पुरस्कार र सम्मानको वेथिति

मानसम्मान सबैलाई चाहिँदो रहेछ। पद, पैसा र प्रशंसा यी तीन ‘प’ मान्छेलाई हुरुक्क पार्ने चीज रहेछ। चिहानमा नजाँदासम्म फेरि प्रधानमन्त्री हुने रहर पूर्व प्रधानमन्त्री भएकालाई छ। म एकचोटी भएँ अब अरुको पालो शायद कसैले भन्दैनन्। प्रधानमन्त्री पद दिँदा नखाने एउटा सत्चरित्र पात्र युग पुरुष गणेशमान थिए। राजाले प्रधानमन्त्री पद दिँदा म खादिन मेरो सहकर्मी कृष्णप्रसाद भट्टराईलाई बनाउनु भनेर उनले प्रधानमन्त्री पद अस्वीकार गरे। यसरी आफूलाई प्रस्ताव आएको प्रधानमन्त्री जस्तो पद आफ्नो सहकर्मीलाई प्रस्ताव गर्ने नेता अब पाउन मुस्किल छ। सामान्य झोले संस्थामा अध्यक्ष हुन हानथाप हुन्छ हाम्रो समाजमा। संस्थामा आजीवन गजधम्म बसेर लोकतन्त्र कानूनीराजको वकालत गर्नेहरु हामी प्रशस्त छौँ। संस्थालाई आफ्नो वपौती ठानेर आजीवन पदमा बस्दा अन्यले अवसर पाउँदैनन्। एक दुर्इ संस्थामा त्यस्ता व्यक्ति रहन्छन् जो अपरिहार्य हुन्छन्। उनलाई छाडेर धेरै संस्थाका अध्यक्षहरुको कुर्ची मोह नै देखिन्छ।

स्थानीय तहको निर्वाचनपछि फूलमाला, अविर र खादाको व्यापारमा सारै बढोत्तरी भयो। अहिले जुनसुकै कार्यक्रममा खादा र माला अनिवार्य झै देखिन्छ। लाग्छ यी चीज विना कार्यक्रम नै हुँदैन। हाम्रो समाज चाकरी चाप्लुसीको जंजीरमा फसेको छ। कुनै संस्थाको अध्यक्ष होस् वा कुनै पदाधिकारी चयन भएपछि बधाई छपाउने हतारो हुन्छ हामीलाई। आफैले रकम व्यहोरेर बधाई छपाउने महोदयहरुको चर्तिकला पनि गजब छ। त्यति मात्र होइन आफ्ना इष्टमित्र, शुभचिन्तकलाई दुर्इ हात जोडेर बधाई छपाउन बिन्ती गरिन्छ। पत्रिकामा छापिएको आफ्नो फोटो हेरेर आफै दङ्ग पर्छौ हामीहरु। बधाई छाप्ने लेख्ने हाम्रो चलन पनि अनौठो छ। अध्यक्ष भए ‘अध्यक्ष जस्तो गरिमामय पदमा’ निर्वाचित हुनुभएको भनेर लेखिन्छ। अध्यक्ष नै मानिदैन ‘जस्तो’ भनिन्छ। यो ‘जस्तो’ भन्नाले ठ्याक्कै अध्यक्ष त होइन भन्ने बुझिन्छ।

सम्मानको वेथिति : गएको वर्षमा हामीले तीन तहको निर्वाचन गर्‍यौं। जनप्रतिनिधिहरु पनि प्रशस्तै पायौं। तीनलाई सम्मान गर्ने लहर चलेको चल्यै छ। टोले सम्मान, सर्म्पर्क मञ्चको सम्मान विद्यार्थीको सम्मान, टिम संघसस्थाको सम्मान, सम्मानै सम्मान गरेर चाकडी बजाउने प्रतियोगिता चलिरहेको छ। स्थानीय तहका जनप्रतिनिधिहरुले यति धेरै सम्मान खाएकि अविरले उनीहरुको स्वास्थ्यमा असर पर्‍यो। खादा र मालाले घर भरियो। घर जाँदा खादा र माला नलगाई गए आज अविर माला किन नलगाएको भनेर छोराछोरीले सोध्ने भए। सम्मान पाउनेहरुले हामीलाई अविर माला पुग्यो पर्दैन भनेर कहिलै भनेनन्। सधैं निधार र गला थापिरहे। यति विघ्न वेथिति रह्यो कि भएभरका मान्छेहरुले यिनलाई सम्मान गर्नुपर्छ। सम्मान गर्नेहरु आफन्त, नगर्नेहरु पराई सम्झने भए नेता गणहरुले। यतिखेर प्रदेशका मुख्यमन्त्री मन्त्रीहरु, प्रदेश सभाका माननीय सदस्यहरु र संघीय संसदका मन्त्रीहरु, सांसदहरु सबै आफ्नो निधार र गला थाप्न व्यस्त छन्। भएभरका संघसंस्थाहरु पनि चाकडी गर्न कतै छुटियो कि भनेर सम्मानको कार्यक्रम गरिरहेछन्। निर्वाचित भएको कति समयसम्म हाम्रा नेताहरुलाई खादा र मालाले सम्मान गर्नुपर्ने हो कुनै ठेगान छैन। हाम्रा नेताहरुले हामीलाई सम्मान पुग्यो यो फजुल खर्च नगर भनेर भन्न सक्नुपर्छ। भेडो हुने होइन। भेडो यो एउटा फाल हाल्यो भने सबै फाल हाल्छन्। मानिसहरु पनि यस्तै भए। एउटाले सम्मान गर्‍यो सबैले सम्मान गर्नुपर्ने। एउटाले खादा लगाइदियो सबैले खादा लगाइदिएनु पर्ने, एउटाले माला लगाइदियो सबैले माला लगाइ दिनुपर्ने। गज्जब छ हाम्रो भेडापन झ्

