निर्वाचन, नेता र जरासन्ध

हामी मुलुकको इतिहास र भाग्यलाई नै महत्वपूर्ण प्रभाव पार्ने निर्वाचनको नगिच पुगेका छौं। स्थानीय तहको चुनाव सम्पन्न भएपछि पनि संघीय र प्रदेशसभाको निर्वाचन हुन्छ हुँदैन भन्ने संशय उत्पन्न हुँदै थियो। खास गरेर छापामार शैली अर्थात सार्वजनिक छलफल आमजनताले मात्रै होइन, पार्टीकार्यकर्ताले थाहा पाउने गरी आन्तरिक वा अन्तरपार्टीसंवाद नभई रातोरात भएको एमाले-माओवादी केन्द्रको गठबन्धन बन्नुले यस गठबन्धनबाट चुनावमा नकारात्मक रुपमा प्रभावित हुन सक्ने सत्तासीन नेपाली काँग्रेस र नाकाबन्दीमा कडा राष्ट्रिय अडान लिएको केपी ओली प्रधानमन्त्रीत्व सरकारकै स्वरुपमा नयाँ जनादेशले बन्ने सरकारबाट असहज हुन सक्ने ठानेको छ भन्ने मानिएको छिमेकी भारतीय संस्थापन पक्षले कुनै बहानामा चुनाव रोक्छ कि वा भाँडिने बहाना बनाउँछ कि भन्ने एउटा आम त्रास रहिरहेको थियो, अब त्यो संशयको बादल हटेको छ। निर्वाचन हुने सुनिश्चित छ। अब, चासोको विषय यो रहेको छ कि आसन्न निर्वाचनले ल्याउने राजनीतिक नेतृत्वले के मुलुकमा शान्ति, स्थिरता र समृद्धिको प्रत्याभूति गर्न सक्ला ?

आशा र आशंका :

निर्वाचन फगत कर्मकाण्डी वा फगत चुनावको लागि चुनाव नभएर यसले हाम्रा राष्ट्रिय समस्या समाधानको ढोका खोल्नु पर्छ भन्ने आमअपेक्षा रहेको छ। आशा यो गरिएको छ कि जनअनुमोदित भएर आउने नेतृत्वले देश र जनताको भलाई र हितलाई केन्द्रमा राखेर काम गर्नेछ। यद्यपि सरकारको कमाण्ड समात्ने पात्र पुरानै हुनेछन् तर अब उनीहरुको प्रवृत्तिमा परिवर्तन आउनेछ-यो नेपाली जनताको कामना पनि रहेको छ।

नेपाली जनताको भनुँ’ वा समाजको बृहत् मनोदशको विश्लेषण गर्दा एउटा अत्यन्त सुन्दर पक्ष भनेको उनीहरुमा अन्तरनिहीत रहेको सकारात्मक सोच र सहजै हरेश नखाने साहसिक मनोवृत्ति पनि हो। यो नै यस्तो राष्ट्रिय पुँजी भनुँ वा सम्पदा भनौं, नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउने मूल तत्व यही हो। नेपाली जनताको गुणवत्ताको चर्चा गर्दा अर्को यस सर्न्दर्भमा उल्लेख गर्नुपर्ने विषय छ विवेकपूर्ण मतदान। यद्यपि, निर्वाचन अभ्यास नेपाली अनुभव त्यत्ति लामो छैन। मतदानको नेपाली अभ्यास २०१५ सालको आमनिर्वाचनबाट नै हो। तर जनताले जहिल्यै नि प्रगतिशील चरित्रका शक्तिहरु, परिवर्तनका बाहक शक्तिलाई आफ्नो प्राथमिकता राखेको पाइन्छ मतदान गर्दा। निर्वाचन परिणामलाई विश्लेषण गर्दा यो तथ्य पुष्टि हुन्छ। २०३६ सालको जनमतसंग्रहको मतपरिणामको विश्वासनीयतामा भने प्रश्न उठेको हो। तथापि बहुदल पक्षले प्राप्त गरेको भनिएको मत संख्या कम थिएन।

जनताले सकारात्मक मात्रै होइन, यो निर्वाचनले शान्ति, स्थिरता, स्थायित्व र समृद्धि दिन सक्ला त भनेर आशंका पनि व्यक्त गरेका छन्। संसययुक्त पाइन्छ, उनीहरुको प्रतिक्रिया। यो जनसंशय अकारण होइन। यसका पछाडि खास वस्तुगत कारणहरु छन्।

