नेपालकै उदाहरणीय खानेपानी

गत दुर्इ दशक देखि विश्वव्यापी बहसको रुपमा रहेको र सन् २०१५ मा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्यलाई नेपालले पनि आफ्नो विकास कार्यक्रममा समाहित गरेको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेका १७ ओटा लक्ष्यहरु मध्येको छैठौँ नम्बरमा रहेको एक महत्त्वपूर्ण लक्ष्य हो- सबै मानिसलाई खानेपानी र सरसफाई सेवाको पहुँचमा पुर्‍याउने ।

नेपालले आफ्नो योजनाबद्व विकासको कार्यक्रम शुरु गरेदेखि नै क्रमिक रुपमा सबै जनतालाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने प्रयास गरेको छ । आजसम्म तय गरिएका सबै आवधिक योजनाहरुमा खानेपानी तथा सरसफाईलाई प्रमुख प्राथमिकताका साथ राखिएको छ र फलस्वरुप यतिबेलासम्म देशको कूल जनसङ्ख्याको ८५% जनताहरु धाराबाट प्राप्त हुने पानी उपभोग गरिरहेका छन् र निकट भविष्यमा शतप्रतिशत जनसङ्ख्यालाई यो सेवाको पहुँचमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

वास्तवमै जीवनको अको नाम नै पानी हो । स्वच्छ र कीटाणुरहित पानीको उपलब्धता विकासको एउटा पूर्वाधार हो किनभने पानीसँग विकासका अरु पूर्वाधारहरु गाँसिएका छन् । मानिसहरुलाई लाग्ने असी प्रतिशत भन्दा बढी रोगहरु पानीको कारण लाग्दछ भनेर विज्ञहरु भन्दछन् । यसरी स्वास्थ्य, शिक्षाजस्ता महत्त्वपूर्ण पूर्वाधारहरु पानीको उपलब्धता र यसको गुणस्तरसँग जोडिएका छन् । अझै पनि करीब १५ प्रतिशत नेपाली जनताहरुले प्रयोग गर्ने पानीका श्रोतहरु व्यवस्थित छैनन् ।

खानेपानी तथा सरसफाई क्षेत्रको विकास र विस्तारमा सरकार एक्लै मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, तथा संघ संस्थाहरुको भूमिका महत्त्वपूर्ण रहेको छ । देश विकासको गतिसँगै जनजीवनमा पनि प्रशस्त गतिशीलता देखिन्छ । जनसङ्ख्याको वृद्धि, आन्तरिक बसाइसराइँ र बसोबास क्षेत्रको विस्तारले गर्दा खानेपानीको मागमा वृद्धि हुँदै गइरहेको छ । हाल चलिरहेका आयोजनाबाट बढ्दो माग थेग्न एकातिर समस्या छ भने अकोर्तिर यी आयोजनाहरुको मर्मत सम्भार तथा गुणस्तर अभिवृद्धि अको समस्या छ ।

ग्रामीण खानेपानी आपूर्र्ति तथा सरसफाई सम्बन्धी राष्ट्रिय नीति २०६० ले सरकारको ८० र समुदायको २० प्रतिशत अनुपातको सहभागितात्मक कार्यपद्धति अवलम्बन गरी नयाँ आयोजना कार्यान्वयन तथा मौजुदा प्रणालीको मर्मत सुधारको लागि नीतिगत व्यवस्था गरेको छ । यस सहभागीतात्मक कार्यपद्धतिभित्र रहेर सरकारको सीमित आर्थिक श्रोतबाट व्यापक विस्तार सम्भव नभएकाले एशियाली विकास बैँकको सहयोगमा लगानी असुलीको सिद्धान्तमा आधारित पहिलो साना शहरी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भइसकेको छ र दोस्रो साना शहरी खानेपानी आयोजनाको कार्यान्वयन भइरहेको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई आयोजना यसै मध्यको एक महत्त्वपूर्ण आयोजना हो ।

लेखनाथ साना शहरी खानेपानी आयोजना वि.सं.२०५८ मा शुरु भई २०६२ सालमा सम्पन्न भएको हो । सरकार र स्थानीय उपभोक्ताको पचास पचास प्रतिशत लगानीमा सम्पन्न यो आयोजना वि.सं. २०६७ मा हस्तान्तरण भयो । यस आयोजनाले पोखरा लेखनाथ महानगरपालिकाका वडा नं. २६, २७, २९, ३०, ३१ र ३२ का समथर भागका बासिन्दाहरुलाई आफ्नो सेवामा समेटेको छ । हाल यसले आफ्ना मौजुदा चार खानेपानी प्रणालीहरु लामीडाँडा, डाँडाको नाक, शिशुवा खुदी र अघौँ खानेपानी प्रणालीहरु मार्फत वितरण प्रवाह गरिरहेको छ । यस आयोजनाले गिउँजे खोला, ठाडो खोला र सिद्धको थान मुल साथै नगर क्षेत्रका विभिन्न सात ठाउँबाट डिप बोरिङ प्रविधिको प्रयोग गरी पानी सङ्कलन कार्य गरेको छ । यसरी सतह श्रोत र भूमिगत श्रोतमार्फत प्रतिदिन २५,९१,८९९      घन मि. पानी उत्पादन गरिरहेको छ र करिब बैसट्ठी हजार जनसङ्ख्याले दश हजार धारामार्फत प्रतिदिन १६ घण्टा सेवा पाइरहेका छन् ।

नेपालकै ठूलो मध्येको एक र उदाहरणीय लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको कुल लगानी सत्तरी करोड पुगिसकेको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३०, ढुङ्गेपाटनमा यसको कार्यालय रहेको छ जहाँ १५ जना प्राविधिक र १५ जना प्रशासनिक तर्फका गरी कूल ३० जना कर्मचारीहरु कार्यरत छन् । यस आयोजनाका हालका अध्यक्ष विष्णुप्रसाद बरालका अनुसार संस्थाले सेवाग्रहीलाई गुणस्तरीय सेवा प्रवाह, बढ्दो जनसङ्ख्याको माग बमोजिमको उत्पादन वृद्धिको कार्य, सरसफाई चेतना अभिवृद्धि लगायत अन्य सामाजिक उत्तरदायित्वका कामहरुमा पनि आफूलाई संलग्न गरेको छ ।

वि.सं. २०७५ सालभित्र चौबीसै घण्टा उपभोक्ताहरुलाई पानी प्रवाह गर्ने लक्ष्य राखेको आयोजना सामु प्रशस्त चुनौतीहरु पनि रहेका छन् । वर्षायाममा गिउँजे खोलाको धमिलो पानी एउटा समस्या रहेको छ भने पटक पटक पाइपहरु फुट्ने, डिप बोरिङको पानीमा आइरन भेटिनु, सडक निर्माणको क्रममा पाइपहरु फुट्नु र जनसङ्ख्याको तीव्र वृद्धि प्रमुख समस्याहरु रहेका छन् ।

- स्ट्रगल राना