नेपाली काँग्रेस र चन्द्रावती पौडेलको आँसु

चन्द्रावती पौडेल त्यति चर्चित नाम होइन। उनी एउटा सामुदायिक विद्यालयकी शिक्षिका हुन्। म ट्रान्सपरेन्सी इन्टरनेशनल पोखरा च्याप्टरमा रहेदेखि उनीसँग चिनजान भएको थियो। कुनै छलछाम र आडम्बर विना निष्ठापूर्वक उनी संस्थामा सक्रिय थिइन्। म टि.आई. पोखरा च्याप्टरको अध्यक्ष रहँदा पनि उनी कार्यसमितिमै रहेर सक्रिय रहेकी थिइन्। मैले चन्द्रावतीलाई पनि चिनेको थिएँ र रामजी बादललाई पनि चिनेको थिएँ। रामजी बादललाई पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा ताका चिनेको थिएँ चन्द्रावतीलाई पछि चिने। यी दुर्इ नामको सम्बन्ध मलाई रामजी बादलको गत  २०७२ साउन २८ मा आफ्नै कार्यकर्ताबाट हत्या भएपछि मात्र थाह भयो। चन्द्रावती रामजी बादलको श्रीमती भएको कारणले मात्र होइन सामाजिक संघसंस्थामा क्रियाशील भएका कारण समाजमा परिचित थिइन्। उनको श्रीमान्को हत्या भएपछि उनको साहस देखेर म द· परेको थिए। उनले दृढता पूर्वक हत्यारा पत्ता लगाउन कटिबद्ध भईन्। स्थानीय तहको निर्वाचनमा उम्मेदवार दर्ता गर्ने अघिल्लो दिन आधा रातसम्म उनको नाम चर्चामा आयो। धेरै मानिसहरुले नेपाली काङ्ग्रेसले ठीक निर्णय गरे भनेको सुनियो। भोलिपल्ट उनको नाम एकाएक हरायो। उनको सट्टामा आउने व्यक्ति पनि काविल छन् त्यसमा कुनै विवाद छैन तर सवाल रामजी बादलको योगदानको कदर भयो कि भएन भन्ने हो।

विश्वको राजनीति परिदृष्यमा पतिको मृत्यु पछि पत्नीले विरासत समातेको इतिहास छ। छिमेकी देश भारतमा राजीव गान्धीको हत्यापछि सोनिया गान्धीले काङ्ग्रेस आईको जिम्मेवारी समालिन्। त्यसैगरी बंगलादेशमा पनि वेगम खालिदाजिया, सेख हसिना वाजेद, श्रीलङ्काका श्रीमाओ भण्डारानाइके जस्ता व्यक्तिहरु पिता तथा पतिको मृत्युपछि राजनीतिमा होमिएका थिए। नेपालमा सबै राजनीतिक दलले पतिको आकस्िमक मृत्यु तथा हत्यापछि पत्नीलाई राजनीतिको अवसर प्रदान गरेका थिए। नेपाली काङ्ग्रेसले पनि पत्नी तथा पतिको मृत्यु तथा हत्यापछि उनको सहकर्मीलाई त्यो जिम्मेवारी दिने गरेको थियो। गत संविधान सभाको चुनावमा बागलुङमा नेपाली काङ्ग्रेसका उम्मेदवार हरि खड्काको दुर्घटनामा मृत्यु भएपछि उनको श्रीमती चम्पा खड्कालाई नेपाली काङ्ग्रेसले संविधान सभाको उम्मेदवार बनाएको थियो। जनताको सहानुभूति समेतका कारण उनले चुनाव जितिन्। राजनीतिमा अपुताली खाने चलन हुँदैन तर पतिलाई राजनीतिमा सफल बनाउन एउटा सहकर्मीले गर्ने योगदान अत्यन्त महत्वपूर्ण रहेको हुन्छ। नेपाली काङ्ग्रेसका युवानेता रामजी बादललाई एउटा सक्षम नेता बनाउन चन्द्रावती पौडेलको ठूलो योगदान छ। त्यति मात्र होइन उनको नेपाली काङ्ग्रेसमा उनको योगदान महत्वपूर्ण छ।

