नगर पालिका अब गर पालिका बन्नुपर्छ

एकजना मनोविद्ले भनेका छन्,नामअनुसार मानिस/संस्थाको स्वभावमा कहीं न कहीं तालमेल मिल्न जान्छ भनेर। यसो त बलबहादुर नाम हुँदैमा सबै बलिया हुन्छन भन्ने छैन। थुप्रै धनीरामहरु गरीब पनि भेटिन्छन्। तैपनि नाम जुराउँदा वैज्ञानिक पक्ष पनि हेर्ने चलन हामीकहँा आजपर्यन्त छ। एकजनाले भनेका थिए” न” बाट नाम आउनेहरु नकारात्मक स्वभावका हुन्छन भनेर। थाहा छैन “न” नाम धारीहरु को कति सकारात्मक र को कति नकारात्मक छन्।

यहाँनेर चर्चाको चुरो भने पोखरा नगरपालिका ( भनिरहनु नपर्ला  नगर पालिका भन्नाले महानगर र उप  महानगर पालिकासमेतलाई जनाउँछ ) सँग सम्बन्धित छ। नगर पालिका यसै पनि स्थानीय निकाय थियो। पञ्चायतकै पालादेखि शक्ति सम्पन्न। बहुदलीय व्यवस्थामा पनि यो निकाय स्थानीय स्तरको विकास,निर्माण र व्यवस्थापन हेतु कामयावी संस्थाकै रुपमा आफुलाई अघि बढाएको पाइन्छ। नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् जननिर्वाचित प्रतिनिधिहरुको बहालीले स्थानीय विकास र निकासका लागि अर्थपूर्ण सरोकार राख्दछ।

लामो समयसम्म जनप्रतिनिधिहरु नहुँदा कर्मचारीका भरमा यी निकाय चले। कार्यकारी अधिकृतसँग कर्मचारीतन्त्रीय र राजनीतिक दुबै खाले अधिकारहरु  रहे। राजनीतिक सहमतिका लागि सर्वदलीय संयन्त्रको परिकल्पना गरेर विगतका १४,१५ वर्ष व्यतीत भए। राजा मरेर रजाइँ र काजी मरेर कजाइँ खाली भएन। सिष्टमको शून्यता देखिएन। प्रशासकीय प्रमुखले पालिका प्रमुखसमेतको जिम्मेवारी निभाउन सफल भए। यस बीचमा कति त राम्रा काम पनि भए। कति अप्ठारा काम कर्मचारीले आँटन नसक्ने भएकोले जनप्रतिनिधिहरु बहाल भएपछि सम्पन्न हुने आशा खेती पनि बाँडियो। अहिले जनप्रतिनिधिहरु पनि बहाल भए। जनता वषौर्देखि थाँती रहेका कामहरु सम्पन्न गरेर नाम  नगर पालिका भए पनि सारमा यो संस्था गर पालिका नै रहेछ है भनेको सुन्न र हेर्न आत्तुर छन।

यद्यपि चुनावताका धेरै राम्रा,मीठा र आर्कषक नाराहरु लिएर उम्मेदवारहरु जनतासमक्ष आए। आज विगतका आश्वासन पूरा गर्ने ठाउँमा जनप्रतिनिधिहरु पुगेका छन। जनताले विगतका धेरै महत्वाकाङ्क्षी नारा पूरा गर भन्ने आकांक्षा अहिले नै गरेका छैनन।गरिहाल्ने बेला पनि भइसकेको छैन। तर जनताको दैनिकीसँग सरोकार राख्ने कतिपय विषयमा भने आजको आजै समाधान खोज्नु नाजायज किमार्थ होइन।

स्मार्ट सिटी, बृद्घ भत्तामा बृद्घी,आइ . सी. टी. पार्क लगायत थुप्रै कुराको खोजी आगत ५ वर्षे कार्यकालमा गरिएला तर नगर पालिकामा जनता जाँदा पाउनुपर्ने सेवा सुविधा,कर तिर्न,नक्सा पास गर्न ,सिफारिस लिन,विवाह दर्ता गर्न ,जन्म तथा मृत्यु दर्ता गर्न जाँदा तत्काल काम फत्ते भएको हेर्न जनता आत्तुर छन। तर पुरातन शैली त्यहाँ हावी छ। चाहेअनुसार छिटो छरितो सेवा जनताले पाउन सकेका छैनन। महानगर भएपछि गाभिएको साविकको लेखनाथ नगरपालिकासँग सम्बन्धित कतिपय डकुमेण्ट्सहरु एकत्रित भै नसकेको हुँदा सेवाग्राही दुर्इतिर  जानुपर्ने वाध्यात्मक अवस्था पनि कायमै छ।

