प्रदेश नं. चार र यसका विशेषता-३

नेपाल सरकारलाई प्रदेशहरूको राजधानी छिटो तोक्नका लागि बारम्बार आग्रह गर्दै आएको सर्न्दर्भमा  प्रदेशका राजधानीहरू राजनितिक सहमतिमा छिटै निर्णयगर्ने कुरा प्रकाशमा आएको छ। राजधानीहरू तोकिए पछि फेरि एकपटक आम जनतामा नयाँ उर्जा र उत्साह थपिने छ र आफ्नो प्रदेशको भविष्यबारे चिन्तन, मन्थन गर्न थाल्ने छन्। हामी पनि प्रदेश नं. ४ बारे गम्भिरताका साथ  अगाडि बढ्नु पर्दछ र अन्यको तुलनामा श्रेष्ठ बन्नको लागि लगन र मेहनतका साथ प्रयासहरू शुरु गरिनु पर्दछ। तुलनात्मक रूपमा क्षेत्रफलमा सानो भएपनि स्रोत साधनलाई पर्याप्त परिचालन गर्न सक्ने सम्भावना रहेको प्रदेश हो। यस अन्तर्गत रहेका साविकका जिल्लाहरूको आ-आफ्नै विषेशता रहेको, परस्परको सम्बन्ध प्रगाढ रहेकोले छिटो समृद्धिका आधार तयार गर्न सक्ने वातावरण् रहेको छ।

राजनैतिक नेतृत्व र अव वन्ने प्रदेश सरकारको दुरदर्शी, प्रभावकारी सोचबाट यो सम्भव हुनेछ। ४ नं. प्रदेशमा प्रतिनिधि सभाको लागि १८ निर्वाचन क्षेत्र तय गरिएको छ भने यो प्रदेशको लागि निर्वाचन क्षेत्र ३६ कायम गरिएको छ। ४ नं. प्रदेशसभा को लागि समानुपातिकबाट २४ ओटा निर्वाचित हुनेछन् भने प्रतिनिधि सभाका लागि ११० जना निर्वाचित गरिनेछ। ४ नं. प्रदेशसभामा जम्मा ६० जना सदस्य रहने छन् र ३१ जना सदस्यले बहुमत पुग्ने भएको हुनाले जुन दलले ३१ सदस्य बहुमत हासिल गर्न सक्यो त्यही दलले ४ नं प्रदेशमा सरकार गठन गर्नेछ।

तसर्थ राजनैेतक दलहरू एकातर्फ७ वटा प्रदेशमा सरकार गठनका लागि ठूलै मेहनत गर्नेछन् भने प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ कायम रहने भएको हुनाले सरकार बनाउन चाहिने बहुमत संख्या १३८ पुर्‍याउनका लागि राजनैतिक दलहरू आउँदो मार्ग १० र २१ गते हुने निर्वाचनको लागि दिलो ज्यानले लाग्नेछन् किनभने राजनैतिक दलहरूको अन्तिम लक्ष्य भनेको सरकार गठन गर्नु हो।

प्रदेश नं. ४ को नामाकरण यथोचित होला नै तर यस प्रदेशको आफ्नै विशेषताहरू छन्। मनाङ र मुस्ताङ जस्ता परम्परागत भोट क्षेत्र यहीँ छ। यस भोट क्षेत्रको भूगोल, जमिनको आवस्था, हावापानी र भूस्थिति ले सवैलाई अचम्मित तुल्याउँछ। त्यसकारणले यो क्षेत्र भ्रमण गर्न सवैमा कौतूहलता उत्पन्न गर्दछ। विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा यही २ क्षेत्रको आकर्षाले हो अझ २ जिल्लाको सिमानामा रहेको सुन्दर शान्त रमणीय तिलिचो तालले थप आकर्षा बढाएको छ।

झण्डै नेपाल घुम्न आउने पर्यटकहरूमा ५०-६०∞ यही क्षेत्र घुमघाममा विताउँछन्।थोरै जनसंख्या तर ठूलो भूभाग, समथर जग्गा भएतापनि बलौटे तथा पत्थरयुक्त जमिन भएकोले उच्च हिमाली क्षेत्रमा कृषि उत्पादन हुँदैन तर तल्लो भेकतिर जौ, उवा, फापर, आलु, तरकारी उत्पादन हुन्छन्। र अहिले व्यवसायिक रूपमा स्याउ, ओखर जस्ता बस्तुहरूको उत्पादन बढेको पाइन्छ। दुवै जिल्लामा सडक मार्ग पुगेको छ तापनि ठूलो पहाड कन्दरा छिचोलेर सडक निर्माण गरिएको हुनाले सडक मार्ग भएर ती जिल्लामा जान रोमाञ्चित र अलिकति जोखिम मोल्नुपर्ने अवस्था छ।

