चुँदी रम्घा पुगे पछि

धेरै साहित्यकारहरुले भानुभक्तको बारेमा लेख्नु भएको छ होला ? भानुभक्तले लेखेका कविता कण्ठ पार्नु भएको होला ! तर तपाईहरुमध्ये धेरैजना भानुको जन्मस्थल तनहूँको चुँदीरम्घा पुग्नु भएको छैन होला ? यस पटक काठमाण्डौ गएको समयमा एक जना साहित्यकार मित्रलाई यो कुरा भन्न के लागेको थिएँ उहाँले तुरुन्त चुँदीरम्घा जान इच्छा व्यक्त गर्नु भयो। मैले उहाँलाई हौसला दिँदै भनेँ यो वर्ष नेपाल पर्यटन बोर्डले घुमफिर वर्षको रुपमा मनाउने घोषणा गरेको छ। फुसद भए जाँदा राम्रो हुन्छ। बरु तपाईसंग म पनि जान तयार छु।

स्रोत साधन सम्पन्न भएका मित्र गोकुल खरेल संग तनहूँ जिल्लाको चुँदीरंम्घा र मिर्लुङ जाने अवसर मिल्यो। काठमाण्डौ बाट करिव १४० कि.मी.को यात्रामा हामी पृथ्वी राजमार्गको डुम्रेमा पुग्याँै। तनहूँ जिल्लाको भूगोल मेरोलागि नौलो त होइन तर पनि साथीलाई यात्रा गराउन पाउँदा भिन्न अनुभव भइरहेको थियो। नेपालको मध्यभागमा रहेको तनहूँ जिल्लाले राष्ट्रिय रुपमा नै आफूलाई पहिचान गराउँदै आइरहेको छ। तनहूँ जिल्लाको उत्तरी भेग ग्रामीण पर्यटकीय दृष्टिकोणबाट रमणीय मानिन्छ । तनहूँको मुख्य बजार डुम्रेबाट १३ कि.मी उत्तर-पश्चिमको दिशामा रहेको आदिकवि भानुभक्तको जन्मस्थल चुदीँरम्घा र मिर्लुङकोट ग्रामीण पर्यटनहरु का लागि आजभोलि घुमफिर गनै पर्ने ठाउँ बनेको छ।

डुम्रेबाट हाभ्रो यात्रा मोडियो डुम्रे-बेँसीशहर जानेमार्ग तर्फ। तरेली परेको उकालो सडक दायाँ वायाँ हरियाली जंगल,शहरीकरण हुनलागेको भन्सारबजार हुदै हामी केही समयमा नै भन्सारको प्रहरी चौकीमा पुग्याँै। चौकीबाट हामी वेँसीशहर जाने सडक छाडी चुँदी रम्घातिर जाने सडकतिर मोडियाँै। खरेलजी दंग पर्नु भएको छ। काठमाण्डौको उकुस मुकुस वातावरणमा बस्नु भएका खेरलजी यहाँको वातावरणले उहाँलाई मन्त्रमुग्ध बनाइ दिएको छ। तनहूँ जिल्ला साहित्यकारहरुको लागि पुग्नै पर्ने ठाउँ हो। तनहूँमा विभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन, क्षेत्री, दमाई, कामी, सार्की, पहाडियामुसलमान, नेवारहरुको आआफ्नै मौलिक संस्कृतिहरु पनि पाइन्छन्। उनीहरुबीचको भाइचारा र एकता झनै लोभलाग्दो छ। स्थानीयस्तरको जातीय भेषभूषा, चार्डपर्व, रीतिरिवाजजस्ता सांस्कृतिक सदभावको संरक्षण गरी प्रतिष्ठित एवं लोपोन्मुख हुँदै जान लागेको लोकनाच, सोरठी, घाँटु, कौरा, दोहोरी, वालुन, चुडका, भजन, लाखे, ठाडो भाकाजस्ता गीत-संगीतहरुलाई जीवित राख्ने काम त्यहाँका समुदायहरुले गर्दै आएका छन। गुरुङ र मगर वस्ती रहेको स्थानमा रोदी बस्ने चलन अझैसम्म जीवित छ, गाउँघरमा। विशेषगरी, गुरुङ समुदायको सोरठी र घाँटु नृत्य यस क्षेत्रमा चर्चित रहेको छ।

