बूढेशकालमा घरै परदेश

स्वदेश भनेको नजिक र परदेश भनेकेा टाढा भन्ने जनाउँछ। बूढा पाकाहरु भन्ने गर्दथे बूढो भयो सब चिज वित्यो आँगन भयो परदेश भन्दथे। जो जसले आफू सानो छँदा सुनेका थिए। आज उनीहरु नै बूढेसकालको अवस्थामा आई पुग्दा त्यो कुरा भोग्दै छन्। ऐया र आत्थु गर्दै जीवन यापन गर्दैछन्। अझ भन्ने हो भने बूढापाकाहरुले कहाली लाग्दो जीवन काट्न परेको छ।

छोराछोरीहरु शहर बजारमा बस्ने भए। कतिका त परदेश गएका छन्। छोराछोरीहरु परदेशमा गएका छन् भने बूबूढीहरु पनि त देशमा परदेशी झैँ दिन विताएका छन्। किनकि सहजको जीवन विताउन त आनन्द हुन पर्‍यो। सबै परिवार एकै साथ बस्नु पर्‍यो, एकैसाथ हाँस्नु पर्‍यो, एकैसाथ नाच्न पर्‍यो। प्रत्येक मानिसहरुको आफ्नै स्वभिमान हुन्छ, आफ्नै नैतिकता र पहिचान हुन्छ। उस्ले बाँचुञ्जेल कति खायो र कति सिध्यायो भन्ने संग समाजलाई सरोकार हुदैन। समाजलाई सरोकारको विषय भनेको उसले बाँचिञ्जेल  समाजलाई के दियो भन्ने हो।

ब्रह्माको सृष्टिमध्ये सर्वश्रेष्ठ प्राणी भनेको मानव नै हो। मानवको सर्वश्रेष्ठ कमाइ भनेकेा अन्तिममा मलामी नै हो। त्यो बाहेककेा कमाइ भनेको सामान्य हो। खासै मूल्य भएको कमाइ मानिदैन। अकोर्तर्फ विचार गर्ने हो भने हामी फल लागेको रुखमा नजिकै त्यो रुख छ भने त्यसलाई बारम्बार हेर्ने पनि गर्दछौँ। यसो सोच विचार गर्दा लाग्दछ , त्यो फल जत्राको तत्रै छ। तर त्यो सानो फल रायोे गेडाको आकारबाट मटरको गेडाको आकार जस्तो बन्दछ। त्यस्तै गरेर यो शरीर पनि जस्ताको तस्तै छ भने जस्तो लाग्दछ। आफूले त्यो कुरा महसु गरिन्छ पनि तर त्यस्तो रहेनछ। बालकको शरीर बढिरहन्छ र युवक बन्दछ। युवकबाट प्रौढ भएर बूढो हुन थाल्दो रहेछ।

भन्ने गरिन्छ बच्चाले जन्म लिँदा ६ देखि १२ पौण्ड सम्म हुन्छ। त्यति सानो शरीरमा मर्ने बेलासम्म कति परिवर्तन हुन्छ। त्यसको आफँैले पत्ता नपाइँदो रहेछ। अरु परिवर्तन भएको थाहा हुन्छ तर आफूमा परिवर्तन आएको पत्तो हुदो रहेनछ। यस्तै हो जीवन। केवल सम्पत्तिको मात्र होइन जीवनको महत्व बुझन पर्‍यो खाली शरीर मात्र नभएर ज्ञान र बुद्धिमा  पनि परिवर्तनको लहर  चलिरहन्छ।

