बैकको सुरक्षा र हेल्मेटको चोरी

एक मित्रले मोवाइलमा दुःख पोख्दै हुनुहुन्थ्यो ? उहाँको हेल्मेट एभरेष्ट बैंकको नयाँबजार शाखाबाट हराएछ । भएछ के भने कामको सिलसिलामा उहाँ त्यस शाखामा जाँदा गेटमा राखिएको हेल्मेट राख्ने दराजमा हेल्मेट छोडेकोमा आउँदा उहाँको नयाँ हेल्मेट लगेर सो ठाउँमा पुरानो थोत्रो हेल्मेट छोडिएको रहेछ । त्यस शाखाका हाकिमलाई गुनासो गर्दा हेल्मेटको जिम्मेवारी त्यो बैंकको होइन , हेल्मेटको सुरक्षा आफ्नै जोखिममा राख्नु पर्ने जवाफ दिइएछ ।

सुन्दा सामान्य लाग्ने यो घटना मलाई बास्तवमै संवेदनशील बनायो । केही दिन अघिमात्र भक्तपुरको बाणिज्य बैंकको एक शाखाबाट करिव ५ लाख चोरीको आशंकामा सोही शाखाका सुरक्षाकर्मीलाई पक्राउ गरिएको समाचार आएको छ ।

दिन प्रतिदिन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका विभिन्न घटनाक्रमहरु बाहिर प्रकाशमा आइरहेको छ । केही आन्तरिक कार्य प्रणाली – नियन्त्रण प्रणालीसँग सम्बन्धित छन् भने केही यस्तै चोरी, डकैती, साटिने घटनासँग सम्बन्धित छन् ।

किन भइरहेछ बैंक वित्तीय संस्थामा बदमासी :

बैंक तथा वित्तीय संस्था भनेका आकाशका जुन तारा पक्कै पनि होइनन् । ग्राहककै भरमा ब्यापार गरिखाने सेवामुखी संस्था हुन् । यो कुरा त्यस संस्थामा काम गर्ने प्रत्येक पेशाकर्मीको मगजमा जहिले पनि ताजा हुनुपर्छ । गर्ने विशुद्ध पेशा हो, पाउने विशुद्ध बेतन हो । त्यो भन्दा अरु यो पेशामा छँदैछैन । यदि कसैले यो भन्दा बढी आफ्नो पेशामा आशा गर्छ भने त्यसले ल्याउने परिणतिले समस्याको विजारोपण गर्छ । एउटा जिम्मेवार पदमा आसिन पेशाकर्मीले आफ्नो पेशागत दायराभन्दा बाहिर जानु भनेको त्यो संस्था रोगी बन्नु हो । यदि त्यो रोग त्यो संस्थाको ठूलैलाई लागेको छ र निराकरण समयमै गर्न सकिएन भने भविष्य जोखिमपूर्णमात्र होइन अन्धकार नै हुन जान्छ । क्रमबद्ध रुपमा समस्याग्रस्त भएका वित्तीय संस्थाहरुको दृष्टान्तबाट यही सावित भएको छ ।

जिम्मेवार पदमा रहेर गरिनेगैर जिम्मेवारीपूर्ण कार्यले बैंकिङ क्षेत्रमा पनि धेरै थोरै कालो बादल लागेको छ । हरेक क्षेत्रमा राम्रा नराम्रा पक्ष र मानिस हुन्छन् नै योबाट बैंकिङ क्षेत्र पनि अलग छैन । छोटो समयमै लखपति, करोडपति हुने महत्वाकांक्षाको भुमरीमा परेर गरिएको गैर जिम्मेवार कार्यले पनि यो क्षेत्रप्रति सर्वसाधारणको विश्वासलाई ठेस पुग्न गएको छ । बैंक वित्तीय संस्थाबाट सेवा शुल्क, ब्याज तिरेर लगेर दुर्इ पैसा कमाएका ग्राहकहरुको सिको न त सो संस्थाका कर्मचारीले गर्न हुन्छ, न त अदृष्य सहकार्य नै ।

