पोखराको मौलिकपन कायम राखौं

यसपटकको आमनिर्वाचनमा हरेक राजनैतिक दलका उम्मेद्वारहरुले समृद्धि कै कुरा गरे। प्रतिनिधिसभा र प्रदेश सभाका सवै उम्मेद्वारहको एउटै एजेण्डा बन्यो। यो भन्दा अगाडि स्थानीय निर्वाचनताका नगरपालिकाहरुको चुनावमा यो समृद्धिको एजेण्डा उत्कृष्ट शहर बनाउने एजेण्डा बनाउनु स्वभाविकै थियो। संघीय संरचना अर्न्तर्गत  गठन भएको प्रतिनिधि सभा, गठन हुने सरकारको भूमिका र कार्यक्षेत्र राष्ट्रिय स्वरुपको हुनु स्वभाविकै हो। त्यसैले एउटा ठाउँ विषेश एउटा शहर विषेशको कुरामा सीमित भएर बस्न नसक्ने भएकोले प्रतिनिधि सभा चाहीँ गठन हुने सरकारको भूमिका र कार्यक्षेत्र राष्ट्रिय स्वरुपको हुनु स्वभाविकै हो ।

त्यसैले एउटा ठाउँ विषेश एउटा शहर विषेशको कुरामा सीमित भएर वस्न नसक्ने भएको प्रतिनिधि सभाका निर्वाचित प्रतिनिधिहरुले अलि व्यापक दृष्टिकोण र सोच राख्न जरुरी देखिन्छ। मूलतः विषेश शहर वा ठाउँ विषेशलाई समुन्नत बनाउने, राम्रो र व्यवस्थित बनाउने जिम्मेवारी स्थानीय सरकारमा रहेको छ। तसर्थ पोखराको समग्र विकास उत्थान, कुन दिशा तर्फ लैजाने कस्तो बनाउने भनेको पोखरा महानगरपलिकाको कार्यक्षेत्र भित्रपर्दछ। त्यसैले पनि प्रदेशसभाका निर्वाचित सदस्यहरुले यस्तो काममा समन्वय र सहमति कायम राख्न सघाउने नै हो। स्थानीय सरकारको हैसियतले पोखरा महानगरपलिकासंग भएको स्वायत्तता र अधिकारमा अन्य सरकारले हस्तक्षेप गर्न सक्ने संभावना न्यून हुन्छ। यसतर्फ सवै निर्वाचित जनप्रतिनिधिहरुले ख्याल राखी संगैसंगै अगाडि बढ्नुपर्ने खाँचो छ। आखिरमा समृद्धि र विकास एउटाले मात्र संभव छैन, सामूहिक प्रयास सामूहिक योगदानको खाँचो छ।

सवैभन्दा महत्वपूर्ण पक्ष हो पोखरालई बिग्रन नदिऊँ, कुरुप हुनबाट जोगाऔं। राम्रो गर्न व्यवस्थित हुन केही समय लाग्ला तर बिगार्न धेरै समय लाग्दैन, खराब हुन थोरै समय यथेष्ट हुन्छ। हाम्रो लागि चिन्ताको विषय बन्न पुगेको छ । पोखरा अन्य शहरहरु भन्दा सुन्दर होला सफा होला तर पोखरामा नै बसोवास गर्नेहरुको लागि, नियमित पोखरा आइरहनेहरुको लागि हालको पोखरा ‘पहिलेको पोखरा’ छैन।

बढ्दो जनसंख्या, बढ्दो वसाइसराईले पोखरा खुम्चिएको छ। मौजुद सडकहरु चौडा गर्न सक्ने अवस्थामा छैन तर सीमित संख्यमा रहेका सडकहरुमा बढ्दो सवारीसाधनहरुले उकुसमुकुस तुल्याएको छ। मुख्य बजारबाट नै गएको पृथ्वीराजमार्ग, सिर्द्धार्थ राजमार्ग र भूपी राजमार्गहरुमा गुड्ने ठूला सवारी साधनहरु, यात्रुबसहरुले शहरलाई शहर बन्न नदिने तर्फ उन्मुख छ। १४ पाङ्ग्रे सवारीसाधन शहरको  बीचबाट गुज्रनु ठूलाठूला ट्रेक्टरहरु डोजर वा इकाभेटर वा क्रेनहरु शहरको बीच भागबाट आवतजावत गर्नु पोखराको परिवेश, शान्त र सुन्दर पर्यटक क्षेत्र भनेर दावी गरिरहने हाम्रो लागि अन्यन्तै लज्जास्पद हुन पुगेको छ।