भन्ने गर्दछन् मान्छे जस्तो संसारमा कुनै जीव छैन, तर उस्को मन ब्यवहार आनी बानी हेर्दा कसरी पत्यार गर्ने। तालिम दिएर अथवा अरुलाई केही सिकाएर राम्रो हुन्छ ठीक हुन्छ भनौँ भने पनि आज सम्ममा  देवाता जस्तो बन्नु पर्ने हो, होइन भने मान्छे जस्तो त बन्नु पर्ने हो। सृष्टि गर्नेले नै जानून। जीवनमा एकपटक वासस्थान नाश भएपनि पुनः अर्को बनाउन सकिन्छ। धन नाश भएपनि पुनः कमाउन सकिन्छ। छोराछोरी पनि पुनः प्राप्त गर्न सकिन्छ। शुभ अशुभ कर्म पनि पुन ः मिल्न सक्दछन् तर शरीर भने पुनः प्राप्त गर्न सकिँदैन त्यसैले  शरीरको रक्षा गर्नु भनेकेा धर्म हो।

तर बूढो भएर आँगन परदेश समान भएका बूढाबूढीहरुका लागि छोराछोरीहरुले हेर विचार गरिदिने परिस्थिति देशमा नभएको कारणले गर्दा उनीहरु उदास भएका छन्। छोराछोरीको अवस्था पनि त्यस्तै छ स्वदेशमा कुनै रोगजार मिल्दैन। बाँच्नको लागि परदेश जानै पर्‍यो। उनीहरु पनि छटपटिमा हुन्छन्। बाबु आमा पनि छटपटीमा छन्। दुबैको अवस्था विकराल छ। गाउँघरको अवस्था पनि त्यस्तै छ।  किनकि हामीले दिएको शिक्षा भनेको सर्टिफिकेट बेचेर जीवन निर्वाह गर्ने शिक्षा हो। कुनै नैतिकता र विवेकका कुराहरु आजको शिक्षामा  अटाएका छैनन्।

त्यसैले शहर बजारमा  बस्ने बाबु आमाका छोरा छोरीहरु त अझ झन उत्तर दायित्व वहन गरेको पाइँदै पाइँदैन। रिल्याक्स गरेर हिँड्दैमा  ठीक्क छ। बृद्धहरुको अवस्था गाउँमा र शहरमा  खासै फरक पाइँदैन। शहरकाबृद्ध बृद्धाले केही सुविधा पाएका छन् भने बरु गाउँका बृद्धाले विदेशवाट छोराछोरी फर्कि आएपछि केही माया पाउन सक्दछन्। मानव समाज परिवारमा आधारित भएको हुन्छ भने परिवार आपसी सहयोगमा आधारित रहेको हुन्छ। यसले सकारात्मक नतीजा जन्माई सन्तोषको साथै परिवार विस्तार पनि हुन्छ।

यसो हुनुको कारण मानवीय प्रकृतिका सकारात्मक गुणको आधार हो मानवीय प्रकृतिका सकारात्मक गुण र अन्तरनिहित प्रेमको आधारमा नै कुनै पनि धर्म रहेकेा हुन्छ। जव मानिसले ती सकारात्म गुण र अन्तरनिहित प्रेमबाट आफूलाई फाइदा भएको महसुस गर्दछ तव त्यसको सुदृढीकरण र विस्तार पनि  गर्दछ। गोलम्यानको भनाई  जीवनमा सबै भन्दा अधिक  प्रिय धन रहेछ  किनकि धनका लागि मानिस आफ्नो देश छोडेर परदेश जान्छन्। त्यसैले धन प्रिय रहेछ। धन भन्दा छोरो प्यारो  हुने रहेछ, किनकि कुनै अपराधले गर्दा छोरो जेलमा परे धन दिएर उसलाई छुटाउने गरिन्छ।

अतः धन भन्दा छोरो प्रिय भयो। छोरो भन्दा शरीर प्रिय  रहेछ, शरीर भन्दा इन्द्रियहरु प्रिय हुन्छन्। किनकि जव कोही मार्न आउछन् तव इन्द्रियहरुलाई लुकाएर शरीरका आँखा, कान, नाक आदिको रक्षा गर्न खोज्दछौं। त्यसैले शरीरभन्दा इन्द्रियहरु  प्रिय छन्। किनकि रोगी हुँदा यदि नाक, कान, आखा कुनै इन्द्रियलाई डाक्टरद्वारा कटाएर प्राण रहने आशा भए त प्राणका लागि त्यो इन्द्रियहरुलाई पनि कटाउन चाहान्छौँ। त्यसैले इन्द्रिय भन्दा प्राण प्रिय हुँदो रहेछ।

