बलात्कारै बलात्कार

आजभोलि बलात्कार, हत्या तथा अन्य हिंसाजन्य अपराधमूलक समाचार एकपछि अर्को आइरहेका छन् । समाजमा अनेक थरी घट्ने घटनामध्ये बलात्कार पनि एक हो । बलत्कारपछिको हत्या अन्तिम रुप हो ।

संस्कृत नेपाली बृहत् शब्दकोश अनुसार बलात्कारको अर्थ कसैको इच्छाबेगर कुनै काम जबरजस्ती गर्नु वा कुनै आइमाईको इच्छा बेगर जबरजस्ती मैथुन गर्नु वा अन्याय, अत्याचार वा ऋणीलाई समातेर धरपकड गर्नु आदि जस्ता कर्मलाई बुझाउँछ । जे जसरी बलात्कारलाई परिभाषित गरिएको भए पनि कसैको मञ्जुरी बिना बलपूर्वक कुनै पनि अन्याय, अत्याचारी कार्य बलात्कार हो । यो शब्द यौनजन्य हिंसामा बढी प्रयोग हुन्छ ।

बलात्कार शब्दले व्यापक अर्थ लिएको छ । बलजफ्तीपूर्वक काम राज्यले गरेमा त्यो पनि बलत्कारको परिभाषामा पर्दछ । यतिखेरको प्रसङ्ग भने यौन क्रियासित बढी जोडिएको छ । अहिले पूर्व मेचीदेखि महाकालीसम्म सर्वाधिक चर्चाको विषय यही बलात्कार नै छ । चाहे त्यो कञ्चनपुरको निर्मला पन्तको हत्याको रुप होस् या कास्कीको श्रेया सुनारको । दुवै विभत्सकारी छ ।

संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यमा सम्मानपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको हक स्पष्ट रुपमा उल्लेख गरिएको छ । समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । तर पदधारी र सर्वसाधारण व्यक्ति निकै अन्तर देखिदै आएको अहिलेको समस्या भनेकै यही छ । कानुनी प्रावधान भएर पनि पीडितले एकातिर न्याय पाएको छैन भने अकोर्तिर सिंगो मुलुकले एउटै आवाज उठाइरहँदा सरकार मौन छ । निर्मला पन्तको ज्यान अपराधसहित भयो । तर पनि न्याय पाउन सकिरहेको अवस्था छैन । न्याय पाउन १२ वर्ष लाग्छ भन्ने अभिव्यक्तिलाई र्सार्थकता दिने हामी कस्तो कानूनको अभ्यासमा छौ ?

व्यक्ति वा समूहले बलात्कार गर्छ, जो जस जे कार्यमा उद्यत हुन्छ, उही कानूनी घेरामा पर्दछ तर यसको बर्खिलाप भएको छ । एकतर्फी निर्णय गरेर सहमति नभइ जुनसुकै क्षेत्रमा प्रभुत्व देखाउनु पनि बलात्कार हो । यो जघन्य अपराध हो । केही हप्ता अघि बढ्दो यौनजन्य हिंसालाई दुरुत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, इलामले सामूहिक रुपमा पीडितहरुका गुनासो सुन्ने कार्यक्रमको आयोजना गरेको थियो । पीडितहरुका अवस्था, अधिकार, संरक्षण क्षतिपूर्तिलगायत विभिन्न पक्षमा खुलेर बोल्नका लागि आयोजना गरिएको त्यस कार्यक्रममा ३५ जना महिलाहरुमध्ये आधाजसोभन्दा बढीले जबरजस्ती करणी रहेको बताएका थिए । अधिकांश पीडितहरुले बलात्कारको पीडामा न्याय नपाउने कुरा बताएका थिए ।

