गर्व गर्न लायकको पोखरा

इतिहासकारहरुले पोखराबारे थुप्रै वर्णन गरेका छन्। हिजोको पोखराबारे थाहा पाउने भनेको नै हिजो लेखिएका किताबहरु, लेखहरु, खिचिएका फोटोहरु अनि संग्रह गरिएका कागजपत्रहरुबाट हो। १४ औँ शताब्दी सम्म पोखरा उपत्यकामा मानव बस्ती थिएन भनिएको छ। पोखरा उपत्यका भन्दा उचा ठाउँहरु, पहाड वा उच्च पहाडी क्षेत्रमा वसोबास गरेको प्रमाण चाहीँ उपलब्ध छ ।घले राजाहरुले निकै लामो समयसम्म उच्च पहाडी क्षेत्र जहाँ गुरुङ जातिहरु बसोबास गर्छन् शासन गरेको कुरा इतिहासमा उल्लेख गरिएको पाउछौँ। तर पोखरा उपत्यकालाई आफ्नो अधिनमा ल्याउने प्रयास नगरेको पाइन्छ।

घलेराजाहरुको अन्तिम वंशको रुपमा राकेश नामका घलेराजा थिए। जसलाई पराजित गरी कुलमण्डन शाहले आफूलाई कास्कीकोटको राजाको रुपमा स्थापित गरेका थिए। ती कुलमण्डन शाह राजा भएको बेला, पोखरा उपत्यका जहाँ कुनै बस्ती थिएन मानव बसोबास थिएन, उत्तरपूर्र्वी कुनामा रहेको ठाउँ जसलाई आज भोलि बाटुलेचौर भन्छौँ हिँउदमा बस्न आउने गरी आफ्नो घर निर्माण गरी राजकाज चलाउने बन्दोबस्त गर्ने गरेको इतिहासमा उल्लेख गरिएको पाउछौँ। त्यही हिउँदको समयमा बाटुलेचौर क्षेत्रमा बस्दा मनोरञ्जन कार्य गर्नका लागि हाल तनहुँ त्यसताका घिरिङ क्षेत्रबाट गर्न्धर्व र  बाद्यसामग्री बजाउन जान्नेहरुलाई ल्याएर सानो समूहको रुपमा बसोबास गराएको कुरा लेखिएको छ।

त्यसैताका हालको बैदाम क्षेत्रमा पश्चिम भेकबाट पहारी र अधिकारी जातका समूह ल्याएर बसोबास गराइएको कुरा उल्ल्ेख छ। यो सन् १५६० इस्वी संवत् को कुारा भनेर उल्लेख गरिएको छ। त्यसरी नै उपत्यकाको पूर्र्वी दक्षिण भेकमा आफ्नो राज्यको सीमा सुरक्षा गर्न हाल विजयपुर चाउथे मझेरीपाटन कुँडहर भन्छौँ, त्यस क्षेत्रमा नुवाकोटबाट कार्की र क्षेत्री थरका मानिसहरु ल्याई बसोबास गराइएको उल्लेख भएको पाउँछौ। यसरी पोखरा उपत्यका पूर्व र दक्षिण क्षेत्रतर्फ बसोबासको त्यसताकाका राजाले बसोवासको शुरुवात गरेको हो

तरपनि पोखरा उपत्यका बजारको रुपमा विकास हुनसकेको थिएन किनभने व्यपार धन्दा गर्ने, सामान बनाउने वर्गहरुको अभावमा यो बजार बन्ने सम्भव थिएन। कुृलमण्डन शाहको निधनपछि सातजना छोराहरु मध्य कसैले कास्की कसैले लमजुङ कसैले गोर्खाका राजा भएर आफ्नो भूमिका निर्वाह गरे। त्यसमध्ये एकजना छोरा सिद्धिनारायण शाह कास्कीका राजा भएका बेला राजधानी कास्कीकोट नै भएपनि व्यापार धन्दा र बजार विकास गर्न काठमाण्डौ उपत्यकामा रहेका मल्लराजाहरुसंग अनुमति लिएर इसं १७५२ मा नेवार जातका मानिसहरुलाई ल्याई हालको नालामुख भिमसेनटोल भैरवटोल गणेशटोल क्षेत्रमा २६ कुरिया दिएर बसोबास गराइएको इतिहासमा उल्लेख छ। नेवार जाति कालीगढ पनि थिए। सामान उत्पादन गर्न पनि पोख्त हुन्थे, बन्द व्यापारमा उनिहरुको लगाव थियो । त्यसैले सिद्धिनारायण शाहको मल्लराजाहरु संगको राम्रो सम्बन्धको कारणले  बजारको रुपमा अगाडि बढाउन नेवार जातका मानिसहरु ल्याएर बस्ती विकासको शुरुवात गरेका हुन्। शुरुमा उल्लेखनीय संख्या थिएन तर पृथ्वीनारण शाहले काठमाण्डौ उपत्यकाका मल्लाराजाहरुलाई पराजित गरेपछि त्यहाँबाट ठूलो संख्यामा नेवार जातका मानिसहरु पोखरा बजारमा बसोबास गर्न आएको इतिहासकारहरुले  उल्लेख गरेका छन् ।