स्थानीय जनसमुदायले गाउँने ठाडो भाका, लोकदोहरी, सोरठी, पाउँदुरे, घाँटु, चुडका, मारुनीलगायतका लोकभाकाका गीत सुन्न र नाचहरु हेर्नसमेत यस क्षेत्रमा पाइन्छ। चुडका र भजनको पनि उदगमस्थल यही हो भन्दा फरक पर्दैन। तर यस किसिमको नाच र गीत सुन्नको लागि बिशेष चाड पर्व र कुनै कार्यक्रमको आयोजना भएको समय हुनु पर्दछ। प्राकृतिक सुन्दरताभित्र सजिएको मिर्लुङकोट क्षेत्रको हरियाली वनजंगल, सफा कञ्चन पानी, शीतलता प्रदान गर्ने छहारी मात्र होइन, वनजंगलमा फुल्ने लालीगुराँस, चाँप, धयरा, ऐसेलु, काफल, सतिसाल, सल्ला, चुत्रोजस्ता बोटबिरुवा तथा फलफूल समेत यहाँ पाइन्छ। विभिन्न छहरा र पहराहरुको आकर्षणका साथै विभिन्न भञ्ज्याङ र देउरालीहरु, मठमन्दिर र मस्जिदहरु यस क्षेत्रमा ग्रामीण पर्यटकका सारथी बन्ने गरेका छन।

जल सम्पदाको धनी तनहूँ जिल्लाको मध्य भागमा मादी र सेती नदी वगेको छ। भने लमजुङ जिल्लासंग सीमा बनेर वगेको सिस्ती र पाउदी खोलाले तनहूँलाई सिँचाई गर्नमा सहयो पुर्‍याएको छ। नदी किनारका टार, बेँसी, र पहाडी वस्तीमा सजिएका ग्रामीण वस्ती तनहूँ जिल्लामा रहेको छ। पृथ्वी राजमार्गको मुग्लीङ देखि चोरकाटे सम्मको करिव ७२ कि.मि.को सडक तनहूँ जिल्लाको मध्यभाग भएर निर्माण भएको छ। त्यसै गरी डुम्रे-वेँसीशहर हुदै मनाङ पुग्ने सडकले पनि तनहूँ जिल्लालाई यातायातको सुविधा दिएको छ। यो वाहेक आजभोलि तनहूँ जिल्लाको धेरै भूभागमा ग्रामीण सडक निर्माण भएका छन। सडक विकाससगै ग्रामीण क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरु पनि बढन थालेका छन। ग्रामीण क्षेत्रमा बजार विस्तार भएको छ। तनहूँको छिम्केश्वरी, कोटाथाम, राईपुरकोट, मिरलुङगकोट र चोक चिसापानी जस्ता पहाडी रमणीय श्रृखंलाले त्यस क्षेत्रमा घुमफिर गर्नेहरुको लागि थप आकर्षणको केन्द्र बिन्दु बनेको छ।

तनहूँ जिल्लाको भूगोल र सँस्कृतिका कुरा गर्दा गर्दै हामी चुँदी रम्घा पुगेको पत्तै भएन। पहाडी उपत्यका सुन्दर वस्ती, मोटरमार्ग को दायाँ वायाँ बजार उन्मुख निर्माणको क्रम, बीचमा कलकल गर्दै बग्ने चुँदी खोला सुन्दर गाउँहरुको बीच फराकिलो फाटँ, धानखेतीको हरियाली दृष्यावलोकन गर्दै हाम्रो यात्रा चुँदी रम्घाको ग्रामीण बजारमा पुगेर रोकियो। भानु संग्रालय मा पुग्ने चुँदीखोलाको पुल पार गर्ने बित्तिकै हाम्रो कुराकानी भानुको बारेमा सुरु भयो। भानु संग्रालय पुग्नु भन्दा अगाडि एक जना श्याम ढकाल नामका स्थानीय शिक्षक भेट हुनु भयो। यात्राको क्रममा हामीलाई भानुको बारेमा थपकुरा कानी गर्न सहयोग भयो। उहाले शिखर कटेरी डाँडातर्फ औलाले देखाउँदै भन्नु भयो -भानु भक्तको शिखर कटेरी जंगलबीचको खरको छानो भएको घरमा २०६१ जेठमा आगलागी भएको थियो। आगलागी पछि सो घरको अहिलेसम्म पुनः निर्माण गरिएको छैन। त्यसयता  भानुको घर खण्डहरमा परिणत भएको छ। २०५७ सालमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भवन मर्मत गरिएको थियो। प्राचीन वास्तुशैली र ढाँचामा निर्माण गरिएको सो भवन हाल अवशेषको रुपमा मात्र देख्न सकिन्छ। शिखर कटेरीमा जन्मनु भएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ। लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सर्म्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो। भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ। भानुभक्त आचार्यको जन्मस्थल शिखरकटेरीको संरक्षण अभियानमा अहिले पश्चिमाञ्चल विकास मञ्च लागिपरेको छ।

