चर्चा तीन राम्रा र एक नराम्रो कुराको

तीन राम्रा कुरा

यो हप्ता तीनओटा राम्रा कुराहरु चर्चामा छन् । पहिलो र महत्वपूर्ण छ -अव नेपालको भू-भाग गुमेको अर्थात् कलापानी लगायतका नेपालका भू-भाग नभएका नक्शा राखिएको पाइएमा सरकारी अधिकारी दण्डित हुनेछन् । अरु त छाडिदिउँ संविधानलगायत सवै महत्वपूर्ण सरकारी दस्तावेजमा प्रयोग हुने राष्ट्रको निशानी छापमासमेत नेपालको भू-भाग गुमेको नक्शाप्रयोग भएको रहेछ । रहेछ यस मानेमा भनिएको हो यस अगाडि यो पङ्तिकारले हेक्का राखेको भए यस विषयमा वोलेको लेखेको हुनुपर्ने हो । आफ्नो देशको भू-भागको ख्यालगर्नु दुरुस्त राख्नु सरकारको पहिलो कर्तव्य त हुँदै हो तर प्रत्येक नेपालीको कर्तव्य भित्र पनि पर्छ यो विषय ।

हुन त नेपाली विज्ञहरुले यो विषय नउठाएका होइनन् र भारतबाट छापिएका नक्शामा नेपाली भू-भाग आफ्नोमा पारेर नक्शाबाट पनि नेपाली जमीन अतिक्रमण गर्‍यो भन्ने कुरा उठेकै हुन् । यसलाई अ्रग्रेजीमा टोपोग्राफीकल इन्क्र्रोचम्यान्ट भनिन्छ, तर हामी नेपाली कति अलमस्तछौ भने कुनै कुरालाई पनि गम्भीरता साथ लिँदैनौ । भगवानबुद्धले यसलाई प्रमादी भनेका छन् । प्रमादमा रमाउने व्यक्ति कहिल्यै उँभो लाग्दैन । अप्रमादी होऊ भन्ने शाक्यमुनी बुद्धका वाणी व्यक्ति मात्र होइन राष्ट्रकालागि पनि लागू हुन्छ । नेपाली दैनिक अन्नपूर्णपोष्टका ती विद्वान देशभक्तलाई साधुवाद ∕ उनले यति सशक्त ढङगबाट यो विषय उठाइदिए कि सरकार मात्र होइन हामी सवैमा आफुले आफैलाइ ठगेको,छिमेकीको ठगाईमा होश नपाएको प्रमादबाट ब्युँझाइदिए ।

दोश्रो राम्रो कुरा हो विमस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त सैन्यअभ्यासबाट नेपाल अलग रहनु । यो विषय पनि नेपालको स्वतन्त्र व्यक्तित्वको लागि निकै महत्वपूर्ण कुरा हो।

विमस्टेक राष्ट्रका प्रंमुखहरुको चौथो शिखर सम्मेलन नेपालम सम्पन्नभयो । निर्विघ्नतापूर्वक यत्रो सम्मेलन सम्पन्न गर्न सक्नु नेपालको राष्ट्रियक्षमताको प्रदर्शन हो । खुसीको कुरा पनि हो । सवै विशिष्ट पाहुनाहरुलाई सन्तुष्ट बनाएर विदा गर्न सक्याँै । शिखर वैठक सफलता साथ समापन भएपनि नेपालमा भने एक किसिमको राष्ट्रिय बेचैनी शुरु भयो । त्यो वेचैनी अरु कारणले होइन-उद्घाटनसत्रको भाषणमा यसै महिना भारतको पूर्णेमा विमस्टेक राष्ट्रका सैनिकहरुको सयुक्त सैनिक अभ्यास हँुदैछ भन्ने भारतीय प्र.म.मोदीको खुलासाले हो ।

नेपालीहरुले थाहा नै नपाएको कुनै राष्ट्रिय छलफल नै नभएको र विमस्टेकको नीति उद्देश्य र चरित्रसंग मेलै नखाने यो सैनिक अभ्यासको कुरा कसरी आयो ? नेपालीहरु तीनछक परे । यो सैनिक गठबन्धको प्रारुप  हो । नेपालको सनातनदेखिको तटस्थताको बिरुद्धको कुरा पनि हो । यति कुरासम्म बुझ्न बुझाउन भगवानले नेपालीलाई बुद्धि दिएका छन् । नेपालभर विरोध सुरु भयो  । राम्रो कुरा अरु त  अरु सत्तासीन दलकै केही नेताहरु पनि यसको विरुद्धमा उभिए । बुझ्दै जाँदा कुरा खुल्दै गयो मोदीले मुख खोल्नु अगाडि हाम्रो सरकार अर्थात प्रधानमन्त्री रक्षामन्त्रीलाइ पनि थाहा रहेनछ । अन्ततः यो अभ्यासमा नेपालको सहभागिता रोकियो । सैनिक कुटनीतिका नाउमा गरिने गतिविधिको एउटा लक्ष्मण रेखा तोकिनु पर्ने सवक यसले सिकाएको छ । सैनिक मुख्यालयमा विदेशी कुटनीतिज्ञ सरकारको पूुवजानकारीमा मात्र जान पाउने हुनुपर्छ ।