बत्तीमुनी अँध्यारो

पोखरा नगरपालिकासँगै जोडिएको नगर पालिकाको पछाडि जाल्पा मार्ग पर्दछ। त्यहाँबाट पद्म नर्सिङकलेज हुँदै  गणेशमानसिंह मार्ग जोडने गौरीशंकर मार्ग छ। यो गौरीशंकर मार्गमा फोहोर फाल्ने नगरपालिकाको गाडी यो दिन आउँछ भन्ने कुनै ठेगान हुँदैन। कहिले २ महिनामा एक पटक ,कहिले ३ महिनामा एक पटक झुक्किएर मात्र आउँछ। अनि गाडी यत्तिकै होइन आएपिच्छे या त चालकलाई चिया नास्ता वापत दिनुपर्छ या त गाडीमा आएका कर्मचारीको चित्त बुझाउनुपर्छ।

कहिलेकाहीं गाडीका लागि नगर पालिकाका फोहर व्यवस्थापन सम्बद्ध कर्मचारी लाई बाराम्बार फोनमा गुनासो  गरेपछि मात्र गाडी आउने गर्छ। एक पटक त जिल्ला प्रशासन कार्यालय कास्कीले सो स्थानका जनताको गुनासो आएकोले फोहोर व्यवस्थापनका लागि नियमित रुपमा  प्रबन्ध मिलाउने आशयको पत्र नै नगर पालिकाका नाममा काटेको थियो।

जबकि फोहोर उठाएवापत नगरपालिकाले प्रत्येक घरबाट निश्चित रकम लिने गर्दछ। रकम लिएपछि पालोबसालेर गाडी आउनुपर्छ। यो दस्तुर तिरेका जनताले पाउनैपर्ने आधारभूत सेवा,सुविधा हो। यसका लागि कही. ,कसैको चाकडी गरिरहनु नपर्ने हो। तर यस्तो हुन सकेको छैन। यो त एउटा सानो तर बत्तीमुनि अँध्यारोको  सत्य उदाहरण मात्र हो। अन्य कुरामा पनि यही प्रवृत्ति हावी भएका अन्य उदाहरणहरु हुन सक्छन्। विशाल कायमा फैलिएको वर्तमानको महानगरपालिकाका अन्यान्य क्षेत्रमा कसरी समन्यायिक सेवा पुगेको होला माथिको उदाहरणले पुष्टि गर्दछ।  जसका बारेमा क्रमशः  आगामी लेखनमा चर्चा गरिने छ।

विगतमा भएका मुख्य मुख्य कामहरु

कर्मचारीले नगर पालिकाको नेतृत्व लिंदा कतिपय सुधारका कामहरुको आरम्भ गरिएको थियो। फुटपाथको व्यवस्थापन,सडक सोलार बत्तीको प्रबन्ध, अत्रि्रमित घर,जग्गाको व्यवस्थापन, काने प्लाष्टिकको झोलामाथिको प्रतिबन्ध आदि आदि।कर्मचारीले नगर पालिकाको नेतृत्व लिंदा देखिने गरी भएका कामहरुको फेहरिस्त बारे नगर पालिकामा कार्यरत सामाजिक शाखा प्रमुख दुर्गा न्यौपाने भन्नुहुन्छ”कालो प्लाष्टिकको झोला पूरै बन्देज गरियो,लेक साइड,न्युरोड लगायत महत्वपूर्ण ठाउँका सडकहरुमा सौर्य सोलार बत्तीले झिलीमिली नै बनाइयो तथा कास्की जिल्ला विकास समिति र पोखरा नगर पालिकाको संयुक्त पहलमा नेपालकै पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गरियो। यो नै कर्मचारी नेतृत्वले गरेका  सम्झनायोग्य कामहरु हुन।” तर काने प्लाष्टिकको झोलामाथिको प्रतिबन्धमा नगरपालिका पूरापूर  असफल रह्यो। किनभने कालो प्लष्टिक बन्देज गरिएपनि सेतो प्लाष्टिकका झोलाहरु बन्देज हुन सकेनन्। केही दिनपछि व्यापारीहरुले नगरपालिकाको निर्णयको अवज्ञा नै गरे।

