देवकोटा र उनको साहित्यिक योगदान

१९६६ कार्तिक २७ गते शुक्रबार लक्ष्मी पूजाका दिन नेपाली साहित्यका वरिष्ठ प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म काठमाडौंको धोबीधारा टोलमा भएको थियो। उनका पिताको नाम पण्डित तिलमाधव देवकोटा र माताको नाम अमर राज्यलक्ष्मी देवी देवकोटा हो। उनी आमाबाबुका साइला छोराका रूपमा जन्मिएका हुन्। उनको न्वारनको नाम तीर्थमाधव देवकोटा भएता पनि लक्ष्मी पूजाको दिनमा जन्मिएकाले लक्ष्मीकै प्रसादका स्वरूप उनलाई लक्ष्मीप्रसाद भन्न थालियो। पाँच वर्षको उमेरमा नै उनले आफ्ना पिताबाट अक्षरारम्भ गरेका थिए। हुने बिरुवाको चिल्लो पात भने झैं उनले दश वर्षको उमेरमा नै पिताको प्रेरणाबाट ‘घनघोर दुःख सागर’ शीर्षकको कविता लेखेको पाइन्छ। उनले लेखेको उक्त कविता यस्तो छः

“घनघोर दुःख सागर संसार जान भाइ,

नगरे घमण्ड कहिले मर्नू छ हामीलाई।”

तर उनको प्रथम प्रकाशित कविता भने पूर्णीमाको जलदी हो। यो कविता १९९१ साल मंसिर १५ गते गोरखा पत्रमा छापिएको थियो। उनको ठूलो परिवार भएकाले सीमित आयका कारण उनलाई केही समय अप्ठ्यारो परे पनि बाल्यकालमा उनलाई घर परिवारले ज्यादै माया गरी हुर्काएको पाइन्छ। उतिवेलाको परम्परा अनुसार देवकोटाको व्रतवन्ध ८ वर्षको उमेरमा नै गरिएको थियो। त्यसपछि उनले पिताबाट नै अमरकोष र संस्कृतका श्लोकहरू पढ्ने अवसर पाएका थिए। उनी पिताले पढाएका संस्कृतका श्लोकहरू कण्ठस्थ भन्न सक्दथे। उनी ११ वर्षको उमेरमा काठमाडौंको दरबार स्कूलमा पाँचौं कक्षामा भर्ना भएका थिए। स्कूलमा उनी मेधावी छात्रको रूपमा परिचित भएर आठौं कक्षा पढ्दा पढ्दै नवौं कक्षामा उक्लिने अवसर समेत पाएका थिए। यसै बीचमा १९८१ सालमा १५ वर्षको उमेरममा उनको विवाह काठमाडौंकी मनदेवी चालिसेसँग भएको थियो। विवाह पछि १९८२ सालमा उनले म्याटि्रक पास गरे त्यसपछि १९८२ सालमा नै उनी त्रिचन्द्र कलेजमा आइ.ए.सी.मा भर्ना भएका थिए। त्यहाँबाट आइ.ए.सी. पास गरेपछि उनले १९८६ सालमा भारतमा गएर बि.ए द्वितीय श्रेणीमा उत्तीर्ण गरे। त्यसवर्ष नेपालबाट बि.ए. पास गर्ने उनी एक जनामात्र थिए। त्यसपछि उनले नेपालमा आएर केही साथीहरूसँग मिली सर्वप्रथम काठमाडौंमा पुस्तकालय खोल्न थालेका थिए तर पुस्तकालय खोल्न थाल्दा तत्कालिन प्रधानमन्त्री भीमशम्शेर राणाद्वारा उनी दण्डित हुन पुगे। यसले गर्दा उनलाई राणा शासकप्रति घृणा लाग्न थाल्यो। त्यसपछि उनले विए. पनि पास गरे तर अंग्रेजी साहित्यको एम.ए.को पर्ढाई पूरा गर्न नसकेकोमा उनी ज्यादै चिन्तित बन्न पुगे। त्यसैताका उनकी ममतामयी माता अमरराज्य लक्ष्मीको निधन भयो। यसले गर्दा उनको कोमल मनलाई ज्यादै चोट पुग्यो। जीवन संघर्षपूर्ण छ। यस जीवनमा अनेकौं संग्राम लडेर मानिसले बाँच्नुपर्छ भन्ने कुराको बोध भएका देवकोटाले यो वेदनालाई पनि आत्मसात गरे।

