नाम जुधेर हैरानी

दशैँ अगाडि उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख घूस लिँदालिँदै समातिएछन्। यो समाचार सुनेपछि धेरै शुभचिन्तक, परिचित मित्रहरुलाई पर्नु पीर परेछ। यो सुरेन्द्र थापामगर भन्ने व्यक्तिले झ्याप पारेछ क्या हो ? पैसा भनेपछि महादेवका तीन नेत्र। हाम्रो समाजको परिपाटी हाम्रा चालचलनले धेरैलाई शंका लाग्नु स्वभाविक थियो। अख्तियारको फन्दामा परेका मेरा नाम राशीका ती व्यक्ति सरकारको नूनपानी खाएका, हिजोको भाषामा भन्दा राजाको सिन्दूर पहिरिएका हाकिम साव हुन्। म परे ढाक्रे। ढाक्रे र सरकारी जागिरेबीचको अन्तर छुट्याउन नसक्दा मेरा शुभचिन्तकहरुलाई पर्नु पीर परेछ। एउटै थर गोत्र नामका धेरै व्यक्ति पनि हुन्छन्। नाम जुधेर पद चट्याएका, बधाई खाएका, सजाय पाएका धेरै पात्रहरु छन्।

मेरो नाम राशिका ती मनुवा र म बीच प्रशस्तै अन्तर छन्। उनी सहन्यायाधिवक्ता, म अधिवक्ता। सर्वोच्च अदालतले यसो गरि खा भनेर दिएको एउटा पद, थर पनि फरक उनी परे थापा काजी म परे लेडे मगर। तै पनि मेरो शुभचिन्तकहरुलाई गाह्रो साह्रो परेछ। मनमा तरंग छाएछ-एउटा कल्पना आँखै अगाडि नाचेछ। मेरो अनुहार, पाँच लाखका बिटा अख्तियारका कर्मचारीहरुलाई मुचुल्का गर्दै गरेको दृश्य। यो भयानक दृश्यले मलाई चिन्नेहरुलाई चिन्ता र चासो पर्‍यो। शुभचिन्तकहरुको फोनको वषा हुन थाल्यो। सर कता हुनुहुन्छ ? सु-विचार मनहरुले भाँती-भाँती गरेर सोधेछन्। बेलायतदेखि मलाई इष्टमित्रहरुले सोधे-तपाईको नाम राशिको अर्को व्यक्ति को हो ? मेरो स्वर सुनेपछि म घरमै भएको खबर पाएपछि राहत महसुस भएछ धेरै जनहरुलाई।

गाउँ गाउँबाट मलाई चिन्नेहरुले आफूले फोन गर्न मेसो नपाउनेले मेसो पाउनेलाई फोन गर्न लगाएर ‘घूस खाने’ म हो कि होइन। थाहा पाउन चाहे। यसरी थाहा पाउन चाहने शुभचिन्तकहरुमा स्याङ्जा बिरुवा गाउँपालिकाका भर्लेका भूपू लाहुरेहरु परे। उनीहरुले मेरो स्वरबाट म होइन भन्ने निर्णयसुन्न चाहेका रहेछन्। मान्छेहरुको एउटा प्रवृत्ति हुन्छ रे ‘यो कति बेला तल र्झछ र ताली बजाएर हाँसम्ला’ भन्छन् रे मेरो हकमा यो नियम त्यत्ति लागू भएन। मलाई फोन गर्नेहरु, मेरो बारेमा सोच्नेहरु प्रायः सबै सु-विचार मन लिएर जिज्ञासा राखे। यसको पछाडि मेरो विगत छ। म आबद्ध संघसंस्थामा मैले सामाजिक भूमिकामा खेलेको सानो योगदानको अंश सकारात्मक छ। यो भन्दा आफ्नो डम्फू आफै बजाएझैं लाग्न सक्छ। आफू जस्तो छ, त्यसलाई निर्धक्क भन्न सक्नुपर्छ। मैले जानेसम्म मैले थाहा पाएसम्म म निर्धक्क भन्न सक्छु, मैले कही कतै भ्रष्टाचार गरिनँ, गर्ने छैन। भ्रष्टाचारसँगको यो पंक्तिकारको साइनो कदापी जोडिदैन। मैले मेरो परिश्रम यति हो भनेर हिम्मत साथ भन्छु तर अर्काको नाम बेचेर तर खाने जुक्ति अथवा बहादुरी छैन। म आबद्ध रहेको संघसंस्थामध्ये ट्रान्सपरेन्सी इन्टरनेशनल एउटा हो। नेपाल उद्योग वाणिज्य महासंघका पूव अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा गठन गर्नुभएको यो संस्थाले थोरै भए पनि भ्रष्टाचार न्यूनीकरण सदाचार अवलम्बन र असल शासन प्रवर्द्धनमा एउटा इँटा थपेको छ। गैरसरकारी संस्थाहरूले सधैँ मानवअधिकार राजनीतिक तथा लैंगिक अधिकारको बारेमा वकालत गरे। तर समाजलाई सदियौदेखि पक्षघातमा पारेको भ्रष्टाचारको बारेमा आपसमा कहिल्यै छलफल विचार विमर्श भएन। संघसंस्था राजनीतिक दलको यो एजेण्डा बन्न सकेन। त्यसैले हामीले पोखरामा यो विषयलाई जनमानसमा ल्यायौ। छलफल गर्‍यौ। भ्रष्टाचार छ भन्नुमात्र भ्रष्टाचार विरुद्धको आन्दोलन पर्याप्त होइन। भ्रष्टाचारको रुप र प्रवृत्ति कतातिर उन्मुख छन्, त्यसबारेमा सर्वसाधारणलाई जानकारी गराउने हाम्रो दायित्व हो। भ्रष्टाचारविरुद्धको लडाइँ एक दुर्इ व्यक्ति संघसंस्थाले लडेर सफल हुँदैन। यो अभियानमा राज्यका सबै निकायका प्रमुख, गैरसरकारी संघसंस्था, नागरिक वर्गको पूर्ण प्रतिबद्धता र सक्रियता जरुरी छ।  नागरिक समाजलाई भ्रष्टाचार विरुद्ध क्रियाशील गराउनु तपाई हाम्रो सबैको दायित्व हो। जनमानसमा सार्वजनिक उत्तरदायित्व बोध गराउने, मानवीय क्रियाकलापलाई पारदर्शी र सदाचारी बनाउने यो संस्थाको उद्देश्य हो। यस्तै उद्देश्य बोकेको संस्थाको एउटा सदस्यको नाम कही कतै भ्रष्टाचार अनियमिततामा जोडिगयो भने दाँतमा ढुंगा लाग्नु स्वभाविकै हो। यो मनुवालाई यसैकारण धेरै व्यक्तिले सोध खोज गरे। संघसंस्थालाई मागी खाने भाँडो बनाउन हुँदैन। मौका नपाउँदासम्म सदाचारी मौका पाए पछि भ्रष्टाचारी हुने धेरै छन्। त्यो लामा लस्करमा यो पंक्तिकार पर्नु हुँदैन  भन्ने धेरैको मनोकांक्षा रहेछ। म असल हुन सके सकिनँ, मलाई थाहा छैन। जीवन अझै धेरै बाँकी छ तर मेरो बारेमा चिन्ता र चासो लिने असल व्यक्तिहरु धेरै रहेछन्। यो घटनाले मलाई यही अनुभूति दिलायो। यो मेरो लागि अमूल्य उपहार पनि हो। म झन् सजग र इमान्दारी हुनुपर्छ भन्ने सन्देश शुभचिन्तकहरुको छ।

