दिनचर्यामा पनि वैज्ञानिकता

बुद्धिमता, संस्कार र कार्य पद्धतिका कारण मानव सर्वश्रेष्ठ प्राणी मानिन्छ। यसै अनुसार मानव र पशुको जीवनशैली नै धेरै फरक छ। बाख्रा, भेडा, गाई, भैंसी, हात्ती, कुकुर आदि जस्ता पशुहरु जन्मने बित्तिकै माउको दूध उठेर खान्छन्, हिंडछन्, उफ्रन्छन्। यिनीहरुलाई आफ्ना बच्चा हुर्काउन त्यति मेहनत पनि गर्नुपर्दैन। यिनीहरुको तुलनामा मानवलाई बच्चा हुर्काउन बडो गाह्रो छ। तर पनि आफ्नो श्रेष्ठतम बुद्धि, विवेक र व्यवहारले गर्दा मानव र पशुपंक्षीको दिनचर्यामा धेरै अन्तर छ।

बच्चा जन्माउने, हुर्काउने क्रिया हरेक प्राणीहरु गरेकै हुन्छन्। तर पनि कतिपय हदमा खानपान र विलासिताका कारण मान्छेको जीवन पद्धति क्रमशः फरक हुँदै आयुमा निकै नै अन्तर आउछ। कसैको मृत्यु चाडै नै हुन्छ भने खानपानको कारण जीवन छोटिन्छ। मानव वाहेक अन्य जीवहरु बुढ्यौलीका कारण मात्र मृत्यु हुन्छ। स्वथ्यकर हुने हर उपाय जान्दाजान्दै पनि मानव त्यति सजग रहेको देखिदैंन। आरोग्यता जीवनको मूल सम्पत्ति हो।

आरोग्यता प्राप्तिका लागि हामी बिहान उठेदेखि नसुतेसम्मकै अवधिमा उचित आहारविहार गर्ने, शरीर शुद्धिका लागि उपयुक्त पोशाक लगाउनेदेखि धेरै कुरामा ध्यान दिनु आवश्यक छ। समाजमा भोगिदंै आएका कतिपय चालचलन नियमका रुपमा चल्दै आइरहेका छन् भने कतिपय वर्तमान समाजले अन्धविश्वास वा कुरीतिका रुपमा लिदैं आएका छन्।  हाम्रा सनातन संस्कारमा हुर्केका धेरै परम्परामा वैज्ञानिक तथ्य लुकेको छ।

प्राचीन कालदेखि नै गरिदैं आएका परम्परागत संस्कार पाप र धर्मसित हाम्रो कर्म जोड्ने गरेको पाइन्छ। यी पापधर्म स्वास्थ्यसित जोडिएको छ। वैज्ञानिक अर्थमा पाप भन्नाले शरीरमा लाग्ने रोग र धर्म भन्नाले आरोग्यता हो। मन्दिर, कुवा, इनार, खोला, नदीका वरपर दिसापिसाब गरेमा पाप लाग्छ भन्ने भनाइ यसैसित लक्षित छ।  धर्मले प्रसन्नता प्रदान गर्दछ। सनातनदेखि हुँदै आएका लोकोक्तिहरु जस्तै सन्ध्या, स्नान, जप, देवपूजन आदिलाई धर्मशास्त्रले संस्कार, शिक्षा, सभ्यता र स्वास्थ्यलाई सवोर्त्तम बनाउने परिपाटीको विकासलाई अँगालेको पाइन्छ भने वैज्ञानिक पक्ष पनि यिनका उत्तिकै बलिया तर्क छन्। हामीले हाम्रा पुर्खाहरुसित सिकदै आएका केही नित्य कर्मका पनि वैज्ञानिक पक्ष छन्। यी यस प्रकार छन्।

ब्रहृम मुहूर्तमा उठ्नुपर्ने : बिहान ४ बजेदेखि ५.३० बजेको समयावधिलाई ब्रहृममुहूर्त भनिन्छ। यो समय रातको अन्तिम प्रहरको तेस्रो भाग हो। बूढापाकाहरु भन्छन्, यसै समयमा न्रि्रा त्याग गर्नुपर्छ। योगाभ्यासी, आयुर्वेद, र अन्य धार्मिक ग्रन्थहरुले पनि यही समयमा उठ्न उत्प्रेरित गरेका पाइन्छ। वेदले भन्छ, यो समयलाई उपयोग गर्नेहरुका शारीरिक र मानसिक अवस्था स्वस्थ्यकर हुन्छ। वायुमण्डलमा विहान सबेरैको हावा स्वच्छ, अक्सिजनयुक्त र आनन्दित शीतलता हुन्छ। शरीरका लागि स्फूर्तिदायक शक्ति प्रदान गर्ने हुनाले यस बेलालाई अमृत बेला पनि भन्ने गरिएको छ।

