नेपाली काँग्रेस गतिविधि एक समीक्षा

राजनीतिमा चुनावको माध्यमबाट जनप्रतिनिधि छान्ने प्रचलन विश्व राजनीतिमा विद्यमान छ। कुनै पनि देशका जनता सबै राजनीतिज्ञ हुँदैनन्। जनता त मतदाता हुन्। जनमतद्वारा कुनै स्थान वा पदको निम्ति योग्य व्यक्ति छान्ने काम, चयन गर्ने कार्यको नाउँ चुनाव हो। प्रजाको शान्ति-सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति, राज्यको शासन-व्यवस्थासम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली राजनीति हो।

नेपाली काङ्ग्रेसमा यस्ता राजनीतिज्ञभन्दा स्वघोषित नेताको सङ्ख्या अत्यधिक छ। यो पार्टीको कमजोरी हो। जन्मजात काङ्ग्रेसलाई लत्याएर पार्टीकाई आर्थिक सहयोग गर्ने अन्य पार्टीका जुनी बिताइसकेका व्यक्तिलाई आज आएर यो पार्टीका प्रवेश गराएर केन्द्र र प्रदेश सभासद बनाउन पार्टीनेताहरूको कमजोरी हो। पार्टीका योगदान गर्नेहरूको कदर भएन भने जनताले त्यस्तो पार्टीको विश्वास गर्दैनन्। जनताले राजनीति गर्दैनन्। देशको शासन सञ्चालन गर्ने राजनीतिक दल फेरिरहन्छन्।

चुनावको समयमा भोलि उम्मेदवारी दरखास्त दिनु छ। आज बेलुकासम्म एउटा व्यक्तिलाई उम्मेदवारी दिने चर्चा सुनिन्छ। रातभरि नेताहरूबीच चलखेल भएर अर्को व्यक्तिलाई उम्मेदवारी स्वीकृति दिइन्छ। यतिखेर नेपाली काङ्ग्रेसका नेताहरूले परिवार, नातावाद र कृपावादको भूमिका निभाए जसले गर्दा बेलुकासम्म उम्मेदवारीको चर्चामा आएका व्यक्ति आज हटाइँदा उनीहरू नै बागी उम्मेदवार हुन पुगे। यसको परिणाम नेपाली काङ्ग्रेसले नराम्रोसँग भोग्नु पर्‍यो।

मुलुकको राजनीतिक अभ्यासमा नेपाली काङ्ग्रेसले लामो समयसम्म पदमा रहेर शासन चलाएको अवस्था थियो। अब नेपाली काङ्ग्रेस संसद र संघको निर्वाचनमा नेपाली जनताले दोस्रो ठूलो दल संसदको सशक्त प्रतिपक्षको रूपमा काम गर्ने अवसर दिएका छन्। यो अवस्था नेपाली काङ्ग्रेसमा किन आयो – किन चाउरिइस् मरिच आफ्नै रागले भन्ने उखान सिद्ध हुनाले हामीले लौरो उठाइदिए पनि जित्छौँ भन्ने काङ्ग्रेसी नेताहरूको घमण्डी पाराले काङ्ग्रेस दुवै संसदमा दोस्रो ठूलो पार्टीर प्रतिपक्ष हुन पुग्यो।

प्रायः प्रजातान्त्रिक मुलुकहरूको विधायिकामा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिहरूलाई त्यसै मुलुकका आम बालिग जनताले गोप्य मतदानद्वारा चुन्ने काम, कुनै काम वा पदका लागि मतदान गरेर चाहेअनुसारको व्यक्ति छान्ने काम चुनाव हो। अर्थात् धेरैमा ठीक-बेठीक छुट्याएर गरिने छनौट, विवेचना निर्वाचन हो। उम्मेदवारी नपाएर रुष्ट भएका र बाहिर बाहिर काङ्ग्रेस हुने र भित्री व्यवहारमा अरू दलको प्रचारप्रसार गर्ने छद्मभेषी काङ्ग्रेसको कारणले पनि नेपाली काङ्ग्रेसको स्तर घटाउन सहयोग पुर्‍याएका छन्। यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही गर्नु नितान्त आवश्यक छ। अर्थात् नेपाली काङ्ग्रेसले पार्टी्रति घात प्रतिघात गर्नेहरूलाई निष्काशन गर्न सके पार्टीशुद्धीकरण हुनेछ।

