प्रेस स्वतन्त्रताका पक्षमा : सर्न्दर्भमा गौरीलंकेश, भूपनिधि र अरु पनि

बंगलादेशका फोटोपत्रकार शहीदुल आलममाथि त्यहाँको सत्ताले गरेको चरम ज्यादती नेपालका पत्रिका र अन्य संचारमाध्यममा पनि व्यापक चर्चा भएकै कुरा हो। तथापि, यही हप्ता उनलाई मुद्दा चलाउन प्रहरीले अदालत लैजाँदै गरेको दृश्य टेलिभिजनमा देख्दा सत्ता कतिसम्म अत्याचारी र निर्दयी हुन सक्छ भन्ने दृष्टान्त मात्रै होइन, सभ्य समाज भनिने युगलाई नै लज्जाबोध गराउँछ। त्यस्तै, यसै हप्ता महिनौ अगाडि म्यानमारमा पक्डिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका दुर्इ संवाददाता अदालत लग्दाको छायांकन केही अन्तर्राष्ट्रिय टिभी च्यानलले प्रसारण गरेका थिए। हत्कडी लगाएर नाङगै खुट्टा उनीहरुलाई अदालत लगिँदै थियो। ज्यादै हृदय विदारक दृश्य।

बंगलादेशका शहीदुल आलम फोटो पत्रकारितामा विश्वमै नाम कमाएका व्यक्ति हुन्। उनका फोटोहरुमा अन्याय अत्याचार, शोषण-पीडा र दमनमा परेका, सीमान्तकृत जीवन जीउन बाध्य बनाइएकाहरुको आवाज बोल्छ। बंग्ालादेशकै सरकारले उनलाई उच्च राष्ट्रिय सम्मानबाट पुरस्कृत पनि गरेको थियो। केही अगाडि सडकमा दुर्इ विद्यार्थीलाई मोटरले किचेर मारेको विषयलाई लिएर बंगलादेशमा व्यापक तथा सशक्त विद्यार्थी आन्दोलन भयो। यो आन्दोलन दमन गर्न त्यहाँका सुरक्षाकर्मीले गरेको बर्बर दमनको आलमले फोटो खिचे। त्यो अन्तर्राष्ट्रिय ख्याति पाएको अलजजिरा टेलिभिजनले प्रसारण गर्‍यो। बंगलादेशी सरकारको यो दमनको ताण्डव नृत्य शेष दुनियाँले थाहा पाए। सरकार शहीदुल आलमसँग आगो भयो। उनी पक्राउ परे। अहिले पनि जेलको कालकोठरीमा छन्। उनी विरुद्ध देशद्रोहको आरोप छ।

म्यानमार (बर्मा) मा त्यहाँको राखिन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुसलमानका विरुद्ध त्यहाँका शासकले गरेको अत्याचार अब म्यान्मारको मात्रै विषय रहेन। यही अत्याचारका घटनाहरु जहाँ भएका छन्, त्यही पुगेर जीवन्त रिपोर्र्टिङ गर्ने रोयर्टस समाचार एजेन्सीका दुर्इ संवाददाता पक्राउ परेको पनि धेरै भयो। उनीहरुविरुद्ध राष्ट्रको गोपनीयता भंग गरेको आरोप छ। यी संचारजगतका जीउँदा जाग्दा प्रतिनिधि अहिले जेलमा यातना भोगिरहेका छन्। अदालतले ७ वर्षको जेल सजाय तोकेको छ। तर कहिले मुक्त होलान् थाहा छैन। किनभने निरंकुशतामा अदालतमा मुद्दा चलाउने पनि नाटक जस्तै हो। फगत दुनियाँको आँखामा छारो हाल्ने कुरा मात्रै।

संचारजगतमा अर्को पीडा भारतको बैंगलोर शहरबाट कन्नडभाषा (त्यहाँको जनभाषा) मा प्रकाशित हुने एक साप्ताहिक पत्रिकाकी सम्पादक गौरीलंकेशको हत्या पनि बडो दुःखद तथा विस्मयकारी घटना हो। यी कलमवीर नारीको सम्बन्धमा उनको हत्यापछि नै हामी धेरैले थाहा पाएका हौ। साचो भन्नुपर्दा मलाई उनको सम्बन्धमा अगाडि थाहा थिएन। अझ भन्दा नामै सुनेको थिइन तर, भारतको राजधानी बाहिर बसेर स्थानीय भाषामा प्रकाशित उनको पत्रिकाको विश्वसनीयता, सत्ताका कुकर्महरुको निर्भिक भण्डाफोर र आमजनताका अधिकारप्रति उनको अटल निष्ठाले उनी माफियाहरुको लागि, स्थायी सत्ताको लागि आँखाको कसिंगर बनेकी रहिछन्। त्यसैले उनले ज्यानको बलिदान गर्नु पर्‍यो। भनिन्छ, सत्ताको नजिक रहेर हालीमुहाली गरेका गिरोहले उनको ज्यान लिए।

