय स्थलसँग तुलना गर्दै नेपाललाई स्र्वर्ग र नेपालीलाई देवताको रूपमा उभ्याएका छन्। उदाहरणार्थ उनका केही कविता

यति दिनपछि आज बालाजी देख्याँ

पृथिवी भरीको स्र्वर्ग हो जानी लेख्याँ

चपला अवलाहरू एक सुरमा

गुनकेसरीको फूल ली शिरमा

हिँडन्या सखी ली कन ओरिपरि

अमरावती कान्तिपुरी नगरी।

साहित्य र संस्कृतिको विकास विना कुनै पनि राष्ट्रको विकास हुन सक्दैन तसर्थ नेपाली भाषाको शुद्ध रूपको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यका विषयमा यो छोटो आलेख प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित ठान्दछु। हुन त भानुभक्त आचार्य देवता थिएनन्। उनी हामी जस्तै मानिस थिए। भनिन्छ, मिथ्या प्रशंसा एउटा श्राप हो। यो धु्रवसत्य कुरालाई मनन गर्दै अब म आदिकवि भानुभक्तले त्यतिखेरको नेपाली समाजमा चलिरहेको कतिपय कुरीतिहरूको आलोचना गर्दा गजाधर सोतीका स्त्रीले उनलाई साँझमा बास नदिँदा

गजाधर सोतीका घरबूढि अलछिन् कि रहिछन्

नरक् जानलाई सबसित बिदावारी भइछन्।

जस्तो कविता अंश नलेखेको भए हुन्थ्यो। त्यसैगरी

हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुने हाँस्दछन्

वेश्या नै नहुन तथापि घरको काम् ती सबै नास्तछन्।।

यी पंक्ति पनि नलेखेेकै भए जाती हुन्थ्यो। जे होस् आदिकवि भानुभक्त जनताको कवि भएकाले उनी महान् छन्। उनी नेपाली भाषाका पिता हुन्। नेपाली साहित्य संसारका नायक र अमर गायकका साथै राष्ट्रिय विभूति हुन्। अन्तमा समालोचक सूर्यविक्रम ज्ञवालीको भनाई सापटी लिएर म पनि भन्छु, ‘भानुभक्त नेपाली साहित्यका धु्रवतारा हुन् कहिल्यै ननिभ्ने अग्निशिखा हुन् औं मानिस मात्रका हृदयलाई शीतल पार्ने चन्द्र ज्योत्स्ना हुन्।’

- सूर्य खड्का बिखर्ची