प्रदूषण, बजेट र पोखरा

नेपालको सबैभन्दा सुन्दर शहर कुन होला ? जवाफमा घोत्लिनुपर्ने पर्दैन। अहिलेको विश्वको परिवेशमा उत्तिकै नाम अगाडि आउछ, पोखरा। चर्चामा धेरै फड्को मारिसकेको छ, यो सुन्दर भूमिले। क्षेत्रफलका हिसाबले पनि यो नेपालमा पहिलो दर्जामा छ।  २०१६ सालमा स्थापना भएको यो हालको विकसित महानगरले आफ्नो काँचुली फेर्ने अवस्थामा आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रमको नजर समृद्ध पोखरा बनाउने तर्फ उन्मुख छ। तर सबैले सोच्नै पर्ने, जान्नैपर्ने कुरा के छ भने पोखरा प्रवेश हुने बित्तिकै यहाँको वातावरण मैत्रीपूर्ण छ वा छैन गम्भीर रुपमा आम जनप्रतिनिधिहरुले एकएक समस्या र समाधानका उपाय खोतल्न जरुरी छ। पोखरा, जनता र जनप्रतिनिधि बीच तार्दाम्यता केलाउन सकियो भने सुन्दरमा सुन्दरता अझ थप्न सहज हुन्छ। सुन्दर बन्नको लागि प्रकृतिको वरदानले मात्र पुग्दैन। मानवीय संसाधनको प्रयास पनि हुनुपर्दछ।  प्रविधिको चरम गतिको विकासको साथसाथै प्राकृतिक साधनको दोहनले वातावरणलाई स्वच्छताको सीमाबाट पर राख्दछ। बढ्दो सवारी साधनको प्रयोगले प्रदूषणलाई सहयोग पुर्‍याइ रहेको हुन्छ।

प्रकृतिले सिंगारेको विविधतापूर्ण जल, थल, वायु, आकाश स्वभाविक विशेषता हुन्। यिनै अनुसार योजना बनाइयो भने निश्चय नै समृद्ध पोखराको सपना साकार हुन्छ, अन्यथा प्रकृतिले दिएका उपर्युक्त स्वच्छतालाई वास्ता नगरी अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार सहित सुविधा सम्पन्न शहर मात्र भनिरहियो भने हाम्रा लागि त्यही अभिशाप बन्न सक्छ। यतिखेर हामीले दावाका साथ भन्न सक्छौ पोखरा वायु प्रदूषण हालका दिनसम्म ९० प्रतिशत ठीक छ। औद्योगिक कलकारखाना, सडकको धूलोधुवाँले स्पष्ट देखिने गरी बिगारिहालेको अवस्था छैन। केही समय अघि लागू गरिएको हर्न निषेध पोखरा शहरको ध्वनि प्रदूषणले पनि कोलाहलबाट जोगाएको छ। अबका दिनमा जनप्रतिनिधिहरुले कस्ता विशेषज्ञसित परार्मश गरी कसरी पोखरालाई हिडाउँछन्, आर्थिक वर्षका बजेट कसरी सदूपयोग गर्छन्। पोखराको भविष्य त्यसैमा निर्भर छ। कार्यकर्ता, सहमति, समन्वय, भागवण्डा जस्ता शब्द सामाजिक विकासमा बाधक हुन्छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछिको गर्जनको असर एअरपोर्टमा मात्रै सीमित हुन्छ भन्ने हुँदैन। तसर्थ दीघकालीन ध्वनि प्रदूषणका बारेमा पनि बेलैमा होश पुर्‍याउनु आवश्यक छ।

प्राकृतिक वा मानव निर्मित वातावरणलाई नकरात्मक प्रभाव प्रदूषणले पार्दछ। यसले जल, थल, वायुको भौतिक, रासायनिक वा जैविक गुणमा परिवर्तन ल्याउछ र जीवहरुको स्वास्थ्यमा संकट निम्त्याउछ। प्रदूषण एक असामान्य स्थिति हो। यही प्रदूषण मुक्त शहरलाई नै पर्यटकीय शहरको रुपमा विकास गर्न सहयोग पुग्दछ।  घर भित्र कोठा थुनेर बस्नु भन्दा चारैतर्फको झयाल खोलेर बस्नु आनन्ददायक भएझैं हरियाली डाँडाकाँडा, सेता हिमालका बीचको वायु प्रवाह निर्मल हुन्छ। पहाड, पर्वतका कन्दराबाट निस्केका जलले पनि पोखरालाई धनी बनाएको छ भने यहीको धर्तीमुनिबाट निस्केको पानीले समेत हराभरा तुल्याएको छ र ठूल्ठुला क्षेत्रमा जमेका जलले मानवको ध्यान आकृष्ट गरेको छ भने सीमसारीय क्षेत्र भएको हुँदा विभिन्न किसिमका जीवहरुहरुको क्रीडास्थल बनेको छ। यही सम्पदालाई हामीले ताल भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा नाम र दाम दुवै कमाएका छौ र भोलिको अझ सुन्दर पोखराको खाका पनि बिस्तारै बिस्तारै कोर्दैछौ।