तर प्राण भन्दा पनि आत्मा झन प्रिय हुँदो रहेछ। किनभने कसैलाई अत्यधिक  मात्रामा रोगले चापेको छ भने उस्ले भन्ने गर्दछ हे प्रभु मेरो प्राण  छिटो लैजाऊ। यसैले प्राण भन्दा पनि आत्मा प्रिय हुदो रहेछ। यस्तो अवस्था छ हाम्रो जीवनको। यस्तो लीला छ प्रकृतिको। तर  हामी भने के के नै ठूलो सहसी बन्न खोज्दछौं। प्रकृतिलाई नै बसमा तुल्याउन सकिन्छ कि भन्ने ठान्दछौं।

हाम्रा पुर्वजहरुले भन्ने गर्दथे पानीमा  दिशा पिसाव गर्नु हुदैँन। पानीको मुहानको रुख काट्नु हुदैन, मन्दिर भन्दा अग्लो घर पनि बनाउनु हुँदैन तर त्यो आजभोलि कस्ले पालना गरेको छ। अकोर्तर्फ भन्ने हो भने नदी, बृक्ष र पशु यी सबैले सकेसम्म कसैको हानी पुर्‍याउन खोज्दैनन्। तर यिनीहरुको अवस्था खत्तम भै सकेको छ। नदी फोहरको  दुर्गन्धमा फसेको छ। चौतारीका शीतल ताप्ने रुखहरु काटिएकै छन्। जताततै वातावरण विग्रिएको  बेलाका बृक्षहरुको अवस्था पनि नविग्रिने त कुरै भएन दुखै दुखमा बाँचेका  छन्, स्याहार सम्भार गर्ने कोही छैन। पशुको अवस्था पनि त्यस्तै छ।

धुलोले लुगा फोहर पार्दछ नराम्रो तुल्याउदछ, त्यस्तै गरेर विषालु खानाले शरीरलाई विगार्दछ , अस्वस्थ तुल्याउछ। जसरी धोएर लुगा सफा गरिए जस्तै शरीरको विष फाल्न औषधिमूलो गरिन्छ। ठीक त्यस्तै कार्य मस्तिष्क  धुलाइमा पनि गर्ने गरिन्छ। मस्तिष्कको  विकार फाल्न दिमागलाई धुने काम गरिन्छ। लुगाको फोहर भनेको  मैलो हो। शरीरको विकार भनेको विष हो। दिमागको विष भनेको मस्तिष्कको विकार हो। दिमागमा  विभिन्न प्रकारले  फोहर हुन सकदछ। भौतिक, शारीरिक तथा मानसिक, शारीरिक वा भौतिक कारणले उत्पन्न भएको मस्तिष्कको फोहरलाई धुन शारीरिक चिकित्साका उपायहरु अपनाइन्छन् भने मानसिक श्रोतबाट उत्पन्न विकारलाई हटाउन मनोबवज्ञानको प्रयोग गर्नु पर्दछ भन्ने भनाई शास्त्रको हो। हामीमा भएका मानसिक विकारहरु विस्तार विस्तार हटाउँदै जाने प्रयत्न गर्नु पर्दछ। किनकि मानसिक विकारको कारणले  गर्दा मानवीय मूल्य र मान्यताको अन्त हुन्छ। जीवनको महत्व ठूलो छ  दानवबाट मानव बन्ने प्रयत्न गर्नु पर्दछ। अनि मात्र आफ्नो मात्र नभएर परिवार समाज र देशको समेत भलाई गर्न सकिन्छ घरै परदेशको अवस्था आएपनि सुखले जिउन सकिन्छ। अस्तु

- मुक्ति पराजुली (लहर)