दुवै जिल्ला दुर्गम कोटीमा रहेको हुनाले धेरै पहिलादेखि हवाइजहाज मनाङ भन्दा मुस्ताङ व्यवसायिकतामा अवसर र संभावनामा अगाडी छ त्यसमाथि उत्तरी सिमानाका कोरालाबाट व्यापारिक संम्बन्ध अगाडि बढ्ने कुराले गति लिइरहेकोले पनि मुस्ताङ महत्वपूर्ण क्षेत्र हुने क्रममा छ। त्यसमाथि ऐतिहासिक सम्पदा लोमान्थाङ दरबार छोसेरमा रहेको १०८ कोठा सहितको साततले गुफा बौद्ध तथा हिन्दु धर्मावलम्वीहरूको पवित्रस्थल मुक्तिनाथ मन्दिर, पवित्र मानिएको दामोदर कुण्डले यसको महत्व बढाएको छ।

भविष्यमा उत्तरी मरुभूमिको रूपमा रहेको उपल्लो मुस्ताङ क्षेत्रमा जीपसफारी, साइकल र मोटरसाइकल यात्रा, फिल्माङ्कन स्थलको रूपमा प्रचुर व्यवसायिक संभावनाहरू यथार्थमा परिणत हुनेछन्। त्यसमाथि युरेनियमको भण्डार पनि रहको प्राथमिक परीक्षणबाट जानकारी आएको हुनाले झनै राष्ट्रिय महत्वको स्थान हुनेछ। परम्परागत रूपमा डोल्पाको ताराकोट हुँदै जुम्ला खलंगा र मुगुको राराताल पुग्ने पदमार्गलई सडकमार्गमा परिणत गर्ने दूरगामी योजनाले दुर्गम क्षेत्रलाई सुगमतामा परिणत गर्न सघाउ पुर्‍याउने छ। स्याउको खोरपानी र ओखरको व्यवसायिक खेतीबाट उच्चलाभ लिन सक्ने अवस्थालई निर्यात योग्य वस्तुको रूपमा रूपान्तरण गर्ने प्रयास गर्नुपर्दछ। पर्यटकहरूलाई धेरै दिन बिताउन सक्ने आधारहरू तयार गर्नुपर्दछ। ४ नं. प्रदेशको आर्थिक आधारहरू यिनै हुन र मनाङमा पनि मुस्ताङको रेलमोडल विकास गर्ने रणनीति अवलम्वल नर्ग सकियो भने झनै उत्तम हुनेछ।

यस प्र्रदेशको अर्काे महत्वपूर्ण क्षेत्र तनहुँ हो। ऐतिहासिक तनहुँसुरको नामले प्रसिद्धि पाएको यो क्षेत्रमा देवघाट जस्तो धार्मिक दृष्टिकोणले महत्वपूर्ण कालीगण्डकी र सेतीको संगमा स्थल पनि रहेको छ। सारा हिन्दु धर्मावलम्वीहरूलाई संस्कार, ज्ञानगुणकाकुरा, अनुशासन र युद्धका मुध्य कुरा सिकाउने महाभारत काव्य का रचयिता महान वेदव्यास सेती र मादीको संगममा रहेको गुफामा जन्मेका हुन भनेर जनश्रृति र ऐतिहासिक पौराणिक तथ्यमा पाइएको छ। यस्तो क्षेत्र तनहुँको महत्ववारे चर्चा गरिरहन आवश्यक छैन त्यसमाथि पृथ्वी राजमार्गले ठ्यक्कै बीच भागबाट छुट्याइएको हुनाले यसको आर्थिक महत्व बढेको छ।

