नागपञ्चमीको महत्व

श्रावण शुक्लपञ्चमीको दिन नेपालका हिन्दू धर्मावलम्बीको मूल ढोकामा टाँसेर संसारको रक्षा गर्ने नाग जात्रि्रति आदर सम्मान प्रकट गरी नागपञ्चमी पर्व मनाउँछन्। २०७५ सालको नागपञ्चमी पर्व श्रावण ३१ गते परेको छ। नागपञ्चमीमा घरको मूल ढोकामा नाग टाँस्ने प्रचलन छ। यो दिन ललितपुर दानघाट, धापाखेल नागदह नागपोखरी र टौदहमा मेला लाग्छ। यो दिन पोखरा १३ मा रहेको बुढुवा फाँटमा अवस्थित कमल पोखरीमा मेला लाग्छ। यो पोखरीमा यो समयमा सेता कमलका फूल फुलेका हुन्छन्। कमल भएकोले यो पोखरीको नाम कमल पोखरी रहन गएको हो। घरघरमा नागस्थान बनाएर पूजा गर्ने प्रचलन नै छ। नागपञ्चमीमा दीप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाइ नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दूर, चन्दन, कपास, धूप दीप चोखो जल गाईको दूध आदि चढाएर पूजा गरी ढोकामा टाँस्नाले सर्पको भय हुँदैन भन्ने जनविश्वास छ। चामलको पीठोको नाग पनि बनाउने प्रचलन छ। नाग पूजामा केरा, आप, अनार, नासपति, सिजन अनुसारका विभिन्न प्रकारका फलफूल र चामलको पीठोका साना साना ताप्के रोटीे वा ठूला रोटी बनाएर प्रसाद चढाइन्छ। सुपारी पनि चढाउने परम्परा छ।

घस्रेर हिँड्ने लामो, विषालु किरो, साँप लाम्किरोलाई सर्प भनिन्छ। साधारण प्रकारका सर्पहरूलाई साँप भनिन्छ। साँप धेरै प्रकारका हुन्छन्। जस्तैः गोमन, करेत, साँप साधारण र हरियो रंगका साँप जसलाई हर्रेउ पनि भनिन्छ। हरियो घाँसपात, तरकारीका हरिया झालहरु जस्तै घिरौला, करेला, फर्सी इस्कुस, काँक्रा आदिका झालमा बस्ने सर्पहरू वातावरणका प्रभावले हरिया हुन्छन्। सर्प, पानी, जमिन र रुख विरुवा तीन ठाउँमा बस्छन्। पानीमा बस्नेलाई पानी सर्प भनिन्छ।

सर्प विषालु प्राणी हो। यसले टोक्यो भने समयमा उपचार नपाएमा विरामीको मृत्यु हुन्छ। करेत र गोमन सर्पहरू अत्यन्त विषालु हुन्छन्। सर्पको टोकाइबाट बच्न सदैव सर्तर्क हुनुपर्छ। मानिस र पशुले झुक्किएर यसको शरीरमा असर पर्न गयो भने मात्र यसले मानिस र पशुलाई टोक्न सक्छ। विना कारण यसले टोक्दैन।

सर्पलाई नाग पनि भनिन्छ। पुराण अनुसार ब्रहृमाका पौत्र तथा भरियिका मानस -अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता, मन हृदय) पुन एक विख्यात प्रजापति, देवता तथा दानवहरुका जनक, मन्त्रद्रष्टा, गोत्र, प्रवर्तक एक ऋषि, काश्यप -यिनका दिति, आदिति, दनु, विनता, रक्सा, कद्रु, मुनि, क्रोधा, अरिष्टा, दूरा, ताम्रा, इला र प्रधा गरी तेह्र स्त्रीहरु भनिन्छ)। यिनै ऋषि पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्काटक, पद्म, शङ्खचूड, महापद्म, धनञ्जय नामका आठ नाग भए। अष्ट नागमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख हुन्।

नागपञ्चमीको दिन श्रद्धालु भक्तजनहरु पवित्र नदी तथा ताल तलैया स्नान गरेर नागको पूजा गर्नाले कुनै अनिष्ट बेहोर्न नपर्ने र मुक्ति मिल्ने विश्वास राखेर विहान सबेरै उठेर गंगा नदी र तालहरुमा स्नान गर्दछन्। पोखरा उपत्यकामा रहेका फेवा, वेगनास, रुपा, दीपाङ, मैदी, कमल, न्युरेनी, गुदे र खास्टे नौ तालमा स्नान गरेर नागको पूजा गर्‍यो भने मुक्ति मिल्ने विश्वास गर्ने श्रद्धालु भक्तजन महिला तथा सज्जन वृन्दहरु बिहान सबेरै उठेर स्नान गर्न जान्छन्। पोखरा १३ बुडुवा फाँटमा रहेको कमल तालमा स्नान गरेर त्यहाँका मिले फूल सहित पात घरमा लगेर नागको पूजा गर्दा कमलको फूल चढाएर पूजा गर्दछन्। फूल नपाए पात पनि घरमा लगेर नागलाई चढाउँछन्।

