फोहरमैला व्यवस्थापन कहिले ?

नेपालको प्राकृतिक राष्ट्रिय छवि समृद्ध छ। शताब्दीऔ वर्षदेखि हाम्रा पूर्खाहरुले भौगोलिक सिमाकंनमा लागि परे। ससाना राज्यहरुका लागि लडे। जमानाले थोरै कोल्टो फेर्‍यो। गोरखाली एक युवाले एक सपना देखे। नेतृत्व गरे, हाम्रै पुर्खाहरुले साथ दिए अन्ततः टुक्रे मुलुक वषौपछि एक भयो। हिमाल, पहाड र तराई सबै एक ढिक्का समृद्ध नेपालको श्रीगणेश त्यहीबाट भयो। अहिले समृद्धशाली, गौरवशाली इतिहास बोकेको हाम्रो मुलुक अग्रगामी दिशातिर लम्किरहेको छ। मुलुक विरोधी तत्त्वहरुको व्यवस्थापन त्यतिखेर राम्रै तवरले गरिएको थियो। एकआपसमा सदासयता, सहयोगले मुलुक चलिरहेकै थियो।सफा, हराभरा वातावरणमा नेपाल हुर्कदैं थियो। पाप र धर्मको तराजुमा न्याय चलिरहेको थियो। नैतिक रुपमा च्यूत हुनेलाई चारपाटा मुडेर देश निकाला गर्नेदेखि लिएर फाँसीसम्मको व्यवस्था थियो। मुलुकको फोहोरमैला तह लगाउने निकाय एकदमै बलिष्ट थियो।

समय क्रममा विभिन्न तवरले शासन गरिन थाले। असहृयै वातावरणमा क्रमशः जनचाहना बदलिन थाले। समय सापेक्ष आन्दोलन, जनआन्दोलन हुँदै पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै अहिले मुलुकमा संघीय प्रजातान्त्रिक गणतन्त्र नेपाल आइपुग्यो। जनचाहना र महत्त्वाकांक्षा बढ्न थाले। मानवीय भौतिक विकासका गतिविधिको युगमा मुलुक पदापण हुन थाल्यो। अहिले गणतन्त्र मुलुकले व्योहोरेको पनि ११ वर्ष बितिसकेको छ। यस अवधिमा धेरै आलोपालोका मिश्रति सरकार फेरिइसकेका छन्। वर्तमान समयका ओली सरकारले हरतरहबाट क्षमताले भ्याएसम्म कमजोरी निमिट्यान्न पार्न खोजिरहेको अवस्था छ।

सरकारले एक सय दिनको उपलब्धि आशातीत रुपमा चाहेजस्तो प्रगति हासिल गर्न नसके पनि शब्दमा समृद्ध नेपालको प्रयोग गरिरहेकै छ। आम जनता आसावादी छन् भने सरकार महत्त्वकांक्षाले अघि बढिरहेको छ। अनावश्यक होहल्लामा दुनियाँ जे जसरी दौडे पनि धिमा गतिमा भए पनि समृद्धितिर उन्मुख छ। भ्रष्टाचार मुलुकको शत्रु हो भन्ने जान्दाजान्दा पनि माथिल्ला स्तरको आदेश, डर, धम्की, त्रास व्याप्त छ। विभिन्न काण्ड मचिन्छन्। साना माछा जालमा पर्छ, तर ठूला माछा उम्कन्छन्। निरीह जनताहरु जिब्रो काढ्छन्। फोहोरमैलाको व्यवस्थापन यहीबाट गर्न जरुरी छ। समृद्ध नेपालको परिकल्पनाको बाधक यही हो। गणतन्त्र भित्रेको ११ वर्ष पूरा भइसक्दा पनि अनुभूति गर्न सकिरहेको अवस्था छैन।

हाम्रो संसद ध्वनि प्रदूषणले गुन्जायमान, दाजुभाइ बीच सदा द्वन्द्व, दलदल बीच वैमनस्यतामा रुमलिइरहेको छ। आम नागरिकभुङग्रोंमा परिरहेकै छन्। बिना लगामका अर्थतन्त्र बजार, यातायात, शिक्षा, अस्पताल जहाँसुकै विशुद्धताको अभाव छ। नैतिक विजातीय बलले प्रश्रय पाइरहने, सीधासाधा महँगी, भ्रष्टाचारको चपेटामा पर्ने संस्कारले गणतन्त्रको दिनसम्म आइपुग्दा पनि खासै उपलब्धि हासिल हुन सकिरहेको छैन। चरित्रहीन व्यवहार देख्दादेख्दा पनि मुठ्ठीभरका पदधारीहरुले अपराधलाई खुलस्त गर्न चाहेकै देखिन्न। खै फोहोरमैला निकाल्न कुन सरकारी संयन्त्र लागि परेको छ ? सुनकाण्ड यो चरम रुप पहिले पनि होइन र अन्तिम पनि।