भानु सामुदायिक वनको हाताभित्र करिब १० रोपनी क्षेत्रफलमा फूल तथा फलफूलका बगैंचा, संग्रहालय, चौतारो, भ्यु टावर, ढुंगाले छापेर बनाइएका बाटो र करिब ४०/५० जनालाई सजिलै राख्न सकिने होमस्टेको व्यवस्था हुन लागेको रहेछ। तनहुँको चुँदी रम्घामा धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र सन्तानका रुपमा भानुभक्त आचार्यको जन्म भएको थियो। आदि कवि भानुभक्त आचार्य, जन्म रम्घा ,शिखर कटेरीमा बि.सं.१८७१ भएको थियो। भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए। श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए। यी पनि विद्वान थिए। धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए। जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा आफ्ना भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो। भानुभक्तका बाजेले बूढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे। अनि उनी काशी गएका बेला नातिलाई राम्रोसँग पढाइलेखाइमा समेत लगाउने हेतुले उनले भानुभक्तलाई पनि उतै लगेका थिए। त्यसैले बाजेसँगै काशी गई भानुभक्तले संस्कृत शिक्षा लिन पाएका थिए।

भानुभक्तको बिहे एघार वर्षको उमेरमा भयो। तर पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी छोरी दश वर्षीय चन्द्रकलादेवीसँग उनको दोस्रो बिहे भयो। बालकृष्ण समका अनुसार भानुभक्तकी पत्नीलाई रेवती भनेर बोलाइन्थ्यो। यी दम्पतीबाट दुर्इ भाइ छोरा रमानाथ र शिवशड्ढर जन्मे। शिवशड्ढरको १४ वर्षको उमेरमा नै निधन हुँदा भानुभक्तले जीवनभरि पुत्रशोकको कठोर वज्रपात सहनु पर्‍यो। भानुभक्त आचार्यकै सृजनात्मक जगमा टेकेर नेपाली साहित्यको लहरो आकाशजस्तै फैलँदै आएको छ। भानुभक्तकै फेरोमा बाँधिएर आज नेपाली भाषाले आफ्नो घेरोलाई क्रमशः शक्तिशाली बनाउँदै आएको छ। त्यतिमात्र होइनस यस भूगोलमा नेपाली नेपाली एकअर्कामा जति मिल्न सकेका छन त्यसका निम्ति भानुभक्तको विशेष सृजनात्मक योगदान रहेको छ। भानु संग्रालयमा भानुभक्तले प्रयोग गर्ने खराउ, अम्खोरा, मधुस, खाट लगायत सामग्रीहरु हाल भानु जन्मस्थल विकास समितिका कार्यालयमा राखिएको रहेछ।

भानुभक्तको गाउँमा खाना खाएपछि हाम्रो यात्रा सुरु भयो मिर्लुङ तर्फ। तनहूँ जिल्लाकै दोस्रो अग्लो पहाडी चुचुरो मिर्लुङमा पर्दछ। जुन पहाडलाई मिर्लुङकोट भन्ने गरिन्छ। सामुद्रिक सतहबाट १६५४ मिटर उचाईमा रहेको मिर्लुङकोटमा पुरानो धर्मादत्त सेन राजाले राज्यसमेत चलाएका थिए। उनको दरबारको भग्नावशेष अझै पनि देख्न सकिन्छ। मिर्लुङकोट क्षेत्र प्राकृतिक, सांस्कृतिक, धार्मिक, साहित्यिक र जैविक विविधतामा धनी रहेछ। सुन्दर प्राकृतिक भूबनोटभित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तरी भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ। विभिन्न जातजाति, धर्म, समुदाय र सम्प्रदायको अलग-अलग भेषभूषा, रहनसहन मिर्लुङमा देख्न पाइन्छ। मिर्लुङ पर्यटन विकास समितिले ग्रामीण पर्यटकहरुलाई लक्षीतगरी सूचना केन्द्र स्थापना गरेको रहेछ। मिर्लुङकोट पर्यटन पैदलमार्ग तनहुँ-लमजुङ-कास्की पर्यटन रुट कायम गरिएको रहेछ। तनहुँ जिल्लाको  नारेश्वटार, सेपाबगैँचा, टुहुरे पसल, चन्द्रावती हुँदै करस्याङदी खोला तरेपछि मिर्लुङ शुरु हुन्छ।

