पहिलेको दशैं/अहिलेको दशैं

दशैं मेरो बालकालको सबैभन्दा रमाइलो चाड थियो। म गाउँमा हुर्केको गाउँले व्यक्ति गाउँको दशैँले मेरो पुरानो स्मृति ताजा गराउँछ। यदाकदा आमा भन्नु हुन्थ्यो यो चाड किन आउँछ ? म त्यति बेला सोच्थेँ यति रमाइलो चार्डपर्वलाई आमा किन गाली गर्नुहुन्छ। अहिले बुझ्दै छु गरिबी र अभावको कारण आमाको मुखबाट यी वाक्य निस्केका रहेछन्। त्यतिबेला दशैं राम्रो लाउने मिठो खाने चाडको रुपमा बुझेको थिएँ। आमा दशैंमा नयाँ कपडा ल्याइदिनु हुन्थ्यो सायद वर्षभरि नयाँ कपडा किनिँदैनथ्यो।

बालकालको दशैं अत्यन्तै रमाइलो थियो। हामी कैयौं चोटी दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, भनेर खेलिरहन्थ्यौँ। टीकाको दिन गनेर औंला भाचिन्थ्यो। घटस्थापनादेखि शुरु हुने दशैंमा बाबाले पुरानो तरबार एउटा कुनामा राखेर दुर्गा पुज्नु हुन्थ्यो। दुर्गा पुज्ने अर्थ थाहा थिएन त्यतिबेला। दुर्गा देवी हुन् भन्ने पनि थाहा थिएन। बिहान बिहान बाबाले पूजा गरेको सम्झना छ। बाबाले पूजा गर्दा के भन्नु हुन्थ्यो कुनै अर्थ बुझ्दैन थेँ। तर दशैं आउँदा भित्र भित्रै मन आनन्दित हुन्थ्यो।

पछि अलि बुझ्ने भएँ। दशैंमा चम्डाले पिङ राख्ने चलन थियो गाउँमा। यसलाई पिर्के पिङ पनि भनिन्थ्यो। गाउँमा दशैंको अवसर पारेर बाटो मर्मत गरिन्थ्यो। गाउँका सबै व्यक्ति मिलेर मूल बाटो मर्मत गर्ने चलन अहिले पनि छ। दशैंको अवसरमा कतै राँटे पिङ कतै चम्डाले पिङ राख्ने चलन गाउँमा थियो। कतै आजकल पनि छ।

कुन गाउँमा कति पिर्के पिङ राखियो गाउँको शान यसैले निर्धारण गथ्यो। दशैंमा भूइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ हाल्ने चलन थियो। गाउँको मध्यविन्दुमा पिङ हालेर प्रत्येक बेलुकी गाउँका तन्नेरी युवायुवतीहरु नाचगान गरेर रमाइलो गर्ने चलन थियो। आजकलको भाषामा डेटिङ स्थल त्यतिबेलाको पि· थियो। पिङ बनाउँदाको कथा पनि रमाइलो छ। वनबाट पिङको खाँवा बोक्न गाउँघरका सबै तन्नेरी प्रौढ लावालस्कर लाग्नुपथ्यो। पिङको खामा बोक्दा काँधको खालो समेत जान्थ्यो।

पिङ तयार भएपछि गाउँका युवतीहरुले सेलरोटी रक्सी र अचार बनाएर खुवाउने चलन हुन्थ्यो। पिङलाई कुखुराको भाले काटेर भोग पनि दिने चलन हुन्छ। टीकाको दिन पिङलाई कुखराको भाले काटेर भोग पनि दिने चलन हुन्छ। टीकाको दिन पिङलाई टिका लगाइदिने परम्परा पनि छ। पिङ मनोरञ्जनको साधन थियो गाउँघरमा।

छिमेकी गाउँघरबाट पिङ खेल्न आउने युवायुवतीहरुलाई सम्मान सत्कार गरेर पिङ खेलाउने गरिन्छ। पिङमा गाउँवस्तीका भाखाहरुलाई गाएर भपूर मनोरञ्जन गरिन्छ। कतिपय ठाउँमा युवाहरु बीच झगडा भएर घटनाहरु पनि घटेका छन्। कहीँ पिङबाट लडेर मानिसको मृत्यु समेत भएको छ। यस्तो दुःखदायी घटनालाई लिएर कतिपय ठाउँमा पिङ हाल्न छोडेका छन्।

पहिले पहिले गाउँघरमा दशैं आउनु भन्दा अगाडि लिपपोत गर्ने चलन थियो। सायद आजकल पनि गरिन्छ क्यारे। पहिले गाउँघरमा माटोको घर हुन्थ्यो। घर सिगार्न रातो माटो कमेरो -सेतो माटो) र कालो माटो खोज्न आमा दिदीबहिनीहरु थुन्से, सोली बोकेर टाढा टाढा जान्थे, कतिपय  बेला माटो खन्दा पुरिएर अकालमै मृत्यु हुन्थ्यो। दशैंको बेला घर पोत्ने माटो खन्न जाँदा यति महिला पुरिए भनेर समाचार सुनिन्थ्यो। यसरी बोकेर ल्याएको माटोले घर छ्याप्ने -लिप्ने गरिन्थ्यो। घरलाई सुन्दर बनाउन रातो माटोले लिपेको भित्तामा सेतो माटो र कालो माटोको पेटी बनाइन्थ्यो। झयाल ढोकाको वरिपरि गन्धे फूल कमेरोमा चोपेर फूल बनाउने चलन पनि थियो।