नेपालभर बलात्कृत हुनेको संख्या निकै भएको अनुमान गरिएको छ । कतिपय लाजगालले प्रकाशमा नआएका हुन्छन् भने कतिपय घटना अति चरम बिन्दु पुगेपछि जानकारीमा आउँछन् । पर्वत जिल्लामा गत दुर्इ महिनामात्र ७ जना बलात्कृत भएका छन् । यस भन्दा अघि पनि बलात्कारका घटना भएका थिए । आरोपीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्वाहीको प्रक्रिया बढाएको छ । केही मुद्दाहरु छिनीसकेको अवस्था छ । बलात्कृत हुनेहरुमा १० वर्षे बालिकादेखि ७० वर्षीया बृद्धा समेत छन् । गत असोज १ गते जलजला ३ का १२ वर्षीय एक किशोरले १० वर्षीया एक बालकीलाई बलात्कार गरेको आरोपमा समातिएका थिए । पर्वतमा भएको यस्ता घटना नयाँ भने होइनन् । आर्थिक वर्ष २०७२/०७३ मा दुर्इ जना महिला बलात्कृत भएका थिए भने २ जनालाई यौन दुर्र्व्यवहार भएको उजूरी परेको थियो । त्यसरी नै ०७३/०७४ मा बलात्कृत हुने संख्या ५ पुग्यो । यसमध्ये ४ महिला बलात्कृत भएका थिए भने एक जना यौन दुर्र्व्यवहारमा परेका थिए । २०७४ चैत १५ गते कुस्माको एक होटलमा सामूहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । झापामा केही समय अघि ५ वटा बलात्कारकै घटना घटे । यसमध्ये एउटै गाउँका २ जना बालिका रहेका थिए । त्यसरी नै जुम्लामा पनि एक १३ वर्षीय बालिका बलात्कृत भएकी थिइन् ।

बलात्कार र वेश्यावृत्ति मानव अधिकारका मुख्य चुनौती हुन् । सन् २०१५, ०१६ मा २ हजार २ सय ९६ वटा अपराधका मुद्दा महिला तथा बालबच्चासित सम्बन्धित थिए । मुलुकी ऐनको महल १४ मा जबर्जस्ती करणी समेत कानूनी प्रावधान गरिएको छ ।

नेपाल र भारतमा प्रायः पुरुषहरुबाट महिलाहरु बलात्कारको शिकार बन्ने गरेको पाइन्छ । तर यी बाहेक अन्य देशहरुमा महिलाबाट पनि बलात्कार हुने घटना हुन्छन् । समाजमा यस्ता घटनाहरु मुख्य आर्थिक, सामाजिक तथा शारीरिक दृष्टिबाट हुने गर्दछन् । एकातर्फी प्रेममा फँसेको एक युवतीलाई प्रेमप्रस्ताव राख्दा अस्वीकार गरेको खण्डमा त्यस्तो बेलामा आवेगमा आएर बलात्कारको स्थिति पुग्ने गरेको केही घटनाहरु देखिएको छ । बलात्कारीले आफूलाई सर्वश्रेष्ठ ठान्ने, कुनै रीस वा आवेगको कारण बदला लिने र मनोवैज्ञानिक कारणले गर्दा पनि बलात्कार हुने गरेका छन् । एसिड खन्याएर अनुहार विकृत गराइदिने, हतियारले लिएर हिंसात्मक अवस्थामा पुगेका अवस्था निकै नै देखिएका पनि छन् । केही समय अघि प्रेम प्रस्ताव नमानेकै कारण तेजाव छरेर र छुरा हानेर हत्या गरिएको वर्षमा एक दुर्इ घटना भइराखेको छ । चन्द्रपुरमा एक युवतीमाथि छिमेकीले एसिड प्रहार गरेको घटना सेलाउन नपाउँदै असोज ८ गते पूर्वी नवलपरासीमा २८ वर्षीया बसन्ती परियारमाथि एसिड प्रहार भयो । बलात्कारका शिकार हुनेहरुमा नाबालिका, अशक्त तथा सामान्य महिलाहरु पर्दछन् । विदेशमा काम गर्न जाने महिलाहरुका अवस्था विजोग भएको सुनिदैं आएका छन् । भारतका वेश्यालयमा पनि नेपाली महिलाहरुको बडो नाजुक अवस्था रहेको सुनिएको छ । त्यसरी नै विदेशमा काम गर्न गएका पतिको कमाइँमा मोजमोज्जा गर्नु, परपुरुषसित सम्बन्ध बिस्तार गर्नु अन्ततः सम्पत्ति र जीवन दुवै अर्पण गर्ने जस्ता कार्यहरु पनि हाम्रो समाजमा नौलो छैन ।