यो इस्वीसंवत् १७६७/६८ तिरको कुरा थियो। नेपाल एकीकरण सर्न्दर्भमा कास्की पनि समावेश भएको हुनाले पोखरालाई राणनीतिक महत्व दिएर यसको भूमिका महत्वपूर्ण बनाउन प्रयास गरिएको कुरा पनि उल्लेख छ। उत्तर भोटबाट दक्षिण सिमाना जोड्ने प्रमुख नाकाको रुपमा त्यसबेला देखि नै लिने गरिएको सान्दर्भिकता आज देखिन थालेको छ। उत्तरी सिमा कोरला बाट दक्षिणसिमाना सुनौली/त्रिवेणी जोड्ने यो महत्वपूर्ण भूमिका पोखराले लिने अवस्था छ। यसको विशिष्ट महत्व भएको हुनाले जंगबहादुर राणाले सत्ता आफ्नो हातमा लिएपछि श्री ३ को रुपमा आफैलाई कास्कीका राजा घोषणा गरेका थिए।

त्यसताका पोखरा उपत्यकामा कति मानिस बसोबास गर्छन भन्ने आधिकारिक उल्लेख गरिएको दस्ताबेज प्राप्त गर्न सकिएको छैन तर इसं १९२० तिर बबरशम्शेरले पोखरा बजारमा बसोबास गर्ने करिब १३ सय १४ सय जनसंख्यालाई पानी खुवाउनको लागि धारापानीबाट पाइप लाइन विस्तारगरी सार्वजनिक धारा जडान गर्ने काम गरेको पाउछौँ। उक्त सार्वजनिक धारा जसलाई ‘बालधारा’ भन्ने गरिएको छ हालको बागबजार देखि सिमलचौर सम्म नालामुख देखी साँघुमुमख रानीपौवा हुँदै गौँडामुख सम्म सार्वजनिक धारा जडान गरिएको बाट पनि पोखरा तीव्र रुपमा बजार बिस्तृत भएको अनुमान गर्न सक्दछौँ।

२००७ सालपछि पोखराको जनसंख्या उल्लेख गरिएको आँकडा पाउछौँ। जसअनुसार २००८ सालमा ३ हजार ७ सय, २०१८ सालमा ५ हजार ४ सय, २०२८ सालमा २० हजार ६ सय, २०३८ सालमा ४६ हजार ६ सय, २०४८ समलमा ९५ हजार २ सय, २०५८ सालमा १ लाख ६९ हजार १ सय, २०६८ सालमा ४ लाख १४ हजार रहेको छ। हाल २०७४ मा पोखरा मा बसोबास गर्नेको संख्या अनौपचारिक रुपमा करिब ६ लाख ५० हजार देखि ७ लाख पुगेको अनुमान गरिएको छ र आउँदो ५ वर्ष भित्र १० लाख पुग्न सक्ने अनुमान गर्न सकिन्छ।

तसर्थ वर्तमान महानगरपालिकाले आफ्नो नगरमा बसोबास गर्नेहरुको लागि सेवा पुर्‍याउन यही रुपमा योजना बनाउनु पर्ने जरुरी छ। खानेपानी  आपूर्ति, सवारी साधनको चाप, सडकको विस्तार र स्तरोन्नति, फोहोर व्यवस्थापन, शहरको सौन्दर्याता र हरियाली कायम, शहर भित्र खुला ठाउँ विपद व्यवस्थापन क्षमता, सार्वजनिक सावारी र यातयात व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षलाई गम्भीरतापूर्वक लिई यहाँ बसोबास गर्ने प्रत्येक व्यक्तिले बस्नलायक शहरको बासिन्दा भनेर गर्व गर्न सक्ने अवस्था सिर्जना गर्ने काम महानगरपालिकाले सक्रियता देखाउनेछ। महानगरपालिका व्यवस्थापन गर्न चाहिने स्रोत र साधन जुटाउन यहाँका बासिन्दाले सधैँ साथ दिने छन्। जुटाउने सामर्थ्य देखाउनुपर्दछ।