बंगलादेशका फोटो पत्रकार शहीदुल आलम हुन् वा म्यानमारमा रोयर्टसका संवाददाताद्वय वा लोन र क्याम सिईओ यिनीहरुमाथि भएका धरपकड तथा अत्याचारका विरुद्ध नेपालमा निकै चासो व्यक्त भएको छ। धेरै पत्रिकाले सम्पादकीय नै लेखेर उनीहरुको रिहाईको माग पनि गरेका छन्। कलमवीर मानिएकी गौरीलंकेशको हत्यामा पनि नेपाली प्रेस जगतत्ले उल्लेखनीय विरोध जनाएको हो। एउटा खुशीको कुरा यो रहेको छ कि पहिले नेपालमा प्रकाशन स्वाधीनता र वाक स्वतन्त्रताका सम्बन्धमा बाह्य जगतबाट सहयोगको अपेक्षा हुन्थ्यो। अहिले भने बाह्य देशमा भएका ज्यादती विरुद्ध नेपाली मिडियाले सशक्त आवाज उठाउन सक्ने भएका छन्।

पत्रकारितामाथि यही पोखरामा सरकारबाट भएको ज्यादतिको एउटा घटनाको म स्वयं साक्षी छु। अहिलेका युवाहरु धेरैलाई थाहा पनि छैन होला, वरिष्ठ अधिवक्ता भूपनिधि पन्त एक उम्दाकोटीका पत्रकार पनि थिए भन्ने कुरा। उनको सम्पादकत्वमा सप्तगण्डकी साप्ताहिक प्रकाशन हुन्थ्यो। यो पंचायतकालको कुरा हो। पोखरामा अफसेट प्रेस थिएन त्यसवेला। टे्रडल मिसिनमा छापिने पत्रिका हो। यहाँ गण्डकी अंचलमा अंचलाधीश थिए, खड्गबहादुर जिसी। पहिला विद्यार्थी छँदा कम्युनिष्ट रहेका यिनी पछि अञ्चलाधीश भए । पोखराको कभडहल -रंगशाला) बनाउँदा यिनले धेरै भ्रष्टाचार गरेको चर्चा थियो। तर, बोल्न सक्ने कोही होइन। यो कर्भडहल बन्दै गर्दा अंचलाधीशकी श्रीमतीले पोखराकै आभूषण पसलमा लाखौंका गहना पनि किनेकी थिइन्। ०४३-४४ सालमा लाखका गहना किन्नु चानेचुने कुरा थिएन।

सप्तागण्डकीमा पन्तजीले छापिदिए- कर्भडहल (गशाला)) निर्माणमा हिसाव गोलमालः अंचलाधीशकी श्रीमतीले गहना किनिन्। शब्द यिनै त होइनन्। यस्तै थियो शीर्षक र विवरण। सप्तगण्डकी हट्केक झैँ खोसाखोस भयो – सबै पढ्न चाहन्थे। यसको धेर थोर प्रसिद्धि पनि थियो। खड्गबहादुर त पन्तसंग आगो हुने भै हाले। तर, आफ्ना कमजोरीले यही विषयमा पन्तजीलाई पक्राउ गर्न सकेनन्। के निहुँमा समातूँ भनेर  कुरेर बसेका रहेछन्। शायद,  केही दिन पछि राजा वीरेन्द्र हो वा रानी ऐर्श्वर्यको जन्मदिन रहेछ।  सप्तगण्डकीमा फोटो सहित शुभकामना छापियो। फोटो त त्यही हो ? श्री ५ को सरकार, सूचना विभागले दिएको ब्लक। एकातिर छाया परेझंै कालो आउँदो रहेछ। संयोग हो, त्यही अंकमा श्री ५ लेखिनु पर्ने श्री मात्रै परेछ ५ छुटेछ। तर, पत्रिकाको त्यही अंकमा ५ छुटेको भूलसुधार पनि छापिए छ। मैले सम्झेसम्म कुरा यही हो।