महिलाप्रति हेर्ने दृष्टिकोणलाई शिक्षाको माध्यमद्धारा बदल्नु जरुरी छ । उनीहरुप्रति सम्मान नहुनु, हेपाह दृष्टिकोण पुरुषहरुको रहनु, शारीरिक अवस्थाको नाजायज फाइदा लिनु र साथै यौनसम्बन्धी शिक्षा नहुनु पनि बलात्कारका कारण हुनसक्छन् । समाज निधोर्लाई अपराधी भन्छ, वास्तविक अपराधी ठाँडबाँठले हिड्छ, सरकार नसुने, नदेखेजस्तो गर्छ । अधिकांश घटना डर, धम्की, त्रास र राजनीति बलको आडमा घटेका हुन्छन् । पहुँचवालाका अपराध थामथुम पार्ने गरिन्छ । प्रभावशाली व्यक्ति र राजनीतिको प्रभावमा प्रमाण नष्ट पार्ने काम हुन्छ । अन्तमा खुलेयाम अपराधी हिडने, आवाजविहीन नागरिक न्यायका लागि दैलो चाहार्दै हिँड्नुपर्ने अवस्था अवस्था छ । दण्डहीनतालाई प्रश्रय दिएका कारण नै अपराध मौलाउदों स्थितिमा पुगिरहेको छ । अपराधमा संलग्न डन मारिदा सडकदेखि संसदसम्म कोहोलो मच्चिन्छ । तर दसैंको मुखमा दीनहीन चपपटेकी छोरी विभत्स बलात्कारपछिको हत्यामा सिंहदरबार गुहार्न पुग्दा पनि न्यायको अत्तोपत्तो हुँदैन । बलात्कार, हिंसाजस्ता घटनालाई गृहमन्त्री रामबहादुर थापाले पुँजीवादसित जोडेका छन् ।

जबर्जस्ती करणीका कानूनमा उल्लेख गरिए अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जरी लिई या नलिई करणी  गरेमा जबर्जस्ती करणी र्ठहर्छ भनेको छ । जबर्जस्ती करणी गर्नेलाई कैदको सजाय तोकेको छ । दस वर्ष वा सोभन्दा बढी १४ वर्ष भन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म । १४ वर्ष वा भन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि १० वर्ष, १६ वर्ष वा सोभन्दा बढी २० वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि ८ वर्ष, २० वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि ७ वर्ष कैद हुने व्यवस्था छ । लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा ३ महिनादेखि ६ महिनासम्म कैद हुन्छ । अझ महिलालाई सामुहिक रुपमा जबर्जस्ती करणी गर्ने वा गर्भवती, असक्त वा अपाङ्ग महिलालाई जबर्जस्ती करणी गर्नेलाई थप ५ वर्ष कैद गर्नुपर्ने उल्लेख छ ।

छोटकरीमा भन्दा घटनालाई नियन्त्रणमा ल्याउने उपाय भनेकै कडा कानून हो । यसबाहेकका पोर्न, लागूऔषध नियन्त्रण गर्नुपर्ने, सामाजिक अपराधलाई राजनीतिकरण गर्न नहुने, प्रहरी संगठनको अनुसन्धानको उच्च तहमा महिला राख्नुपर्ने जस्ता गतिविधिलाई बिस्तार बढाउने हो भने केही हदमा हिंसात्मक बलात्कारका अभ्यास कम हुने देखिन्छ ।

- कल्याण पन्त