तेस्रो र अन्तिम कुरा हो,नेपाल चीन पारवहन सन्धि सम्पन्न हुनु । यद्यपि अहिले प्रोटोकलमा दस्तखत भएको छ ,तथापि यो सन्धि नै हो । अव भारतसंगको निर्भरतालाई यसले कम गर्ने छ । निश्चित प्रक्रिया पूरा गरेर चीनको सिगात्सेसम्म नेपाली भारवाहक वाहनहरु जान पाउनु आफैमा महत्वपूर्ण कुरा हो । त्यहाँको सुख्खा बन्दरगाहमा रेलबाट सामान आएका हुन्छन् ।

हुम्लाको यारी,मुस्ताङको नेचुङ,रसुवाको रसुवागढी,सिन्धुपाल्चोकको कोदारी, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला  नाकाहरु पारवहनविन्दु वनेका छन् । हामी नेपालीले पूर्वाधार बनाउन सकेमा भरपूर फाइदा उठाउन सक्छौँ । व्यापार घाटा कसरी कम गर्न सकिन्छ, सवै नेपालीको ध्यान जानुपर्छ । एउटै उपायहो, राष्ट्रियउत्पादन बढाउने र निर्यात पनि गर्ने । फजुल उपभोग घटाउने कामद्वारा प्रमाणित गरिएका शव्दहरु सर्वाधिक शक्तिशाली हुन्छ भन्ने मान्यतालाई सम्झदा प्रधानमन्त्री ओली यो चीनसंग पारवहनको विषयमा स्मरणीय रहनेछन् । नेपाल-चीनपारवाहनको कुरा उनको पहिलो कार्यकालमा उठेको हो । अहिले सम्पन्न भएको छ ।

सैनिक अभ्यासबाट नेपाल पछि हटेको विषय र चीनसंग पारवहन प्रोटोकलमा हस्ताक्षर भएका कुरा नेपाली संचारमाध्यममा मात्रै चर्चा भएका छैनन् । भारतको राजधानी दिल्लीबाट प्रकाशित टाइम्स अफइण्डिया, हिन्दुस्तानटाइम्स र इण्डियनएक्सप्रेस समेतमा निकै टिप्पणी छापिएको कुरा २७ गतेका नेपाली अखवारमा पनि आएकाछन। अर्थात,दिल्ली अहिले संयमित छ- नेपाल-भारत सबन्ध मामिलामा ।

एक नराम्रो कुरा

नराम्रो कुरा अरु केही होइन । भारत नेपाल सम्बन्धकै विषयमा हो । नेपाल भारत बीच भएका सवै सन्धी सम्झौताहरुको अध्ययन गरी त्यसलाई युग सापेक्ष बनाउन के परिवर्तन गर्नुपर्ला भन्ने सम्बन्धमा सुझाव दिनको लागि एक समिति गठन भएको हो । दुवै देशबाट चार चार जना विज्ञहरु रहेको यो  उच्चस्तरीय समितिलाई विज्ञसमूह नाम दिइएको छ । अर्थात इमिनेन्ट पसन्स ग्रुप यो विज्ञ समूहले दुर्इ वर्ष लगाएर एक प्रतिवेदन तयार पनि गर्‍यो । नेपाली जनताले सधँै असमान मान्दै आएको कुख्यात सन १९५०  को शान्ति तथा मैत्री सन्धिलाई खारेज गरेर एकाइसौँ शदीको युगसापेक्ष नयाँ सन्धि तर्जुमा गर्ने कुरा पनि प्रतिवेदनमा प्रबुद्ध समूहले सुझाएको सुनिएको  पनि हो।

दुवै देशका प्रधानमन्त्रीलाई एकै साथ प्रतिवेदन हस्तान्तरण गर्ने यो समूहका संयोजकद्वयडा. भेषवहादुर थापा र कोसीयारीले बताएका हुन् । तर महिनौ महिना विते प्रधानमन्त्रीले बुझेका छैनन् । उनकै समयमा बुझाउनु पर्ने भनिन्छ, भारतीय प्रधानमन्त्री मोदीजीले कार्यव्यस्तताका कारण समय दिन सक्नु भएको छैन । समयाभावभयो ।

नेपाल र मोदीजीकै कुरा गरौं । उनी नेपाल आए विमस्टेक सम्मेलनमा । पशुपति दर्शन पूजा आजा घन्टौँ गरे । केही दिन पछि नेपालका पूर्व प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे ।प्रचण्ड र मोदीबीच डेढघण्टा लामो वार्ता भएको कुरा छापाबाट थाहा भयो । प्रचण्डसंग डेढ घण्टा कुरा हुन सक्ने तर दुवै देशका प्रबुद्धसमूहले दुर्इवर्ष लगाएर तयार गरेको प्रतिवेदन बुझ्न प्रधानमन्त्री मोदीले दशमिनेट समय निकाल्न नसक्ने भन्ने कुरा पत्याउन लायक छैन र, यो राम्रो कुरा पनि होइन । बन्न लागेको विश्वासको वातावरणलाई तुषारापात नगर्ने हो भने प्रतिवेदन बुझिनु पर्छ । कार्यान्वयन हुनु पर्छ ।

- तिलक पराजुली