त्यसैले आउँदो २ वर्ष भित्र बाइपास सडक निर्माण गरी ठूला सवारीसाधन, मालवाहक गाडी अर्को बाटोबाट पठाउन सक्नु पर्दछ टेक्टरहरु डोजर वा इकाभेटर वा क्रेनहरु शहरको बीच भागबाट आवतजावत गर्नु पोखराको परिवेश, शान्त र सुन्दर पर्यटक क्षेत्र भनेर दावी गरिरहने हाम्रो लागि अत्यन्तै लज्जास्पद हुन पुगेको छ। त्यसैले आउँदो २ वर्ष भित्र बाइपास सडक निर्माण गरी ठूला सवारीसाधन, मालबाहक गाडी अर्को बाटोबाट पठाउन सक्नु पर्दछ। अहिले पोखराको सडकमा सडकको लम्बाई भन्दा सवारीसाधन कार जीप मोटरसाइकल स्कुटर को संख्या निकै धेरै छ। बेला आइसकेको छ, पोखराको मौजुदा सडकले कतिसंख्यामा सवारीसाधनको भार वहन गर्न सक्ने हो। सडक नै पार्किङ्ग वा ग्यारेजको रुपमा रहनु शहरको लागि शोभायमान हुँदैन।

सडक दुर्घटना हाम्रो लागि गम्भीर विषय बन्न पुगिसकेको छ। चौबाटोमा, क्रसिंगमा जहाँपनि युर्टन लिने प्रचलन, साँघुरो सडकमा अत्यधिक गति लिने र जहाँ मन लाग्यो त्यहीँ सवारीसाधन रोक्ने फेशन, एउटै गाडी छिर्न अप्ठेरो पर्ने ठाउँमा दोहरो गाडी चलाउने प्रथा तथा मानिसहरु हिँड्नका लागि बनाइएको फुटपाथमा सवारी साधन चलाउनु, पार्किङ गरेर राख्ने बानीले दुर्घटनाहरु निम्त्याइएकेा छ। पैदलयात्रु हिँड्न पनि सावधान हुनुपर्ने अवस्था छ। यस्ता विकृतिहरुबारे पोखराले नसोच्ने हो भने आउँदो ३/४ वर्ष भित्र सडक अराजकता भई गम्भीर परिणाम पोखराले भोग्नुपर्ने निश्चित छ।

त्यसैले बेलामा सतर्क र सावधान रहौं। सडकहरु जति सकिन्छ बनाऔं। सडक फराकिलो गर्न नसकिने ठाउँहरुमा एकतर्फी सवारी साधन चलाउने व्यवस्था गरौं। सडक बनाउने ठाउँ नभए फ्लाई ओभरहरु बनाएर सडक व्यवस्थापन गर्ने योजना शुरु गरौं। सडकमा नै सम्पूर्ण सवारी साधन पार्किङ गर्ने व्यवस्था तुरुन्त हर्टाई ठाउँ हेरी निश्चित संख्या मात्र पार्किङ गर्ने व्यवस्था मिलाऔं। पार्किङ लट बनाउन प्रोत्साहित गरौं।

महानगरपालिकाले पोखरालई सुन्दर र व्यवस्थित देखाउने पहिलो काम सडक यातायात व्यवस्थापन नै हो। हालै निर्माण भइरहेको बस विसौनीलाई नै यात्रुहरु चढ्ने ओराल्ने, अन्त कतैपनि गर्न नपाइने नियम कडाइका साथ लागु गरौं नभए स्मार्ट बसविसौनीको औचित्य रहँदैन। यातायात व्यवस्थापनको  लागि तत्कालै गर्न सकिने काम हो सडक वर्गीकरण गरेर एकतर्फी सवारी साधन चलाउने। यो कडाइका साथ लागु गर्ने हो भने अहिले देखिएको अवरोधहरु निकै कम गर्न सकिन्छ। यसबारे महानगरपालिकाले गम्भीरतापूर्वक सोच्न जरुरी छ।

यो संगै शहर भित्रका सडकहरु नियमित रुपमा मर्मतसुधार, खाल्टाखुल्डी पुरी तत्कालै पिच गर्ने, अनाधिकृत रुपमा, वा अनुमति नलिई जथाभावी सडक विगार्नेहर्रुलई कडाइका साथ जरिवाना गर्ने काम गरिहाल्नु पर्दछ। महानगरपालिकाले सडकमा स्पिडब्रेकर कहाँ कस्तो कति दूरीमा राख्ने भन्ने तत्कालै नियम बनाउन जरुरी भइसकेको छ। अहिले सडक मर्मत सुधारको नाममा आफु खुसी दबाब दिई संगैसंगै थोरै फरकमा स्पिड ब्रेकर राख्ने चलनले दुर्घटना घट्नु भन्दा बढ्न सक्ने देखिएको छ।

