भगवान् श्री कृष्ण र उहाँको गीता

भगवान् श्री कृष्ण दुष्ट र पापीहरुवाट आक्रान्त भै दुःखित बनेकी पृथ्वीमाताको भार हरण गरी साधु सन्तको रक्षा गर्दै धर्मको स्थापना गर्न सम्पूर्ण कलाले यस धरतीमा अवतीर्ण हुनु भएको हो। द्वापर युगको अन्त्यतिर आज भन्दा पाँचहजार वर्ष पहिले वसुदेव र देवकीको पुत्र रुपमा भारत वर्ष मथुरा क्षेत्रको एक जेलखानामा भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्रमा रातको समय भगवान् श्री कृष्णले यस धरतीमा पदार्पण गर्नु भएको थियो।

महषि व्यासले श्रीमद्भागवत पुराणको दशम स्कन्धको प्रथम अध्याय देखि नब्बे अध्याय सम्म भगवान् श्री कृष्णको वारेमा विषद व्याख्या गरेका छन्। भगवान् जन्मेको केही समय पछि नै उहाँलाई गोकुलका नन्द बाबा र उनकी धर्मपत्नी यशोदाको घरमा पुर्‍याइयो र उनीहरु कै पुत्ररुपमा भगवान् हुर्कदै र बढ्दै आउनु भयो। श्री कृष्णको जीवन सानै देखि नै निकै संघर्षशील र कठोर देखिन्छ। सानो दूधे बालक देखि नै मार्न दुष्ट कंसले आफ्ना बलशाली विभिन्न अनुचरहरुलाई खटायो। तिनीहरु संगको संघर्ष र भिडन्तमा सवैलाई परास्त गरी भगवान् अगाडि बढ्दै आउनु भयो।

भगवान् श्री कृष्णले किशोर अवस्थामा दुष्ट मामा कंसको बध गरे पछि भने उहाँको जीवनले मोड परिर्वतन गर्दछ। उहाँले करिव करिव गोकुल क्षेत्रलाई सदाको लागि त्याग्नु हुन्छ। बालसखी राधाजी समेतका धेरै गोप किशोरीहरुले उहाँसंगको विछोडमा पछि सम्म नै निकै आँसुका धाराहरु वगाए। तर यिनै राधाजी भगवान् श्री कृष्णको आल्हादिनी शक्ति मानिन्छिन्।

कृष्णले ब्राह्मण सान्दिपनि मुनिबाट छोटै अवधिमा चौसठ्ठी विद्या, सम्पूर्ण वेदशास्त्र, सारा नीतिशास्त्रहरुको अध्ययन गरी अष्टसिद्धि समेतप्राप्त गर्नु भएको थियो। यसपछि द्वारकामा गृहस्थ जीवन अपनाई रानीहरुका साथ बस्न लाग्नु भयो।

कंसको मृत्युले उसका आफन्त र मित्र राजाहरु समेत मिली ससुरो जरासन्धको नेतृत्वमा तेर्इस अक्षौहिणी सेनाद्वारा द्वारका माथि आक्रमण गर्‍यो। यो आक्रमणमा उसको त्यस विशाल शैन्य शक्तिलाई ध्वस्त पारी श्री कृष्णले जरासन्धलाई जीउँदै छाडिदिनु भयो। यसक्रमले जरासन्धले सत्रौ पटक सम्म द्वारका माथि आक्रमण गरिनै रह्यो। श्री कृष्णले पनि पटकै पिच्छे उसको विशाल सैन्यलाई सखाप पारी जरासन्धलाई पुनः छाडिदिँदा द्वारकावासी समेत आर्श्चर्यमा पर्दथे।

अद्भुत अद्भुत कर्म गर्ने भगवान्ले जरासन्धलाई मार्न नसक्ने कुरै थिएन, तर पटकै पिच्छे छाडि दिनाको कारण सवै जान्न चाहन्थे। जरासन्धलाई नमारी छाडि दिँदा उसले विभिन्न देशवाट विशाल सैन्यशक्ति एकत्रित गरी ल्याई पुनः लड्न आउने हुँदा पृथ्वीको भार समेत छिमलिदै जाने भएकोले नै जरासन्ध वाँचिरहेको थियो। पछि भगवान्ले भीमसेनको हातबाट जरासन्धको अन्त्य गराउनु भयो।

