नयाँ कानूनमा सम्बन्ध विच्छेद

वि.सं.२०७५ भदौ १ गतेदेखि एकसय पैँसट्ठी वर्ष पुरानो मुलुकी ऐन विस्थापित भएको छ । मुलुकी ऐनको ठाउँमा मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता लागू भएको छ । न्यायपूर्ण व्यवस्था कायम गर्न पुरानो ऐनलाई विस्थापित गरेर नया ऐन लागू भएको हो । यो संहिता लागू हुनुभन्दा अगाडि र भएपछि समाजमा एउटा तरंग सृजना भएको छ ।यी तरंगहरु पछाडि नया कानूनबारे सचेतता नहुनु प्रमुख कारण रहेको छ । नया कानून एकवर्ष अगाडि नै प्रमाणीकरण भइसकेको थियो ।

तर समाजको सबैभन्दा सचेत वर्ग पत्रकार, कानून व्यवसायी, चिकित्सक समेतले यो नया कानूनबारे चासोसम्म राखेनन् । त्यसैले यतिबेला हतार हतार अनेकथरी प्रतिक्रियाहरु आएका छन् । नागरिक समाजका व्यक्तिहरु सोध्ने गर्दछन् । अब सम्बन्ध विच्छेद हुन एकवर्ष लाग्दछ । कोही भन्छन् अब बाबा आमाले आफनो संपत्ति आफुखुश गर्न पाउँछन् आदि इत्यादि ।

नया कानूनमा सम्बन्ध विच्छेद सम्बन्धी कस्तो व्यवस्थाछ ? मुलुकी देवानी कानूनको परिच्छेद ३ को दफा ९३ देखि १०४ सम्म सम्बन्ध विच्छेद सम्बन्धी व्यस्था छ । पारिवारिक दाम्पत्य सम्बन्ध दुबैको मञ्जुरीले जहिलेसुकै सम्बन्ध विच्छेद गर्नसकिन्छ । पति पत्नी दुवैले चाहेमा कुनै पनि समय सम्बन्ध विच्छेद हुने प्रावधानले व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिएको छ । यसको अतिरिक्त कुन कुन अवस्थामा पति पत्नीले सम्बन्ध विच्छेद गर्नसक्छन् यसबारे हामी सबैले जान्नु पर्दछ ।

नया मुलुकी देवानी संहितामा पतिले संबन्ध विच्छेद गर्नसक्ने अवस्थाहरु यस्ता छन्। पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष सोभन्दा बढी समयदेखि पतिसँग अलग बसेमा त्यस्तो पत्नीसँग पतिले संबन्ध विच्छेद गर्नसक्ने व्यवस्था छ । यो अवस्था कानून बमोजीम पति पत्नी अंश लिएर वा मानो छुट्टिई भिन्न वसेको अवस्थामा मात्र आकषिर्त हुन्छ । पत्नीले पतिलाई खान  लाउन नदिएमा वा श्रीमतीले घरबाट निकाला गरेमा पनि त्यस्ता पत्नीसँग पतिले सम्बन्ध विच्छेद गर्न पाउँछन् । यसै गरी पत्नीले पतिको अंग भंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने कुनै काम जाल प्रपञ्च गरेमा पनि पतिले सम्बन्ध विच्छेद गर्न पाउँछ ।

यो व्यवस्था त्यति प्रष्ट छैन । मानसिक कष्टको परिभाषा अस्पष्ट हुँदा यो व्यवस्थाको दुरुपयोग हुने बढी सम्भावना रहन्छ । अर्को तर्फ पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्ध विच्छेद हुने व्यवस्था छ ।

पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न पाउने प्रावधान पनि केही व्यवस्था बाहेक अरु माथि उल्लिखित अवस्था पतिबाट भएमा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्छन्। यसको अलवा पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा त्यस्ता पतिसँग पत्नीले सम्बन्ध विच्छेद गर्न सकछन्। यसैगरी पतिले पत्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा त्यस्ता पनि पत्नीले सम्बन्ध विच्छेद गर्न सकछन्। यो व्यवस्था महिलाको -पत्नी) लागि बढी महत्वपूर्ण छ।  हाम्रो समाजमा पुरुषले महिलालाई विवाह गरेपछि पुरुषको इच्छा अनुसार सबै कुरा गर्न सक्ने अधिकार मानिन्थ्यो अब यो व्यवस्थाले महिलाको शरीर र व्यक्तिगत स्वतन्त्रतालाई कसैले कुण्ठित गर्न पाइँदैन। विवाह पश्चात् पनि महिलाको शरीर अनतिक्रम्य छ भन्ने कुार एनेको यो व्यवस्थाले पुष्टि गरेको छ। हिजो महिलालाई वस्तुको रूपमा हेरिन्थ्यो अब महिलाले आफ्नो स्वतन्त्रता आफै उपभोग गर्न सक्छन्। पति भएको नाताले पत्नीको इच्छा विपरीत कार्य भएमा जवरजस्ती ठहरिन्छ।

मुलुकी देवानी संहिता अनुसार अब पतिपत्नी दुवैले सम्बन्ध विच्छेद गर्न चाहेमा सम्बन्धित जिल्ला अदालतमा निवेदन सक्छन्। यसभन्दा अगाडि पत्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा अदालतमा निवेदन दिन सक्थे तर पतिले सम्बन्ध विच्छेद गर्न चाहेमा स्थानीय निकाय मार्फत् आउनु पर्दथ्यो। यस्तो व्यवस्था उपर विभेद भयो भनी सवोर्च्च अदालतमा रिट परेको थियो। अहिलेको व्यवस्थाले सम न्याय गरेको देखिन्छ।

पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्था भएमा त्यस्ता पत्नीले अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउँछिन्। सम्बन्ध विच्छेद हुने पतिले बाबुआमा अथवा अन्य अंशियारसँग अंश लिई नसकेको भए पनि अन्य अंशियारको अंश छुट्याएर महिलाले अंश लिन पाउँछन्। त्यतिमात्र होइन अंश वण्डा गर्दा लामो समय लाग्ने देखिएमा पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिने व्यवस्था छ। अकोर्तर्फ पत्नीको कारणले पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्था भएमा त्यस्ती पत्नीले अंश वा खर्च पाउँदैनन्।

सम्बन्ध विच्छेद गर्दा पछिबाट पत्नीले अंश पाउने भए पनि पत्नीले अंश नलिई पतिसँग एकमुष्ट रकम वा वाषिर्क वा मासिक रकम खर्च भराई लिन चाहेमा पतिको सम्पत्ति र आम्दानीको आधारमा रकम वा खर्च भराउन पाउने व्यवस्था छ। यसरी हेर्दा सम्बन्ध विच्छेद हुने महिलाले पतिसँग अंश वा एकमुष्ठ रकम लिन पाउने व्यवस्था ऐनले गरेको छ। यसरी एकमुष्ट रकम लिएको वा लिइरहेको अवस्थामा त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च पाउने छैनन्। सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजको छोरा छोरी भए छोराछोरीले, छोरा छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टकिा हकवालाले पाउने व्यवस्था छ।

माथि उल्लिखित काम कारवाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ।

- सुरेन्द्र थापा मगर