सडकको बीचभागमा ठडिएर बसेका विभिन्न खाले खम्बाहरु तत्कालै सार्न लगाउनु पर्दछ। आफ्नो क्षेत्रमा सडक र यातायात व्यवस्थ्ापन गरी सडक व्यवस्थित गर्ने अधिकार पोखरा महानगरपलिकामा रहेको हुनाले गम्भीरतापूर्वक सडक नियम पालना गर्ने देखि सडक नामाकरण सम्म, पार्किङ गर्ने गराउने देखि लिएर कहाँ के कस्तो सवारी साधन चलाउन दिने सम्म, नियमकानूनलाई अटेर गर्ने लाई कानूनी कारवाही, जरिवाना सम्म गर्ने सवै अधिकार सम्पन्न भएको हुनाले पोखरालई अव्यवस्थित हुनबाट जोगाउन र व्यवस्थित पार्न ध्यन केन्द्रित गर्नु जरुरी छ।

पोखराको सडकबारे कुरा गर्नु पर्दा उत्तर पट्टकिो बागबजारबाट मोहरियाटोल, भैरवटोल, नालामुखसम्म पूरा आँगन र बाटोमा चिटिक्क परेको टलक्क टल्कने ढुङ्गाका छपनीहरु छापिएको थियो। नालामुख एउटा जक्सन थियो। जहाँ आज गणेशमान सिंहको शालिक ठडिएको छ, त्यहाँ हुलाक कार्यालय थियो र संगै ठूलो बर र पीपलका रुखहरु सहित चौतरा थियो जहाँ ससाना गाउँघरबाट ल्याइएका सामानहरु बेच्ने गरिन्थ्यो। नजिक्कै अदालत र जेल अड्डा भएको हुनाले नालामुख चहलपहल हुने बजार थियो ।

त्यसैले पहिलो पटक पस्र्याङ धारापानीबाट ल्याइएको खानेपानीको पहिलो सार्वजनिक धारा त्यही चौतरामा पूर्व पट्ट ितेसापट्टी हुँदै साँगुमुखबाट सेतीनदी वा काठको पुलसम्म नै त्यसरी नै ढुंगाका छपनीहरु छापिएर बजारलाई अत्यन्तै आकर्षक बनाइएको थियो। त्यसरी नै नालामुखबाट दक्षिण गणेशटोल, रामकृष्णटोल, बगालेटोलबाट सिमलचौरसंम पनि त्यस्तै ढुंगा छापी सडकहरु बनाइएका थिए। पोखराको बजार क्षेत्रमा घर आँगन र बाटोमा ढुंगा विटछ्याउने काम दायाँबायाँ घर हुनेहरुले सामूहिक रुपमा गरेका हुन। त्यही ढुंगा छापेको सडकमा पोखरामा ल्याइएको पहिलो सरकारी जीप गुडिरहन्थ्यो। त्यही सडकमा माल समान ढुवानी गर्नको लागि गोरु गाडाहरु चलाइन्थे।

त्यही सडकमा माल सामान ढुवानी गर्नको लागि  बाटोमा सामानहरु ल्याउन लैजान गधा खच्चरहरु ओहरदोहर गर्दथे र त्यही बाटोबाट गाउँबाट पोखरा बजार आएकाहरु किनमेल गर्दथे भने बागलुङ मुस्ताङ बन्दिपुर गोरखा काठमाडौं स्याङ्जा तानसेन बुटवल भारत जानेहरु पनि यही बाटोलाई प्रयोग गर्दथे माथि उल्लेख गरिएका सवै ठाउँहरु पोखराका व्यापारिक ठाउँहरु थिए। साँगुमुखबाट सेती नदी पार गर्न काठेपुल बनाइएको थियो त्यहाँबाट उक्लेर रानीपौवा माटेपानी कुँडहर, गौंडामुख बजारसम्म पनि बजारहरु थिए। ती मध्य रानीपौवा र कुँडहर क्षेत्रमा ढुंगा छापिएका सडकहरु थिए। गौंडामुख पूर्वतर्फ  जाने र आउने नाका नै थियो।

