दशावतार बालन लोकनाटक : एक चर्चा

लोक साहित्यका विभिन्न विधा उप-विधामध्ये एउटा प्रमुख विधा लोक नाटक हो। लोक जीवनको आस्था र व्यवहारको सरल प्रदर्शन लोक नाटकमा हुने गर्दछ। लोकनाटक लोक परम्परा र रूढीमा आधारित हुन्छ। यसमा शास्त्रीय नियमहरूको पालना गर्नुपर्ने आवश्यकता हुँदैन। लोकनाटक लोक साहित्यको दृष्य विधाअन्तर्गत पर्दछ। यसको प्रदर्शनको क्रममा सर्जक, दर्शक र रङ्गकर्मी सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रही आएको हुन्छ। लोक साहित्यका अन्य विधा लोकगीत, लोक कथा, आदिझैं लोक नाटक जहाँ पायो त्यहीँ प्रस्तुत गर्न सकिँदैन। यसका निम्ति देखाउने थलो तथा पात्र र तिनका भेषभूषा आदिको खाँचो पर्दछ। केही विधि विधान र आनुष्ठानिक क्रियाकलापले लोक नाट्यका व्याप्ति र विस्तारमा केही मात्रमा छेकबार लगाउँछन्।

तर विशिष्ट र रङ्गमञ्चीय सजधज र शृङ्गार प्रशाधनको खाँचो भने यसमा पर्दैन। नेपाली लोकसमाज लोकसाहित्यले भरिपूर्ण छ। यहाँको समाजमा विभिन्न पर्व, उत्सव, मेला, पूजाआजा आदिमा वषौर्ँदेखि विभिन्न लोकनाटकहरू प्रदर्शन गरिन्छन्। कुनै तयारी नगरिकन नै पनि सहज रूपमा यस्ता लोकनाटक देखाउँदै र खेलिँदै आएको छ। नेपाली समाजमा प्रदर्शन हुने सोरठी, नचरी, चरित्र र लीला, गोपीचन, घाटु, बालन, कात्तिक नाच  आदि लोकनाटकले विभिन्न जातजाति र सम्प्रदायको प्रतिनिधित्व गरेका छन्।

नेपाली समाज लोकसाहित्यले भरिपूर्ण भएर पनि यसको अन्वेषण कमैमात्र भएको छ। लोकसाहित्यको अध्ययनमा क्षेत्र कार्य अत्यन्त महत्त्वपूर्ण हुन्छ। लोक समाजमै घुलमिल भएर त्यहाँको संस्कृतिको केस्रा-केस्रा केलाउनु भनेको त्यति सजिलो काम होइन। समय, श्रम र पैसाको दृष्टिकोणले अत्यन्तै कठिन मानिने लोकसाहित्यको अन्वेषणमा निरन्तर साधनारत व्यक्तित्वको नाम हो – डा.कुसुमकार न्यौपाने।

वि.सं. २०१७ भदौ २९ गते म·लबारका दिन पर्वत जिल्लाको सरौँखोला गाविस वाड.नं.६, मा पिता दधिराम न्यौपाने र माता चम्पा न्यौपानेका साहिँला सुपुत्रको रूपमा उनको जन्म भएको हो। विगत २५वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा प्राध्यापनरत न्यौपानेले लोक साहित्यका विभिन्न विधाको अनुसन्धान गरिसकेका छन्। सम्बन्धित क्षेत्रमै गएर लामो समयसम्म त्यहीँकै लोक समाजको एउटा अभिन्न सदस्यको रूपमा घुलमिल हुँदै लोक समाज भित्रको साहित्यिक रस लिन पल्केका न्यौपानेले अनुसन्धानबाट प्राप्त परिणामलाई विभिन्न कृतिका माध्यमबाट बाहिर ल्याएका छन्।

उनका प्रकाशित कृतिमा कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पति र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोक रामायण (२०६५), कस्केली जातजाति र उखान (२०६९), दशावतार बालन लोकनाटक (२०६९) आदि  रहेका छन्। लोक संस्कृतिका विभिन्न अनुसन्धानमा क्रियाशील न्यौपानेले ‘पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोक गीतहरूको अध्ययन’ शीर्षकमा २०६६ सालमा विद्यावारिधी समेत गरेका छन्। उनै लोक साहित्य र लोक सँस्कृतिका अथक सर्जक डा.न्यौपानेको २०६९ सालमा ‘दशावतार बालन लोकनाटक’ नामक पुस्तक प्रकाशित भएको छ।