तनहुँ जिल्लाको भानुको जन्मस्थल भानु, बरभञ्ज्याङ, तनहुँसुर, बसन्तपुर, पुकोर्ट, चोकचिसापानी, मिर्लुङ, रुपाकोट, रिस्ती, सतिस्वारा र क्यामिन, लमजुङ जिल्लाका जिता, तान्द्राङ, टक्सार, सूर्यपाल, रम्घा, समीभञ्ज्याङ, भोर्लेटार, र इशानेश्वर हुदै कास्कीको हंसपुर, रुपाकोट, देउराली, सिद्धे, माझठाना पोखरा लेखनाथ नगरपालिका क्षेत्रलाई मिर्लुङकोट पर्यटन विकासले जोडेको रहेछ। आजभोलि ग्रामीण पर्यटकहरु घुमफिरको लागि मिर्लुङ पुग्ने रहेछन। मिर्लुङकोटमा अवस्थित राजा धर्मादत्त सेनको दरबार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ। आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा पानी कहिल्यै पनि सुक्ने रहेनछ। मिर्लुङको ठूलढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ।

मिर्लुङकोट पर्यटन पदमार्गमा वसन्तपुरको चर्चित थानीमाई मन्दिरसमेत पर्ने रहेछ। कार्तिक महिनाको पहिलो सोमबारदेखि पुस र वैशाख, जेठ, असार, साउन, भाद्र, असोज बाहेकका बाँकी महिनाका प्रत्येक सोमबार थानीमाईको भाकल गरी मंगलबार फूलको डोली लैजाने परम्परा रहेछ। मिर्लुङको पश्चिमतर्फ शिखर कटेरी भयरको मन्दिर अनि त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको पार्क रहेछ। यो पार्क रिस्तीमा पर्ने रहेको छ। सतिस्वारामा पर्ने ऐतिहासिक दर्गाजामेमस्जिद जुन विक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन, यो पनि आकर्षणको केन्द्र मानिने रहेछ। यस्तै, चोकचिसापानीमा पर्ने चोककोट थामाचुली गढीमा यही स्थानबाट सूयोर्दयसमेत हेर्न सकिने रहेछ। लमजुङको जितामा पर्ने धार्मिक एवं ऐतिहासिक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउँ, जिताकोट, भँयरथान, तान्द्राङ टक्सारमा रहेको जल्पादेवी मन्दिर, तामाखानी गाउँ, तान्द्राङकोट नागभैरव मन्दिर यो रुटका प्रमुख आकर्षण मानिने रहेछ। यस क्षेत्रबाट धवलागिरि, गणेश हिमाल, महाभारतका चुरे श्रृंखलाहरु, तिब्बत र नेपालको सिमाना छुटयाउने ग्रेड हिमाल सजिलैसँग देख्न सकिने रहेछ।

यस क्षेत्रमा थुप्रै खोला, खोल्सी, भञ्ज्याङहरु पर्दछन। जारकाटे भञ्ज्याङ, अर्चले भञ्ज्याङ, मूलाबारी भञ्ज्याङ, लौडारी भञ्ज्याङ, शक्ति भञ्ज्याङ, राईपाली भञ्ज्याङ, बायापानी भञ्ज्याङ, कुन्छा भञ्ज्याङ लगायतका थुपै भञ्ज्याङहरु यहाँ पर्दछन। छोटो समय भएपनि साथीलाई तनहूँको केही रमणीय ग्रामीण वस्तीको अवलोकन गराउँन पाउँदा खुशी पनि लाग्यो। फुसद मिलाएर तपाईंहरु पनि घुमफिर गर्न चुँदी रम्घा जान सके राम्रो हुने छ।

- के.बि.मसाल