पोखरा-लेखनाथ महानगरपालिकाले यस वर्ष १३ करोड ६५ लाख १० हजारको बजेट वातावरण तथा विपद्को लागि विनियोजन गरेको छ। यस अन्तर्गत ताल संरक्षण एवम् गुरुयोजना तयारी कार्यक्रमको लागि मात्र एक करोड ३० लाख छुट्याइएको छ। ताल सरसरफाइका लागि मेसिन खरिद गर्न ९२ लाख १० हजार, प्रत्येक वडामा एक एक वटा पार्क निर्माणका लागि ३३ लाख, क्लिन सिटी ग्रीन सिटी अभियानका लागि ५० लाख, फोहोरबाट उर्जा कार्यक्रमका लागि १० लाख, प्लास्टिक न्यूनीकरण तथा रिसाइकल उद्योग प्रवर्द्धन कार्यक्रमका लागि २५ लाख, काञ्जीहाउस निर्माणका लागि १० लाख, सुइखेत खोला नियन्त्रणका लागि १५ लाख, र अन्य वातावरण संरक्षण कार्यक्रमको लागि ५० लाख विनियोजन गरेको छ। बजेट सक्नु मात्र कार्य होइन, कार्यान्वयन कसरी गरिन्छ। यो महत्त्वपूर्ण हुन्छ।

प्रदूषणले  स्वच्छतालाई त विगार्छ, विगार्छ तर यसबाहेक यसले विभिन्न किसिमका झाडा, पखाला जस्ता रोग निम्त्याउँने गर्दछ। हावापानीको नैसर्गिक गुणमा समेत परिवर्तन ल्याउँछ र बाँच्नको लागि असहज बनाउँछ। मौसममा परिवर्तन समेत देखिन्छ। पृथ्वीको तापक्रममा केही वृद्धि हुन गई जीवजन्तु र मानव बसोबासका लागि समेत असर पार्दछ। यति मात्र नभई बाढी, पहिरो आदिलाई उकास्ने र बढाउने कार्य गर्दछ।  जल, थल र वायुमा यी तिनै थरी प्रदूषण मानव जीवनका लागि घातक छन् तर वायु प्रदूषणको असर स्वास्थ्यमा छिटो देखिन्छ। विभिन्न शहरको तनावपछि घुम्ने फिर्ने रमाइलो विश्राम स्थल पोखरा हो तर वायुलाई हामी सम्पत्ति मानेर यसलाई वेवास्ता गर्‍यौं भने निश्चय नै यसको परिणाम राम्रो हुँदैन। हावामा रहने ग्याँसीय सूक्ष्म कण, जैविक प्रदूषक, कार्वनमोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फरडाइअक्साइड, हाइड्रोकार्वन, धूलाका कण ओजन तह आदि  प्रमुख वायु प्रदूषक हुन्। यी उद्योग कलकारखानाबाट उत्र्सर्जित हुन्छन्। सबारी साधनबाट पनि उत्तिकै मात्रामा यस्ता विषालु ग्याँसहरु निस्कन्छन्। पोखरा उपत्यकाको वायुमण्डलमा कति मात्रामा यी ग्याँसका मात्रा छन्। कुनै अनुसन्धान गरिएको छैन तर पोखरा, विराटनगर, वीरगञ्ज, भैरहवा आदि शहरको तुलनामा यहाँको वायुको अवस्था राम्रो मान्न सकिन्छ।

