पोखरामा सवारी चाप

केही वर्षयता पोखरामा अत्यधिक सवारी चापको मारमा पैदलयात्रीहरु परेका छन्। पोखरा महानगरका मुख्यमुख्य चोक जस्तैः महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैंक चोक, बिरौटा चोक, हरिचोक, आदिमा निर्बाध रुपमा सवारी साधन चलाउन सकिने ती स्थानमा अहिले नरोकिकन चलाउन सकिने स्थिति छैन। अहिले ट्राफिक कार्यालय पोखरालाई पनि सवारी साधन नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको स्थिति छ।

सीमित जनशक्तिका बावजूद पनि सडकको स्थितिको आधारमा पहिले भन्दा केही स्तरोन्नति भएको छ। सवारी साधनका गाडीहरुले पनि केही रुप फेर्दै आएको अवस्था छ। युग अनुसारका पर्यटकीय शहरमा भित्र्याउनु पर्छ भन्ने मान्यतामा केही परिमार्जित खालका नयाँ मोटरगाडी भित्रिदै आइरहेका पनि छन्। बग्रेल्ती  देखिएका सवारी साधन समयानुकूल यातायात विभाग केही नीति नियमले सुधारात्मक गतितिर लम्कन लागेको प्रतीत हुन्छ।

बढ्दो सवारी साधनलार्इृ व्यवस्थापन नगर्ने हो भने आगामी दिनमा वायु प्रदूषणको भयावह स्थिति आउने अवस्था छ। राजधानी शहर काठमाडौ भएपछि खेतीयोग्य जमीनमा थुप्रै घरहरु बने। त्यही अनुपातमा आवतजावतका लागि निजी सवारी साधनं बढ्दै गए। अन्ततः राजधानी काठमाडौको शहरी योजना विहीन कार्यले गति लिन सकेन, फलस्वरुप अहिले काठमाडौ उपत्यका प्रदूषण शहर मध्येका अग्रपंक्तिमा गणना भएको छ। समयमै होस नपुर्‍याउने हो भने प्रदेश नम्बर ४ को राजधानीको हालत पनि यो भन्दा कत्ति फरक हुने छैन। सडकको स्थिति र सवारी साधन पनि प्रदूषण कारक तत्त्वमा आउँछ।

शिक्षा, स्वास्थ्य, रोजगारी आदिका लागि शहरमा भीड लाग्छ। सुविधाका लागि मूल बाटो खोलेर विभिन्न शाखाप्रशाखा सडक खोल्ने क्रम पनि उत्तिकै हुन्छ। केही वर्षको धुलो, ढलनललाई सामना गर्दै पिच गरिन्छ। अन्तमा शहरका भित्रभित्र कहि कतै बाँकी नरहने गरी सवारी साधन गुडिरहेका हुन्छन्, परिणामतः वायुमण्डलीय अवस्था एकदमै खस्कदों छ। पर्यावरणीय र विकास एकापसमा विरोधाभास हुन्। अहिले विकासको नाममा वातावरणीय प्रदूषण बढिरहेको देख्न सकिन्छ, या त शहरभित्रका वृक्षहरु उपर हतियार चलाएर होस् यात सडक चक्ल्याएर होस्।

वरपरको वातावरणले सौर्न्दर्य झल्काउने कार्य हुन्छ। सौर्न्दर्य बिना कुनै ठाउँको महत्त्व रहँदैन। रमाइलो, हराभरा, स्वच्छ पार्न वनस्पतिहरुको अँहम् भूमिका हुन्छ। यी बिना सहरी परिवेशको शोभा रहँदैन पनि। सडक सञ्जाल र मोटरगाडीले सहरको पहिचान पनि झल्काउँछ। केही वर्ष अघिदेखि बसाइँसराइँ या कामको सिलसिलामा मानिसहरु शहरतिर पस्ने क्रम तीव्र गतिले बढिरहेको देखिन्छ।

यतिखेर बढ्दो सवारी चापले हरेक शहरलाई गाँजेको छ। पोखराजस्ता शहरहरुमा यातायात, सडक, आवास, खानेपानी, ढल क्षेत्रलाई गम्भीरताका साथ साधन र स्रोतले भ्याएले धान्नै नसक्ने गरी चाप बढ्न गएको छ। शहरी क्षेत्रमा देखिन लागेका फोहोरमैला, दुर्गन्ध, धुँवाधुलोलाई राम्ररी व्यवस्थापन गर्नु सम्बन्धित निकाय लागिपर्नु जरुरी छ। विकासलाई आफ्नो पहुँचमा मात्र केन्द्रित गर्ने गरी बाटोघाटो, उद्योग, व्यापार, कृषि, स्वास्थ्य सिचाइँ, इत्यादि क्षेत्रलाई सन्तुलित रुपमा ध्यान दिइएन भने यसको परिणाम गम्भीर हुनसक्छ। थोत्रा, स्तरहीन र यातायात सवारी साधनलाई समय सापेक्ष परिमार्जन गरी नयाँ भित्र्याउनु पर्दछ। पेट्रोलियम पदार्थमा मिसावट, गुणस्तर सर्भिस सेन्टरको अभाव, इत्यादिले यातायातमा दखल पुर्‍याउँछन्। बसपार्क क्षेत्रमा सार्वजनिक शौचालयलाई प्रभावकारी अवस्थामा राख्न त्यत्तिकै जरुरी छ। दुर्गन्धले भरिएको वातावरणले त्यही स्थानलाई मात्र प्रभाव नपारी रोग फैलाउछ।

आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४४ हजार ५ सय ३९ सवारी साधन यातायात व्यवस्था कार्यालय गण्डकीमा दर्ता भएको ०७३/०७४ मा १ लाख ६३ हजार ८ सय ३२ वटा सवारी साधन पुगे। हाल ०७४/०७५ मा भने १ लाख ८४ हजार ३ सय ९५ वटा सवारी साधनको चाप गण्डकी अञ्चलमा पुगिसकेको छ। तीन वर्षको बीचमा ३९ हजार ८ सय ५६ वटा सवारी साधन बृद्धि भएका छन्। यहाँ गुड्ने सवारी साधनमा कार, जीप, भ्यान, पिकअप, माइक्रो बस, मिनी बस, मिनी टक, बस, टक, कन्टेनर, ट्याकर, टिपर, पावर टेलर, ट्याक्टर, डोजर, लोडर, क्रेन, रोलर, ग्रेडर, स्काभेटर, एम्बुलेन्स, टाइसाइकल र मोटर साइकल रहेका छन्।

बढ्दो मोटरगाडीको तथ्थाङ्क हेर्ने हो भने गण्डकी अञ्चलमा ८ वर्षको अवधिमा दोब्बर सवारी साधन बृद्धि हुने देखिएको छ। सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल रहेको छ। गण्डकी अञ्चलमा हालका दिनमा १ लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका तथ्यांकले देखाएको छ। ०७३/०७४ मा १ लाख २३ हजार ४ सय ८७ मोटरसाइकल संख्या मात्र थियो। अघिल्लो आर्थिक वर्ष भन्दा पछिल्लो आर्थिक वर्षमा १६ हजार ५ सय ८६ वटा मोटरसाइकल बृद्धि भएको पाइन्छ। यही गतिमा बृद्धि हुने हो भने अबको १० वर्षमा १ लाख ६५ हजार ८ सय ६० थप भइ ३ लाख ५ हजार ९ सय ३३ वटा मोटरसाइकल हुनेछ।

जनसंख्या, कलकारखाना, मोटरगाडी आदि प्रदूषणको मुख्य स्रोत हो। व्यवस्थित रुपमा बस्ती बसाल्नु, सडक निमार्णगर्नु, सवारी साधन चलाउनु यी सबै सरकारले निर्देशित गरे अनुसार हुन्छ। विश्वका हरेक देशमा प्रतिनिधिहरुले नीति, नियममा रहेर विकासका कार्य गरेका हुन्छन्। तर जथाभावी रुपमा विकास निर्माण गरेमा वातावरणलाई विध्वंश पार्दछ।

नेपालमा वि.स २०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भएको हो। त्यतिबेलादेखि नै यातायात व्यवस्थापन कार्यमा अद्यावधिक रेर्कर्ड राख्न सुरु गरिएको हो। तर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लागू भएपछि मात्र नीतिगत व्यवस्था अनुसार यसले काम गर्दै आइरहेको छ। सामानहरुको ओसारपसार र आवातजावतका लागि भरपदो र सुलभ रुपमा यातायात उपलब्ध गराउनु यस कार्यालयको उद्देश्य रहेको छ।

वर्तमान स्थितिमा गण्डकी अञ्चमा कार, जीप, भ्यान र पिकअप (११%), माइक्रो बस (९%), बस, टक (११%), पावर टिलर, ट्याक्टर (८%) र मोटरसाइकल (१३%) ले वृद्धि भएको देखिएको छ। समग्रमा भन्दा यही गति मोटरगाडीको बृद्धि भएमा अबको ८ वर्षमा मोटरगाडी दोब्बर बढ्ने निश्चित छ।

अधिकांश मोटरगाडीहरु शहरी क्षेत्रमा केन्द्रित छन्। पोखरा बाहेक गाउँ र बाहृय जिल्लाका सदरमुकाम क्षेत्रँतिर केही गाडी चल्ने गर्छन्। दिनभर सडकमा रहने रातको समयमा ग्यारेजमा थन्काइने सवारी साधनको लेखाजोखाको केही अनुमान गर्न सकिन्छ। महानगरपालिकाको सडक नीति अनुसार प्रत्येक वडाका केन्द्रलाई टोल र गाउँहसित जोड्ने सडकहरुको बिस्तार र स्तरोन्नति गर्ने कार्यले पनि मोटरगाडीद्वारा हुने प्रदूषणलाई बढाउँछ।

वातावरण क्षय गर्ने प्रमुख कारण सडक विभाग पनिको त्यत्तिकै जिम्मेबारी छ। खानेपानी र सडक निर्माणको कार्यमा सडक खोतल्ने, खाल्डाखुल्डीलाई नटाल्ने अनुगमन नगर्ने आदि जस्ता कार्य पोखरा धेरै स्थानमा देखिदै आएको छ। घुस, कमिशन, चढाएर ठेक्का हात पार्ने त्यही अनुसार लरोतरो सडक निर्माण गरेर सम्पन्नता दिने कार्य सडकका स्थितिले बताउछ। वातावरण प्रदूषित पार्न भष्टाचार र घूसखोरी जिम्मेवार छन्।

- कल्याण पन्त