एक वैज्ञानिक तथ्य अनुसार अन्य बेलाको भन्दा यस समयको वायुमण्डलीय अवस्था बेग्लै प्रकारको हुन्छ। यस ब्रहृममुहूर्तमा ४१ प्रतिशत अक्सिजन, ५५ प्रतिशत नाइटोजन र ४ प्रतिशत कार्वनडाइअक्साइड हुन्छ भन्ने  सिद्ध भएको छ। यसबाहेक शारीरिक स्वास्थ्य, बुद्धि, आत्मा, मन आदिको लागि उपयुक्त समय पनि हो। मानसिक प्रसन्नता र सौर्न्दर्यको उत्तम बेला, चन्द्रमाको प्रकाशले पृथ्वीमा बर्साउने रिचार्ज गर्ने सकरात्मक अमृत समानको वायु दिने, मनलाई प्रफुल्लित गराउने, अनुहारमा कान्ति बढाउने र आयु वृद्धि गरिदिने वेला पनि हो। आयुर्वेदले उल्लेख गरे अनुसार ब्रहृममुहूर्तमा उठ्ने व्यक्तिलाई सौर्न्दर्य, आयु वृद्धि, स्वास्थ्य आदि प्राप्त हुन्छ। ओछ्यानबाट उठेर जुन नाकको प्वालबाट वायु चलेको छ, त्यही दाया या वायाँतिर खुट्टा सारेर पहिले भूइँमा टेक्ने र बिहान प्रातः भ्रमणमा निस्कनुपर्छ भन्ने मान्यता छ।

सबेरै उठेर नुहाउनुपर्नेः

सबेरै उठेर नुहाउनु एक त सरसफाई हो भने अको स्वस्थ्यकर जीवन पद्धति पनि हो। धार्मिक मान्यता अनुसार विहान सबेरै ५ घडी -उज्यालो हुन २ घण्टा बाँकी रहँदा) स्नान गर्नुपर्दछ। समयअनुसार प्रातः स्नानको मजा बेग्लै छ भने स्वास्थ्य पनि फुर्तिलो र चुस्त रहन्छ।

प्रातः स्नान सूयोर्दय अघि हुनुपर्दछ। यसले शरीरलाई शुद्ध, फुर्तिलो गराउने, थकावट हटाउने र ताजगीपन ल्याउने गर्दछ। बिहानै नुहाउने व्यक्ति शरीर चिसो सहन सक्ने, सितिमिति सानातिना रोग -रुघाखोकी, सर्दी) आदिले समात्न नसक्ने हुन्छ।  मन र मस्तिष्क पनि उत्तिकै सबल हुन्छ। स्मरण शक्तिको विकास, तीक्ष्ण बुद्धि, निरोगी आदि हुने अनुसन्धानबाटै सिद्ध भएको छ।

पहिले पहिले घरमा धारो नभएको अवस्थामा नदी, तीर्थस्थानमा नुहाउन हुने तर कपडा धुन नहुने कुरा शिवमहापुराणमा उल्लेख छ। तर इनार, कुवा, तलाउ र घरमा नुहाउनुभन्दा पहिले नै लुगा धोएर मात्र नुहाउन पर्छ भनिएको छ। तीर्थस्थानका नदी, खोलामा नुहाउनुको अर्थ पानीमा विभिन्न किसिमका लवणहरुको संयोजनका कारण स्वास्थ्य सबल हुनुसित सम्बन्धित छ। धार्मिक व्यक्तित्वका बूढापाकाहरु हृष्टपुष्ट हुनाको कारण प्रातः स्नान पनि एक हो।

हातमुख धुनुपर्नेः

दिसापिसाब, स्नान, योगाभ्यास, ध्यान गर्ने वा प्रातः हिंडडुल गर्दा शरीर स्वस्थ्य, मन शान्त र शरीर फुर्तिलो बन्दछ। बिहान ४ बजे उठेर गरिने ध्यान साधनालाई ब्रहृम साधना भनिन्छ। उसले ओज, तेज, बल र उत्साह जगाउँछ। उठ्ने बित्तिकै चिसो पानीले मुख धुँदा आँखा, नाक, गालाजस्ता अंगलाई शितलता प्रदान गर्छ, अनुहार सफा हुन्छ, पुनर्ताजगी हुन्छ तर जाडो याममा केही मन तातो पानीले मुख धुन सकिन्छ।