खास गरी १९९१ साल पछि देवकोटाको कविता यात्रा बेजोडले बगेको पाइन्छ। त्यसपछि उनले फुटकर कविता, गीत, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र अनुवाद लेखन गरी आफ्ना विशिष्ट कृतिद्वारा नेपाली साहित्यको भण्डार भरेको पाइन्छ। नेपाली साहित्यमा सर्वप्रथम स्वच्छन्दतावादको प्रवेश गराउने देवकोटाका कवितामा ग्रामीण सभ्यता प्रति आकर्षण, शहरिया सभ्यताप्रति विकर्षण, किसान तथा गरीबप्रति सहानुभूति वर्तमानप्रति आक्रोश अतीतप्रति मोह, देशप्रेम, मानवप्रेम एवं प्रकृत्रि्रेमको भावना व्यक्त भएको पाइन्छ। उनी सरल भन्दा सरल र कठिन भन्दा कठिन भाषामा लेख लेख्न सक्थे। उनको भाषा प्रभावमय एवं जादूमय छ। साँच्चै भन्ने हो भने उनी नदीको पानी बगे जस्तै गरी कतै कहीँ नरोकिकन लेख्न र कवितामा नै पूरा गर्न सक्थे। त्यसैले त उनले एक बसाई र एकै रातमा कुञ्जिनी खण्डकाव्य, दश दिनमा सुलोचना र तीन महिनामा शाकुन्तल महाकाव्य लेख्न सफल भए। उनी करुण, वीर, हास्य, श्रृंगार आदि सबै रसमा कविता लेख्न सक्थे। उनी गद्य र पद्य दुवै क्षेत्रमा सिद्ध हस्त थिए। इश्वर, प्रकृति र मानवतावादका पूजारी देवकोटाले छन्द, लय, अलङ्कार सबैलाई कवितामा नचाएका छन् त्यसैले त भारतका सुप्रसिद्ध विद्वान् सांकृत्यनले उनलाई पन्त-प्रसाद-निराला भनेर भनेको, समालोचक राममणि रिसालले देवकोटालाई किम्बुको हरियो पात चपाएर साहित्यको रेसम ओकल्ने कवि हुन् भनेका छन्। त्यसै गरी एउटा विद्वान्ले त उनलाई भन्छन्- “नेपाली साहित्यको कुवेर महाकवि देवकोटाको टाउँको हिमाल जस्तो गिदीले भरिएको थियो। जसबाट गण्डकी, कोशी र कर्णाली जस्ता सुलोचना, शाकुन्तल र प्रमिथस जस्ता काव्य नदी बग्न सके।”