भ्रष्टाचारको त्यो सनसनीपूर्ण समाचार आएपछि मेरो छोरीको आग्रहमा मैले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्न बाध्य भएँ। ‘धान खाने मुसा, चोट पाउने भ्यागुता सन्दर्भ एउटै नामको-सुरेन्द्र।’ यसले भ्रम हटाउन धेरैलाई सहयोग गर्‍यो। धेरै शुभचिन्तकहरुको कमेन्ट आयो। तीमध्ये देवसिंह थापा, बद्री वाग्ले, कान्तिपुरका निडर पत्रकार लालप्रसाद शर्मा, माधव पनेरु, श्याम थापा, कृष्ण पाण्डे, कृष्ण सुनार, सलिता गुरुङ, तरेन मित्रकोटी, अस्मिता नेपाली, रुद्र श्रीस, तुल्सी पुजामगर, अधिवक्ता भुवन पराजुली, माया गुरुङ, दीपा गुरुङ, प्राडा ज्ञानबहादुर कार्की, कवयित्री रोशनी गुरुङ लगायत धेरै शुभचिन्तकहरु हुनुहुन्छ। तीमध्ये उम्दा पत्रकार केशवशरण लामिछानेको यो कमेन्ट यस्तो थियो-, ‘है दाइ तर तपाई त बहादुर हैन नि ती अर्का सुरेन्द्र नामका मनुवा बहादुर परेचन् क्या !’ नामथर मिले पनि बीचको नाम जाति र पद नै फरक हो भन्ने सबैलाई जानकारी भया ! सबैभन्दा नैतिकतै फरक पर्‍यो। टिप्पणी गर्नेहरु अधिवक्ता हेमराज बराल, नभराज आले, पत्रकार अनिशा श्रेष्ष्ठ, सोनु गुरुङ, युवा पत्रकार हिमाल लम्साल, जमुना वषा लगायत व्यक्तिहरुको टिप्पणी मननयोग्य छ। सन्देह सबैले गर्न पाउनुपर्छ। सत्यको पहिलो चरण पेट भरिञ्जेल सन्देह गर्नुपर्छ, अन्तिममा सत्यको सामु सन्देह टिक्न सक्दैन। हामी जीवनको पाइला पाइलामा परीक्षाको घडीमा उत्रनुपर्छ। नाम जुधेर मेरो शुभचिन्तकहरुलाई हैरानी भयो। सन्देश भयो। आखिर सब राम्रोको लागि भयो। सत्य उद्घाटित गर्न मद्दत गर्‍यो। यो घटनाले म लगायत हामी सबैलाई एउटा सन्देश दिएको छ, हरेक मानिस तराजु लिएर बसिरहेको हुन्छ, नापतौल चलिरहेको छ।

(लेखक अधिवक्ता हुन्। सं.)

- सुरेन्द्र थापामगर