भगवान् जुन प्रयोजनको लागि यस धर्तीमा आउनु भएको थियो ती सवै प्रयोजन सम्पन्न गर्ने सन्दर्भमा दुष्ट, पापी, अधर्मी राजा हरुको संहार गर्दै धर्मको स्थापना र साधु सन्तको रक्षा गर्ने कार्य पछि सम्म नै चालू रह्यो। महाभारतमा आफूले हतियार नउठाउने शर्तमा धर्मको पक्षमा भगवानले पाण्डवहरुलाई साथ दिई महाभारतको लडाइबाट पृथ्वीको भार हरण गर्नु भयो।

पत्रि्रता नारी गान्धारीले ठीकै भनेकी छन्।” यदि श्री कृष्णले चाहेको भए महाभारतको लर्डाई रोक्न सक्नु हुन्थ्यो तर रोक्न भएन, जस्ले गर्दा कौरव वंशको विनाश भयो। यसैगरी तपाई यदुवंशीको पनि वंश विनाश होस्।” भनी श्री कृष्णलाई सराप दिएकी थिईन। यसरी गान्धारीबाट र ऋषिहरु समेतबाट पर्न आएको सरापलाई रोक्न सक्ने क्षमता हुँदा हुँदै पनि नरोकी यदुवंशीहरुको पनि विनाश गराई पृथ्वीको भार हल्का गराई १२५ वर्ष व्यतीत गरी सशरीर आफनो स्वधाम मा र्फकनु भयो।

कृष्णका बारेमा हाम्रा वैदिक शास्त्रहरुको मत छ कि श्री कृष्ण नै हाम्रा समस्त शास्त्रका मूल हुन। आगम, निगम सवै शास्त्रहरुले उहाँकै महिमा गान गरेका छन। यति मात्र होइन वैदिक दर्शनका प्रायः सम्पूर्ण शास्त्रहरु श्री कृष्णलाई केन्द्र विन्दुको धूरी मान्दै आफू उनै कृष्णको वरिपरि घुम्दछन्। यसैले श्री कृष्ण नै साक्षात परमब्रह्म परमात्मा हुन्। उहाँलाई यज्ञ पुरुष, वेदपुरुष, अनादि, अनन्त, सच्चिदानन्द स्वरुप नारायण भनिन्छ। भक्ति र वेदान्तका मूर्तरुप, लीलाका दिव्य रुप, अवतारीका भव्यरुप, सौन्दर्यका असाधारण स्वरुप र धर्मका मर्मरुप मानिनु हुन्छ। यति मात्र होइन सर्वशक्ति सम्पन्न , सर्वज्ञ, सर्वान्तर्यामी सर्वस्वरुप सर्वव्यापक, गुणातीत, कालातीत समेत मानिनु हुन्छ।

श्री कृष्णको पूर्णताको सम्वन्धमा महामुनि गर्गाचार्यजीले आफनो गर्गसंहितामा ” साक्षात् परिपूर्णतमं स्वयम् ” भनेका छन भने महषि व्यासले श्रीमद् भागवत महापुराणमा “कृष्णस्तु भगवान् स्वयम् ” भनी उल्लेख गरेका छन्। हामी भगवान्का साकार र निराकार गरी दुर्इ रुप पाउँदछौँ। साकार स्वरुप देवकी पुत्र भगवान् श्री कृष्ण हुन् भने निराकार रुप परमब्रह्म भनी हामीले मान्दै आएका छौँ। यो परब्रह्म नै यथार्थमा श्री कृष्णको निराकार स्वरुप हो। परब्रह्म निष्क्रिय छ तर श्री कृष्ण सक्रिय छन् फरक यत्ति हो। यो कुरोलाई वादरायणको ब्रहमसूत्र तथा शङकराचार्यको शाङकरभाष्यले पनि समर्थन गरेका छन्। श्री कृष्णको गीताले समेत यस कुरोको पुष्टि गर्दछ।

