नवरात्रि र नवरात्रिमा गरिने साधना

हिन्दु संस्कृतिमा परमेश्वरलाई पिताका साथै मातृ शक्तिका रुपमा पनि उपसना गर्ने गरिन्छ। मातृ शक्तिका रुपमा देवीलाई जगन्माता, देवी, भवानी आदि नामबाट सम्बोधन गर्ने गरिन्छ। पूर्वीय दर्शनमा शक्ति विना कुनै वस्तु पनि चलायमान हुँदैन। काठमा अग्नि छिपेको हुन्छ  भने जलमा विद्युत शक्ति आदि। त्यस्तै गरी ब्रह्मा, विष्णु,महेश्वर आदिमा पनि मातृ शक्ति निहित छन्। शक्ति विना शिव शव हुन्छन् भनिन्छ। त्यसकारण यो विश्व ब्रहमाण्डलाई चलायमान गराउन आद्याशक्ति भगवतीको भूमिका रहेको छ।

मानव जीवनमा पनि शक्तिको ठूलो महत्व रहेको छ। भगवती शक्तिद्वारा नै मनुष्यले आफ्नो गतिविधि संचालन गर्ने गर्दछ। भगवती शक्तिको तेजबाट नै सम्पूर्ण जगतको सृजना भएको र सृष्टि, स्थिति र संहार पनि आद्या शक्तिबाट नै हुन्छ। मानिस स्वभावैले आफ्नो जीवनमा आइपर्ने विभिन्न समस्याबाट पार पाउन कुनै शक्तिको कृपा प्राप्त गर्न चाहन्छन र यसका लागि विभिन्न साधना गर्ने गर्दछन्।

जगन्माताको उपासना हरेक दिन गर्ने गरिन्छ। तर यसको खासगरी उपयुक्त समय आश्विन शुक्लपक्ष नै हो। आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म दुर्गा उपसना गरिन्छ र दसाँै दिनमा दुर्गाको प्रसाद स्वरुप टीका ग्रहण गर्ने गरिन्छ। नेपालमा यस पर्वलाई नवरात्रि भन्ने गरिन्छ र दशैँ पनि भन्ने गरिन्छ।

नेपालमा शक्ति साधना गर्ने परम्परा प्राचीन काल देखिनै चलिआएको हो। मल्लकालमा हाम्रो देशमा तन्त्र साधनालाई जोड दिइनुका साथै दुर्गा शक्तिको आराधना गर्ने प्रचलनमा पनि वृद्धि भएको पाइन्छ। नेपालमा दशैँ जति धुमधाम र उल्लासका साथ मनाइन्छ त्यो भारतमा पाइँदैन। भारत हिन्दु बाहुल्यता भएको देश भएको र त्यहाँ देवी साधकहरु धेरै भएतापनि सरकारी स्तरबाट  नेपालमा नवरात्रिमा जुन कार्यक्रम हुन्छ त्यो छिमेकी देश भारतमा हुने गरेको पाइँदैन।

स्वभावैले मातृशक्ति दयाकी प्रतिमूर्ति मानिन्छिन्। मातृशक्ति दया करुणा र प्रेमकी खानी हुन्। त्यसैले जगन्माताको उपासना गरेमा माता छिटो प्रसन्न हुन्छिन् र कृपा वर्षाउँछिन्। हामी नेपालमा दशैँ मनाउँने सिलसिलामा मिठो मिठो खाने,नया ‘लुगा लगाउने, रमाइलो गर्ने खसी च्यांग्रा आदि काटेर  मासु  खाने गरिन्छ। यसलाई दशँै मान्ने गरेको पनि पाइन्छ। तर नवरात्रको महत्व यसमा सीमित छैन। नवरात्र भनेकै देवीको उपासना गर्ने मुख्य पर्व हो।

