बन्द गरौं गालीको राजनीति

देशमा भरखर भरखर बहुदल आएको थियो। हामी स्कूले विद्यार्थी थियौँ। काङ्ग्रेस र कम्युनिष्ट शब्द पहिलो चोटी सुनिँदै थियो। चुनावको घोषणा भयो। चुनाव हुनुभन्दा अगाडि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनेको थियो। राजा वीरेन्द्रले र गणेशमानले कृष्ण प्रसाद भट्टराईलाई अघि सारे। शायद नेपालमा प्रधानमन्त्री पद प्रदान गर्दा अस्वीकार गर्ने उनी नै एक मात्र नेता हुन्। पछि गणेशमान सिंह नेपाली काङ्ग्रेसबाट अपमानित भएर काङ्ग्रेस छोडेर बस्नु पर्‍यो। नेपाली काङ्ग्रेसले आज गणेशमानको फोटो राखेर फूलमाला अबीर चढाए पनि जीवनको अन्तिम समयमा उनी काङ्ग्रेस छोडेर यो लोकबाट विदा भएका हुन्।

बहुदल घोषणापछिको सरकारमा सहाना प्रधान, झलनाथ खनाल र निलाम्बर आचार्यर्ले वाममोर्चाबाट प्रतिनिधित्व गरेका थिए। तत्कालीन नेकपा मालेबाट झलनाथ खनाल कृषि मन्त्री बनेका थिए। त्यति बेला एउटा हल्ला चलेको थियो। तत्कालीन कृषि मन्त्री झलनाथ खनाल विदेश जानुपर्ने भएछ। पासपोर्ट बनाउनु पर्ने भयो। उनको फोटो सम्बन्धित मन्त्रालयमा पठाइयो रे। मन्त्रालयमा सबै कर्मचारीहरू ‘कम्युनिष्ट’ कस्तो हुँदो रहेछन् भनेर हेर्न भीड लाग्यो रे। बहुदलमा सुरुका दिनमा काङ्ग्रेस र कम्युनिष्ट अजीव जीव जस्ता मानिन्थे।

नेपालका कम्युनिष्टहरू वाममोर्चाको रुपमा संगठित भएर नआएको भए सायद २०४६ सालको आन्दोलन सफल हुने थिएन। वाममोर्चा बन्नुमा गणेशमान सिंहको योगदान थियो। यसरी सँगै आन्दोलन गरेर निर्दलीय पञ्चायत फालेपछिको पहिलो निर्वाचनमा यी दुर्इ राजनीतिक दल अत्यन्तै तल्लो स्तरको गाली गलौजमा उत्रिए।

नेपाली काङ्ग्रेसले कम्युनिष्ट आयो भने साठी वर्षमा मार्छ भनेर भ्रम फैलायो। त्यतिमात्र भनेन कम्युनिष्टले दिदीबहिनी भन्दैनन्, मन्दिर भत्काउँछन्, दलितले पकाएको सबैले खानुपर्छ, आठ घण्टा सबैले काम गर्नु पर्छ, घ्या·घरमा बस्नुपर्छ जस्ता अत्यन्तै अनर्गल प्रचारवाजी गर्‍यो। त्यतिमात्र होइन इण्डियाले नूनतेल रोकिदिन्छ, पेन्सन पाइँदैन जस्ता बहुलट्टी भ्रम फैलायो।

यता कम्युनिष्टहरूले केही तथ्यका साथ काङ्ग्रेसले राष्ट्रघात गरेको, राजासँग घाँटी जोडेको कुरा प्रचारमा ल्याए। भारतसँग राष्ट्रघाती कोशी सम्झौता गरेकेा, गण्डक सम्झौतामा त्यसै गरी भारत सामु घुँडा टेकेको जस्ता कुराहरू प्रचारमा आयो। कम्युनिष्टहरूले पनि गीतै गाए “जेठा दाइले कोशी बेचे, माहिला दाइले गण्डक झ् कान्छा दाइले यो देश लाई राख्न थाले बन्धक”। सारंशमा काङ्ग्रेसलाई देश बेचुवा भनियो। गालीको राजनीति ठूला नेताहरूबाटै निस्केको थियो। गिरीजाप्रसाद कोइरालाले ‘माले मशाले मण्डले एउटै हुन्’ भनेर धोक्रो फुलाए।

समय क्रममा दुवै थरीले गालीको राजनीति विस्तारै छोडेर सहकार्यको यात्रा थालनी गरे। त्यसपछि राजनीतिमा सौहार्दता जाग्यो। तल्लो कार्यकर्ताहरू पनि मुख समालेर बोल्न थाले। गाउँघरमा कम्युनिष्ट काङ्ग्रेसको मेलापात, विवाह, मलामीमा समेत आत्मीयता बढ्यो। हुँदा हुँदा पटक पटकको निर्वाचन परिणामले एक अर्कालाई अँगालो मारेर सत्तामा शयर गर्नुपर्ने स्थिति बनायो। काङ्ग्रेस कम्युनिष्टहरूले के हेक्का राख्नुपर्छ भने यिनीहरू मिल्दा ठूला ठूला आन्दोलनहरू सफल भएका छन् यिनीहरू आपसमा सहकार्य नहुँदा आन्दोलनबाट प्राप्त उपलब्धि गुमेको इतिहास छ।

