पोखराको पहिचानः चौतारा, पोखरी र पाटन

सगरमाथाको देश, बुद्धको देश भन्नासाथ नेपाल बुझिए जस्तै पोखराको पनि छुट्टै पहिचान छ, चौतारा, पोखरी र पाटन। प्राचीन कालदेखि नै आनन्ददायक विश्रामस्थलको प्रतीक चौतारा, पोखरा नामाकरणलाई सहयोग पुर्‍याउने पोखरी, विशाल चौर (पाटन) जस्ता क्रीडास्थलले पोखरालाई जीवन्त बनाउँदै आएको छ। यहाँको भूगोल, सौर्न्दर्यता र प्राकृतिक सम्पदा अमूल्य छन्। अन्तर्राष्ट्रिय परिवेशमा यस्ता पर्यावरणीय संयोग कतै जुटेको पाइदैन।

वायुलाई शुद्ध गर्ने, सुन्दरता थप्ने कार्यमा चौताराहरुले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। दायाँबायाँ लहरै रहेका वर पिपलका चौताराले पदयात्रीलाई विश्राम, शीतलता मात्र नदिई एक अनुपम दृश्य प्रदान गर्दछ। यो मानव जीवनसित मात्र जोडिएको छैन। सयौं प्रकारका चराचुरुङ्गीका वासस्थान, क्रीडास्थल, जीवनयापनका आधार र खानाको स्रोतका रुपमा पनि लिन सकिन्छ। चराचुरुङ्गी शहरका रुपमा विकास गरेर स्फूतः शहर बनाउन वर, पिपल, समीजस्ता वृक्षहरुको उत्तिकै महत्त्व हुन्छ।

यातायातका साधन नहुँदा थकित वटुवा, भरियाहरुका लागि यी चौताराहरु घर हुन्। अझ भन्ने हो भने बिरामीहरुका लगि त आइसीयु हो। पिपलले रातदिन प्राणवायु दिन्छ, जबकि अन्य वृक्षहरुमा यो गुण पाइँदैन। यो विभिन्न प्रकारका औषधिको स्रोतका साथै साहित्यकार, दार्शनिकहरुका लागि सिर्जनाको स्रोत हो। पहिले पहिले पाटीपौवाका पर्यायवाची शब्द यही चौतारा नै थिए। पार्दी क्षेत्रमा औलोको प्रकोप हुँदा यी चौताराहरुले धेरैलाई जोगाए भन्ने बुढापाकाका भनाइ सुन्न पाइन्छ। ज्योतिषशास्त्र र आयुर्वेदमा समेत वर, पिपल र समी वृक्ष अतुलनीय छन्। यी वृक्षहरु गर्मीमा शीतलतासित मात्र जोडिएका छैनन्।स्थानीय प्रेमराज अधिकारी भन्छन्, ‘धार्मिक वृक्ष जोगाउनु हामी सबैको कर्तव्य हो। पोखरामा विशेष गरी जनप्रतिनिधि आएपछि धेरै संख्या यिनै वरपिपल, समी चपेटामा परेका छन्।’

आजभोलि पोखराको सुन्दरता खस्कने पर्यावरणीय पक्षको एउटा दुःखद पक्ष चौताराहरु मासिनु हो। पोखरा लेखनाथ महानगरपालिका ५, ६, ७, ८, ९, १० र १३ न वडामा ६ महिनाको अवधिमा गरिएको एक अनुसन्धानबाट करिव ३२ भन्दा बढी बर, पिपल र समीका रुखहरु आंशिक वा पूरै नष्ट गरिएका छन्। सडकका दायाँबायाँ पर्ने रुखहरुको कटान बारेमा नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीको नेतृत्वले उक्त तथ्य फेला पारेको हो।

हालै मात्र सबैभन्दा बढी क्षति वडा नं ७ स्थित राष्ट्रबैंक चोकदेखि रत्नचोक आधा किलोमिटरको दूरी रहेको सडक खण्डमा भएका १५ ओटा रुखहरु मध्ये १० ओटा रुखहरु काटिएका छन्। यी रुखहरु सन्तान प्राप्तिका लागि पूर्वजहरुले लगाएका थिए भन्ने वरपिपल जोगाऔ अभियन्ता कुलप्रसाद चालिसे बताउँछन्। अझ उनी थप्छन्, ‘सम्बन्धित निकायले वातावरणीय प्रभाव मूल्याकंन जाँच बिना लस्करै वृक्ष काट्नु अपराध हो।’