तनहुँ क्षेत्रमा असाध्य धेरै र ठूला टारहरू र फाँटहरू विद्यामान छन्। साँगे फाँट, पटेनीटार पिपलटार, खैरेनीटार, हिले, केशवटार, सत्रसयफाँट, कस्नेस्तिफाँट, भलाटार, रम्घाफाँट जस्ता समथर भूभागहरू छन् भने सवैभन्दा महत्वपूर्ण नदी प्रणालीहरू पनि यस क्षेत्रमा छन्। मर्स्याङ्दी यसको पूर्र्वी सिमाना हो। रिस्ती, कलेस्टी, फाँङ्दी, चुँदी, मैदी, बुल्दी, गुनादी, नाउदी, छाव्दी, मादी जस्ता नदी र खोलाहरू निरन्तर वगिरहेका छन् ढोरको फलाम खानीबाट निकालिएको फलामद्वारा भिमाद नेर झोलुङ्गे पूल बनाइएको उदाहरण पनि तनहुँमा छ।

सवैभन्दा अग्लो पहाड छिम्कालेक झन्डै ७ हजार फिटमा अवस्थित छ त्यपछिको अग्लो ठाउँ भनेको मिर्लुङ्कोट हो। जुन ५ हजार ४ सय फिट अग्लो छ पहाडी क्षेत्र भएर पनि धेरै अग्लो डाडाकाँडाहरू नहुनु समथर फाँट र टारहरू धेरै हुनु तैपनि ठूला व्यापारिक केन्द्रहरू विकसित हुन नसक्नु यसको चुनौती हो। प्रदेश नं. ४ को राजधानी हुनसक्ने प्रशस्त ठाउँहरू हुँदाहुँदै पनि प्रदेशको सवैभन्दा ठूलो शहर पोखरासंग जोडिएको भएता पनि शहरउन्मुख हुने दिशातर्फधेरै प्रयासहरू नचालिएको अवस्था छ।यद्यपि भोलिका दिनमा नवलपुर क्षेत्र संग नजिकिने बाटो भनेको भिमाद डेढगाउँ हुँदै चोरमारा, पुग्ने सडक निर्माण र दमौली बुलिङटार हुँदै कावासोती निस्कने सडक खण्डको विस्तारबाट यो क्षेत्रको व्यापारिक विकासमा उल्लेखनीय सुधार हुनसक्ने विश्वास लिन सकिन्छ।

तनहुँ सेती जलविद्युत आयोजना र यसबाट निर्माण हुने झन्डै ८ कि.मि. को कृत्रिम ताल र सेतीका दायाँबाया क्षेत्रमा रहेका जनजीवन, लोकसंस्कृतिले पर्यटकीय संभावनालाई अगडि बढाउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ।मादी कोरिडर दमौली शिशाघाट हुँदै सिक्लेस पुग्ने पर्यटन मार्गले अर्काे नयाँ आयाम थपिने छ। नेपालको रेलमार्ग चित्रमा पूर्व पश्चिम रेलमार्गको जंकशनमा नवलपुरको तमसरियाबाट तनहुको आँबुखैरेनी रेलमार्ग अनि पोखरा काठमाण्डौ रेल लाइन को जंक्शन पनि यही आँबुखैरेनी नै हुने दिर्घकालीन योजना कार्यन्वयन भएपछि तनहुँ क्षेत्रको एउटा महत्वपूर्ण आर्थिक कायापलट हुने विश्वास गर्न सकिन्छ।

तनहुँ क्षेत्रबाट स्याङ्जा पुग्न सडक स्तरोन्नति भइरहेको छ। अव स्याङ्जाको पुतलीबजारबाट बाड्खोला हुँदै भिमाद पुग्ने, मिर्दी बाट चित्रे हुँदै भिमाद पुग्ने बाटो स्तरोन्नति हुदै गरेकोले सहजयात्रा सञ्चालन हुनेछ।त्यस्तै भिमाद गोर्खेकोट हुँदै चापाकोट हुँदै गल्याङसम्म पुग्ने सडक निर्माण, कालीगण्डकी कोरिडर अन्तर्गत गैँडाकोट सम्म निर्माण हुने बाटोले स्याङ्जा र तनहुँ दुवै क्षेत्रको आर्थिक संभावनालाई उजागर गर्दैछ।

स्याङजाको सवैभन्दा ठूलो टार चापाकोटलाई अत्यन्तै ठूलो संभावना युक्त क्षेत्रको रूपमा लिइएको छ यो संगै रहेको सुन्तौलीटार एउटा व्यापारिक केन्द्रको रूपमा परिणत हुनेछ। केलादीघाटमा पूल निर्माण पछि पाल्पाको रामपुर फाँटको विशाल आर्थिक सामर्थ्यतालाई ४ नं. प्रदेशसंग समाहित गर्ने संभावनालाई नकार्न सक्दैनौँ। नजिकपन, सहजता, पहुँच जनजीवन सवै कारणले रामपुर ५ नं प्रदेश भएतापनि ४ नं. प्रदेशकै हाराहारीमा बढी सम्बन्ध विकास हुने प्रचुर संभावना छ।