यी बजार लाइन बाहेक बसोवास गरिएको क्षेत्रहरुमा बजारसंग जोड्न डहरहरु प्रशस्त मात्रामा थिए। आज ती सवै डहरहरु पिच सडकमा रुपान्तरण भइसकेका छन्। त्यस बेलाको पोखरा जसलाई उउटा कालखण्डमा पोखरा घुम्न आएका विद्वानहरुले अत्यन्तै सुन्दर रमणीय बजारको रुपमा आआफ्ना किताबहरुमा लेखेका छन्, व्यख्या गरेका छन् त्यो पढ्दा वा थाहा पाउँदा छुट्टै प्रकारको रोमांच हुन्छ। अहिलेको पोखरालाई पनि त्यस्तै सुन्दर सफा र रोमाञ्चकारी बनाउने जिम्मेवारी हामी सवैमा आएको छ। त्यसमाथि पोखरा महानगरपालिकाको बढी उत्तरदायित्व हुन आउँछ।

अव त पोखराको महत्वबारे चर्चा शुरु भइ नै सकेको छ। ४ नं. प्रदेशको राजधानी समेत हुने भएकोले यसको विशिष्टता झनै बढ्ने निश्चित छ। राजधानीको रुपमा उत्कृष्ट शहर बनाउने परिकल्पनालाई  मूर्तरुप दिनु हाम्रो अभिभारा हो। अहिले चर्चामा आएझैं स्मार्ट सिटी बनाउने सोच र दृष्टिकोणलाई पूरा गर्न पोखरा महानगरपालिकाले निकै धेरै समन्वयकारी भूमिका खेल्नुपर्ने हुन्छ।

पोखराकेा भू बनोट, उपलव्ध हुनसक्ने क्षेत्र, आवश्यक पर्ने सुविधाहरु, थप्नुपर्ने सडकहरु, वातावरणीय मैत्री भवन देखि सार्वजनिक स्थलहरु, आर्थिक केन्द्रहरु सार्वजानिक भवनहरु, व्यवस्थित शहरको रेखांकन, सुरक्षा र अपराध रोक्ने उपायहरु, सेवा प्रवाहमा चुस्तता आदि सवै नै उत्कृष्ट शहरका पूर्वाधारहरु हुन। यसको लागि स्रोत साधनको जुगाडदेखि खर्च गर्न सक्ने क्षमतामा अभिवृद्धि पनि जरुरत पर्दछ। नेपालको उत्कृष्ट, रमणीय, सुन्दर, सफा, प्रदूषणमुक्त र अपराधमुक्त शहरको रुपमा पोखरालाई पहिचान दिलाउन सक्नु नै हाम्रो उपलव्धि हुनेछ।

आउँदो ५ वर्ष भित्र अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने छ, आउँदो ८ वर्षभित्र काठमाण्डौंसंग जोडिने रेल मार्ग बनिसक्ने छ, आउँदो ७ वर्षभित्र उत्तर कोराला देखि दक्षिण त्रिवेणी सम्म सडक सम्बन्ध हुनेछ। यस अनुरुप पोखराका सडक संजालको विस्तार नितान्त जरुरी छ। सडक संजालको रुपमा सडक विस्तार, थप नयाँ सडकहरुको निर्माण, आवश्यकतानुसार फ्लाई ओभर, एलिभेटेड सडकहरु ,सेती र विजयपुर  खोला लगायत अन्य नदीहरुमा पुल निर्माणलाई लिनुपर्दछ। अहिलेको परिवेशमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र रेलमार्ग निर्माण भएपछि लाभ लिन सक्ने अवस्था हुँदैन। त्यसैले पनि यी पूर्वाधारहरुबाट पूरापूर व्यावसायिक लाभ लिन समृद्धि तर्फ उन्मुख हुन सडक संजालको खाका जरुरी छ। यसैबाट लागानी आकर्षणका कुरा अगाडि बढ्छ। आर्थिक गतिविधिहरुलाई तीव्रता दिने कुरा अगाडि बढ्छ, महानगरपालिकाका आर्थिक स्रोतलाई उच्चतम विन्दुमा पुर्‍याउन सघाउ पुर्‍याउँछ।

त्यसैले पोखरालाई बिग्रन नदिन हामी लागौं। यसलाई कुरुप हुनबाट जोगाउन हामी लागौं  । यसलाई सधैँ सफा सुग्घर राखी प्रदूषण मुक्त बनाउन लागौं। अव्यवस्थित कुरालाई तत्काल रोकी व्यवस्थित शहर बनाउन लागौं  । अहिले देखि लाग्यौं भने उहिलेको सुन्दर पोखराको रामणीयता, आफ्नै अनुहार देख्न सकिने तालहरु , पानी पिउन सकिने नदीहरुलाई पुनर्जीवित गर्न सक्ने छौं। पोखरा महानगरपालिकाले अभियान थालनी गरोस् सारा नगरवासीले साथ दिनेछन्।

- आनन्दराज मुल्मी