यहाँका नागरिकले पोखराको हिजो अवस्थाबारे थाहा पाइराख्न जरुरी पनि छ। केही समय अगाडि पोखराका पुराना फोटोहरुको प्रदर्शनी गरेको समाचार हाम्रो लागि सुखद विषय हो। यस्ता पुरातन सामग्रीहरुर्ल्ाई जतन गरी संरक्षण गरिराख्नु पर्दछ। हुनत माथि उल्लेख गरे झैँ पोखराको आकार क्रमश बृद्धि भएको कुरा इतिहासले पनि झल्को दिन्छ तर शहर हुनको लागि सवैभन्दा प्रमुख कुरा व्यापारिक केन्द्र हुनु हो। व्यापारिक केन्द्रको कुरा गर्ने हो भने इ.सं. १७५२मा २६ कुरिया रहेको सानोबजार इसं १७६८ सम्म आइपुग्दा झन्डै दोब्बर क्षेत्रफलमा बृद्धि भइसकेको, इसं १९२० सम्म आइपुग्दा लगभग ५ गुनाले ठूलो भइसकेको पाउछौँ। पहिलो नगरपालिका गठन हुने बेला इसं १९६० (२०१६ विसं) मा १३ वटा वडा थियो। इसं १९७३ (२०२८विसं) मा वडा संख्या बढेर १८ पुग्न गयो ३ वर्ष अगाडि (२०७१/२०७२) संख्या वढेर २९ पुग्यो। आजका विभिन्न वडाहरु समायोजन हुँदै ३३ वटा बन्न पुगेको छ भने र ३३ वटा वडाले ओगटेकेा क्षेत्रफल ४६४ वर्ग कि.मि. रहन गएको छ र हाल नेपालको सवैभन्दा ठूलो शहरको रुपमा -क्षेत्रफलको हिसावले) आफूलाई उभ्याएको छ पोखराले।

अब महानगरपालिकाको एउटा प्रमुख काम भनेको पोखराको इतिहास, क्रमबद्ध विकासलाई जगेर्ना गर्दै पुरानो फोटो, सामग्रीहरु संरक्षण गर्दै एउटा संग्रहालयको रुपमा अगाडि बढाउने सोच र योजना अघि बढाउनु पर्दछ। संसारका अधिकांश शहरहरुको इतिहास जगेर्ना र संरक्षण अनि प्रदर्शन गर्ने काम महानगरपालिका जस्तो संस्थाले नै गर्दछ । यो हाम्रो अभिमान पनि हो र स्वभिमान पनि हो आशा गरौँ। महानगरपालिकाको ध्यान यसतर्फ जाने छ। त्यो भन्दा अगाडि व्यक्तिगत रुपमा कसैले पुरानो पोखरालाई चिनाउने काम, प्रवर्द्धन र प्रदर्शन गराउने काममा कोही लागेका छन्, लाग्छन् भने पनि बढावा र सहयोग गर्नुपर्ने दयित्व महानगरपालिकाको हो र त्यस्तो व्यक्तिगत प्रयासलाई संस्थागत रुप दिन प्रोत्साहित गर्नुपर्दछ। स्परणीय कुरा के पनि छ भने पोखरा आउने पर्यटकहरु पुरानो पोखरा काहाँ छ भनेर सोध्ने गरेको सवैले थाहा पाएका छन् पोखराको पुरनो झल्को समेत दिने प्रयासमा हामी लाग्न सक्यो भने, पोखराकेा लोकसंस्कृतिलाई देखाउने व्यवस्था गर्न सक्यौँ भने हामी गर्व महसुस गर्न सक्ने छौ।

अहिलोको आधुनिक समयमा प्रायशः सवै शहरहरुमा राजधानी – केन्द्र वा प्रदेश) मा दृश्य र आवाजको समागन गरी साँझ पख सवैलाई देखाउने व्यवस्था गरिएको हुन्छ, हाम्रो पोखरामा यस्तै साउण्ड एण्ड भिजन  देखाउनेगरी परिकल्पना गरौँ। ११ वर्ष भित्र संयुक्त ठाउँमा देखउँन सक्छौं। पर्यटक लगायत पोखरा आउने सवै अतिथिहरुलाई एउटा नयाँ आकर्षणको केन्द्र प्रस्तुत गर्न सक्छौँ। पुरातन र आधुनिकको फ्युजन अहिलेको आवश्यकता हो। पोखरा त्यति धेरै पुरानो शहर हैन यसको इतिहास आज २६५ वर्ष मात्र भएको छ तैपनि पोखरालाई गर्विलो बनाउन पोखराबासी लाग्नु पर्दछ।

- आनन्दराज मुल्मी