नेपाली काङ्ग्रेस र निर्वाचन

एकजना पढेलेखेका इमान्दार, सिधा, सोझा र बफादार नेपाली युवा नेपालमा नै बसेर नेपाल र नेपाली जनताको न्याय र विकासका लागि काम गर्ने विचार गर्दै जादाँ पञ्चायत व्यवस्था परिवर्तन हुने अवस्थामा बहुदलीय व्यवस्थाको पक्षमा लाग्दै गर्दा नेपाली राजनीतिमा नेपाली काङ्ग्रेस पक्षमा हिँड्दै गर्दा देखेका, भोगेका घट्नाहरूले नेपाली काङ्ग्रेसलाई नै हार व्यहोर्न बाध्य पार्‍यो।

२०४६ सालको बहुदलीय व्यवस्था प्राप्तिपछिको पहिलो स्थानीय चुनावमा नेपाली काङ्ग्रेसले गाउँ विकास समितिका अध्यक्ष तथा सदस्यमा चुनाव जिते। चुनाव जितेपछि आफ्नो कार्यकालमा गर्न हुने र नहुने सबै काम गरे। आफू र नेपाली काङ्ग्रेसलाई बदनाम बनाए। यो पहिलो कारण मान्न सकिन्छ। यो मात्रै होइन, विद्यार्थी राजनीतिबाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय हुँदै गर्दा आफ्नै पार्टीका कार्यकर्ताबाट नेताको हत्या भयो। आफू मरेर गए र बचेका परिवारजनलाई पनि हत्यारा भन्ने कालो दाग लगाए। जसले काङ्ग्रेस कार्यकर्ता केही निष्क्रिय भए, केही पलायन भए। केही जेल चलान भए यो नेपाली काग्रेसको पराजयको लक्षण थियो, त्यसलाई त्यो रूपमा लिन सकिएन वा त्यसतर्फ कसैको ध्यानै पुग्न सकेन। फलस्वरूप त्यसको प्रभाव वर्तमानमा देखिइरहेको छ।

पछिल्लो समय केही काँग्रेसी कार्यकर्ता नेपाली काङ्ग्रेसको पेशागत संगठनमा सक्रिय हँुदै संघको अध्यक्ष भएर सम्बन्धित ठाउँमा पुगेपछि आफ्नो प्रमोशन, श्रीमतीलाई जागिरमा स्थायित्व, भान्जाभान्जी, काकाकाकी, मामामाइजु, सालासाली आफ्नो छेउले भेटेजतिका नाता गोतालाई जागिरमा लगाए। आफू र आफ्ना परिवारको आर्थिक अवस्था बलियो बनाएर काङ्ग्रेस कमजोर बनाए। त्यसको नेपाली काँग्रेसको स्वच्छ छवि धमिलिँदै गयो र जनविश्वास क्रमशः घट्न थाल्यो। यो मात्रै होइन, नेपाली काङ्ग्रेसका नाममा विभिन्न भातृसंगठनहरु नेविसंघ, तरुण दल, महिला संघ आदिमा बाहिर सक्रिय राजनीति गरेको देखाएर भित्र आफ्नो भुँडी भर्दै, सरुवा, बढुवा, रोजगारी र भष्टचार गरेर आफ्नो आर्थिक अवस्था बलियो बनाए, जुन पार्टीका माध्यमबाट आफुले भरेङ चढेर माथि पुगेँ त्यहीँ पार्टीकाई बिर्से जसका कारण नेपाली काङ्ग्रेस कमजोर हुँदै गयो।

पार्टीका नाममा स्वदेशमा मात्र होइन, देश विदेशमा पनि दलाली, कालो बजारी गर्दै अकूत सम्पत्ति कमाउन सफल दलाल, पूँजीपतीलाई आफ्नो दाइने हात सम्झदै इमान्दार, जुझारु, कर्मठ कार्यकर्तालाई पाखा लगाउँदै हिजो गाउँ समाजमा बदनाम बनेकाहरुलाई काखी च्यापेर हिँडे। जसबाट पार्टीका नेतालाई अत्याधिक उपहार र भेटी चन्दाका रूपमा चढाए, त्यो पार्टीसञ्चालनमा खर्च होइन, व्यक्तिको निजी सम्पत्तिको स्तर बढाउन पुग्यो, तिनै बदमासहरुले संगठनमा सिँधै प्रवेश पाएपछि नेपाली काङ्ग्रेसका नेता मोजमस्तीमा रमाए, आफु मोटाए तर पार्टीदुब्लाउँदै र कमजोर बन्दै गयो। वास्तवमा भन्ने हो भने, पार्टीराजनीति गरेको जोगी हुनका लागि होइन, भन्दै मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री हुने लक्ष्यले गर्दा पार्टीभत्र नै गुट र उपगुट संस्कार मौलाउन थाल्यो। जसले गर्दा पार्टीका आफ्नै अनन्य मित्र सम्झेका साथी र पार्टीकाई पछार्दा पछार्दै आफैँ पछारिएर नेपाली काङ्ग्रेसलाई पनि पछाडि पारेर छाडे। यो सबै कुराको बढी दोष नेपाली काङ्ग्रेसका सक्रिय नेताहरूमा जान्छ। तल्लो स्तरका कार्यकर्ताले सधैँ सडक तताए, रगत बगाए, ज्यानको बलिदानीका लागि कुनै प्रवाह राखेनन् तर उनीहरुको योगदानको न अभिलेखिकरण भयो, न कदर नै भयो। हिजोदेखि उनैले जागिर खुवाएका नातागोता, आसेपासे, भरौटेलाई नसुहाउने ठाउँ, पद र स्थान दिएर इमान्दार कार्यकर्ताको मन मार्दै जाने काम भयो। फलतः काङ्ग्रेसहरू घटे। इमान्दार कार्यकर्ता नेतासँग लाग्दै गर्दा नेताहरू नै भ्रष्टचारी, स्त्रीलम्पट, जड्याँहा, छलकपटी, अन्तर्घााी र डन भएको हुँदा कार्यकर्तामा पनि त्यसको छाया पर्न गयो। स्वस्थ छवीका नेता नपाउँदा इमान्दार कार्यकर्ता हुँदा-हुँदै पनि नेपाली काङ्ग्रेस कमजोर भयो। जसको परिणाम पछिल्ला चुनावमा देखिँदै गयो।

