पृथ्वीनारायण शाह र बिशे नगर्ची

आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहभन्दा ठूलो श्रद्धेय र प्रतापी व्यक्ति अरु कोही छैन। उनकै नेतृत्वक्षमता, वीरता एवं दूरदर्शी शौर्यताले आज हामी नेपाली हुन पाएका छौं। यिनी २० वर्षको उमेरमा राजा भएका हुन्-गोरखाराज्यको। सन् १७४३ मा राजा भए। सन् १७४४ मा नुवाकोटमाथि विजयप्राप्त गरे। त्यसपछि, काठमाडौं उपत्यका जिते सन्- १७६९ मा र नेपालको एकीकरण गरे, आधुनिक नेपालको मजबुद जग बसाले।

यसरी समयावधिलाई हेर्दा पूरा २७ वर्ष उनी लडेका छन्, नुवाकोटदेखि कीर्तिपुरसम्मको विजय तय गर्न। तीन दशकसम्म उनी आफै पनि सतत्रुपमा खटे, राष्ट्रको एकीकरणको लागि र अरुलाई नेतृत्व तथा प्रेरणा पनि दिए। यस्ता महापुरुषको जीवनी सम्बन्धमा खोज अनुसन्धान गर्न अझ धेरै कुराहरु बाँकी नै छन्।

महापुरुषहरुका कर्म र व्यक्तित्व सम्बन्धमा लेखिएका कुरा त छँदैछन्। कतिपय लिपिबद्ध नभएका तर श्रुति-स्मृतिका आधारमा सनातनदेखि चल्दैआएका मिथक जस्ता लाग्ने कुराहरु त्यत्तिकै शक्तिशाली हुन्छन्। जस्तो धर्मका दर्शनभन्दा त्यसका आधारमा तयार भएका पुराणहरुले सामान्यजनमा बढी प्रभाव पार्दछ। पृथ्वीनारायणका जीवनसँग जोडिएका केही यस्तै श्रुति-स्मृतिका कुरा छन्। यिनका गहिरा अर्थ पनि छन्।

पृथ्वीनारायण शाह र विशे नगर्ची :

पृथ्वीनारायण शाह र बिशे नगर्चीबीचको सम्बन्ध र संवाद इतिासका पुस्तकहरुमा अभिलिखित भएको खासै पाइँदैन। स्वयं पृथ्वीनारायणले आफ्नो जीवनको अन्तिम क्षणमा आफ्ना उपलब्ध सबै भाइभारदारका अगाडि व्यक्त गरेको कुरा जुन ‘दिव्य-उपदेश’ को रुपमा संग्रहित छ, त्यसमा नै परेको छैन। तर, लोकमा यो सम्बन्ध र संवाद जनज्रि्रोमा रहेको छ। पृथ्वीनारायणलाई बुझ्न पनि ज्यादै महत्वपूर्ण छन्-‘विशे नगर्ची।’

यसमा कुनै विवाद छैन कि पृथ्वीनारायण शाह एक महत्वाकांक्षी अझ भनौं प्रवल र दृढ महत्वकांक्षी व्यक्ति हुन्। उनको मुख्य महत्वाकांक्षा भनेकै राष्ट्रको एकीकरण गर्ने, एउटा एकीकृत एवं विशाल मुलुकको सम्राट बन्ने हो। उनी आफैले भनेका छन्-‘चन्द्रागिरी डाँडामा आईपुगेपछि नेपाल कुन हो त – भनी सोध्दा उनीहरुले-त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौं हो भनी देखाए र मेरा मनमा यी तीनवटै शहरहरुको राजा हुन पाए त हुँदो हो भन्ने मनमा परिरहेको थियो।’ महत्वाकांक्षा सबै मानिसमा हुन्छ र ठूला मानिसमा ठूलै महत्वाकांक्षा हुन्छ। पुराण शास्त्रमा धर्मराज भनेर चिनिने युधिष्ठिर पनि बडो महत्वाकांक्षी थिए। त्यसो नहुँदा हुन् त इन्द्रप्रस्थको सम्राट बनेपछि त्यत्रो ठूलो राजसूय यज्ञ गरेर सम्राटहरुको पनि सम्राट बन्ने थिएनन्। यहाँ, पृथ्वीनारायण शाहको सर्न्दर्भमा चर्चा गर्दा युधिष्ठिर यस अर्थमा पनि प्रासंगिक हुन आएका छन् कि उनी महाभारतबाट प्रभावित थिए। नत्र आफ्ना भाईदारका अगाडि-‘उप्रान्त हाम्री मुमाहरु तीनवटी हुन्। हामी तीन आमाबाट पाँच पाण्डवजस्तै भएर जन्मिएका थियौं’ भन्ने थिएनन्। स्मरणरहोस्, पृथ्वीनारायण शाहका चार जना भाइहरु थिए।