नेपाल बहुजातीय साझा मुलुक भएकोले यहाँ हरेक जातजातिका आ-आफ्नै सँस्कृति छन्। ती हरेक जातिका सँस्कृति समग्रमा नेपाली मौलिक सँस्कृति हो। तीमध्ये नेपालको मध्यपहाडी भेगका बाहुन तथा क्षेत्री समुदायमा अत्यन्तै प्रचलित एउटा सँस्कृति हो बालन। यसलाई कसैले बालुन, कसैले बालन नाच, कसैले नाट्यगाथा, नृत्यगाथा, चरित्रगाथा आदि विभिन्न नामले चिनाएको पाइन्छ। बालन निकै लोकप्रिय नाटक मानिन्छ। यसका पनि समाज अनुसार फरक-फरक भेद उपभेद देखिन्छन्। त्यसैमध्येको एउटा भेद हो ‘दशावतार बालन’। यसमा हिन्दुपुराणमा वर्ण गरिएका भगवान विष्णुका दश अवतार मत्स्य, कूम, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारहरूका संवाद, अभिनय, गाथा र नृत्य, गीत र नृत्यसहित प्रदर्शन गरिएको हुन्छ। विभिन्न विधिविधान अभिनय र आसिकका साथमा प्रदर्शन गरिने यो लोकनाटक नेपाली लोक साहित्यको अमूल्य सम्पत्ति हो। आधुनिकतासँगै यसको प्रदर्शनमा कमी आएको छ तापनि नेपाली ग्रामीण समाजमा यसको महत्त्व उत्तिकै छ।

दशावतार बालनको सुरुमा आरती भजनका साथमा चुड्का गीत त्यसपछि इष्टदेव प्रार्थना, अतिथि सत्कार, गणेश पूजा, ब्रहृमाको भुवनसृष्टि, शिवको भुवनभ्रमण र बालन जगाउने  गीतहरू नाच्दै र गाउँदै प्रस्तुत गरेर विधिविधान सकेपछि मात्र दशावतारको संवाद र अभिनय सुरु गरिन्छ। प्रस्तुत लोकनाटकमा स्थानीय बोलीचालीकै भाषा प्रस्तुत गरिन्छ। नेपालको मध्य पहाडी भेगको पाल्पा जिल्ला र रामपुर गाउँ आसपासमा बोलिने स्थानीय भाषिकाको प्रशस्तै प्रयोग यस लोकनाटकमा पाइन्छ। डा. कुसुमाकर न्यौपानेले सङ्कलन गरेर प्रकाशनमा ल्याएको पुस्तकमा पाल्पा जिल्ला आसपासमा बोलिने स्थानीय भाषिकाको प्रयोग पाइन्छ। जस्तै :

ब्रहृमा : ओहो विष्णुजी ! कताड आउनुभओ ?

विष्णु : ओ येतै रातमाटाड आको। सन्चै छ ?

ब्रहृमा : अहिलेसम्म सन्चै छ के रे। लौ शिव पनि आउनुभओ। सन्चै छ होला के रे ?

(न्यौपाने, दशावतार बालन लोकनाटक २०६९,पृष्ठ २९)

‘दशावतार बालन लोकनाटक’को खोजी गरेर पुस्तकाकार कृतिको रूपमा ल्याउने काम डा. कुसुमाकर न्यौपानेले गरेका छन्। अनुसन्धान धर्मलाई पूर्णतः पालन गरेर सम्बन्धित क्षेत्रमै कयौं दिन र रात बिताएका न्यौपानेले बालनको बारेमा एउटा मानक कृति नेपाली लोकसाहित्यलाई दिन सफल भएका छन्।

लोकनाटकको अध्ययन र दशावतार बालनको बारेमा जानकारी राख्न चाहनेका लागि यो कृति एउटा महत्त्वपूर्ण सामग्री हो। त्यसबाहेक धर्मप्रति आस्थावान र भगवानका दश अवतारको बारेमा जान्न चाहनेको लागि पनि प्रस्तुत कृति महत्त्वपूर्ण छ। गाउँ नै गाउँले भरिएको नेपाल, नेपालको मौलिक सँस्कृति लोकसँस्कृति र हिन्दू धर्मशास्त्रहरूले उल्लेख गरेका भगवानका दश अवतारको चर्चा गरिएकाले जो कसैले पनि यो कृति पढ्नैपर्ने र घरघरमा सङ्ग्रह गरेर राख्नै पर्ने कृतिको रूपमा रहेको छ। सम्बन्धित क्षेत्रमै गएर समय, श्रम र धन प्रशस्तै खर्च गरी अनुसन्धान गरिएको प्रस्तुत कृति र यसका स्रष्टालाई सबै क्षेत्रबाट उचित मूल्याड्ढन गरी अनुसन्धान कार्यमा लाग्ने सबै-सबै अनुसन्धानकर्तालाई उत्साह प्रदान गर्नु राज्यका सम्पूर्ण सचेत वर्गको दायित्व हुन आउँछ।

स्मरणीय छ, उनै दशावतार बालन लोकनाटकका अन्वेषक डा. न्यौपानेकै विशेष पहलमा पाल्पा रामपुरका कलाकारहरूद्वारा पोखरा सभागृहमा यही २०६९ माघ १३ गते उक्त प्रदर्शन हुँदैछ। यो हामी पोखरावासी सबैको लागि अत्यन्तै खुसीको कुरा हो। यस अवसरको लागि हामीले डा. न्यौपाने र रामपुरका सम्पूर्ण कलाकारलाई हार्दिक धन्यवाद दिनैपर्छ।

(लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन्।सं.)

- तुलसी प्रवास