सडक, संसद भवनका गतिविधि कहालीलाग्दा समाचार बनिरहेको हुन्छ। मपाईँत्वको प्रवृत्तिले मुलुकलाई डोर्‍याइरहेको छ। हामी र हाम्रा भन्ने आफ्नोपन को सदा अभाव छ। एकले अर्कालाई हेर्ने नजर विदेशीको समान छ। यो अको राष्ट्रिय फोहोरमैला हो।

अधिकांश कार्यालय फोहोरमैलाले आक्रान्त छ, ग्राहकहरु पीडित छन्। उजुर गर्ने निकाय मौन छ। कसैले कसैलाई नटेर्ने अवस्था प्रायजसो कार्यालयमा हावी भइरहेको छ। अनुशासनहीनता छ। कर्मचारीका लगनशीलताले मुलुकको भविष्य अघि बढेको हुन्छ। तर गतिविधि भ्रष्टचारी लतमा  अनर्लिप्त छ भने समृद्धशालीका बाधक उनै हुन्छन्। दलको आडमा फोहोरमैला चन्दाको माध्यमबाट होस् या कुनै सम्बन्धले उम्कने प्रवृत्ति हावी भइरहेको देखिन्छ।  अध्यात्मको क्षेत्रमा यो मात्रैले मुलुक जकडिएको छैन। भौतिक रुपले काम गर्न नसकिएका पदार्थगत फोहोरमैलाको पनि उत्तिकै समस्या देखिरहेको छ।

समृद्ध नेपाल भन्ने नारा अहिले निकै नै चर्चाको शिखरमा छ। उन्नत्रि्रगतिसित सरोकार राख्ने यो शब्दले आफू, घर र समाजबाटै गतिशील बनेको छ। हिजो मुलुकको विकासका लागि भन्ने गरिन्थ्यो तर आजभोलि यसको शब्दले अकै रुप लिदैं छ।् आम नेपालीको सुख, शान्ति, आराम आदि स्वास्थ्यसित जोडिन्छ। मन भित्रका विकारदेखि भौतिक क्षेत्रमा देखिने फोहोरमैला अहिले मुलुकै चिन्ताको विषय बनिरहेको छ। अध्यात्मविज्ञान अनुसार शरीर शुद्धि हुन सकेका आयु स्वतः वढ्दछ

समस्या नैतिक फोहोरमैलामा मात्र छैन, वस्तुगत फोहोरमैला पनि समृद्ध नेपालको लागि उत्तिकै जिम्मेवार छ। नगरबस्तीको योजना, खानेपानीको समस्या, मोटरगाडी तथा बजार व्यवस्थापन र फितलो नीति, नियम र कार्यान्वयन गर्ने जिम्मेबार निकाय आदि कमजोर नगर हुन्छ। यसले त्यस स्थानमा बस्ने नागरिकलाई असर गर्छ गर्छ, यसका अलवा राष्ट्रलाई बदनाम गराउछ। नेपालको भौगोलिक, तथा पर्यावरण अन्य मुलुकको भन्दा निकै उच्च स्तरको छ तर समयमै हरेक शहरका नगर प्रमुखले सो अनुसार कार्यविधि समयमै गर्न सकेनन् भने कागजी विकासले मात्र कुनै अर्थ राख्दैन। सोच र व्यवहार एउटै भएमा कुनै पनि कार्यमा सफलता पाउन सकिन्छ। वातावरण व्यवस्थापनका लागि चुनौती र मौकाहरु थुप्रै छन् तर यसलाई कसरी लिने र अघि बढ्ने यो प्रमुख मुद्दा हो।