अञ्चलाधीश जिसीले यही निहुँ पारेर राजद्रोहको अभियोगमा पन्तजीलाई पक्राउ गरे। प्रतिशोधको चरम नमूना। अनुसन्धानको लागि भन्दै गैह्रापाटन जि.प्र.कामा थुने। भेटन पनि नदिने। भेट गर्न गएका अधिवक्ता तथा प्राध्यापक सोम बहादुर वोगटीलाई पनि एक दिन थुनियो। बहुत हिम्मतदार थिए म्याग्दीघर भएका यी वोगटी अहिले दिवंगत भइसकेका छन्।  पन्तजीमाथि राजद्रोहको मुद्दा लगाईयो। पन्तसँगसँगै ल र्फममा रहेका राधवलाल वैद्यले के ठानेर हो आफै जानुन ल र्फम अलग गरे। पन्तसंग बस्दा प्रशासन रिसाउला भनेर हुनुपर्छ।

माथि नै भनिसकिएको छ-यो ०४३-४४ सालको कुरा हो। मुद्दा क्षेत्रीय अदालतमा चलेको थियो। पन्तजीको तर्फबाट यज्ञमूर्ति वन्जाडे र मैले वहस गरेका थियाँै। मलाई सम्झना छ माननीय न्यायाधीशद्वय ओमभक्त श्रेष्ठ र हरिप्रसाद शर्माको बेञ्च थियो। दुवै पछि सवोर्च्चका प्रधानन्यायाधीश भई रिटायर्ड भईसकेकाछन्। वहस गर्दै गर्दा अक्सर न्यायाधीशको मनस्थिति बुझिन्छ। न्यायाधीश श्रेष्ठको उदार दृष्टि बुझिन्थ्यो भने हरिप्रसाद चाहिं बढो अनुदार पोजिसनमा थिए। बन्जाडेजीले मुद्दाको शुरु गरे लामो बोलेनन्। यो उनको स्वाभावै पनि हो।  मैले राष्ट्रिय अन्तर्राष्ट्रिय दृष्टान्त उठाएँ, प्रेस स्वतन्त्रताका कुरा राखें। तर, हरिप्रसाद को रुझान ठीक लागेन। फोटो सम्बन्ध्ामा त एकापट्टिछाया कालो हुने अरु पत्रिकामा छापिएका, कितावमा छापिएका पनि देखाएर चित्त बुझाएँ।  तर, श्री ५ लेख्नु पर्नेमा ५ छुटेको उही पत्रिकामा भूलसुधार छापेपछि जानीजानी श्री ५ लाई अपमान गरेको देखियो भन्ने कुराको अडान छाडेनन्। ओम भक्तले भन्दा पनि बेञ्चमै काहाँ हुन्छ भन्छन्।

तत्कालको नेपालको संविधान २०१९ मा श्री ५ भन्ने व्यवस्था भएको महलमा पनि श्रीको पछाडि आउने ५ छुटेको, त्यही संविधानको पुस्तकको अन्तिम पृष्ठमा छापको भूल सच्चाइएको मैले न्यायाधीशलाई देखाइदिएँ। संविधान श्री ५ को सरकारको छापाखानामा छापिएको, सरकारकै कानून व्यवस्था किताबले छापेको यो पन्तजीको मुद्दामा प्रमाण नलाग्ने कुरै भएन। राजद्रोहबाट पन्तजीले सफाइ पाए। पछि बुझ्दा अञ्चलाधीश खड्गबहादुर सिंहको घर र न्यायाधीश हरिप्रसादको घर प्युठान, दाङ तिरै रहेछ। पन्तलाई हराइदिन अञ्चलाधीशले खुसामद गरेका पनि रहेछन्, हरिप्रसादसँग।

गौरीलंकेश हत्या भएपछि मैले पन्तलाई सम्झेँ। उनी पनि दिल्ली बाहिर मोफसलकी पत्रकार सरकारको भ्रष्टाचार उद्घाटित गर्दा ज्यानै गयो। धन्न माफिया गुण्डाबाट पन्त मारिएनन्, त्यसबेला।

सत्ता जहिले पनि निरंकुश हुन रुचाउने रहेछ। लोकतन्त्र सत्ताको शृंगारिक परिधान प्रतीत हुन्छ। नत्र खड्गबहादुर विश्वकर्मा सवोर्च्चको बन्दी प्रत्यक्षीकरण आदेशबाट मुक्त भएपछि पनि अदालतकै हाताबाट गिरफ्तार नहुनुपर्ने हो। तर, भारतमै पनि अहिले शहरी माओवादीका नाउँमा वकील, पत्रकार र लेखकको व्यापक धरपकडको अत्याचार मोदी सरकारले गरेको छ।

अतः गोपनीयता र अरु कुनै पनि बहानामा वाक तथा प्रकाशन स्वतन्त्रतामा लगाइने गरी आएका संहिता, ऐन वा विधेयक अस्वीकार्य छन्।

- तिलक पराजुली