अब, चर्चा गर्न थालिएको विषय पृथ्वीनारायण र विशे नगर्चीकै विषयकेन्द्रित रहेर केही चर्चा गरौं।

बीस वर्षको उमेरमा पृथ्वीनारायण शाह गोरखाको राजा भएका छन्। राजाको जेठा छोराको विडम्बना के हुन्छ भने उसको बाबु दिवंगत भएर लास सद्गतको लागि नलग्दै, मृतकको अर्थी नउठाउँदै छोराले शोक मनाउन पाउँदैन। बरु सजगजका साथ राज्यारोहण गर्छ। पृथ्वीनारायण शाहको पनि यही हो। राज्यारोहणको एक वर्ष नहुँदै बडो उत्साहका साथ नुवाकोट हान्न गएका फौज लिएर, करारी हार खाएर र्फकनु पर्‍यो उनलाई। भनिन्छ, बूढापाका भाइभारदारले तयारी पुगेको छैन, आक्रमण नगरौ पनि भनेका थिए। अत्यन्त बुद्धिमती मानिएकी जेठी आमा चन्द्रप्रभाका सल्लाहलाई पनि मान्ने धैर्यता उनले लिएनन्। फलतः केही मार र हार खाएर फर्के उनी।

नुवाकोटको हार युद्धका समस्यासँगको उनको पहिलो साक्षात्कार थियो। र, यो ठूलो शिक्षा पनि प्रमाणित भएको छ, उनका लागि। युद्ध लड्न तालिमप्राप्त उत्साही सैनिक र यथेष्ट हातहतियार नभइ हुँदो रहेनछ भन्ने बोध यस नुवाकोट पराजयले गराएको हो। हतियार किन्न पैसा चाहिन्छ। भनिरहनु पर्दैन, गोरखा राज्य कुनै वैभवशाली राज्य थिएन। राज्यको कोषमा खजाना पैसा पनि कमै छ। इतिहासलाई मुख्यतः आर्थिक पक्षसँग जोडेर विश्लेषण गर्न रुचाउने नेपालका सुप्रसिद्ध अन्वेषक महेशराज रेग्मीले-गोरखाली राजा र भाइभार गरिब भएकोले सम्पत्तिकै लागि राज्य विस्तार गरेका हुन्, एकीकरणको मुख्य मोटिभ फोर्स अर्थात प्रेरणा श्रोत राजश्व संकलन पनि भनेका छन्। यो विचार अधुरो हो, खोटपूर्ण छ भन्ने कुरा बाबुराम आचार्य समेतले खण्डन गरेका हुँदा यसमा विशेष चर्चा गर्नुपरेन तर यथार्थ के हो राज्य ढुकुटीमा खजना कम छ, हतियार किन्न काशी जानुछ , पैसा छैन।

विशे नगर्ची, दमाहा बजाउने, सम्भवत : गोरखा दरबारमा नगरा बजाउने प्रतिष्ठित एवं बुज्रुक व्यक्ति हुन्। उनीसँग केही रुपैयाँ जम्मा छ भन्ने पनि पृथ्वीनारायण शाहलाई थाहा छ। त्यसैले, केही सल्ल्ााह सुझाव र रुपैयाँ सापटी माग्न उनी ‘विशेदाइ’ को घर पुगेका छन्। यहाँ विश्लेषण र मनन गरिनुपर्ने विषय के छ भने राजा गएका छन्, जातले तल्लो भनिने नगर्ची दमाईको घरमा। बिशे सम्भवतः पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहका दौतरी वा समकालीन हुँदा हुन्। उनीकहाँ’ पुगेर युवाराजाले हतियार किन्न रुपैयाँ सापटी मागे। भने होलान् -‘दाइ मलाई यति हजार सापटी देऊ भनेर। किनभने राजा माग्न गएका छन् खोज्न होइन। माग्ने स्वभावैले विनम्र हुनै पर्छ।