नगर पालिकाले अत्रि्रमित  जग्गा ,घरलाई साइजमा ल्याउने मनसायले सार्वजनिक जग्गा चर्चेका जग्गाधनी तथा घरधनीलाई सचेत गराई चर्चेको हदसम्मको घर,पर्खाल ,बराण्डा भत्काउन शुरु गयो। भत्काउनुपर्ने घर वा त्यसले चर्चेको भागलाई चिन्हृ लगाएर छाडियो। शुरुमा घरधनीलाई भत्काउन भनियो। उसले अटेर गरेकोमा नगरपालिका स्वयमले केही ठाउँमा भत्कायो पनि। तर पहुँच वाला,र चको डाँको गर्नेका घरमा पुग्दा नगर पालिकाले आफ्नो पूर्ववर्ती कदममा ब्रेक नै लगायो। सीधा साधाका घर,पर्खालहरु भत्काइए। टाँठा बाठाका भत्काउने बेलामा  रोकियो। नगरपालिकाले यहाँनेर पनि असफलता नै पायो।

अबको बाटो

आजको अवस्था विगतकोजस्तो छैन। जनताले मत दिएर  ५ वर्षसम्मका लागि चुनिएका प्रतिनिधिहरुले नगर पालिकको नेतृत्व समालिसकेका छन्। कर्मचारीय नेतृत्व विस्थापित भै सकेको छ। जनप्रतिनिधिहरुका काममा सघाउन अनेकौ कर्मचारीहरु कार्यरत छन। अब यो वा उ बहानामा काम नगर्ने वा शुरु गरेको काम बीचैमा छोड्ने छूट वर्तमान राजनीतिक नेतृत्वलाई छैन र हुनु पनि हुँदैन।

यद्यपि नगर पालिकाले जनप्रतिनिधिहरुको नेतृत्व पाएको ८ महिना नाघिसकेको छ। यसबीचमा विकास बजेटको एक प्रतिशत मात्र खर्च गरेको र सडक मर्मत,कर्ल्भर्ट,ह्युमपाइप र तारजाली लगाउनेजस्ता साना साना काममा मात्र स्रोत र जनशक्ति बढी परिचालन भएको भन्ने पनि पाइन्छ। तर झट्ट हेर्दा शालीकको व्यवस्थापन तथा बाटो चौडा गर्नका लागि अत्रि्रमित घरहरु भत्काउने अभियानमा नगर पालिका लागिसकेको देखिन्छ ,जुन सकारात्मक पक्ष हो।

वर्तमानमा राजनीतिक नेतृत्वले नगर पालिका समालेपछिका कामका बारेमा चर्चा गर्दै पुनः सामाजिक शाखा प्रमुख दुर्गा न्यौपाने भन्नुहुन्छ”पुस्तौ पुस्तौदेखि सुधार्न नसकिएको महेन्द्रपुल पालिखे चोकको सडकको घर भत्काई सडक विस्तार गर्न खोजिएको छ। पोखरा  खाल्डा खुल्डीरहीत क्षेत्रका  रुपमा चिनाउने गरी खाल्डाहरु पुर्ने काम भएको छ। ट्राफिक व्यवस्थापन गरिएको छ सबै वडाबाट नगरपालिका जोडने गरी कनेक्टीभिटी रोड तथा स्मार्ट सिटीको कन्सेप्ट पारित गरिसकिएको छ। यी कामहरुलाई छोटो समयमा नै राजनीतिक नेतृत्वले देखाएको कुशाग्रता मान्न सकिन्छ “। घोषणापत्रमा लेखिएका ठूल्ठूला कुराहरु क्रमशः ५ वर्षभित्र पूरा गरे हुन्छ। अहिलेलाई विगतमा थालनी गरिएको अतिक्रमित घरहरु भत्काउन आवश्यक छ। नगर पालिकामा जाँदा छिटो,छरितो सेवा पाउन जरुरी छ। आज शालिक फाल्ने भोलि पुनः राख्ने अपरिपक्व निर्णय नगरी स्थायी व्यवस्थापन गर्न जरुरी छ। एकपटक शुरुवाती भैसकेको काने प्लाष्टिकको झोला बन्देज गरेर देखाउन जरुरी छ। नियमित रुपमा पालो बसाली घर र बाटोको फोहोर उठाउन जरुरी छ। भनिन्छ सेकेण्डले आफ्नो चिन्ता आफै गर्ने हो भने घण्टा र मिनेट स्वतः चल्छन्। अहिलेलाई जनतासँग सरकोकार राख्ने यी न्यूनतम कुरामा विचार गर्ने हो  भने अन्य कुराको खोजी बान्छनीयभित्र पर्दछन्। र त्यतिबेला नगर पालिका साँच्चिकै नगर नभएर गरपालिकामा परिणत भएको देख्न सकिने छ।

- नगेन्द्रराज पौडेल