वायु प्रदूषणको मुख्य स्रोत बढ्दो आर्थिक सामाजिक विकास हो। कार्वनमोनोअक्साइड, हाइड्रोकार्वन, धुलोको कण, शिशाजस्ता हानिकारक तत्वहरु वायुमण्डलमा मिसिनुमा सवारी साधनको प्रमुख भूमिका रहेको हुन्छ। ४० प्रतिशत धूलोको कण हावामा मिसिनु यही हो। कम विकसित मुलुकहरुमा सवारी साधनबाट हुने वायु प्रदूषण बढ्दो मात्रामा रहेको छ। आइरन र स्टिल र कागज उत्पादन गर्ने उद्योगबाट धेरै मात्रामा धुल्ााको कण निस्िकरहेका हुन्छन्। वन जंगल जोगाउदा पनि वायुप्रदूषण कम हुन्छ। जनसंख्या वृद्धि र महानगरको विस्तारले पनि शहरीकरणलाई धेरै वृद्धि भएको छ। जमीन खुम्चेको छ भने अनावश्यक गतिविधि बढेको छ। रुघाखोकी, निमोनिया, फोक्सो सम्बन्धि रोगहरुको मूल कारण यही वायुप्रदूषण हो। रोगी, बालक र वृद्धबृद्धालाई यसले छिटो प्रभाव पार्दछ। बोटबिरुवामा पनि प्रत्यक्षतः असर पुर्‍याइरहेको हुन्छ। सल्फरडाइअक्साइडको मात्राले बोटबिरुवा पहेलिदै जाने अन्तमा झर्ने हुन्छ। वायु प्रदूषणले स्मारक, पुल, पाटीपौवा, भवन आदिका सतह खुइल्यादिन्छ भने रंगरोगनलाई बिगारिदिन्छ। इकोसिस्टम प्रणालीलाई कमजोर बनाइदिन्छ। सवारी साधन, उद्योग, कलकारखानाबाट निस्केका विषालु ग्याँसले जीवन नै जोखिममा पार्दछ।

वायु प्रदूषणलाई नियन्त्रण गर्ने केही उपायहरु पनि छन्।  स्रोत नियन्त्रण र विभिन्न उपकरणको प्रयोगद्वारा वायु प्रदूषण नियन्त्रण गर्न सकिन्छ। धूलो मानवीय गतिविधि जस्तो निर्माणको क्रममा देखिन्छ भने धुँवा सवारी साधनबाट उर्त्र्सजन हुन्छ। थोत्रागाडीहरु, डिजेल, पेट्रोलको खपत कम गर्ने कार्यले केही हदमा धुँवाको स्तरमा सुधार आउँछ। यसमा हुने शीशायुक्त पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्दछ। पोखरा शहर सानो भएको हुँदा सवारी साधनका चाप अहिले हृवात्तै बढिरहेका छन्। अब यातायात कार्यालयले पनि सीमित क्षेत्रफलमा केही ठूलासाना गाडीहरुलाई नियन्त्रणको दायरामा ल्याउन आवश्यक भइसकेको छ। आजभोलि कार्यालय जाने र छुट्टी हुने समयमा निकै नै ट्राफिक जाम हुने गरेको छ। केही वर्षअघि पोखरामा यो समस्या थिएन।

उपकरणको प्रयोगमा दहनको प्रयोग हो। बल्नसक्ने क्षमता भएका प्रदूषकलाई बालेर हानिकारक अवस्थाबाट कम हानिकारक अवस्थामा परिणत गर्ने प्रक्रियालाई दहन भनिन्छ। जस्तैः कार्वनमोनोअक्साइड हानिकारक ग्याँस हो। ज्वलनशील पदार्थलाई जलाएर कार्वनडाइअक्साइड ग्याँसमा परिवर्तन गरी कम हानिकारक बनाउने तरीका हो। यो कार्वनमोनोअक्साइडको असरबाट बच्ने उपाय हो। वायु प्रदूषणको अको उपाय भनेको प्रदूषकलाई कुनै वस्तुको प्रयोग गरेर शोषण गराएर प्रदूषण कम गर्न सकिन्छ। चारकोल वायु प्रदूषक सोस्ने राम्रो वस्तु हो। यसबाट प्रदूषित वायु पठाइन्छ, वायुमा भएका ठोस र केही ग्याँसलाई यसले सोसेर शुद्ध हावा बाहिर पठाइदिन्छ र वायु प्रदूषण कम हुन्छ। अको उपाय भनेको स्वच्छ हराभरा पोखरा भनेझैं विभिन्न खालका बोटबिरुवा सडकमा लगाएर यसलाई व्यवस्थापन गर्न सकिन्छ। रुखका बोटहरुले विषाक्त वायुलाई शोषण गर्ने गुण पनि हुन्छ। सम्बन्धित निकायले सडकको दायाँबायाँ आकर्षक खालका बोटबिरुवा लगाएर हराभरा देखाउनुको साथै प्रदूषण कम गराउन निकै सहयोगी भूमिका खेल्दछ।

- कल्याण पन्त