गीता कुरुक्षेत्रको युद्ध मैदानमा भगवान् श्री कृष्णका वाणीवाट प्रादूभाव भएको शास्त्र हो। लर्डाई गर्न खडा भएका आफन्तहरुलाई देखेर अकस्मात शोकाकुल भै व्यामोह भएका अर्जुनको अकल्पनीय हालत देखि श्री कृष्णले उनलाई आफनो कर्तव्य पथवाट च्युत हुन नदिन आफनो सामु आएको परिस्थितिसंग डटेर सामना गर्न नैतिक, व्यवहारिक र आध्यात्मिक पक्षको जुन उपदेशको रुपमा समग्र ज्ञान प्रदान गर्नु भयो त्यही ज्ञानलाई श्रीमद्भागवत गीता भनिन्छ। अर्जुनका तमाम जिज्ञासाहरु समाधानका लागि भगवान्ले सात सय स्लोकको गीता अर्जुनलाई सुनाउनु मात्र भएन, विराट रुप समेत देखाउनु भयो।

भागवत गीता महाभारत भीष्म पर्वको २३ औ देखि ४० औ अध्यायसम्म १८ अध्यायमा वणिर्त छ। गीता समस्त उपनिषदहरुको सार मानिन्छ। यो ग्रन्थ भगवान् श्री कृष्णको मुखारविन्दबाट निःसृत भएको दिव्य वाणी हो। कृपासिन्धु भगवान्ले अर्जुनलाई निमित्त वनाएर समस्त संसारको कल्याणका खातिर यस शास्त्र मार्फत दिव्य ज्ञान दिनु भएको छ। यस ग्रन्थमा प्रकृतिका सत्त्व, रज र तम गुणहरु योग, दैवी तथा आसुरी स्वभाव, भगवान्का विभूतिहरु सन्यास लगायतका समस्त विषयहरुमा पनि विषद व्याख्या र विश्लेषण गरिएको छ।

गीतामा कर्म, ज्ञान र भक्तिका तीनै मार्गहरु आ (आफनो ठाउँमा अत्यन्त महत्व राख्दछन। तथापि गीता एक भक्ति प्रधान ग्रन्थ हो। गीताको प्रारम्भ र अन्त्य भक्तिकै वर्णन छ। प्रारम्भमा अर्जुनले” शाधिमा त्वां प्रपन्नम् (२/७) “भन्दै भगवान्को शरण ग्रहण गरेका छन भने अन्तमा भगवान्ले “सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज (१८/६६)” भन्दै शरणागतिको पूर्ण समर्थन गर्नुभएको छ। भगवान्को निराकार रुपको वारेमा गीतामा भनिएको छ “सर्वस्य चाहं हृदिसंनिविष्टो (१५/१५)/अर्थात म नै सम्पूर्ण प्राणीहरुको हृदयमा स्थित छु। यस श्लोकको भावले भगवान्को निराकर रुप परव्रह्मको पुष्टि गर्दछ। प्रत्येक प्राणीको हृदयमा निवास गर्ने घट घट वासी निराकार ब्रह्म नै साकार रुपका देवकी पुत्र भगवान् श्री कृष्ण हुन्।

अन्तमा भगवान् श्री कृष्ण नै समस्त जगतका गुरु हुनुहुन्छ। उहाँबाट गाइएको गीत नै गीता हो।  उहाँले गीतामा देखाएको मार्गवाट हिड्नु मा नै हामी सवैको कल्याण छ। गीता कुनै जाति धर्म विशेषको शास्त्र नभई यो त मानव जाति कै शास्त्र हो। यसको उचाई आजसम्म संसारका कुनै पनि धर्म दर्शनका पुस्तकसंग तुलना नै हुन सक्दैन। यसैले हाम्रा मनीषिहरुले सर्वशास्त्रमयी गीता भनेका हुन्। यो कुरोलाई आज पश्चिमाहरुले राम्रोसग वुझदै आएका छन्। तर हामी अझै पछाडि छौँ । अतः आफनै कल्याणका लागि गीताको यथार्थ ज्ञान लिन ढिलो नगरौँ।

- कुलप्रसाद भण्डारी