अष्टमीको दिन बाले दुर्गा पुजेको दृश्य सम्झनामा ताजै छ। आमाले आँगनमा लिपपोत गरेर पूजा सामग्री तयार पारिदिनु हुन्थ्यो। जमरा, अक्षता र खुट्टा बनाएको घिरौला अनि कुखुरा काटेर दुर्गा पुजेको मलाई सम्झना छ। टीकाको अघिल्लो दिन पञ्चवली दिने चलन पनि छ। पञ्चे बाजा बजाएर भेडो सहित कोट कोटमा गएर भाकल पूजा गर्न पञ्चवली लाने गरिन्थ्यो। कोटमा मौलामा राँगो, बोका, कुखुरा, परेवा काटेर दशैंको धुमधाम स्वागत गरिन्थ्यो। ठूला ठूला राँगोहरु एकै पटकमा च्वाट्ट छिनालेर मार हान्नेले शिर पाउ लाउँथे।

यसरी मार हान्नेको पुरुषार्थ झल्कन्थ्यो। आजकल एकथरी अभिमत छ पञ्चवली भनेको भेडो होइन। काम, क्रोध, लोभ, मोह, अहंकार आफ्नो शरीरबाट त्याग्नु बलि हो भनिन्छ। अको थरी मान्यता अनुसार बलि प्रथा पौराणिक कालदेखि नै चलेको मानिन्छ। कालगतिले मर्ने पशुलाई बली दिएर प्रसादको रुपमा मासु खानु बेठीक होइन भन्ने तर्क छ। हाम्रो प्राचीन र उपभोक्तावादी संस्कृतिले बलि प्रथालाई मान्यता दिएको छ। देवी दुर्गाले मान्छेको टाउकोको माला लगाएर रौद्र रुप धारण गरेको तस्वीरमा देख्न सकिन्छ।

दशैं पर्वबारे आजकल विविध मान्यताहरु आएका छन्। आदिवासी जनजातिहरु दशैं वहिष्कार आन्दोलनमा समाहित पनि भएका छन्। राम र रावणको कथालाई लिएर दशैं हाम्रो पर्व होइन बहिष्कार गर्नुपर्छ भन्ने आदिवासी जनजातिको अभिमत छ। यो नितान्त हिन्दूको चाड हो, राज्यले हिन्दूको चार्डपर्वलाई मात्र मान्यता दिएर अबौर्ं खर्च गर्नु न्यायोचित होइन भन्ने मान्यता बेठीक छैन। यति बेला देश धर्मनिरपेक्ष भएको छ तापनि सबै जातजाति, धर्म सम्प्रदायहरुका चार्डपर्वलाई राज्यले समान व्यवहार नगरेको उनीहरुको गुनासो छ।

यसबारे हाम्रा पुराना मान्यताहरु परिवर्तन हुनु जरुरी छ। दशैंको उपलक्ष्यमा यति लामो बिदा आवश्यक छैन। साथै राज्यले दशैं मनाऊ भनेर एक महिना तलब बराबरको दशैं खर्च दिनु अबको समयमा कति उचित कति अनुचित गम्भीर छलफल हुनपर्छ। हाम्रो दशैं मान्ने शैली स्वास्थ्यकर छैन। दशैंमा मदीरा र मासुको अत्यधिक प्रयोग गर्ने कुसंस्कार छ। हिजो कसले कति धार्नी मासु खरिद गर्‍यो भनेर मापन गरिन्थ्यो। दशैंमा मासु खानुपर्छ भन्ने मान्यता कहाँबाट आयो कुन्नी –

राज्यले पनि मासु खाउ भनेर खसी च्याङ्ग्रा यही बेला आयात गर्छ। व्यापारीहरु मदिराका विज्ञापन गर्छन्- दशैं मनाउँ रमेर भनेर। दशैंमा जुवाका खालहरु पनि जम्ने गर्छन्। विदेश गएका आफन्तहरुलाई यही दशैंले बोलाउँछ। साथी भाइ,र्र् इष्टमित्र सँगको भेटघाट प्रकृति पूजा, दशैंको सकारात्मक पक्ष भए पनि बलि प्रथा, फजुल खर्च देखासिकी दशैंको नराम्रो पक्ष हो। दशैंले ऋण बोकाएर जान्छ भने बहिष्कार नै सही छ। तर चार्डपर्वमा राजनीति रुचिकर विषय होइन। दशैं वहिष्कार गर्ने अत्यधिक मदिरा सेवन गर्ने बानी बहिष्कार नगर्ने हो भने कुनै अर्थ छैन। त्यसैले अब आदिवासी जनजातिले दशैं बहिष्कार किन – भन्ने बारेमा तल्लो स्तरमा व्यापक छलफल चलाउनु जरुरी छ। इतिहासका तथ्यगत पाटा केलाएर निर्णय गर्नुपर्छ। राज्यले पनि सबै जातजातिको धर्मसंस्कृतिलाई समान मान्यता दिनुपर्छ।

- सुरेन्द्र थापा मगर