जेठ १९ को वरिपरि : राजा वीरेन्द्रको सम्झना

राष्ट्रले अभिभावक गुमाएको दिन

२०५८ सालको जेठ १९ गतेको अकल्पनीय राष्ट्रिय त्रासदीपछि यो दिन त्रासदीको प्रतीक बनेको छ। राजा वीरेन्द्रको वंशविनाशको त्यो राष्ट्रिय पीडा र दुःखको घटना कुनै नेपालीले पनि बिर्सन सक्दैन।

यो पंक्तिकार किशोर अवस्थादेखि कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्ति भएका कारण सिद्धान्ततः गणतन्त्रवादी हो। तर, राजा वीरेन्द्रको हत्या भएको सुन्दा भने मेरो मन उद्विग्न भएको हो। आफ्नो अभिभावक गुमाएको अनुभूति भएको हो। यो म एक जनाको मात्र दुःखद अनुभव होइन, नेपाललाई माया गर्ने जुनसुकै वाद, सिद्धान्त र जात धर्मको नेपालीको अनुभूति हुनुपर्छ भन्ने कुरा त्यो राष्ट्रिय शोकको सम्झनाले सहजै भन्न सकिन्छ।

२०५८ सालको १९ गते शुक्रवार थियो। नारायणहिटी दरबारमा राति घटेको त्यो विभत्स घटनाको जानकारी भने आमजनताले २० गते बिहानमात्रै थाहा पाएका हुन्। नेपाली जनताले त्यो पीडालाई धेरै किसिमले अभिव्यक्त गरेका थिए। काठमाडौंमा कफ्र्यू लागेको थियो तर सडकभरि भीड देखिन्थ्यो जनताको। केशमुण्डन गरेर दुःख व्यक्त गर्नेको त्यो स्वतःस्फूत आन्दोलन। अहिले पनि सम्झना हुन्छ, राजा वीरेन्द्रप्रति जनताको त्यो अगाध श्रद्धा र विश्वास।

राजा वीरेन्द्र २०२८ सालमा गद्दिमा बसेका हुन्। यसरी हेर्दा उनले ३० वर्ष शासन गरे। आफ्ना बाबु महेन्द्रले लागू गरेको निर्दलीय पञ्चायती व्यवस्था उनले विरासतकै रुपमा प्राप्त गरे। प्रजातन्त्रका मुख्य विशेषता र चरित्रलाई निषेध गरिएको पञ्चायतविरुद्ध आन्दोलन र संघर्ष गर्दा स्वभावतः यसको सक्रिय नेतृत्वकर्ता राजाको विरोध नहुने कुरै भएन। साना ठूला धेरै जनसंघर्षहरु भएका हुन्।

२०३६ सालको आन्दोलन, जसले जनमतसंग्रहको घोषणा गर्न राजा बाध्य भए। त्यसपछि २०४६ सालको संयुक्त जनआन्दोलन जसले पंचायती व्यवस्थाको अन्त्य, सक्रिय राजतन्त्रको अन्त्य र बहुदलीय व्यवस्थाको पुनःस्थापन तथा राजा संवैधानिक हुने बन्दोवस्त गर्‍यो। यी सबै राजनीतिक परिघटनाहरुमा राजा वीरेन्द्रको विरोध पनि भएको हो। उनका विरुद्ध नारा पनि लागेका हुन्। यति हुँदाहुँदै पनि राजा वीरेन्द्रप्रति यत्रो ठूलो भरोसा र विश्वास नेपाली जनताले राखेका थिए कि त्यो वर्णतीत छ।  यसको कारण के हो – राजदरबरमा यो वीभत्स हत्या काण्ड हुँदा माओवादी जनयुद्ध उत्कर्षमा थियो। यिनीहरु त गणतन्त्रकै लागि लडेको भन्दै थिए। तर, यिनीहरु पनि राजा वीरेन्द्रको हत्या राष्ट्रियतामाथिको प्रहार भन्न किन बाध्य भए – यी अनन्तसम्म विमर्श र छलफलका विषय हुनेछन्-निश्चित रुपमा। मलाई लाग्छ राजा वीरेन्द्रको अवसानमा अभिभावक गुमाएको मेरो अनुभूति पनि यसै सेरोफेरोमा रहेको हेा।

जेठ १९ को त्रासदी राष्ट्रले अभिभावक गुमाएको दिनको रुपमा स्मरण हुनेछ। र, त्यो षड्यन्त्र किन र कोबाट भएको हो भन्ने कुराको छलफल पनि भइरहनुपर्छ। कारण, यस छलफलमा नेपाल र नेपालीको स्वतन्त्रताको अटल आस्था सन्निहित छ।