यतिबेला संविधान कार्यान्वयनको पहिलो ऐतिहासिक निर्वाचनमा हामी छौँ। संघीयता कार्यान्वयन गर्न प्रदेश सभाको निर्वाचन हुँदैछ। यो माहोलमा राजनीतिक ध्रुवीकरण चाख लाग्दो भइरहेछ। विशेष गरी नेकपा एमाले र नेकपा -माओवादी केन्द्र एक भएर चुनावमा गएका छन्। यी दुर्इ कम्युनिष्ट पार्टीो एकता नेपालको सविधानको धारा २६९ को उपधारा १ अनुसार नै भएको देखिन्छ।

उक्त धारामा समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले राजनीतिक दल निर्माण गर्न पाउँछन्। यही संवैधानिक धारा अनुसार यी दुर्इ कम्युष्टि पार्टीहरू साझा घोषणापत्र जारी गरेर चुनावमा उत्रिएका छन्। उनीहरूको लक्ष्य निकट भविष्यमा एउटै कम्युनिष्ट पार्टीबनाउने छ। यो सबैको लागि स्वागत योग्य कुरा नै हो। यो एकताप्रति नेपाली काङ्ग्रेसले टाउको किन दुखाएको होला बुझ्न सकिएन।

अकोर्तर्फ नेपाली काँग्रेस पार्टी’ग चुनावी तालमेल राप्रपा -प्रजातान्त्रिक र राप्रपा नेपालले गरेको छ। वाम गठबन्धन भएपछि नेपाली काँग्रेस ‘अधिनायकवाद’ आउने आशंका गरेर गाली गलौजमा उत्रियो। नेपाली काँग्रेसका सभापतिले ‘कम्युनिष्ट’ आए रुन पनि पाइँदैन भनेर जनमत आफूतिर तान्ने प्रयत्न गरे। नेपाली काँग्रेसको घोषणापत्रमा नेकपा एमाले र माओवादी केन्द्र कम्युनिष्ट बर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन् भनेको छ।

यसै गरी उसले सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन भनेर आरोप लगाएको छ। नेपाली काँग्रेसले सँगै आन्दोलनमा गर्ने कम्युनिष्ट पार्टीलार्इ भन्दा राप्रपा -प्रजातान्त्तिक र राप्रपा नेपाललाई विश्वसनीय सहकार्य मानेको छ। हिन्दू धर्म र राजतन्त्रको हिमायती राप्रपामा नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी’ग सहकार्य हुनु सुहाउने कुरा होइन। त्यसो त झापामा वाम गठबन्धनले राप्रपा नेपालका उम्मेदवारलाई काखी च्याप्नु उस्तै उस्तै देखिन्छ। पार्टीहरू विचार सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा आफू नभए पनि विपक्षीले कसै नजितोस् भनेर अपवित्र गठबन्धन गर्नुमा न नेकपा एमाले न नेपाली काँग्रेसलाई सुहाँछ।

यति बेला वाम गठबन्धनका नेताहरूले भन्दा नेपाली काँग्रेसका नेताहरू अलि बढी विपक्षीलाई गाली गरेर समय खर्चेका छन्। नेपाली काँग्रेसको घोषणा पत्र -संक्षिप्त संस्करण पेज नं. ६ देखि १० सम्म वाम गठबन्धनको विरोधमा मसी खर्च भएको छ। नेपाली काँग्रेसले वाम गठबन्धनले जिते अधिनायकवाद आउँछ भने र आरोप लगाएको छ। राजाको एकतन्त्रीय शासन फालेर लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकेा यो मुलुकमा फेरि अधिनायकवाद आउँछ भनेर कसैले कल्पना नगरे हुन्छ। अधिनायकवाद न कम्युनिष्टलाई मन पर्छ न काँग्रेसलाई मन पर्छ।

एउटै दलले शासन गरिरहनु, आवधिक निर्वाचन नहुनु, पूर्ण प्रेस स्वतन्त्रता नहुनु, मानव अधिकार नहुनु र कानूनी शासन नहुनु अधिनायकवाद हो । राष्ट्रपति शासन अवलम्बन गर्नु अधिनायकवाद मान्ने हो भने अमेरिका, प|mान्स लगायतका देशलाई अधिनायकवाद भन्नुपर्छ हामी राजनीतिक स्थायित्वको बारेमा बहश गरिरहेछौँ। सुधारिएको संसद पद्धति ठीक कि कार्यकारी राष्ट्रपति शासन ठीक भनेर विचार विमर्श हुनु बेठीक छैन। बेठीक त यो भइरहेछ राजनीतिक दलका नेताहरू आफ्ना विचार सिद्धान्त र घोषणापत्रका कुरा भन्दा  गालीगलौजमा आफ्नो ऊर्जा खर्च गरेका छन्। भोट गाली गरेर बढ्दैन बरु घट्छ। राजनीतिक दलका नेताहरूले गालीगलौजको राजनीति छोडेर स्वच्छ स्वस्थ प्रतिस्पर्धामा आफूलाई खरो उतारुन् लोकतन्त्रको भविष्य यसैमा अडिएको छ।

- सुरेन्द्र थापा मगर