पहिलो कुरा, अहिले हुने संघ र प्रदेशको निर्वाचनबाट निर्वाचित भएर आउने पात्रहरुमा ७५ प्रतिशत भन्दा बढी पुरानै हुनेछन्। शीष्ा नेतृत्वहरु अर्थात पार्टीर सरकारको नेतृत्व गर्ने पंक्ति त सत्प्रतिशत पुरानै आउने हो। दोस्रो कुरा, यी पात्रहरुको भ्रष्ट, स्वार्थी तथा सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने प्रवृत्तिमा कुनै परिवर्तन हुने छैन। विगतका कुकर्महरु पुनरावृत्ति हुने छैनन् भन्ने वाचा गर्दैनन् उनीहरु। जनताले पत्याउन सक्ने गरी आत्मालोचित छैनन्, दलका नेतृत्व समूहहरु।

अर्को डरलाग्दो पक्ष भनेको चुनावमा उम्मेदवारहरुले यतिधेरै खर्च गरे स्थानीय चुनावताक पनि कि अब सामान्य जन नैतिकता, इमान्दारिता, योग्यता र कार्यक्षमता भए पनि चुनाव फेस गर्न, यसमा भिड्न असम्भव प्रायः देखियो। चुनावको खर्च एउटा निर्वाचन क्षेत्रको मात्रै करोडमा आँकलन गर्न थालिएको छ। यो पार्टीे दिने पनि होइन, कहाँबाट जुट्यो यत्रोधनराशी – एउटा व्यक्तिले यत्रो खर्च गर्ने हैशियत, जुन देशका जनताको सरदर प्रतिव्यक्ति आमवाषिर्क सात सय डलर छ। यो सरदर आय भनिएको विनोद चौधरीकोदेखि श्रमिकसम्मको आम्दानी जोडेर निकालिएको प्रतिशत हो। यस्ता गरिब जनताको मत आकांक्षा गर्ने उम्मेदवार नेताले करोडौं चुनावमा खर्च गर्छ भने त्यसले चुनाव जितेर गएपछि दिने शासनको स्वरुप शु होला कि कु होला भन्ने ठम्याउन पनि धेरै मथि·ल खाइरहनु पर्दैन।

आगामी चुनावको खर्च दशौं खरब हुनेछ-सरकारी ढुकुटीबाट मात्रै पनि। यसले मुलुकमा ल्याउने आर्थिक संकट, मुद्रास्फिती र महँगीले मुलुक अझ रसातलतिर जाने हो कि ? भ्रष्टाचार झन् बढ्ने हो कि ? समग्र नेपाली समाज अराजकता, दण्डहीनता र कुशासनको खाडलमा फस्ने वा डरलाग्दो भीरबाट खस्ने हो कि ? यी जनताका स्वभाविक आशंका छन्।

के गठबन्धनले स्थिरता देला ?

गठबन्धनका अभियन्ताहरुको मुख्य तर्क यो निर्वाचनमा एउटा गठबन्धन, खास गरेर धेरै चर्चामा आएको वाम गठबन्धनले आगामी संघीय संसद्मा बहुमत ल्याउने र त्यसले आगामी ५ वर्षसम्म एउटा स्थायी सरकार दिने बताइएको छ। अप्रत्याशित बनेको वाम गठबन्धनको प्रतिक्रिया हतप्रभ नै बनेको नेपाली काँग्रेसले प्रतिक्रियात्मक शैलीमा बृहत् लोकतान्त्रिक गठबन्धनको प्रस्ताव ल्याएको हो। तथापि यसले ठोस आकार लिन भनेको सकेको छैन। जेहोस्, छलफलको विषय यो रहेको छ कि यो निर्वाचनपछि मुलुकले स्थिर सरकार प्राप्त गर्ला ?

उक्त प्रश्नको परिप्रेक्ष्यमा हामीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनले पुनस्र्थापना गरेको बहुदलीय संसदीय व्यवस्था, २०४७ को संविधान र यसअन्तर्गतका निर्वाचन दिएको संसद एवं सरकारका आयुलाई विश्लेषण गरिनु आवश्यक छ।

२०४८ सालको आमचुनावमा नेपाली काँग्रेसले संसदमा प्रष्ट बहुमत ल्याएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बहुमतको सरकार बनेको पनि हो। तर, सरकारमात्रै होइन ५ वर्षको जनादेश पाएको त्यो संसद् ३ वर्षमै विघटन भयो। त्यसपछिका अस्थिरताका लामै श्रृंखला चले। सबैको ध्यान सत्ता, शक्ति र राष्ट्रिय ढुकुटीको दोहन, राष्ट्रिय उद्योग र सम्पदा विदेशीलाई बिक्री गर्ने कमिसन खाने कुरामा केन्द्रित रह्यो। अन्ततः २०४७ सालको संविधानकै अन्त्य भयो।