भगवतीको उपासना गर्ने धेरै तरीका छन्। जगन्मातालाई शैलपुत्री ,ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा , स्कन्दमाता , कात्यायनी,कालरात्रि,महागौरी  र सिद्धिदात्रीका रुपमा उपासना गर्ने गरिन्छ। यी दुर्गाका नौ रुपको उपासना गर्ने भएकाले नै यो पर्वलाई नवरात्रि वा नवरात्र भनिएको छ।नवदुर्गाको पहिलो दिन शैलपुत्रीको रुपमा र क्रमश गर्दै नवौँ दिनमा सिद्धिदात्रीका  रुपमा उपासना गर्ने गरिन्छ।

नवरात्रको ९ दिनमध्ये सप्तमी ,अष्टमी र नवमी तिथिलाई विशेष महत्वका साथ उपासना गरिन्छ। सप्तमीमा महासरस्वतीको, अष्टमीमा महाकालीको र नवमीमा महालक्ष्मीको उपासना गर्ने पनि गरिन्छ।यस्तै गरी दुर्गालाई दस महाविद्याका रुपमा पनि उपासना गर्ने गरिन्छ। भगवतीका १० रुपलाई १० महाविद्याका रुपमा लिइएको छ। ती १० महाविद्याहुन्- काली, तारा, छिन्नमस्ता, त्रिपुरासुन्दरी, भुवनेश्वरी, त्रिपुरा ,षोडशी, धूमावती, बगला र कमला। यी १० महाविद्याको तन्त्रमा विशेष महत्व छ र विशेष प्रयोजनका लागि विशेष स्वरुपको उपासना गरिन्छ। उदाहरणको लागि  झै-झगडा, मुद्दा मामीला, शत्रु आदिबाट विजय प्राप्त गर्न बगलामुखीको उपासना गरिन्छ भने धन सम्पत्ति का लागि कमलाको उपासना गरिन्छ। भगवतीको उपासना गर्ने विभिन्न तरीका छन्। यी मध्ये आफुलाई उपयुक्त हुने उपायद्वारा दुर्गा साधना गर्न सकिन्छ।

१) स्तोत्र पाठ

दुर्गाशक्तिको महिमाको वर्णन गरिएको पुस्तक दुर्गासप्तशतिहो। यसमा जव जव देवता वा मनुष्यलाई संकट पर्छ तव तव मातृशक्तिको आहवान गरिएको पाइन्छ। चण्ड मुण्ड आदि दानवी शक्तिलाई देवीले नै परास्त गरेकी थिइन्। यसैगरी आफनै जनद्वारा दुख पाएका राजा सुरथ र वैश्य ले देवीकै उपासना गरेर मनोवाञ्छित फलप्राप्त गरेको कुरा वर्णन छ। नवरात्रमा दुर्गा सप्तशतिको पाठ गरिन्छ। कुनै खास प्रयोजनका लागि पाठ गरिएको भएमा दुर्गा सप्तशतिका खास  मंत्रले संपुट गरेर पनि स्तोत्र पाठ गरिन्छ। श्रद्धा र भक्तिकासाथ सकेसम्म आफैले पाठ गरेमा देवीबाट कृपाप्राप्त हुन्छ भन्ने धेरै साधकको अनुभव छ। नवरात्रमा पाठ गरिने अर्को स्तोत्र देव्यथर्वर्शीषहो। घोर संकटको समयमा मृत्यु समान कष्टको अवस्थामा वा माताको असीम कृपा प्राप्त गर्न देव्यथर्वशीर्ष पाठ गरिन्छ। यो स्तोत्र पाठ गर्नाले वाकसिद्धि पनि प्राप्त हुन्छ भनिन्छ।

