दशैँमा के खाने, के नखाने

विजया दशमी हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण ठूलो चाड हो। यही चाडको उल्लासमय वातावरणमा हामीहरु छौं। विजया दशमीमा देवी देवताका मन्दिर , शक्तिपीठहरुमा दर्शन गर्ने , पूजा आराधना गर्ने गरिन्छ। दशैँमा ठूला बडाको हातबाट विजया दशमीका दिन टीका र जमरा देवीको प्रसाद स्वरुप लगाउने र आशिर्वाद दिने गरिन्छ। दशैं वर्षात सकिएर जाडो नलाग्दैको रमणीय सफा वातावरणमा पर्ने भएकोले पनि यस्को महत्व बढी छ। दशैमा केटाकेटीहरु पिङ खेल्ने , चंगा उडाउने, साथीसंग भेट्ने आदि गर्दछन भने पेशगत रुपमा संलग्न व्यक्तिहरु पनि आफ्नो घर परिवारका सदस्यहरुसँग वसी रमाइलो गर्ने , मिठो खाने राम्रो लगाउने भएकाले यस चाडलाई पारिवारिक मिलन र सामाजिक सदभाव राख्ने चाडको रुपमा पनि मान्न सकिन्छ। यस चाड मनाउनको लागि नेपालका सरकारी कार्यालयहरुमा लामो विदा दिने प्रचलन छ।

दशैमा नया लुगा लगाउने र पशु बलि दिई प्रसाद स्वरुप मांसहारी खाद्य पादर्थहरु बढी खाने गरिन्छ। हुन त पहिलाको समयमा जस्तो मासु खान र नया लुगा लगाउन दशैँ नै कुर्नु पर्ने अवस्था हाल देखिँदैन तापनि दशैमा खसी, बोका, भेडा, च्याङग्रा , सुँगुर, राँगा , कुखुराको मासु का विभिन्न परिकारहरु बनाएर खाने र नया लुगा लगाएर हाँसी खुशी रहने परम्परा कायम रहँदै आएको छ।

चाड पर्व भन्नासाथ चिल्लो , गुलियो , नून र मसलाको मात्रा प्रत्येक व्यक्तिको भान्छामा बढ्ने गर्दछ। अझ कतिले त चाड पर्वमा नखाएको कहिले खाने भन्ने चलन पनि छ। हामीले खाने खाद्य पदार्थहरु स्वादको लागि भन्दा स्वास्थ्यको लागि कति उपयुक्त छन् यो कुरामा सचेत भई राम्ररी सोच विचार गरी स्वास्थ्य अवस्थालाई ध्यानमा राखी खाद्य पदार्थहरु उपभोग गरिनु पर्दछ।

१.     खाद्य पदार्थ र यसवाट स्वास्थ्यमा पर्ने असर

स्वास्थ्यको दृष्टिकोणबाट बढी चिल्लो , वोसो युक्त, बढी गुलियो र बढी नुन भएका खानालाई अस्वस्थकर आहार भनिन्छ। त्यस्तै बट्टामा प्याक गरिएका प्रिजरभेटिभ्स भएका खानाहरु, जङक फुड्सहरु स्वास्थ्यका लागि हानिकारक छन्। त्यस्तेै सेच्युरेटेड पाइने खाद्य पदार्थहरु जस्तैः दूध, दूधबाट बनेका परिकारहरु घीउ , वोसो , नरिवलको तेल, तारिएको खाना , वर्गर , ससेस , खसी , बोकाका रातो मासुहरु, कुखुराको छाला, अण्डाको पँहेलो भाग र वोसो युक्त वंगुरको मासु, स्वास्थ्यलाई हानी गर्ने खाद्य पदार्थमा पर्दछन। यी खाद्य पेय पदार्थमा रहेको चिल्लो पदार्थले रगतमा कोलेस्टोर मात्रा वढाउनुको साथै मुटु र रक्त नली सम्वन्धी रोग लाग्ने र रक्त नलीहरुमा वोसो जम्ने हुन सक्दछ। विशेष गरी बजारमा उपलव्ध हुने फ्रोल्वजन फुड, र फास्ट फुडहरुले शरीरलाई हानी पुर्‍याउदछ। त्यसैले यस्ता खाद्य पदार्थहरु राम्ररी जाँच गरेर मात्र उपभोग गरिनु पर्दछ। त्यस्तै चाड पर्वको वेलामा घर रेष्टुरेण्ट होटलहरुमा प्रयोग हुने कमसल तेल र वनस्पति घीउहरुमा बनाइएका मिर्ठाई आदि पदार्थहरुको स्वाद मिठो र हेर्नमा आकर्षक देखिएता पनि यस्ता खाद्य पदार्थहरु उपभोग गर्दा असमयिक स्वास्थ्य  दुर्घटनाहरु निम्तन सक्दछन।