धार्मिक मान्यता अनुसार पिपललाई विष्णु र वरलाई शंकरको प्रतीक मान्दै वर पिपलको परिक्रमा गर्ने चलन रहेको छ। अर्का राजनीतिक विश्लेषक विश्व सिग्देल क्यानाडास्थित भ्यानकुभर शहरवासीले १ हजार वर्ष पुरानो वेस्र्र्टन रेड सेडार भन्ने मरेको रुखलाई स्टील लगाएर हजारौं पर्यटकलाई लोभ्याए जस्तै हामीले यिनै जीवित वृक्षहरुबाट पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्छन्।

कटान भएका रुखहरुमा अनुमानित ७५ वर्षदेखि १२० वर्षसम्मका परेका छन्। जिल्ला वन कार्यालयले दिएको जानकारी अनुसार सडक खण्डको दायाँबायाँमा पर्ने ६ ओटा बर, ८ ओटा पिपल र २ ओटा समीका हाँगाबिगाको मूल्याङ्कन गरी पठाइएकोमा ८ ओटा मात्र वृक्षको मूल्याकंन गरी महानगरमा पठाएको थियो।

पोखरामा चौताराहरुको संख्या किटानीका साथ भन्न नसकिए पनि २०३५ सालमा  तत्कालीन नगर पञ्चायतले गरेको सार्वजनिक मुचुल्का अनुसार ६३२ वटा चौताराहरु भएको देखिन्छ। तर बहुदलीय प्रजातन्त्र देशले प्राप्त गरिसकेपछि २७८ ओभटा चौताराहरु भेटिए। २३ वर्षको समयावधिमा झण्डै ५६ प्रतिशत चौतारा नाश भएको अनुसन्धानले पुष्टि गरेको छ।

संघीय गणतन्त्र मुलुकले हासिल गरिसकेपछि यो नासिने क्रम झन् तीव्रतर भएको  देखिन्छ। रत्नचोकदेखि राष्ट्रबैकसम्मको आधा किलोमिटरको दुरीमा करिब ६७ प्रतिशत सामाजिक, धार्मिक र साँस्कृतिक महत्त्वका बर, पिपल र समीका रुखहरुमा क्षति पुर्‍याइएको देखिएको छ। त्यसरी नै  सिर्जनाचोकदेखि आलुमाइलाचोकसम्म पनि चौताराहरु त्यही हविगतमा छन्। जिल्ला वन कार्यालय, कास्कीले मूल्याकन गरेको भन्दा निकै नै बढीमात्रामा रुखका हाँगाहरु काटिएका छन्।

किन काटिन्छन् बर, पिपल, समीहरु ?

एउटा मुख्य कारण हो, शहरीकरण। बढ्दो जनसंख्यालाई दृष्टिगत गरेर सवारी साधन, टेलिफोनका तार, पोल, भवन, सडक आदिलाई बाधा पुर्‍याएको अवस्थामा सम्बन्धित निकायहरुले जाँचबुझ गर्छन् र प्रक्रिया पुर्‍याएर अनावश्यक रुखहरु हटाउने गरिन्छ। आधुनिकता अको कारण हो। सडक छेउछाउका घरहरुले नजिकमा रहेका ठूला रुखहरुले पार्न सक्ने सम्भावित खतरालाई मध्य नजर लिएर जुनसुकै प्रकारका रुखलाई हटाउन सम्बन्धित निकायमा दबाव दिन्छन्। यसबाहेक कसैले घाम छेक्यो वा कसैले दाउरा वा काठका लागि काट्ने पनि काट्न सिफारिश गरेको पाइएको छ।

रुख हटाउने नीति नियम के छ ?