यस बाहेक अको थरीको फोहोरमैला सिधै हाम्रो स्वास्थ्यसित जोडिएको छ। स्वास्थ्य, शिक्षा, सडक, उद्योग कलकारखाना आदि जस्ता हरेक क्षेत्र फोहोरमैला मुक्त देखिदैनन्। यसको पनि व्यवस्थापन हुन घरघरदेखि हरेक कार्यालयसम्म  आवश्यक छ। स्वस्थ्य जीवनशैलीका लागि खानेकुरा मात्र सफा नभई स्वच्छ हावा, सफा पानी र सुन्दर स्थान पनि हो। वायु, जल, आकाश, जमीन जीउनका लागि अपरिहार्य वस्तु हुन्। स्वस्थ्य नागरिकले स्वस्थ्य परिवार, समाज, गाउँ, शहर र राष्ट्रको सृजना गर्दछ। विश्व समुदाय आम संघसंस्थाहरुले आज स्वस्थ्य वातावरणमा अरबौं रुपैंयाँ खर्च गरिरहेका छन्। वातावरण र स्वास्थ्य एक अर्काका परिपूरक अंग हुन्। वातावरण ठीक भयो  भने स्वास्थ्य पनि ठीक हुन्छ,। त्यसैले स्वस्थ्य भएर बाँच्नका लागि स्वच्छ प्राकृतिक वातावरण हुनु आवश्यक छ।

नागरिकको स्वास्थ्यले परिवार, समाज र राष्ट्र नै समृद्धशाली बन्दछ, शहर सुन्दर बन्दछ। प्रदूषित वातावरणीय तत्त्वहरु जस्तैः पानी, धुँवा, धुलो, फोहोरमैलाले विभिन्न प्रकारका रोगहरु जन्माउँछ। झाडापखाला, संक्रामक हेपाटाइटिस, टाइफाइड, लहरेखोकी, कालाज्वर, हैजा, जन्डिस, टिबी, पोलियो हात्तीपाइले रोग आदि प्रदूषित वातावरणका प्रभाव हुन्।

धेरै प्रकारका स्रोतबाट उत्र्सर्जित फोहोरमैला हाम्रा शत्रु हुन्। घरघरबाट निस्केका तरकारी वा अन्य चीजबीज, कलकारखानाका प्रयोग भएका अनावश्यक कच्चापदार्थका सामग्री, कृषि क्षेत्रबाट आएका वनस्पतिजन्य धानका भुस, डाँठ, पात आदि फोहोरमैला हुन्। त्यसरी नै निर्माणस्थलबाट निस्केका अनावश्यक पदार्थ, अस्पताल, पुलपुलेसा निर्माण गर्दा प्रयोग नभएका पदार्थ पनि वातावरण विगार्न उत्तिकै जिम्मेवार छन्।

अहिले शहरबजारमा देखिएका प्रमुख समस्या भनेकै फोहोरमैला व्यवस्थापन रहेको छ। सरकारी पक्षबाट चालिने कदमका नियमलाई वेवास्ता गरेर आफूखुसी जहाँ पायो त्यहीं फोहोरमैला बिसर्जन गर्ने संस्कार निमूल हुन सकिरहेको अवस्था छैन। प्याकेटमा आउने खानेकुरा वा उपकरणका प्लास्टिकजन्य खोल वा अन्य फोहोरमैलाले शहरबजार आक्रान्त भइरहेको पाइन्छ।  यसबाहेक जनसंख्या बृद्धि, अनियन्त्रित औद्योगिक विकास, बढ्दो शहरीकरण र सवारी साधनमा वृद्धिका साथै कीटनाशक औषधिको बढ्दो प्रयोगले वातावरण क्षयीकरण भइरहेको छ।

कुनै पनि सुन्दर शहरको मापदण्ड मूलतः फोहोरमैला व्यवस्थापनसित गाँसिएका हुन्छ। हामी हराभरा, सुन्दर शान्त शहरको कल्पना गर्छौ तर व्यवहारमा भिन्न पाउछौं भने निश्चित रुपले सुन्दरताको व्याख्या गर्नै सकिन्न।

अन्तमा नैतिक रुपमा पदच्यूत फोहोरमैला र भौतिक ठोस पदार्थ मानिने फोहोरमैलाका व्यवस्थापनकै आधारमा विश्वका धेरै मुलुकहरु सुन्दर बनेका छन्। विकासशील मुलुकहरुमा नीति नियम, ऐनले धेरै बाँधेको छ। भ्रष्टचार हाम्रो मुलुकको तुलनामा निकै नै कम हुन्छ। कार्वाहीको दायारालाई जीवनसित जोड्ने गरेको पाइन्छ। कोही बदनियत ढंगले उत्प्रेरित जो कोहीलाई बचाउनतिर लागियो भने समृद्ध नेपालले फड्को मार्न निकै वर्ष कुर्नु पर्नेछ।

- कल्याण पन्त