विषयको संवेदनशिलता :

हेल्मेट हरायो । हराएकोले फेरि नयाँ किन्ला । तर यो अवस्था सामान्य होइन । कतै न कतै केही मिलिरहेको छैन । स्थितिले यही बताउँछ । कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप त्यो संस्थाको निजि सम्पत्ति होइन , न त ती संस्था मालिक नै । ती त सिर्फ संरक्षक र परिचालक मात्र हुन् । ग्राहकले माग गरेको जुनसुकै अवस्थामा निक्षेप भुक्तानी दिनु यिनीहरुको दायित्व हो । सर्वसाधारणबाट निक्षेप संकलन गरी उनीहरुलाई नै लगानी गरेर संचालन गरिने भएकोले पनि यो क्षेत्र विशेष संवेदनशील छ । किनकी जोखिमको मात्रा ज्यादा रहने गर्दछ । यो संवेदनशीलता नबुझने मनुवाहरुको फन्दामा परेको संस्थाको गति यस्तै हो भन्न सकिने अवस्थामा रहँदैन ।

बैंकका शाखा प्रमुखलाई प्रश्न –

१. हाकिम साव झ् तपाईले तपाईकै शाखामा आउने कर्मचारीको खाली हेल्मेटको त रक्षा गर्न सक्नु हुन्न भने जनताको रगत पसिनाको कमाइले जोडेको धनको रक्षा कसरी गरिरहनु भएको छ ?

२. आन्तरिक नियन्त्रण प्रणालीमा भएको कमजोरीले नै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा विविध किसिमका समस्या खडा भएको छ । के तपाईको शाखाको आन्तरिक प्रणाली ठिक छ ? ठिक छ भने ग्राहकले बैंकको दराजमा छोडेको हेल्मेटको सुरक्षा गर्नु तपाईको आन्तरिक नियन्त्रण प्रणालीभित्र पर्छ कि पर्दैन ?

३. तपाईको बैड्ढको मुख्य द्वारमा सुरक्षाकर्मी त होलान् नै । एउटा हेल्मेटको ब्यवस्थापन गर्न ठूलै पहाड खसाउनु छैन । एउटा सामान्य टोकन सिस्टमबाट पनि सो सजिलै ब्यवस्थापन गर्न सकिने ठाउँ छ यति पनि गर्न नसक्नु तपाईको कमजोरी होइन – यदि जोखिम ग्राहकलाई थोपर्नु हुन्छ भने किन हेल्मेट राख्ने ठाउँ तोक्नु हुन्छ ?

४. तपाईले तपाईको बैंकको शाखाको ग्राहकको हेल्मेट हराएकोमा नैतिक जिम्मेवारी लिनुपर्ने हो कि होइन ?

अन्त्यमा,

मख्ख नपरौं, मग्न नहोऔं । कुरा हेल्मेटको हो तर विषय समग्र नियन्त्रण प्रणालीको हो । सामान्य हेल्मेटको त सुरक्षा नहुने ठाउँमा त्यो ग्राहकको बैंकप्रतिको दृष्टिकोण कस्तो होला । जनताको धन हो, जनताको यो कुरा सपनामा पनि नबिसौर्ँ। प्रत्येक विषयमा ग्राहकप्रति बैंक तथा वित्तीय संस्थाहरु जिम्मेवार हुनै पर्दछ ।

जिम्मेवारीपन नै असल ग्राहक सेवाको परिचायक हो । ठूला चमकदार साइनबोर्ड, सुकिलोमुकिलो पहिरन त सिर्फ एउटा माध्यम हो असली कुरा त ग्राहकको सन्तुष्टी र सेवामा छ । यदि यो नै छैन भने जागिर खानेको कुनै शान छैन, मान छैन । पुग्नु पर्ने जतिको ध्यान यसमा पुगोस् ।

- भानु रोशन राजभण्डारी