बिहानीपख सुत्नु स्वास्थ्यका निम्ति राम्रो होइन

आध्यात्मिक तथा वैज्ञानिक दुवै दृष्टिकोणले बिहानीपख सुत्नु राम्रो हुँदैन। बूढापाकाहरुको भनाइ छ- बेलुकी -राति) जागे हिँडे भूत-प्रेत मसान किचकन्या, राक्षस आदिसँग भेट हुन्छ तर बिहानीपख जागे, हिडे देवीदेवता, ऋषिमुनि परीहरुसँग भेट हुन सक्छ। राति हिँडे भय र दुःख हुन्छ। बिहान सबेरै हिँडे आर्शिवाद र दैवी सहयोग पाइन्छ। वैज्ञानिक दृष्टिले पनि बेलुकी र रातिको समय भन्दा बिहानीपखको समय बढी उर्जायुक्त र स्वस्थकर मानिन्छ।

परमपूज्य सदगुरुदेवहरुले भन्नु भएको छ-

पहला प्रहर मा सदाकोइ जागे, दोश्रो प्रहरमा भोगी

तेश्रो प्रहरमा जागे तस्कर, चौथो प्रहरमा योगी।

हुन पनि हो रातको पहिलो प्रहरमा (६-९ बजे)  सबै मानिस जागा रहन्छन्। लेखपढ, खानपान र गफगाफको समय हो यो। रातको दोश्रो प्रहर (९-१२ बजे) मा भने सर्वसाधारण मानिस सबै सुतिसकेका हुन्छन्। भट्टी, होटलमा रंगीचंगी खानपानमा भुल्ने, बार र रेष्टुरेन्टमा नशाले झुम्म परेर सुरा-सुन्दरीमा लठ्ठ पार्ने, नाच्ने गाउने तथा नवदम्पत्तिको रोमान्सको समय हो दोश्रो प्रहर। तेश्रो प्रहर (१२-३ ) बजे गृहस्थ, भोगी योगी सबै निन्द्रादेवीको सुखद काखमा सुतिरहेका हुन्छन्। उनीहरुको बाहिरी संसारसँग सम्बन्ध र सर्म्पर्क विच्छेत हुन्छन्। तर तस्कर, चोर, डाँका भने आफ्नो कालो धन्दामा व्यस्त हुन्छन्। अरु सबै मानिस सुतेका बेलाको फाइदा तस्करले उठाउन खोज्छन्।

रातको दोश्रो र तेश्रो प्रहरमा जाग्नेले (उठ्नेले) खासै उन्नति गर्न सक्दैन। उसको न आध्यात्मप्रति चासो देखिन्छ न त भौतिक उन्नतिको आडमा कमाउने इज्जत र प्रतिष्ठाप्रति – तर रातको चौथो प्रहर (३-६) बजे सबै दृष्टिले राम्रो समय हो। जसलाई ‘ब्रह्म मुहूत भन्ने गरिन्छ। यति बेला योगी, शिष्य र साधकहरु सबै जागेका हुन्छन्। उनीहरु यो समयमा जप, ध्यान, योग, तपस्या र लेखपढमा संलग्न हुन्छन्। साथै बिहानी सफरमा सामेल हुन्छन्। यतिबेला देवीदेवता ऋषिमुनिहरु प्नि आफ्नो नैमित्तिक कार्य सकेर भ्रमणमा निस्कनु हुन्छ। उहाँहरुसँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भेट हुँदा आध्यात्मिक र साथै नैतिक उन्नतिमा बिहानीपखको समय बढी लाभदायक हुन्छ। अझ लेखपढ गर्नेलाई त उत्तम समय हो ‘ब्रह्म मुहूत।

तर हामी निकै अल्छी छौं साथै कुतक मात्र थाल्दछौं। बिहान सबेरै उठेर घुमफिर गर्नु, लेखपढ गर्नु र जप-ध्यान गर्नु त परै जाओस्, घाम झुल्कुन्जेलसम्म पनि ओछ्यान नछोड्ने बानी छ हाम्रो। यस्तो बानीले हामीमा न आध्यात्मिक सुधार आउँछ न त भौतिक।

परमपूज्य सदगुरुदेवहरुले दिनु भएको सन्देशलाई हृदयंगम गर्न सकियो भने हामीलाई सबै दृष्टिले लाभै लाभ हुन्छ। बिहानको ब्रह्म मुहूत सन्त, योगी र साधकका लागि मात्र होइन विद्यार्थी, शिक्षक, व्यापारी, कर्मचारी, यात्री, सर्वसाधारण र योगीलाई समेत लाभदायक छ। सबैले यस समयको राम्ररी सेवन गर्न जानियो भने हामीलाई दुवै हातमा लड्डु मिल्नेछ।

अन्तमा म तीन ओटा स्नान बारे बताउँछु। हिजोआज हामीहरु स्नान केवल शरीरलाई स्वच्छ राख्न मात्र गर्दछौं। तर त्यो होइन, स्नान गरेपछि सर्त्कर्म नगर्नु, त्यो स्नान पशुस्नान हो। स्नान गरेपछि यदि सर्त्कर्म हुँदैन भने त्यो स्नानको के काम ? स्नान गरेपछि सेवा, सन्ध्या, गायत्री भएन भने त्यो स्नान पनि पाप हुन जान्छ। शास्त्रहरुमा तीन प्रकारका स्नान उल्लेख छन्। ती हुन्ः ऋषि स्नान, मनुष्य स्नान र राक्षस स्नान। उषाकाल -बिहान) ४ देखि ५ बजेसम्म जो स्नान गरिन्छ त्यो ऋषि स्नान हो। त्यसपछि ५ देखि साढे ६ बजेसम्मको स्नानलाई मनुष्य स्नान हो र साढे ६ बजेदेखि यता भएको स्नानलाई राक्षसी स्नान भन्दछन्। तीन ओटा स्नानमा ऋषि स्नान श्रेष्ठ छ, असल छ। मेरो भनाइ तपाईहरुलाई कस्तो लाग्छ मैले त ठीक भनेको जस्तो लाग्छ। यस कुराहरुमा सबैले ध्यान दिनुहोला।

- भोजराज बराल (सुब्बा)