भगवान् विष्णुको शैयाका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज अनन्तलाई शयन बनाएर भगवान् विष्णु विराजमान हुनु भएको छ। बूढानीलकण्ठमा भगवान् विष्णु शेष नाग माथि विराजमान हुनु भएको छ। यस्तै मुक्ति बालाजुको बाइस धारा परिसरमा पनि छ। चतुर्मास व्रतको आरम्भ भएर हरिले शयन गर्ने भनी मानिएको दिन, आषाढ शुक्ल एकादशीलाई हरियशनी एकादशी भनिन्छ भने चतुर्मास समाप्त भएर देवोत्थान हुने एकादशी, कार्तिक शुक्ल एकादशी यी चार महिना भगवान् विष्णुले शेषनागको शयनमा लक्ष्मीसाथ विराजमान हुनुहुन्छ।

देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको साह्रै कडा कालकूट विषले देवता र दानवहरुलाई साह्रै पिरोलेको थियो। यसलाई नियन्त्रण गर्न देवताहरुले भगवान् शिवलाई गुहारे। उनीहरुको भक्तिले भगवान् शिव प्रसन्न भएर त्यो विष आफूले ग्रहण गरेर घाँटीमा राख्नुभई देवताहरुलाई चिन्ता मुक्त गराउनु भयो। भगवान् शिवको घाँटीमा विषको ज्वलन भयो। यो ज्वलनको अन्त्य गर्न भगवान् शिवले नागको माला लगाएर आफ्नो जलन कम गराउनु भएको थियो। कालकूट विषका प्रभावले भगवान्को घाँटीमा नीलो दाग बस्न गएको कारणले उहाँको नाम नीलकण्ठ रहन गएको हो। कालकूट विष भगवान् शिवले ग्रहण नगरेको भए संसार नष्ट हुने थियो भन्ने किंवदन्ती छ।

सर्प मानिसहरूको लागि उपयोगी प्राणी हो। सर्पले अन्नवाली नष्ट गर्ने मूसा, अन्य कीरा फट्याङ्ग्रा, खाएर नेपालका कृषकहरुको आफ्नो अन्नबाली राम्रोसँग ततेर्न पाएका छन्। तराई वासी जादूगरहरूले सर्प नचाएर पनि जीवन निर्वाह गरेका छन्। सर्पको हड्डी गहना बनाउन पनि प्रयोग गरेको पाइन्छ भने छाला काँचुलीबाट पनि उपयोगी सामान निर्माण गरिन्छ।

नागमणि अति बहुमूल्य र दुर्लभ वस्तुमा पर्दछ। सर्पले वातावरण प्रदूषणमा नियन्त्रण गर्दछ। किनभने यिनीहरुले जिउँदा र मरेका प्राणी अवशेषलाई खाइदिएर वातावरण प्रदूषणलाई नियन्त्रण गर्न सघाउँ पुर्‍याउँछन्। मानिसका आफ्नै कमी कमजोरीबाट सर्पको टोकाइ भोग्न पुगेका छन्। सतर्क र सजग भएको खण्डमा सर्पबाट मानिसलाई फाइदा छ। नोक्सान छ भने आफ्नै कमजोरीबाट भएका छन्।

सर्प ठण्डीमा जमिनभित्र लुकेर बस्छ र गर्मी लागेपछि बाहिर निस्कन्छ। सर्प कोल्ड ब्लडेड प्राणी हो। यसको वासस्थान जमिनका दरार र खाडल, दुला, प्वालहरु नै प्रमुख हुन्।

सर्प पाल्नेहरू पनि छन्। सर्प वन्यजन्तु मित्र पर्दछ। यसको रेखदेख गर्ने जिम्मेवारी कानूनतः वन मन्त्रालय, विभाग र जिल्ला वन कार्यालयहरुलाई छ तर यी संस्थाले सर्पको संरक्षणमा ध्यान दिएको पाइँदैन। बरु मनपरी तबरले सर्प मारेको पाइन्छ। इकोसिस्टमलाई सन्तुलन राख्न सर्पको पनि ठूलो योगदान छ। त्यसैले सर्पलाई उचित संरक्षण गर्नु पर्ने नितान्त आवश्यक छ। त्यसैले स्थानीय प्रादेशिक तथा संघीय सरकारले सर्प संरक्षण गर्ने ऐन,नियमावली निर्माण गरी संरक्षण गर्नु नितान्त आवश्यक छ। यसैमा नेपाल, नेपाली र सर्पको कल्याण छ ।

- शिव प्रसाद गौतम