पृथ्वीनारायण शाहको उद्देश्य र पैसा आवश्यकताको कारण पनि बुझेपछि हजार रुपैयाँ सापटी माग्ने पृथ्वीनारायण शाहलाई बूढा नगर्चीले चाँदीको एक रुपैयाँ ल्याएर टक्राए। पृथ्वीनारायणलाई रिस उठ्नु स्वभाविक हो। ऋण माग्न आएको भनेर बूढो दमाईले हेप्यो भन्ने पनि लागे होला उनलाई। भने पनि होलान् झोक्किएर-एक रुपैयाँ नभएर तेरो घरमा आएको हुँ र डुम भनेर।

बूढा विशेको बुद्धि नभनी बुझ्ने कुरा पनि भएन। बूढाले जब राजा रिसाएको देखे उनले बिन्ति गरे-‘महाराज ठूलो नेपाल, एकीकृत देश हजुरलाई र म विशेलाई मात्रै चाहिएको होइन। यो त सबै गोरखालीको उद्देश्य हो। गोरखामा १२ हजार घरधुरी छन्। प्रत्येक घरधुरीबाट एक एक रुपैयाँ सहयोग मागिबक्स्योस्। सरकारलाई अहिले चाहिएभन्दा बढी रुपैयाँ जम्मा हुने छ। र, सबै गोरखालीले एकीकरणको महत्व र मर्म पनि बुझ्ने छन्। विशे नगर्चीको यो कुराले पृथ्वीनारायण शाहको लागि ठूलो शिक्षा बन्यो, उनको बुद्धिको घैटोमा घाम लाग्यो।

यो घटना त सामान्यजस्तो छ। तर, यसको शिक्षा र सन्देश भने ठूलो र गहिरो पनि छ। नेपालको एकीकरण त्यसै सजिलै भएको होइन। यसको लागि पृथ्वीनारायण शाहको जनतासँग प्रत्यक्ष सर्म्पर्क गर्ने, सल्लाह लिने र जनपरिचालन गर्ने क्षमताको ठूलो भूमिका छ। र, गोरखा र गोरखा बाहिरका बाइसे-चौबीसले राजा रजौटाका अधीनमा रहेका जनताको भावनालाई पनि राष्ट्रिय एकीकरणको अभियानले प्रतिनिधित्व गरेको थियो र यसले सार्थक परिणाम पाएको हो भन्ने कुरालाई हामीले बिर्सन हुँदैन।

अन्त्यमा :

पृथ्वीनारायण शाहले नेपाललाई ‘चार-वर्णन छत्तीसजात, सबै जातको फूलबारी हो’ भनेका छन्। बगैँचामा एउटामात्रै फूलको वर्चश्व हुँदैन। एउटा जातको मात्रै फूल भएर फूलबारी सार्थक पनि हुँदैन। जसरी, एउटामात्रै रंगले इन्द्रेणी बन्दैन सातै रंगको लय मिलेर इन्द्रेणी बन्छ त्यस्तैगरी नेपाली समाजमा सहिष्णुता र सहअस्तित्व रहोस् भन्ने पृथ्वीनारायणको उपदेश आज पनि सार्थक महत्वको छ।

आफ्नो जीवनको ३३ वर्षसम्म नेपालको एकीकरण, मुलुकको सुशासनको लागि अविरल संघर्षरत र चिन्तनशील रहेका अठारौं शदीका पृथ्वीनारायणलाई आजको एक्काइसौं शताब्दीका आवश्यकता पूरा गरिदिएनन् भनेर आलोचना गर्ने मूढ बुद्धि भएकाहरुसँग छलफल गर्नु बेकार छ। हाम्रा स्वदेशी हृदयसँग विदेशी एजेण्डा बोक्नेहरुका नौला बकबकहरु त्यसै परास्त हुनेछन्।

- तिलक पराजुली