प्रजातन्त्रवादीको अप्रजातान्त्रिक व्यवहार

नेपालमा २००७ सालको राणाशासन परिवर्तन, २०१५ सालको संसदीय व्यवस्थाको चुनाव, २०१७ सालमा राजा महेन्द्रद्वारा पञ्चायती व्यवस्थाको शुरुआत, २०३६ सालको बहुदलीय र निर्दलीय व्यवस्थाको चुनाव, २०४६ सालको जनआन्दोलन, २०५२ सालको माओवादी सशस्त्रयुद्ध, २०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलन हुँदै आएको राजनीतिक सङघर्षको परिणाम स्वरूप अनन्तः नेपाल गणतन्त्रको स्थापना भयो। नेपालको संविधान २०७२ र यही संविधानमा व्यवस्था गरिएअनुसारको सम्पन्न स्थानीय चुनाव, प्रदेश स्तरीय चुनाव र सङ्घीय संसद्को चुनावपछि नेपालको राजनैतिक संक्रमणकालीन अध्याय पूरा भएको छ।

आफू उभिएको ठाउँमा पनि राजनीतिक व्यवस्था तब मात्र सफल हुन्छ, जुन राजनीतिक दलले जनताको इच्छा, चाहना, आवश्यकता बुझ्न र पूरा गर्न सक्दछ। जबसम्म नेता र तिनका पार्टीले जनताको मन जित्न सक्दैन। तबसम्म न नेता सफल हुन्छन्, न पार्टीनै। अबका दिनमा राणाशासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र व्यवस्थाको पाराले गणतान्त्रिक नेपालका जनताको माग पूरा गर्न सक्दैनन् । शिक्षा र सूचना प्रविधिको विकास र सुगमताका कारणले जुनसुकै ठाउँका नेपालीहरू पनि अनभिज्ञ छैनन्।

पहाड, तराई हिमाल जहाँ बसे तापनि उनीहरूले सार्वजनिक पदमा रहेर काम गर्ने व्यक्तिहरूको आचरण र व्यवहारलाई नियालेर हेरिरहेका छन्। उनीहरूको व्यवहार जनमुखी र जनमैत्री छ कि छैन ? भित्री नजरले हेरिरहेका छन्। जननिर्वाचित प्रतिनिधिलगायतको आचरण र व्यवहार प्रजातान्त्रिक छ कि छैन ? जनताले व्यक्तिगत र सामूहिक रूपमा जाँच गरिराखेका हुन्छन् । कसैले मौखिक रूपमा प्रकट गर्दछन्, कसैले भित्रभित्रै उनीहरूका बारेमा सूक्ष्म रूपमा ध्यान दिएकै हुन्छन्। यस्ता सार्वजनिक व्यक्तित्व जो जसले विभिन्न पद र प्रतिष्ठा आर्जन गरिराखेका छन्। उनीहरूले आत्ममूल्याड्ढन गर्नुपर्ने देखिन्छ। आत्ममूल्याङ्कन गर्ने हो भने आफूले आफैलाई असल आचरणमा डोर्‍याउन सकिन्छ। आत्ममूल्याङ्कन गर्दा जनप्रति उत्तरदायी हुनुपर्छ भन्ने चेतना फैल्याउन सकिन्छ। अबका दिनमा प्रजातन्त्रवादीहरू आफ्नै व्यवहारबाट जनताप्रति उत्तरदायी हुनुपर्दछ। आदर्श व्यवहारबाट मात्र प्रजातन्त्रवादी बनिन्छ।

समाजमा पछिल्लो समय के देखिएको छ भने भन्नका खातिर भन्नलाई प्रजातन्त्रवादी हौं भन्ने तर काम भने अर्कै गर्नेहरूको विगविगी बढेको छ। प्रजातन्त्रवादीका नाममा जति अवसर प्राप्त हुन्छन् ती सबै अवसरहरूको प्रयोग आफू र आफ्ना निकट व्यक्तिहरूका माध्यमबाट प्रयोग गरिरहने । सम्भव भएसम्मका पद र प्रतिष्ठा आर्जन गर्न कुनै कसुर बाँकी नराख्ने । आफू उभिएका ठाउँमा पनि कामचोर व्यवहार गरेर सुकिला, मुकिला देखिने गरेर पनि आफ्ना ठाउँ वरपर आफ्नै पहुँच पुर्‍याउछन्, तर व्यवहार भने जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि अप्रजातान्त्रिक र अव्यवहारिक पर्दशन गर्छन् प्रजातान्त्रिक संस्कार र प्रजातान्त्रिक विचारलाई मध्यनजरमा राख्दा यो निकै दुःखद् कुरा हो।

पछिल्लो समय यस धारमा व्यक्तिहरू चुर्लुम्म आफ्नो आर्थिक लाभ हुने खेलमा डुबेका  छन्। त्यसैले आफ्ना आफन्तलाई स्थायी जागिरमा लगाउने, नातागोता र पैसा खाँदै अन्य विभिन्न किसिमका दलाली गर्ने प्रवृत्तिका मान्छेलाई प्रजातन्त्रवादी भन्न सकिन्न। जुनसुकै उच्च ओहोदा र जिम्मेवारी प्राप्त गरेको भए तापनि यस्ता प्रवृत्तिका मानिसहरूले नेपाली काँग्रेसको जनमत निरन्तर घटाउने काम गरिरहेका छन्। नेतृत्व तहबाट यसको मूल्याङ्कन भई दिनु पर्दथ्यो तर नेतृत्वको जिम्मेवारी लिएका जिम्मेवार व्यक्तिलाई यिनै अप्रजातान्त्रिक व्यवहार देखाउने व्यक्तिहरूले आफ्नै चङ्गुलभित्रै पारेका छन्।

