प्रक्रियाभन्दा परिणाममुखी प्रशासनको खाँचो

आज १५ औं निजामती सेवा  दिवस। सरकारले २०६१ साल भदौ २२ गतेदेखि प्रत्येक वर्ष आजैको दिन पारेर विभिन्न कार्यक्रमसहित यो दिवस मनाउने गर्दछ। तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले बि.सं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएका थिए। यसैको सम्झनास्वरुप २०६१ देखि विभिन्न नारासहित निजामती दिवस मनाउन थालिएको  हो। आजै  केन्द्रमा उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने,सेवानिवृत्तहरुलाई  सम्मान गर्ने,  विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु सञ्चालन गरिँदैछन्। हरेक जिल्लाहरुमा पनि कुनै न कुनै कार्यक्रम गरी यो दिवस मनाइदै छ।  केन्द्रमा मुख्य सचिवको अध्यक्षतामा मूल समारोह समिति नै बनेको छ।

सरकारले  यस वर्षका लागि “नतिजामुखी प्रशासन,समृद्धि र सुशासन” भन्ने मूल नारा तय गरेको छ। यसै अवसर पारेर सरकारका दृष्टिमा ‘राम्रा’ ठहरिएका कर्मचारीहरुलाई सवोर्त्कृष्ट  र उत्कृष्ट कर्मचारी घोषणा गरी पुरष्कृत गर्ने चलन पनि छ। विगतका वर्षहरुमा सहसचिव सूर्यप्रसाद गौतम, तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलगायत् सवोर्त्कृष्ट कर्मचारी घोषित भई पुरस्कार प्राप्त गरिसकेका छन्। हाल सवोर्त्कृष्ट कर्मचारीका लागि २ लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ र लगभग ८४ हजारको हाराहारीमा रहेका निजामती कर्मचारीमध्येबाट यस्ता कर्मचारी छनौट गर्ने चलन छ।

आजकल कर्मचारीसँग जनताको असन्तुष्टि पाइन्छ। सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको छ। काठमाडौंका सडक पेटीहरुमा यिनै नारामा हाम्रा प्रधानमन्त्रीको पूर्णकदको फोटो देख्न पाइन्छ। कुनै पनि देशमा सरकारको नारालाई सार्थक पार्ने मेशिनरी भनेको कर्मचारीतन्त्र नै हो। जहाँको कर्मचारीतन्त्र अब्बल छ,त्यहाँको सरकार सफल देखिन्छ। यसैकारण कर्मचारीतन्त्रलाई स्थायी सरकार भनिएको हुनुपर्छ।

तर सरकारको नीति ,निर्ण कार्यान्वयन गर्ने महत्वपूर्ण तहमा बसेको कर्मचारीप्रति नागरिकको  दृष्टिकोण किन सकारात्मक देखिँदैन – आज एउटा शिक्षण संस्थामा काम गर्ने पेशाकर्मी अवकाश हुँदा सारा समाज,टोल , अभिभावक,विद्यार्थी रोएका हुन्छन् तर उही सरहको एउटा कर्मचारीको अवकाश हुँदा रुने त के खिन्न हुने समेत कोही देखिदैनन् किन – काम चोर्ने, हुने कामलाई ढिलाइ गर्ने , सेवाग्राहीसँग नम्र व्यवहार नगर्ने , घूस नखाइ कामै नगर्ने , बिचौलियालाई प्रयोग गरी गैर कानूनी लाभ लिन खोज्नेजस्ता आरोपबाट हाम्रो कर्मचारीतन्त्र कहिल्यै मुक्त हुन सकेको देखिदैन।