मन्त्रीपरिषद्को ०६९ चैत्र २ गते बसेको बैठकले रुख काट्ने सम्बन्धमा सरकारी रुखहरु हटाउने सम्बन्धी मापदण्ड २०७१ नीति तयार पारेको छ। सो बैठकले अब आइन्दा रुख काट्ने सम्बन्धमा मन्त्रालय र माताहत निकायले समेत कार्यान्वयन गर्न सक्ने गरी मापदण्ड तयार गरी विकास निर्माण, सामाजिक हित वा धनजनको सुरक्षाको दृष्टिकोणले रुखहरु हटाउन परेमा मन्त्रीपरिषदमा पेश गरी निर्णय गराउनुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ।

सडक छेउमा रहेका रुखहरु सडक बिस्तारको क्रममा वा अन्य कुनै कारणबाट हटाउन पर्ने भएमा सडक विभागको निर्णय लिई मापदण्ड दफा १० बमोजिम समितिले जाँचबुझ गरी सिफारिश गरेमा वन विभागको स्वीकृति लिएर मात्र हटाउन सक्ने प्रावधान छ। रुखहरुको कटान र मुछान सम्बन्धित व्यक्ति वा निकायले गर्नुपर्ने त्यसरी नै ढुवानी र वनपैदावर जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने सरकारी रुखहरु हटाउने सम्बन्धी मापदण्ड २०७१ मा उल्लेख छ।

जाँचबुझ समितिले कसरी मूल्याकन गर्छ ?

सरकारी रुखहरु हटाउने सम्बन्धी मापदण्ड, २०७१ ले ७ सदस्यीय समिति रहने गरी जाँचबुझ समिति तोकेको छ। यस अनुसार जिल्ला वन कार्यालय अधिकृत संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि, मालपोत कार्यालयको अधिकृति प्रतिनिधि, नापी कार्यालयका अधिकृत प्रतिनिधि, जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत प्रतिनिधि, जिल्ला विकास समितिको अधिकृत प्रतिनिधि, सम्बन्धित आयोजना कार्याल वा निकाय प्रमुख वा निजले तोको अधिकृत प्रतिनिधि सदस्य सचिव रहने गरी जाँचबुझ समितिले स्वीकृति गरेपछि मात्र कुनै पनि हटाइनेछ।

अब के गर्न सकिन्छ ?

बाँकी रहेका चौतारा तथा अन्य ऐतिहासिक महत्त्व बोकेका वृक्ष जोगाउनु सबै नागरिकको कर्तव्य हो। आधा किलोमिटर दूरीमा १५ वटा वृक्ष भएका सडक खण्डलाई पवित्र बाेिधवृक्ष रोड भनेर प्रचारप्रसार गर्न सकियो र बाँकी रहेका पिपललाई जीवन्तता दिन सकियो भने पर्यटन विकासमा अको टेवा पुग्नेछ। यसका लागि छुट्टै योजना ल्याउनु आवश्यक छ। भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको रुख यही पिपलको थियो।

रुखहरु ढाल्नुमा दोषी को ?

वातावरणविद्सित कुनै सरोकार नराखी कार्य गर्नु, वातावरणीय प्रभावको मूल्याकंन जाँच नगरी स्वीकृति दिनु, सम्बन्धित निकायको अनुगमन नहुनु, नागरिक समाज मौन रहनु, नीति नियम फितलो हुनु, कार्यान्वयन गराउन नसक्नु, जनप्रतिनिधिले सामान्य रुपमा लिनु, आदि रुख ढाल्नुमा दोषी हुन्।

पोखरामा रहेका २०३५ सालबाट ०५८ सालमा ९१ प्रतिशत पोखरी लोप भएका छन्। भएका पोखरी पुरेर खेल्ने मैदान बनाउने अभियान अहिले देखिएको छ। त्यसरी नै पाटनका अघिल्तिर उपसर्ग जोडेर भएका ठाउँका नाम प्रशस्त छन्, जस्तो कि, लाम्पाटन, कोलपाटन, मजेरीपाटन, ढुङ्गेपाटन, छोरेपाटन, मियाँपाटन, बाँझापाटन, घारीपाटन, बरपाटन, मालेपाटन, भीमकालीपाटन आदि।

र अन्तमा,

पोखरामा यी चौतारा, पोखरी र पाटन लोपोन्मुख अवस्थामा छन्। अवाञ्छित मानवीय गतिविधिलाई कडा नीति नियमले बाँध्ने हो भने पोखरा उठ्न धेरै समय लाग्ने छैन। जनप्रतिनिधिहरुले वातावरणीय अवस्था राम्ररी बुझ्न नसक्नु गम्भीर परिणाम हुन्। त्यसैले अब प्रकृति प्रदत्त मनमोहकतामा चित्त बुझाएर बस्ने अवस्था छैन। हरियाली बढाउनु, भएका बोटबिरुवाका सरक्षण र सर्म्बर्द्धन गर्नु आजको आवश्यकता हो।

- कल्याण पन्त