२)मन्त्रजप

दुर्गा सम्बन्धी धेरै मंत्रहरु छन्। तर ती मध्ये नवार्णत्र धेरै प्रचलित छ  र शक्तिशाली पनि छ। नवार्णत्र ऊँ, ऐँ, ह्रि,क्लीँ चामुण्डायै विच्यै हो। यहाँ उ लाई छाडेर नौ अक्षर छन् त्यसकारण  नवार्णत्र भनिएको हो। हरेक मंत्रमा शुरुमा उ  लगाउने भएकाले संख्यामा यसको गणना हुँदैन। नवरात्रिमा बढी भन्दा बढी यस मंत्रको जप गरिन्छ। सकिन्छ भने ९ दिनमा १ लाख २५ हजार भन्दा बढी जप गर्नु राम्रो मानिन्छ। ९ दिनसम्म जप गरेर दाशौं दिनमा हवन गर्ने गरिन्छ। यहाँ सरस्वती , लक्ष्मी र कालीको वीजमंत्र क्रमशः ऐं ,ह्रि, क्लीँको जप गरिन्छ। यसबाट विद्या , बुद्धि, ऐर्श्वर्य धन सम्पति र शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

३) पूजा अर्चना

भगवती अरु साधनाबाट भन्दा भक्तिबाट छिटो खुसी हुन्छिन्। भक्ति प्रकट गर्ने विभिन्न माध्यम भएपनि पूजा अर्चना र कीर्तन प्रमुख माध्यम हो। भगवतीको प्रतिमालाई साक्षात जीवित रुप सँझेर श्रृंगार गर्ने पूजा गर्ने तथा फलफूल, प्रसाद ,भेटी अर्पण गर्ने गरिन्छ र सकेसम्म कीर्तन भजन गरिन्छ। यस्तै गरी भगवतीको खुसीका लागि नरीवल, भुइँ फर्सी उखु, अदुवा आदिको वलि दिइन्छ। प्राणी को वलि दिनु एकातिर पापहो भने अकोर्तिर माताको नाममा माताकै सन्तानको हत्या गर्नु जघन्य अपराध हो। अतः काम ,क्रोध, घृणा, द्वेष, आदिलाई छाडेर माताको भक्ति गर्नु सच्चा वलि दिनु हो।

४) ध्यान

साधनामा अत्यन्त प्रभावकारी साधना ध्यान हो। ध्यान सात्विक  प्रकारको साधना हो। ध्यान गर्दा मन एकाग्र हुनु आवश्यक छ। अन्य साधनामा मनको एकाग्रतालाई खासै जोड दिइएको छैन, तर ध्यानमा यो अनिवार्य छ। एकाग्रताकासाथ गरिएको कार्य सफल हुन्छ भने एकाग्रताकासाथ गरिएको ध्यान पनि सफल हुन्छ। जगन्माताको स्वरुप हृदयमा राखेर तन्मयताकासाथ ध्यान गरिन्छ। रुप संझन अप्ठ्यारो हुन्छ भने माताको गुण अथवा महिमा स्मरण गर्न सकिन्छ। माताका गुणहरु जस्तै दया करुणा प्रेमलाई लिएर पनि ध्यान गर्न सकिन्छ। यसरी गहिरो ध्यान गरेमा माताको ध्यान आकृष्ट हुन्छ र कृपा प्राप्त हुन्छ।

५) सेवा

कतिपय भक्तहरुलाई माथि उल्लिखित साधना गर्न आउँदैन वा फुर्सद नहुन पनि सक्छ। तैपनि ऊ माताको भक्ति गर्न चाहन्छ भने त्यस्ता भक्तहरुले सेवा गर्न सक्छन्। सेवा गर्ने भन्नाले मन्दिरको सरसफाई गनेर्र्, बगैंचा बनाउने, मन्दिरमा आउने भक्तहरुको सेवा गर्ने, बाटोको निमार्णगर्ने, खानेपानीको व्यवस्था,शौचालयको व्यवस्था, प्रसादको व्यवस्था,आवासको व्यवस्था आदि। नेपाल तथा भारतमा कतिपय तीर्थ स्थलमा यस्ता सेवा उपलब्ध गराइएको पाइन्छ। यसरी साधना वा उपासना गरियो भने नवरात्र वा दशैं र्सार्थक हुन्छ। अस्तु।

- विष्णु प्रसाद श्रेष्ठ