राजनीतिको कुराः

राजनीति अत्यन्त क्रुर हुन्छ रे। राजनीतिमा दया माया नाता सम्बन्ध समेत गौण हुन्छ। विरोधी आस्था र विचार भएका व्यक्तिलाई हत्या गर्ने चलन विश्व राजनीतिमा नौलो होइन। कम्युनिष्ट तथा पूँजीवाद दुवै राजनीतिमा आफ्नै पार्टीका व्यक्तिलाई हत्या गरेर आफू पार्टीो हर्ताकर्ता हुने नमिठो इतिहास छ। कम्युनिष्ट आन्दोलनमा माओत्सेत्यु·, लेनिन जस्ता महान् हस्तीहरु पनि यसबाट अछुत रहन सकेनन्। उनीहरुले पनि आफ्नै पार्टीका विरोधीहरुलाई सपथ गरे। नेपालकै कम्युनिष्ट आन्दोलनमा पनि यस्ता नीच प्रवृत्ति देखापरेका छन्। माओवादी जनयुद्ध कालमा प्रचण्डको भन्दा फरक विचार राख्ने यान प्रसाद गौतम उर्फ आलोकलाई पार्टीभत्रबाटै सफाय गरियो। कम्युनिष्ट पार्टीभित्र यस्तो हुनु त्यति अनौठो मान्ने गरिएन तर शान्तिपूर्ण आन्दोलनको पक्षपाती नेपाली काङ्ग्रेसभित्र आफ्नै कार्यकर्ताले आफ्नै कार्यकर्ताको हत्या गर्नु अत्यन्त दुःखदायी घटना हो। रामजी बादलको हत्या आफ्नै कार्यकर्ताबाट भयो। यसलाई नेपाली काङ्ग्रेसले मात्र होइन सबै राजनीतिक दलले गम्भीरता साथ हेर्र्नुपर्छ। राजनीति कति क्रुर रहन्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ।

कहाँनेर त्रुटी भयो :

गत वैशाख १८ गते राती ११:४२ बजेसम्म पोखरा लेखनाथ महानगरपालिकाको काङ्ग्रेसबाट मेयरका उम्मेदवार नरेशशंकर पालिखे र उपमेयरमा चन्द्रावती पौडेलको नाम निर्णय भएको सुनियो। सामाजिक सञ्जालमा यी दुर्इ व्यक्तिहरुको फोटो छ्याप्छ्याप्ती टाँसियो। दुवैले फोन र फेसबुकमार्फत् बधाई थापे। पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकले मेयरका प्रत्यासी नरेश शंकर पालिखेको अन्तर्वार्ता समेत तयार पार्‍यो तर एकाएक मध्यरातमा उहाँहरुको नाम उम्मेदवारबाट हट्यो। कसरी उहाँहरुको नाम आयो कसरी एकाएक हट्यो। यसबारे कहिकतैबाट प्रष्ट धारणा आएको छैन। स्वयम् उम्मेदवारले रहरले सामाजिक सञ्जालमा राखेको होइन। चन्द्रावती पौडेललाई जब उपमेयरमा नाम आयो स्थानीय र राष्ट्रिय पत्रिकाले वायोडाटा मागे। उनले कतिलाई दिईन् कतिलाई दिन भ्याईनन्। आखिर उनको उम्मेदवारी एक दिन बाहेक टिक्न सकेन। नेपाली काङ्ग्रेस जस्तो जिम्मेवार पार्टीले यसरी सस्तो प्रचारवाजी नगरेको भए सायद चन्द्रावतीको दुखेको मन झन् दुख्ने थिएन। चन्द्रावती र रामजी बादलबाट कुनै सन्तान जन्मेका छैनन्। चन्द्रावतीको स्वास्थ्य परीक्षण गरेर सन्तान प्राप्ति गर्ने इच्छालाई रामजी बादलले अस्विकार गर्दै सबै हाम्रा सन्तान हुन् हामी राजनीतिमा लाग्नेहरुले यही सोच्नु पर्छ” भनेका रहेछन्। रामजी बादलको सपना पूरा गर्ने दृर्ढ इच्छा शक्ति बोकेर चन्द्रावतीले शिक्षक पदबाट राजीनामा समेत गरेकी रहिछन्। पृथ्वीनारायण क्याम्पसमा पढ्दा २०४२ सालमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघको जुझारु कार्यकर्ता भएर नेपाली काङ्ग्रेसमा आवद्ध भएकी चन्द्रावती जुनसुकै जिम्मेवारी दिए पनि वहन गर्न सक्षम छिन्। नेपाल महिला संघ जिल्ला समितिमा रहेर आफ्नो कार्यकुशलता खरो उत्रिएकी चन्द्रावती शिक्षक युनियनको उपाध्यक्ष भइसकेकी छिन्। उनी नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन्।

एउटा दुःखान्त घटनाबाट तङ्ग्रीएकी चन्द्रावतीलाई उपमेयरको उम्मेदवार घोषणा गरेर फेरि अको निर्णय हुनु नियतिको दुर्भाग्य हो। रामजी बादलको पटक-पटक हत्या हुनु कसैको लागि पनि राम्रो होइन। अब नेपाली काङ्ग्रेसले रामजी बादलकी पत्नी चन्द्रावतीको आँसु पुछ्नु पर्छ फेरि आँसु झार्ने काम गर्नु हुँदैन। काङ्ग्रेस पनि दीनदुःखीको पार्टीबन्न सक्नुपर्छ। जय नेपाल।

- सुरेन्द्र थापामगर