आँखामा हल्का रुपमा चिसो पानी छ्याप्नाले ज्योति बढ्दछ। हल्का ढंगले आँखाको डल्लोलाई मिच्ने गर्दा निकै फाइदा हुन्छ। अनुहारलाई पानीको साथमा रगड्दा रक्त सञ्चार राम्ररी हुन गई अनुहार रातोपिरो हुन्छ। छाला असमयै खुम्चन पनि पाउँदैन र वृद्धत्व हुनबाट जोगाउँछ।

प्रात भ्रमणः

सामान्य बोलीचालीको भाषामा मर्निङ वाक भनिन्छ। अन्य हिडाइँ भन्दा विहान सबेरै गरिने हिडाइँ स्वस्थकर मानिन्छ। विभिन्न खालका रोगहरुलाई विहानको ताजा वायु लिनाले बिस्तारै बिस्तारै हराउँछ। वषा ऋतुमा पश्चिमबाट बहेको हावालाई स्वास्थ्यवर्द्धक मानिन्छ। ऋतु अनुसार कताबाट बहेको हावा राम्रो भन्ने पनि आयुर्वेद विज्ञानले किटान गरेको छ। शरद ऋतुमा भने वायव्य दिशााको हावा राम्रो मानिन्छ। शारीरिक व्यायाम गर्नाले शरीर हलुका बन्दछ। शरीरको कार्य क्षमता बढ्दछ, थकान मेटिन्छ। यसको साथसाथै पाचन शक्ति बढ्दछ। तर बढी थकानलाग्दो व्यायामले शरीर गलाउने, भोक र तिर्खा लगाउने पनि हुन्छ। तर एकैचोटी कडा खालको व्यायाम गर्न हुँदैन।

रक्त सञ्चालनको प्रक्रिया सुचारु गर्न व्यायाम, प्रातः भ्रमणको अत्यन्तै ठूलो भूमिका छ। शारीरिक तथा मानसिक आनन्द हिंडडुलपछि बेग्लै हुन्छ। मनमस्तिष्कमा हलुका हुने, मांसपेशी बलियो हुने, थकावट कम लाग्नेजस्ता थुप्रै गुण हिंडडुलबाटै हुन्छ। त्यसरी नै मधुमेह, थाइराइराइड, नसासम्बन्धी रोग आदिका लागि चिकित्सकहरुले प्रातः भ्रमणलाई महत्त्व दिएका छन्।

हामीले लगाउने पोशाक सदा सफा हुनु जरुरी छ। यसले व्यक्तित्व झल्काउनुका साथै व्यक्तिको स्तरको पनि निर्धारण गर्दछ। अर्काको सोचाइ र धारणामा परिवर्तन ल्याउन पनि पोशाकले भूमिका खेल्दछ। लगाएको लुगामा अत्तर र्छकनु पनि राम्रो मानिन्छ किनकि यसले मनलाई प्रसन्नता पार्दछ भने सुगन्धले दीर्घायु र चमक ल्याउछ।

अधिकांश मानिसहरुको दिनचर्या नियमित छैन। मूलतः जो बिहानको समयमा योगाभ्यास वा हिंडडुल वा समयमा खाना खादैनन्, त्यस्ता व्यक्तिहरुलाई्र कुनै कुनै रोगहरुले गाँजेको छ। ग्यास्टिक, अल्सर, कब्जियत आदि जस्ता पेटका समस्याहरु व्यस्त जीवनका परिणाम हुन्। बजारमा पाइने प्याकेटका खानेकुरा त पेटका लागि शत्रु हुन्। यस्ता खानेकुराका सेवनले तत्काल असर नदेखिए पनि लामो समयपछि निश्चित रुपमा व्यथा निकाल्छन्। तसर्थ स्वस्थ्यकर जीवनका लागि सदा दिनचर्या राम्रो बनाउनु आवश्यक छ। नियमित योगाभ्यास सहितको दिनचर्याले अनुहारमा चमक ल्याउछ भने व्यक्तित्व समेत झल्काउँछ। मानव जीवनको समष्टि आयु पनि यसैमा रहेको छ।

- कल्याण पन्त