जुन गठबन्धन अहिले बनेका छन्, तिनका पछाडि देश र जनताको बृहत् हित गर्ने उद्देश्यबाट अभ्रि्रेरित छैनन्। गठबन्धनका मुख्य सर्जकहरुको अर्जुनदृष्टि भनेको जसरी पनि बहुमत ल्याउने, सत्तामा पुगेर शक्ति प्राप्त गर्ने र हालीमुहाली गर्ने नै छ-अहिले पनि। यद्यपि, गठबन्धनका घोषणापत्रमा धेरै ठूला कुरा गरिएका छन्, लामै विषयसूची छन् उनीहरुका वाचामा तर त्यो त अहिलेमात्र होइन धेरै पटक गरेका हुन्। तर, चुनावपछि यी डष्टबिनमा फ्याँकिए र अब पनि फ्याँकिने छन्। उनै पात्र र उही प्रवृत्तिले गर्ने भनेको पुरानै परिघटनाहरुको पुनरावृत्ति हो। नेपाली जनता चाहन्छन् दुष्प्रवृत्तिको पुनरावृत्ति नहोस्। विधिको शासनद्धारा निदेशित शान्ति, पारदर्शितायुक्त स्थिरता, समतामा आधारित समृद्धि र राष्ट्रिय स्वाधिनताको अभिबृद्धि साकार हुनुपर्छ। यो हुँदै गरेको निर्वाचनले दिने जनादेश खेर जान दिनु हुँदैन।

जनताका उक्त आकांक्षा र अर्तनाद सुनिएन, बुझिएन र कदर गरिएन भने हुने भनेको जरासन्धबध जस्तै हो। पाण्डवहरुलाई धृतराष्ट्रले इन्द्रप्रस्थ राज्य दिए। त्यो खण्डहर प्रदेशलाई पाण्डवले हराभरा गराए-ठूलो सहर बसाए। वैभवशाली भव्य दरबार पनि बनाए। त्यसपछि राजा युधिष्ठिरले राजसुययज्ञ गर्ने कुरा आयो। यसबारे श्रीकृष्णसँग चर्चा गर्दा उनले भने -‘गिरिब्रजको राक्षस राजजरासन्ध पनि राजसयूयज्ञको तयारी गर्दैछ। उसले आफ्नो यज्ञ सम्पन्न एक सय राजाको टाउको हवन गरेर सम्पन्न गर्न राजाहरुलाई बन्दी बनाएको छ। जरासन्धवध नगरी ती बन्दी राजामुक्त हुँदैन,उनीहरु मुक्त नभई तपाईको राजसूय यज्ञ पनि सफल हुँदैन। सल्लाह अनुसार श्रीकृष्ण, भीम र अर्जुन गए-जरासन्धवधको लागि। थियो त जरासन्ध ८० वर्षको तर यति बलवान थियो कि उसँगको मल्ल युद्धमा भीम थकितमात्रै होइन पराजयको बिन्दुमा पुग्न लागे। आफ्नो चातुर्य स्वभावअनुसार श्रीकृष्णले एउटा पातबीचबाट च्यातेर दुर्इ विपरीत दिशातर्फ फालेर जरासन्धको दुर्इटा खुट्टा समातेर बीचबाट च्यात्ने इशारा भीमसेनलाई गरे। भीम जरासन्धको जाँघ च्यातेर दुर्इविपरीत दिशातर्फ फ्याँकी दिए। अन्यथा, जरासन्धको शरीर फेरि जोडिने थियो। यसरी जरासन्धको इहलिला समाप्त गरेर कैदमा परेका राजाहरु मुक्त गराइ इन्द्रप्रस्थ फर्के।

युधिष्ठिरलाई पनि डर थियो जरासन्धको-त्यति बिघ्न बलवान थियो। र, उनले जरासन्ध कसरी मारियो भन्ने श्रीकृष्णबाट सुन्न चाहे। श्रीकृष्णले भनेका छन्- ‘जरासन्ध यति बलियो हुँदाहुँदै पनि गरिबहरुको आँसुले ऊ भित्रभित्रै मरिरहेको थियो। महाराज युधिष्ठिर सधैँ याद राख्नुहोस्। गरिब दुःखीहरुको अर्तनादमा एकप्रकारको इश्वरीय शक्ति हुन्छ। यस्तो अर्तनादबाट ठूला ठूला साम्राज्य पनि ढलेका छन् भने जरासन्धको के कुरा’ हुन त यो महाभारतको कथा हो तर यसमा एउटा महत्वपूर्ण शिक्षा पनि छ। गरिब नेपाली जनताको नाउँमा राजनीति गर्ने तर गरिब जनतालाई नै सधैँ ठगिरहने दिन अब धेरै चल्नेवाला छैन, टुंगिदै छ भन्ने नेताहरुले जति चाँडो महसुस गर्लान् त्यत्ति नै चाँडो नेपालको राजनीतिले ठिक बाटो लिने छ। अस्तु।

- तिलक पराजुली