प्रमाणस्वरूप हालसालै सम्पन्न तीनै तहका चुनावलाई लिन सकिन्छ। यो जल्दोबल्दो नतिजा हो। नेपाली काँग्रेस भित्र यस्ता मानिस जति सक्रिय हुँदै जान्छन् जनमत त्यति नै घट्दै जान्छ। त्यसैले प्रजातन्त्रवादीको व्यवहार जसको व्यवहारबाट हेर्दा पनि आदर्श खालको देखिनु पर्दछ। जो सुकैको दृष्टिकोणबाट हेर्दा पनि प्रशंसनीय हुनुपर्दछ। हरेक स्थानमा प्रजातान्त्रिक व्यवहार प्रदशन गर्न सक्नुपर्दछ।

प्रजातान्त्रिक व्यवहार अन्तर्गत पारदर्शिता, जिम्मेवारी वहन र त्यस अनुसारको जवाफदेहीता हो। जसले आफ्नो व्यवहारमा जवाफदेहीता प्रकट गर्न सक्दैन त्यस्तो मानिस किमार्थ प्रजातन्त्रवादी हुन सक्दैन। नेपाली काँग्रेस र प्रजातन्त्र एक रथका दुर्इ पाङ्ग्रा हुन। प्रजातन्त्र भनौं या लोकतन्त्र यी दुवै नै आमजनतालाई काम गरी खान पाउने वातावरण सिर्जना गरिदिने माध्यम हुन्, त्यसैले प्रजातन्त्र रक्षाका लागि नेपाली काँग्रेसको जिम्मेवारी नै हो। किनभने प्रजातन्त्र नरहँदा नेपाली काँग्रेस पनि रहँदैन। नेपाली काँग्रेसभित्र र यसका अन्य भातृसंगठनहरू नेविसङ्घ, तरुण दल, महिला सङ्घ, शिक्षक सङ्घ, प्राध्यापक सङ्घ आदि संस्थाहरूमा आन्तरिक प्रजातन्त्र कमजोर हुँदा बाहिरी प्रजातन्त्र पनि कमजोर भएको तथ्य हामी माझ छ र त हामीले कमजोर महासुस गरिरहेका छौं। नेपाली काँग्रेसको आफ्नै नेतृत्वमा सम्पन्न विभिन्न तहका निर्वाचनबाट त्यो कुरा प्रमाणित भइसकेको छ।

आज सर्न्दर्भ आएको छ, प्रजातन्त्रवादी प्रध्यापक सङ्घ नेपालको। हिजोसम्म यी सङ्घका पदपाधिकारी आफ्नो मेसो मिल्दासम्म, लेनादेना मिलाउँदासम्म उनीहरुलाई देश जागरणमा हिँड्ने मौका मिलेन। आफ्नै आत्मरतिमा रमाएर बसे। २०६३ सालमा स्थापना भएकोले नेपाली काङ्ग्रेसको अन्य भातृ तथा शुभेच्छुक संगठन भन्दा यसको ऐतिहास कम नै देखिन्छ तर पनि यस संस्थामा त्यस्ता व्यक्तिमात्र पुग्न सक्छन् जो नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली काङ्ग्रेसमा क्रियाशील भएका मानिसहरू हुन्छन्। नेपाली काँग्रेसमा वैचारिक वहस गर्नका लागि उनीहरुको महत्त्वपूर्ण भूमिका हुन्छ।

त्यसैले गत चुनावमा त्रि.वि.प्रजातन्त्रवादी प्रध्यापकको सर्वेक्षणले नेपाली काङ्ग्रेसको समर्थनमा ५१ प्रतिशत जनमत छ भन्ने प्रमाण पेस गरेकोले पार्टीसभापति शेरबहादुर देउवाले चुनाव घोषणासँगै सम्पन्न गर्न अग्रसर भएका थिए। तर उनीहरुले त्यो महत्त्वपूर्ण भूमिकाप्रति आफ्नो निष्क्रियता र उदासीनताको प्रदर्शन गर्दै सतही काम गर्नमा मात्र औपचारिकता निभाए। सभापतिको यस्तो सतही सर्वेक्षणले उनको आफ्नो गरिमा माथि नै प्रश्नचिन्ह खडा गरेका छन्। त्यसैले यस्तो गरिमामय संस्थाले सतही काम गर्न रोक्नुपर्दछ ता कि भविष्यमा यस्तो दुर्घटनाबाट नेपाली काङ्ग्रेस बच्न सक्दछ।

नेपालीमा एउटा भनाइ छ, जसले फोहर गर्छ उसलाई नै सफा गर्न लगाउनुपर्छ। यही भनाई अनुसार नेपाली काँग्रेसलाई गणतन्त्र नेपालको प्रथम चुनावमा जुन-जुन मानिसहरू जहाँ-जहाँ बसेर चुनावमा हराए ती सबै मानिसहरूलाई त्यहीँ त्यही ठाउँमा राखेर पुनः नेपाली काँग्रेसलाई सुकिलो, मुकिलो बनाउन लगाउनु प्राकृतिक न्याय हुन्छ। यसैले, कसैले कसैलाई विरोध नगरिकन् त्यहीँ ठाउँमा राखेर गल्ती सुधार गर्ने एक पटक मौका दिनैपर्छ। त्यसपछि पनि गल्ति सुधार गर्न नसकेमा हाम्रो पुस्ता पनि हातमा दही जमाएर बसेको छैन भन्ने आक्रामक रूपमा प्रजातन्त्र रक्षाका लागि पुनः एकपटक पार्टिभित्र र बाहिर दुवैतर्फ काम गर्न अनिवार्य रूपमा अग्रसर हुन आवश्यक छ।

(लेखक प्रजातन्त्रवादी प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सदस्य हुन्। सं.)

- शिव केसी