आधुनिक नेपाली कविताको दोस्रो चरणमा उनले आफूद्वारा स्थापित स्वच्छनतावादी धाराको प्रबर्द्धन र सर्म्बर्द्धन गर्दै बाँचुन्जेल यस धाराको नेतृत्व समेत गरे। १९९१ सालदेखि २०१६ सम्म उनले कविताका क्षेत्रमा ६०० जति फुटकर कविताका साथै डेढ दर्जन खण्डकाव्य र आधा दर्जन महाकाव्यको रचना  गरे। उनका प्रकाशित कृतिहरूमा मुख्य गरी मुनामदन –खण्डकाव्य(१९९२), सावित्री सत्यवान –नाटक(१९९७), प्रसिद्ध प्रबन्ध सङ्ग्रह -अनुदित निबन्धहरू(१९९७), प्रसिद्ध निबन्ध सङ्ग्रह -निबन्धहरू (२००२), नेपाली शाकुन्तल –महाकाव्य(२००२), कुञ्जिनी –खण्डकाव्य(२००२), सुलोचना –महाकाव्य(२००३), सुनको विहान –बालकविता(२०१०), कृषिवाला –गीतिनाट्य(२०१९), महाराणा प्रताप –महाकाव्य(२०२४), चम्पा –उपन्यास(२०२४), वनकुशुम-महाकाव्य(२०२५), प्रमिथस –महाकाव्य(२०२९), लक्ष्मी कथा सङ्ग्रह-कथाहरूको संकलन(२०३२), लक्ष्मी कविता सङ्ग्रह-कविताहरूको संकलन(२०३३), लक्ष्मी गीत सङ्ग्रह -गीतहरूको संकलन(२०३४) आदि पर्दछन्। यिनै कृतिहरूको अध्ययन गर्दा देवकोटालाई बहुमुखी प्रतिभाका धनी मान्न सकिन्छ। यिनले २०१४ सालमा आफू शिक्षा मन्त्री हुँदा देश भरी नै नेपाली भाषालाई अनिवार्य विषयका रूपमा पढाउनु पर्ने नीति ल्याएका थिए। सुनेको कुरा एक पटक देवकोटा शिक्षा मन्त्री हुँदा उनले शिक्षा मन्त्रालयको कार्यालयमा काम गर्दा आफ्नो कोट फुकालेर राखेछन् घर र्फकदा कोट लगाउन बिर्सेछन् पछि कार्यालयमा कोट लिन जाँदा उनको कोट कसैले गायव गराएछ त्यतिवेला एक जना धनाढ्य कर्मचारी जो देवकोटा शिक्षा मन्त्री भएकोमा मन पराउँदो रहेनछ। उसले देवकोटालाई खिसी गर्दै मन्त्रीज्यू कोट कति पैसाको हो – बरु म तपाईलाई नयाँ किनिदिन्छु भनेछ देवकोटाले तत्काल उसलाई ठाडो जवाफमा भनेछन् महाशय ! मलाई मेरो कोट हराएको चिन्ता छैन, बरु मानिसमा नैतिकता हराउँदै गएकोमा चिन्ता छ। वास्तवमा देवकोटाले उति वेला भनेको कुरा आज पनि सान्दर्भीक देखिन्छ। साँच्चै आज हामीमा नैतिकता हराउँदै गएको छ। यो ज्यादै चिन्ताको विषय हो। भनिन्छ-देवकोटाले गफ गर्दा पनि हास्यव्यङ्ग्य, उपमा र दृष्टान्तहरू मिसाएर श्रोताहरूलाई मन्त्र मुक्त पार्थे रे। साथै, उनी नेपाली भाषासहित १३ वटा भाषामा बोल्न सक्थे रे।

धन सम्पतिलाई हातको मयल ठान्ने देवकोटाले आफू शिक्षा मन्त्री हुँदा समेत धन जोड्नतिर मन लगाएनन्। नाम लक्ष्मीप्रसाद देवकोटा भए पनि उनलाई लक्ष्मीले भन्दा सरस्वतीले नै माया गरिन्। यति ठूला कविलाई पनि राष्ट्रले उनी जीवित छदा उचित सम्मान गर्न सकेन तर उनी नेपाली भाषा र साहित्यको उन्नयनमा अविरल बगिरहे। कुनै पनि साहित्यकारको मूल्याड्ढन ऊ जीवित छँदै गर्नु उपयुक्त हुन्छ। तर नेपाली साहित्यमा भने यस्तो परम्परा हिजो पनि थिएन र आज पनि हुन सकेको छैन। हिजो सरकारले देवकोटालाई विरामी हुँदा औषधि उपचारको खर्च समेत नदिएर उनको निधनमा गोहीका आँसु खसालेको इतिहास सांक्षी छ। मृत्युशैयाबाट पनि देवकोटाले नेपालमा प्रजातन्त्र मर्न नपाओस् फलोस् फुलोस् भनेकाले उनी प्रजातन्त्रका हिमायती थिए भन्न सकिन्छ साथै नेपालीका हृदयमा मानवता, देशप्रेम र स्वतन्त्रका भावना भर्ने आफ्ना युगका महान् कवि भएकाले उनलाई नेपाली साहित्यका महारथी र राष्ट्रिय विभूति मानिन्छ। यस्ता नेपाली साहित्यका महारथी देवकोटाको निधन क्यान्सरका कारण २०१६ साल भाद्र २९ गतेका दिन हुन पुग्यो। आज उनको भौतिक देह यस संसारमा नभए पनि उनका साहित्यिक कृतिहरूले गर्दा अजर र अम्मर छन्। जब सम्म नेपाल र नेपाली रहने छन् तबसम्म उनलाई कसैले पनि बिर्सने छैनन्।

- सूर्य खड्का ‘बिखर्ची’