अहिले माला र अविर लिएर आउनेहरु भोलि भोलि यसो गर्दिनु उसो गर्दिनु भनेर कुना खोज्दै आउँछन् भन्ने कुरा नेताहरुले याद गर्नुपर्छ। अहिलेको माला भोलि बिहान गला पासो हुन्छ। यो चाकडी बजाउने चलनले सदाचारलाई प्रोत्साहन गर्दैन। वेथिति निम्त्याउँछ। भ्रष्टाचार बढाउँछ। नेताहरु यसबारेमा सचेत हुनुपर्छ। बेलैमा सचेत भएनन् भने यही गलत प्रवृत्तिले यिनलाई सिद्याउँछ।

समाजमा चाकडी गर्नेहरुको एउटा जमात हुन्छ। जसले कर्म गर्दैन, कर्म गर्न जान्दैन केवल चाकडी गर्छन् नेतालाई यिनै जमात चाहिन्छ। जी, हजुर भनेर हात मोल्नेहरुसँग नेताहरुको बसउठ हुन्छ। यिनले कान फुक्छन्। नेताले कान पवित्र बनाउँछन्। यिनैहरुको सल्लाहमा पर्दा धेरै नेताहरुको दुर्गति भएको छ। चाकडी चाप्लुसी गर्नेभन्दा स्वस्थ्य आलोचना मित्रबाट हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।

पुरस्कारको भित्री रहस्य : सम्मानसँगै पुरस्कारको नालीवेली पनि कम लाजमदो छैन। समाजमा केही पुरस्कार सम्मानित छन् र सम्मानित पात्रले पाएका छन्। तर अधिकांश पुरस्कार भनसुनको भरमा वितरण गरिएको छ। सिफारिस गर्ने तौर तरिका पारदर्शी छैन। मानव अधिकारको क्षेत्रमा काम नगर्नेलाई मानव मानव अधिकार पुरस्कार प्रदान गरिन्छ भने पत्रकारिता नै नगर्नेलाई पत्रकारिता पुरस्कार सगर्व प्रदान गरिन्छ। तिनलाई त्यो दोसल्ला र सम्मान पत्रले घरीघरी गिजाउँदो हो साँच्चै समाजमा गलत पात्रलाई पुरस्कृत र सम्मान गर्ने परम्पराले चाकडीलाई प्रश्रय दिएको छ। हाम्रो समाजमा स्थापित सम्मान पुरस्कारहरुको नालीवेली केलाउने हो भने सही पात्रको चयन विरलै भएको देखिन्छ। सही समीक्षा गर्ने हो भने पुरस्कृत प्रतिभाभन्दा असल र इमान्दार पात्रहरु पाखा परेको देखिन्छ। कतिपय पुरस्कारहरु भागवण्डा र जेष्ठता (केवल उमेर) को मापदण्ड बनाएर दिइन्छ। यो प्रवृत्तिले प्रतिभाको कदर गर्दैन। बरु असल व्यक्तिहरुलाई निरुत्साहित बनाउँछ। समाजमा चाकडी प्रवृत्ति मौलाउँछ। जुन उद्देश्यको लागि पुरस्कार स्थापना गरियो। जुन उद्देश्यको लागि पुरस्कार प्रदान गरियो ती पुरस्कृत पात्रहरु आज के गर्दैछन् – त्यसबारे पुरस्कार छनोट समितिले पात्र सम्झिए मात्र पनि ज्रि्रो काढ्नुपर्ने अवस्था छ। तीनले आफूले पाएको पुरस्कारबाट सम्मान कत्ति गरेका छन् विचारणीय छ। कतिपय पुरस्कारहरु त आस्थाको आधारमा प्रदान गरिएको छ। धेरै पुरस्कार चाकडी गरेवापत प्राप्त गरिएको छ। थोरैले मात्र सच्चा योगदानको आधारमा प्राप्त गरेका छन्।

अब समाजलाई रुपान्तर गर्ने हो भने नेताहरुले खादा र मालाको मोह त्याग्नुपर्छ। जी हजुरी गर्ने चम्चावाल बाट पर भाग्नुपर्छ। संघसंस्थाहरुले पनि जनप्रतिनिधिहरुलाई बाह्रैमास सम्मान गरेर समय वर्वाद गर्नु हुँदैन। एकछिन अविर लगाउन नपाउँदा नेता महोदयको निधार चिलाउन हुँदैन। सधैं उद्घाटन गरेर प्रमुख अतिथि बनेर महत्वपूर्ण समय खर्चिनु हुँदैन। बरु एक जनालाई उद्घाटनमन्त्री बनाएर जिम्मा लाए हुन्छ। एनजी ओ, आई.एन.जी.ओ.को हरियो डलरमा भुल्ने हो भने हाम्रो समृद्धिको गोडा लर्बराउँछ।

- सुरेन्द्र थापामगर