एकातर्फ विभिन्न घटना घटाउँदै काङ्ग्रेसबाट पोसिएका घरज्वाइँ कार्यकर्ताको जमघटले अझैं पनि इमान्दार कार्यकर्ताप्रति उनीहरूले प्रहार गरेका छन्। अकोर्तर्फ नेपाली जनताले भोटमार्फत् नेपाली काङ्ग्रेसलाई प्रहार गरी देश भित्रको कुनै पनि प्रदेशमा सरकारको नेतृत्व गरेर नेपाली काङ्ग्रेस उपस्थित हुन नसक्ने गरी थला पारिदिएका छन्। यस्तो अवस्था हुँदा पनि नेतृत्व तहमा रहेकाहरु जुँगाको लडाइँ गरेर सोझा कार्यकर्तालाई बलिको बोका बनाइरहेका छन् यो ज्यादै टिठ लाग्दो दृश्य बन्न पुगेको छ। जसका कारण लोकतन्त्र, प्रजातन्त्र र समाजवादप्रति आस्था राख्ने भोलिका पुस्तासमेत नेपाली काँग्रेसप्रति वितृष्ण मानसिकता बोकेर हिँडिरहेका छन्। भन्न त नेताहरूले भाषण गर्दा नेपाली काङ्ग्रेससँग जसले निहुँ खोज्छ त्यसको हालत राणा, राजा र पञ्चको जस्तो बनाइदिन्छु भन्छन् तर व्यवहार गर्ने बेलामा आफ्नै इमान्दार कार्यकर्ताको चरित्र, धन, सम्पत्ति, जागिर, घरपरिवार बिगार्न अघि सर्छन्। वर्तमानमा केही कार्यकर्ताको काँग्रेसप्रतिको आस्था डग्मगाएको छैन, उनीहरु रुखलाई भोट दिन्छन् तर आफूलाई जन्मजात अर्थात् बाबुआमा दुवै काङ्ग्रेस थिए त्यसैले म पनि जन्मजात काङ्ग्रेस भन्ने भेटिन्छन्। उनीहरु नेपाली काङ्ग्रेसको संगठन विस्तारलगायत केही काम पनि गर्दैनन्। अरुले काङ्ग्रेसमा राम्रो काम गर्न लाग्यो भने त्यसको खुट्टा तान्न खोज्ने र कर्म भन्दा जन्ममा विश्वास गर्ने नेता वा कार्यकर्ताको कारणले पनि नेपाली काङ्ग्रेसले चुनाव हार्न पुग्यो।

नेपाली काङ्ग्रेसले चुनाव हार्नुका कारणहरू माथि उल्लिखित प्रवृत्तिका कारणबाट नेपाली काङ्ग्रेस चुनावमा हार व्यहोर्न बाध्य भयो। यसको अर्थ अन्य पार्टीका यस्तो प्रवृत्ति छैन सकिन्न। जसले बढी जनताको मन जित्न सक्यो उसले चुनाव जित्यो। जनताको मन जित्न नसक्ने नेपाली काङ्ग्रेसलगायत अन्य पार्टीले चुनावमा हार व्यहोर्र्नु पर्‍यो। यस्ता प्रवृत्ति दोहोर्‍याउँदै गएमा कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीसकिन त पच्चीस तीस वर्ष लाग्यो हाल पनि जसको अध्यक्ष पदमा कमल थापा सक्रिय नै छन्। नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय पार्टीसकिन पनि केही वर्ष त लाग्छ नै तसर्थ बेलैमा पुराना इमान्दार जनता माझ लोकप्रिय कार्यकर्ताको उचित समयमा संगठन गर्न नसकेमा पञ्चायती व्वयस्थाको राप्रपा, बहुदलीय व्यवस्थाको नेपाली काङ्ग्रेसको हालत उस्तै नहोला भन्न सकिन्न। यसैले इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ता पनि अबको नेपाली काँग्रेसको सुनौलो भविष्य निर्माणका लागि जाग्नुपर्ने वेला आएको छ।

- शिव केसी