स्याङ्जाको दक्षिण पश्चिम सिमाना भइ वगेको काली गण्डकी र यो संग मिसिने यहाँका प्रमुख नदीहरू आँघिखोला, आर्थर, भाटखोला, बाढखोला, दरौँ ज्याग्दी, सुरौँदी खोला यहाको प्रमुख नदी प्रणाली हो आँधिखोलामा बन्ने उच्च बाँधको बहुउद्देश्यीय जल आयोजनाले स्याङ्जाको आर्थिक विकासमा एउटा कोशे ढुंगा सावित हुनेछ। सिर्द्धार्थ राजमार्गले झन्डै आधा गरी छुट्याएको स्याङजाको वालिङ बजार सरकारले परिकल्पना गरेको स्मार्ट शहर बन्न वालिङबासीले आत्मसात गर्नुपर्दछ। आँधिखोलको दायाँ बायाँ किनारमा रहेको समथर भूभागहरू सुनियोजित प्रयाग गरेर मात्र स्मार्ट शहर बन्न सक्ने संभावना भएको हुनाले ४ नं. प्रदेशको पहिलो स्मार्ट शहरको रूपमा आफूलाई स्थापित गर्ने मौका आएको छ।

ऐतिहासिकरूपमा स्याङ्जामा रहेको भिरकोट राज्यको रूपमा जैनखानले स्थापित गरेको त्यसपछि स्याङ्जा कै सतौ र गरौँ, कास्कीमा पनि जैनखानका सन्तानहरूले राज्य संचालन गर्दै लमजुङमा यशोब्रम्ह, गोरखामा द्रव्यशाहलाई राजाका रूपाम स्थापित गरेको कुरा विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको पाउछौँ। यस्तो ऐतिहासिक पृष्ठभूमि भएको स्याङ्जाले आउँदा दिनहरूमा ४ नं. प्रदेशको समग्र उत्थानमा त्यस्तै भूमिकाहरू निर्वाह गर्न जरुरी छ।

स्याङ्जाबासीहरूले शुरु गरेको सिरुबारी ग्रामीण पर्यटन आकर्षा कुनैबेला बंगलादेशमा सुन्तला निर्यात गर्न सफल भएको सुखद अवस्थालाई पुनर्जागरण गर्नुपर्ने बेला पनि आएको छ। तसर्थ भौगोलिक अवस्थाले असजिलो भइरहेको ठाउँहरूमा सुरुङमार्ग निर्माण गर्ने अठोटका साथ लागयौ भने धेरै सहजता र सुगमता हुनसक्ने छ। यस्ता पूर्वाधार निर्माणले यस प्रदेशको संभावित राजधानी पोखरामा गरिने निर्माणका प्रारूपहरूलाई तनहुँ, स्याङजा, लमजुङ, पर्वतका विभिन्न ठाउँहरूमा लैजान सकिने थियो।यसबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न सक्नु पर्दछ। ५ वटा नगरपालिकाहरू पूतलीबजार, गल्याङ, चापाकोट, चिरकोट र वालिङ ६ गाउँपालिका अर्जुनचौपारी, विरुवा काली गण्डकी हरिनास, फेदीखोला आँधिखोला रहेको स्याङजा प्रदेश नं. ४ को समग्र आर्थिक विकासमा सक्रिय भूीमका खेल्ने विश्वास लिन सकिन्छ।

समग्र प्रदेशलाई उत्थान र समृद्धिको बाटोमा लैजान प्रदेशमा रहेका विभिन्न महत्वपूर्ण ठाउँहरू यहाँ रहेका प्राकृतिक सम्पदा, नदीनाला, वनजंगल आदि साधनहरूले नै योगदान पुर्‍याउछ।त्यसैले प्रदेशवासीहरू प्रदेश सरकारसंग सुशासन र राम्रा योजना स्रोतको व्यवस्थापनका लागि निरन्तर आवाज उठाइरहन जरुरी छ।

- आनन्दराज मुल्मी