अमरताका पदचापहरु

आफ्नो तीनवर्षे शासनकालमा राजा वीरेन्द्रले राष्ट्र र जनताका लागि गरेका केही यस्ता महिमाशील कामहरु छन्, जसको इतिहासले पछिसम्म स्मरण गरिरहनेछ। र, नेपाली राष्ट्रिय जीवनमा उनले छाडेका पदचिन्हरु अमिट रुपमा सम्झिने पनि छन्।

उनको सबैभन्दा सम्झिने काम, मलाई लाग्छ, नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई चिरकालसम्म अच्छुण राख्न अति आवश्यक स्वतन्त्र विदेशनीतिको प्रक्षेपण हो। राजा वीरेन्द्रले मुलुकको बागडोर सम्हाल्दै गर्दाको अन्तर्राष्ट्रिय स्थिति शीतयुद्धकालीन थियो। अमेरिकी धुरी र सोभियत (रुसी) धुरीमा विश्व विभाजित थियो। दक्षिण एशियामा यी दुवै विश्वशक्ति आफ्नो प्रभाव विस्तारमा अनेक वैध अवैध हत्कण्डा मच्चाउँदै थिए।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र सोभियत (रुसी) राष्ट्रपति बे्रजनेभबीच बीस वर्षे सैनिक सन्धि भएपछि भारत नेहरुकालीन असंलग्नताको नीतिबाट व्यवहारतः गुट संलग्न बनेको थियो। भारतीय सेनाकै बलमा पाकिस्तानको विभाजन त महेन्द्रको अवसान हुनुभन्दा केही अगाडि भैसकेको हो। पाकिस्तानको विभाजनपछि इन्दिरा गान्धीको निशाना बनेको थियो-सिक्किम।  सिक्किमको स्वतन्त्रतालाई अपहरण गर्न इन्दिरा गान्धी लागेको प्रष्टै बाहिर नदेखिए पनि त्यो नेपालको शासकीय वृत्तले नबुझ्ने कुरा थिएन। यस्तै स्थितिमा राजा वीरेन्द्रको राज्याभिषेक आयोजित भएको छ-काठमाडौंमा। विश्वकै राष्ट्र एवं सरकार प्रमुखहरु यो राज्याभिषेकमा आमन्त्रित थिए। र, सिक्किमका राजा छोइग्याल पनि थिए-एक पाहुना काठमाडौंमा। चीन लगायत अन्य देशका प्रतिनिधिसँग छोइग्यालको भेटको व्यवस्था मिलाइ दिए वीरेन्द्रले। सिक्किम स्वतन्त्र रहोस् भनेर गरिएको यो एक ठूलो कुटनीतिक प्रयत्न थियो। यसै राज्याभिषेकको भव्य समारोहमा-“नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस्” भन्ने प्रस्ताव राजाबाट पेश भएको हेा।

यो शान्तिक्षेत्र प्रस्तावको यति ठूलो महत्व छ कि यसले नेपालका सम्पूर्ण असमान सन्धि सम्झौता निरस्त गर्ने क्षमता राख्दछ। यहीँदेखि भारतीय सत्ताको निशानामा परेका हुन् उनी। एक किसिमले उनी विरुद्ध षड्यन्त्र हुँदैआएका हुन्। दक्षिण एशियाली सहयोग संगठन सार्कको गठनमा राजा वीरेन्द्रको अहम् भूमिका रहेको हो। दक्षिण एशियाका साना ठूला सबै राष्ट्रका प्रतिनिधि एउटा साझा मञ्चमा उभिनु भनेको मनोवैज्ञानिक रुपमा पनि भारतको हैकम र हस्तक्षेप कम हुनु हो।

भारतको प्रधानमन्त्रीको बराबरीमा भुटानका प्रधानमन्त्री उभिँदा स्वभावतः उनले आफ्नो हैशियतको गर्व गर्ने कुरा हुन्छ। सार्कको चार्टरमा, घेाषणापत्रमा के लेखिएको छ भन्ने कुरा भन्दा अलि परको यो मनोवैज्ञानिक प्रभाव र महत्व छ-सार्कको। त्यसैले कुनैपनि बहानामा सार्क भंग गर्न चाहन्छ-भारत। पाकिस्तानसँगका खटपटले सार्कको शिखर बैठक भाँड्नुपर्ने के कारण छ – यो सार्क मार्ने निहुँ हो। यत्रो महत्वको सार्क गठन गर्ने राजा वीरेन्द्र र बंगलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको पहलकदमी यो क्षेत्रकै राष्ट्रहरुलाई भारतीय प्रभुत्वबाट मुक्त राख्ने दूरदर्शी र दीघकालीन सोचबाट निदेशित छन्।