२०७४ मंसिर १० र २१ गतेको निर्वाचनमा पूर्वतयारी नगरी जब पर्‍यो राति तब बुढी ताती भन्ने उखान सिद्ध गर्न काङ्ग्रेसी नेता लागि परे। बेलैमा साङ्गठनिक सुधारका कार्यक्रम गरिएन। उम्मेदवार छनोटमा पनि पुरानालाई हटाएर नवप्रवेशीलाई स्थान दिइयो। यसका अलावा पार्टीका कुनै योगदान नभएका आफन्तहरूलाई उम्मेदवारी दिइयो। एउटै व्यक्तिले दुर्इ तीन पद लिने अरूलाई अवसर नदिने प्रवृत्तिले नेपाली काङ्ग्रेस यतिखेर मुलुकको पहिलो ठूलो दलबाट दोस्रोमा झर्नु यिनै कारणहरू हुन्। मुलुकमा पहिलो पटक पूर्ण बहुमतको वामपन्थी गठबन्धनको सरकार बन्दै छ। यसमा नेपाली काङ्ग्रेसले प्रतिपक्षको भूमिका निभाउनुपर्ने जनादेश छ।

वामपन्थी गठबन्धन देशको शासन चलाउने पक्षले खराब काम गर्न लाग्यो भने त्यसलाई रोकेर सत्मार्गमा लगाउने काम प्रतिपक्ष दलको हुन्छ। हिन्दी उखान छ ‘आगे चेते चेते नही पिछेचेते होते नही’ मौकामा ख्याल नगर्नाले नेपाली काँग्र्रेस अहिले आएर मुलुकको शासन सञ्चालन गर्ने क्रममा जनताले प्रतिपक्षको म्यानडेट दिएका छन्। जनादेश पालन गर्नु देशमा विद्यमान सम्पूर्ण राजनीतिक दलको कर्तव्य हो।

अबको पाँच वर्षमा नेपाली काङ्ग्रेसले विगतका कमीकमजोरीहरूलाई सच्याएर वर्तमानमा नेपाली जनताको विश्वास जितेर देश विकासमा लाग्न सकेमात्र नेपाली काङ्ग्रेसको उज्ज्वल भविष्य हुनेछ। दलभित्र यो गुट र त्यो गुट भनेर भागबण्डा नगरी एक ढिक्का भएर नेपाली काङ्ग्रेस सांगठनिक शुद्धीकरण र देश विकासमा लाग्नुपर्छ। तब मात्र नेपाली काङ्ग्रेसलाई फेरि नेपाली जनताले पहिलो राजनीतिक पार्टीको हैसियत फेरि पनि दिने छन्।

चुनाव देशको शासन सञ्चालनमा जनताले आफ्नो नेता छान्ने प्रक्रिया हो। यसमा व्यापक प्रचारप्रसारको माध्यम र प्रतिबद्धता जाहेर गरेर जनताको मन जित्न सक्यो त्यही दलले प्रथम प्राथमिकता पाउँछ। अहिलेको जनादेशले नेपाली काङ्ग्रेसलाई दोस्रो स्थान भन्नाले सरकारमा प्रतिपक्षको भूमिका निभाउने आदेश दिएको छ।

नेपाली काङ्ग्रेसले चुनाव हारेको होइन प्रतिपक्षको भूमिका खेल्ने चुनाव जितेको हो। यसका कारणले र उसको कारणले चुनावमा हार भयो भनेर नेता नेता बीच आरोप प्रत्यारोप लगाएर समय बर्बाद गर्नु बेकार छ। आखिर नेपाली काङ्ग्रेस विना देशको शासन बागडोर राम्रोसँग चल्दैन भन्ने कुरा नेपाली जनताले बुझेकै छन् र प्रतिपक्षको जिम्मेवारी दिएका छन्। यो पनि ठूलो जिम्मेवारी हो। परीक्षामा सबै विद्यार्थी प्रथम हुँदैनन्। अपवादको रूपमा कहिलेकाहीँ दुर्इ जना पनि प्रथम हुन सक्छन्। नत्र एकै जना प्रथम हुन्छ। अर्को द्वितीय, तृतीय हुन्छ भने अरू पास मात्र हुन्छन्।

नेपाली काङ्ग्रेसले यति बेलाका चुनाव सम्बन्धी परीक्षामा दोस्रो स्थानमा आएको छ। प्रथम भएन भनेर हीनताबोध कसैले पनि गर्नु हुँदैन। परीक्षामा सफल असफल भन्ने नतिजा आउँछ। नेपाली काङ्ग्रेस यति बेलाको निर्वाचनमा आफ्नो प्रथमको वर्चस्व गुमाएर संसदमा दोस्रो ठूलो दल प्रतिपक्षको भूमिका निभाउने जनादेश पाएको छ। यसलाई सशक्त रूपमा कार्यान्वयन गरेर आगामी समयमा आफ्नो वर्चस्व यथावत कायम गर्न विगतका कमीकमजोरी हटाएर पार्टीशुद्धीकरण गर्दै अगाडि बढ्नु नेपाली काङ्ग्रेसको कर्तव्य हुन आएको छ। जय नेपाल।

- शिवप्रसाद गौतम