आजकाल चार्डपर्व भन्दा साथ मदिराको व्यापार बढ्ने गर्दछ। अलि धनाढ्य कुलीन भनाउदा व्यक्ति विपन्नका घरमा समेत मदिराले सत्कार गर्ने चलन दिन प्रतिदिन वढ्दो छ। कुन मदिरामा अल्कोहलको मात्रा कति छ। कस्तो व्यक्तिले कुन मदिरा कति सेवन गर्न हुन्छ वा हुदैन भन्ने नबुझी रमाईलो गर्नका लागि वा आधुनिक बन्नको लागि मदिरा सहज रुपमा लिने गर्दा मुटु कमजोर हुने मुटुको चालमा अनियमितता हुने उक्त रक्तचाप मस्तिष्काघात को समस्या पनि आउन सक्दछ।

मदिरा बढी सेवन गर्ने व्यक्तिलाई कलेजोमा वोसो जम्मा हुने , कलेजो सुनिने , जन्डिस आदि पनि हुन सक्दछ। अझ हृदयघात , मस्तिष्काघात, कलेजोको जण्डिस र आमाशयको समस्या अल्सर भएका व्यक्तिहरुले त मदिराको सेवन गर्नु नै हुदैन। यस्का साथै चाड पर्वमा मदिराको सेवन गर्नाले सामाजिक विकृति आउने झैझगडा , कुटपिट हुने आर्थिक व्यवहारिक समस्या आई पर्नुका साथै सांस्कृतिक विकृति आउने भएकाले मदिरा मुक्त चार्डपर्व बानीको विकास गरिनु आवश्यक छ।

२.     दशैँमा स्वस्थ रहन कस्तो खाना खानु पर्दछ ।

हाम्रो खानामा दैनिक कावोर्हाइडेटको मात्रा ४० प्रतिशत प्रोटिनको मात्रा ३० प्रतिशत र चिल्लो पदार्थको मात्रा ३० प्रतिशत भन्दा कम हुनु पर्दछ। यसका साथै हरियो सागपात रेसा युक्त पदार्थ फलफूल, भिटामिन र लवणयुक्त पदार्थहरु पनि दैनिक खानामा समावेश गरिनु पर्दछ। दशैंमा खाने खाद्य पदार्थहरु चिल्लो, नून र गुलियो बढी नभएको मदिरा मुक्त हुनु पर्दछ। जस्मा मकै भटमास , सूर्यमुखी फुलको तेल , अलमण्डको तेल आदिले हाम्रो शरीरको नराम्रो कोल्ड स्टोर्स -एल डि एल) घटाउदछ र राम्रो कोल्ड स्टोर्स (एच. डि .एल.) वढाउदछ। जस्को फलस्वरुप मुटु र रक्त नली सम्वन्धी रोगहरु कम हुन्छ। दशैमा तयार गरिने खानामा नूनको मात्रा कम गरिनु पर्दछ। सामान्य व्यक्तिले प्रति दिन एक चिया चम्चा भन्दा कम र मुटु वा रक्तचाप सम्वन्धी रोग भएका व्यक्तिहरुले प्रतिदिन आधा चिया चम्चा मात्र नूनको सेवन गर्नु आवश्यक छ।

प्रत्येक खाद्य पदार्थमा चिल्लोको मात्रा कम गराउन पकाउने वेलामा नै सकेसम्म कम तेलको प्रयोग गरिनु पर्दछ। पकाउनु अघि मासुमा रहेकेा वोसो हटाउने , कुखुराको मासु छाला हटाएर मात्र खाने, अण्डाको पँहेलो भाग नखाने मासु पकाउदा निस्केको फ्रल्याट हटाएर मात्र खाने गर्नुपर्दछ। माछा, मासु स्टिम फ्राई , रोष्टिङ , ग्रिलिङ वा उसिनेर र माइक्रो वेबमा राखी पकाएर खानु स्वस्थकर छ। चिल्लो मासुजन्य पदार्थहरु  खाँदा हरियो साग पात , सलाद, फाइवर युक्त पदार्थहरु संगै खाएमा फाइवरले चिल्लो पदार्थको शोषण आन्द्रामा कम गराउँदछ र रगतमा कोलस्टोरको मात्रा बढन दिँदैन। त्यसैले दशैको खाद्य पदार्थमा फलफूल, भिटामिन युक्त सागपात  आदि नियमित समावेश गरिनु आवश्यक छ।

आज खानपानको लापारवाहीले नै हामीहरु विभिन्न रोगको शिकार भएका छौं। अझ कतिलाई त दशैमा मासु र मदिरा बढी सेवन गरेकै कारण मस्तिष्काघात हृदयाघात भई जीवन नै वरवाद भएका घटनाहरु  पनि छन। त्यसैले चाड पर्वका नाउँमा रमाइलो गर्छुभनी जथाभावी खाने गर्नु हुँदैन। संयमित भई आफ्नो आवश्यकता र रोग अनुसार खाद्य पदार्थको प्रयोग गरिनु पर्दछ। खानाकै कारण स्वास्थ्य र जीवनलाई वर्वाद गरिनु हुँदैन। खानाकै कारण दशैँलाई दशामा परिणत नगरी अमूल्य जीवनको संरक्षण गरौं हासी खुशी दशै मनाऔं यही नै शुभकामना विजया दशमीको।

- इन्दिरा पन्त