मुलुकको अर्थ-राजनीतिमा पनि राजा वीरेन्द्रले एउटा छुट्टै र महिमापूर्ण छाप छाडेका छन्। राजा हुन्। राजाको जेठा छोरा भएकोले उत्तराधिकारमा प्राप्त गरे। तर, आमजनतासँग निरन्तर संवाद तथा सर्म्पर्कमा रहने उनको स्वभाव कुनै लोकतान्त्रिक भनिने नेताभन्दा बढी नै थियो। मुलुकलाई विकास क्षेत्रमा विभाजन गरेर आर्थिक विकास मार्फत क्षेत्रीय असन्तुलन हटाउने र विकासमा जनसहभागिता जुटाउन उनी आफै खट्दथे कर्मक्षेत्रमा।

आफ्ना सत्ताको लागि विदेशी प्रभुत्ववादी शक्तिसँग मोलतोल लेनदेन नगर्ने बरु आफ्ना जनतासँग झुक्ने उनको देशभक्ति २०३६ साल र २०४६ सालका राजनीतिक घटना शानदार उदाहरणहरु हुन्। नेपालको आन्तरिक र बाह्य अर्थात् भूराजनीतिको विश्लेषण गर्नेहरु के भन्छन् भने यदि लोकतन्त्र भनिने कालमा झैं विदेशीले सजिलै नेपाली नागरिकता लिन सक्ने गरी खुकुलो नागरिकता ऐनमा लालमोहर लगाई दिएको भए र महाकाली लगायतका नदीहरु सुम्पेझै भारतलाई नदीहरु दिएको भए राजा वीरेन्द्रको वंश विनाश पनि हुने थिएन। यो आग्रह पूर्वाग्रह नराखने चेतनशील नेपालीको ठम्याई पनि हो।

राजा वीरेन्द्र संविधानको पालना र कानूनको शासन तथा राज्यका संवैधानिक निकायहरुको स्वायत्तताप्रति पनि यद्किञ्चित इमान्दार मानिन्छन्। संयोग भनुँ वा नियति यो जेठ महिना गणतन्त्र आएको महिना पनि हो। राजा वीरेन्द्र र लोकतन्त्रवादी अहिलेको नेतृत्वको शासकीय इमान र निष्ठा सम्बन्धमा एउटा उदाहरण प्रस्तुत गर्नु पर्याप्त हुनेछ।

दरबारिया परिवारबीचकै साम्पत्तिक हक र बण्डासम्बन्धी विवाद सवोर्च्च अदालतमा थियो। प्रधानन्यायाधीश थिए, रत्नबहादुर विष्ट। त्यो मुद्दा सुनुवाइ हुने, फैसला हुने दिन बिहान राजाबाट प्रधानन्यायाधीश विष्टलाई दरबारमा बोलावट भएछ। विष्ट गए, राजाले त्यो मुद्दाको एक पक्षलाई जिताइदिनु भनेछन्। प्रधानन्यायाधीश विष्ट अदालत गए। मुद्दा आफ्नै वेञ्चमा राखेर हेरे। राजाले भनेकोलाई जिताउँदा अकोर्लाई अन्याय पर्ने रहेछ। राजाले जिताउन भनेकोलाई हराइदिए।

त्यही साँझ दरबारमा विष्टलाई बोलावट भएछ। अब जागिर खोसिने होला भन्दै गएका त राजाले ठीक न्याय इन्साफ गरेकोमा धन्यवाद दिँदा दश हजार पुरस्कारसमेत दिएर पठाएछन्। यो घटना कुनै कथा होइन, यथार्थ हो। यता, लोकतन्त्रकालमा आफूले भनेकेा पुलिस आई.जि.पी. हुन दिन्नकि भनेर आफ्नो योग्यता, इमान र निष्ठाले प्रधानन्याधीश हुन सकेकी प्रधानन्यायाधीशविरुद्ध छापामार शैलीमा महाअभियोग लगाइन्छ। सवोर्च्चदेखि अख्तियार सबै नेताका आदेश तामेल गर्ने बनाउन खोजिएको छ।

अन्त्यमा, वीरेन्द्रका कमजोरी थिए, केही भूलचूक पनि गरे। एउटा कमजोरी त उनको सोझोपना, अलमस्त व्यवहार पनि हो। यसैले त दरबारभित्रै मारिए। मार्ने को हो भन्ने पनि बुझिएकै कुरा हो। युवराज दीपेन्द्रले र्‍याट्याट्, भ्याट्ट्याट गरेरमात्रै वीरेन्द्रको वंशविनाश भएको भन्ने थ्योरीसँग कमसेकम सचेत नेपाली सहमत छैनन्। अस्वीकार गर्दैआएका छन्। अस्तु :

- तिलक पराजुली