सरकारले देखेको समृद्धिको सपना पुरा गर्न सुशासन चाहिन्छ। सुशासन भनेको आज हुने काम आजै गर्ने ,नहुने काम हुँन्न भनिदिने र छिटो,छरितो,मितव्ययी एवं पारदर्शी व्यवहार प्रदर्शन गर्नु पनि हो। यति नभएसम्म प्रशासन नतिजामुखी बन्न सक्दैन। नाराले होइन काम र व्यवहारले कार्यशैलीमा सुधार आउनुपर्छ र यसको अनुभूत प्रत्येक सेवाग्राहीले गर्न पाउनुपछ। यो नै आजको मुख्य आवश्यकता हो र निजामती दिवसको सार्थकता पनि।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनिक सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भूमिका अहम् हुन्छ। निजामती सेवाको आदर्श र यसले देखाउने कार्यकुशाग्रताले  नैे सुशाशन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ। यसैकारण जर्मनका  समाजशास्त्री एवं दार्शनिक म्याक्श वेभरले कर्मचरीतन्त्रलाई  गहन, संवेदनशील र आदर्शवादिका रुपमा ब्याख्या गरेका छन्।

राज्यको इच्छालाई साकार बनाउने र राज्यलाई नागरिकसामु पुर्‍याउने सेतु नै निजामती सेवा हो। राज्य  आफैमा कुनै छुट्टै कुरा नभई जनताले चुनेर पठाएका प्रतिनिधिहरु र तिनको जनताप्रतिको अभिभारा वहन गर्ने एउटा निकाय हो।  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मिलेर राज्यलाई  चाहिने नियम कानूनको निर्माण, त्यसको पालना अनि कानून विपरीत गर्नेहरुलाई दण्ड सजायको व्यबस्था गर्ने गर्दछन्। सरकारको चौथो बाहुका रुपमा भने कर्मचारीतन्त्र नै देखिन्छ र यो सँधै राज्य सरकारको प्रतिनिधि भै आफूलाई सेवा प्रदायकको रुपमा चलायमान हुन्छ। राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रिक अभ्यासले सुनिश्चित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशासन अनि सुलभ राज्यको पहुँचमा भने छैनन्। यो बिडम्बनाकै विषय हो।

निजामती सेवाको मूल काम सार्वजनिक सेवा प्रवाह प्रभावकारी र न्यायपूर्ण ढ·ले  सञ्चालन गर्ने हो।  सेवा प्रवाह जति चुस्त र सक्षम तरीकाले गरियो निजामती सेवा र सेवकको मूल्याड्ढन जनताले त्यही रूपमा गरेका हुन्छन्।  सरकारको लोकप्रियता पनि यसैमा निर्भर गर्दछ।  सरकार राम्रो कर्मचारी नराम्रा, कर्मचारी राम्रा सरकार नराम्रो कल्पनाबाहिरका कुरा हुन्।  विश्वभर विभिन्न देशका निजामती सेवाले सार्वजनिक प्रशासनको क्षेत्रमा नयाँ-नयाँ अवधारणाको प्रयोग गर्नुको मूल कारण पनि सेवा प्रवाहलाई नतिजामुखी बनाउनका लागि नै हो। तर हाम्रो निजामती प्रशासन सँधै परिणाममाभन्दा प्रक्रियामा अल्झन गई आलोच्य बन्न पुगेको छ। कर्मकाण्डीय शैली आजको प्रशासनका लागि त्याज्य हुनै पर्छ।

संघीय शासन व्यवस्थामा कर्मचारीतन्त्र झनै चनाखो, जनउत्तरदायी र सेवकका रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ। केन्द्रबाट पाउने सेवा साँच्चिकै अब ७६१ स्थान- ७५३ स्थानीय सरकार र ७ प्रदेश सरकार ,१ केन्द्र सरकार  बाट पाउने गरी राज्यको राजनीतिक पुनर्संरचना गरिएसँगै प्रशासनिक संयन्त्रलाई पनि तत्तत्स्थानमा अविलम्ब पुर्याउन जरुरी छ। सरकारले केही वर्ष पहिल्यैदेखि अघि सारेको मुस्कानसहितको सेवा व्यवहारमा उतार्न सकेमात्र निजामती दिवसले   सार्थकता पाउने छ। अन्यथा विगतका १४ औं श्रृङ्खलामा यो दिवस १ थपिएर  १५ औं मात्र भएर छाड्नेछ।

- नगेन्द्रराज पौडेल