गर्नु गर्‍यौ मोबाइल तिमी आएर !

नेपालमा आर्थिक उदारीकरण भएसँगै सञ्चारमा व्यापक परिवर्तन आयो। टेलिफोनका जन्मदाता अलेकजेण्डर ग्रापरले संसारलाई यति नजिकाई दिए कि अब संसार साँघुरो भयो। तपाईँको हातमा सारा संसारको सूचना हेेर्न र देख्न सक्नु हुन्छ। नेपालमा मोबाइलको प्रयोग वि.सं. २०५५/५६ साल देखि भएको हो। सुरु सुरुमा मोबाइल प्रयोग हुँदा समाजका हुने खानेहरुले कम्मरमा खुर्पेटो झैं भिरेर शान साथ हिँड्थे। आफ्ना मोबाइलमा घण्टी बज्दा ठाँटका साथ झिकेर चर्को चर्को स्वरमा बोलिरहन्थे। यसरी शान झार्दा खुब आनन्द आउथ्यो तेतिबेला।

मोइलको प्रयोगले हाम्रो जीवन शैलीलाई परिवर्तन गरिदिएको छ। सजिलो र विलासितापूर्ण बनाइदिएको छ – यसले। अहिले एउटा घरको माथिल्लो तलामा बसेको छोरालाई तल्लो तलामा बसेको आमा अथवा बाबाले मोबाइलबाट बोलाउनु पर्छ। सँगै जोडिएको छिमेकीलाई बोलाउँदा पनि यही विधि प्रयोग हुन्छ। अब विवाह ब्रतबन्ध, शुभ, अशुभ कार्यमा निम्तो दिँदा विस्तारै मोबाइलबाटै हुने गरेको छ। मोबाइल प्रत्येक व्यक्तिको खल्तीमा छ। मोबाइल नहुने मान्छे छ नै छैन। मोबाइल विना मानिस एकछिन पनि बाच्न सक्दैन जस्तो भएको छ। मोबाइलका सकारात्मक पक्ष अत्यन्त धेरै छ यसका नकारात्मक पक्ष पनि कम छैनन्।

केही समय अघि देशको सबैभन्दा उत्कृष्ट थलो प्रतिनिधि सभामा मोबाइल प्रयोग बारे समाचारै आयो। देशका सबैभन्दा जिम्मेवार व्यक्तिहरु प्रधानमन्त्रीले गम्भीर विषयमा जानकारी दिँदा माननीय सदस्यहरु मोबाइलमा व्यस्त भएको रमाइलो दृष्य देखियो। महत्वपूर्ण सभा समारोह सेमिनारमा मुख्य अतिथि, अतिथि तथा सबै सहभागी महोदयहरु मोबाइलमा व्यस्त भएको देखिन्छ। सरकारी निजी लगायतका सबै कार्यालयका कर्मचारीहरु अफिसमा बसेर ठाँटसाथ मोबाइलमा भुलेको देखिन्छ। कतिपय ठाउँमा त सेवाग्राही कार्यालय या पुग्दा कर्मचारीहरु मोबाइलमा व्यस्त हुँदा घण्टौ कुर्नु परेको छ। यस्तै हैरानी भएर होला अमेरिकामा अफिस समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउनु परेको थियो। अदालत कार्यालयमा मोबाइल प्रयोगबारे सूचना टाँसेर राख्दा पनि थोरैले मात्र सूचना अनुसारको आदेश मानेको देखिन्छ। प्रत्येक कार्यक्रममा मोबाइलको कान निमोठेर राख्नु भन्नुपर्छ।

यतिबेला घरघरमा पारिवारिक सम्वाद नै छैन फुसद भयो कि सबै जहान परिवार घोप्टो मुन्टो लगाएर मोबाइलमा व्यस्त भैहाल्छन्। परिवार बीचको आपसी सद्भाव पारस्पारिक सम्वाद र माया मोबाइलले खोसिसकेको छ। तेतिमात्र होइन साना नानीहरुलाई मोबाइलमा कार्टुन खेलाउन दिएर बाल सुलभ हृदयलाई विकृत बनाइएको छ। उनीहरु मोबाइल नभए रुने बानी, बस्न नसक्ने बानी बसिसक्यो। साना साना नानीहरुमा लागेको यो लत उनीहरु ठूला हुँदा झन् कस्तो हुन्छ हामी बाबुआमाले विचार गरेका छैनौं।

मोबाइलको जथाभावी प्रयोगले विद्यार्थीको पर्ढाई ध्वस्त भएको छ। हरेक बाबु आमाले छोराछोरीलाई मोबाइल धेरै प्रयोग नगर भनेर भनेकै छन्। तर नानीहरुको बानीमा मोबाइल प्रयोगमा कमी आएको छैन। हाम्रा छोराछोरीहरु जीवनको सबैभन्दा महत्वपूर्ण समय यसैमा बिताउँछन्। विहान उठ्नासाथ मोबाइल सँगै शौचालय प्रवेश, बेलुकी विस्तरामा न्रि्रा नआउँदा सम्म यही मोबाइल चाहिन्छ। हुँदा हुँदा मोबाइल विना दिसा नआउने खाना खान मन नलाग्ने र न्रि्रा नलाग्ने बानी मोबाइलले बनायो।

मोबाइलको प्रयोगले दुनियाँका सबै ज्ञानहरुलाई हात हातमा पुर्‍याएको छ। अब किताबका ठेली बोक्न परेन। रेडियो बोक्न घडी हेर्न, कयौं सीपहरु सिक्न घरबाहिर जान परेन। प्रेम प्रस्ताव देखि मलामी जम्मा गर्न यै मोबाइल सजिलो भएको छ। अब हिजो झैं विवाहको लागि केटाकेटी हेर्न छाता बोकेर जान परेन। सामाजिक सञ्जालमा सबैको प्रोफाइल उपलब्ध छ।

ज्ञान प्राप्त गर्नलाई पुस्तकालय धाउन परेन। घरमै बसेर आफूलाई चाहिने विषयमा छानी छानी आर्टील, अनुसन्धान पढ्न पाइयो शरीर सुन्दर कसरी बनाउनेदेखि खाना कसरी पकाउने, बिरामी हुँदा कुन औषधि खाने, बोल्ने कलादेखि मार्ने कलासम्म यही मोबाइलले सिकाएको छ। स्वास्थ्यदेखि दर्शन शास्त्र सम्म संसारमा आज उपलब्ध छन् । सबै ज्ञान मोबाइलले प्रदान गरेको छ। यहाँसम्म कि निद लागेन भने निद लाग्ने एप्स सम्म मोबाइलमा छ। यसरी हेर्दा मोवाइलले विचित्रको सुविधा दिएको छ। हिजो सञ्चारको विकास नहुँदा मानिसहरु आफन्तीको खबर पाउन वर्षौ कुर्नुपथ्यो आज विश्वको जुनसुकै ठाउँमा भएको व्यक्तिसँग प्रत्यक्ष सर्म्पर्क गर्न सकिन्छ। यो करामत सञ्चार प्रवृत्तिको विकासले दिएको छ।

हिजो यस्तो समय थियो सञ्चारको साधन हुलाक थियो। निश्चित ठाउँमा टेल्रि्राम थियो। टेलिफोनको आविष्कार भएपछि औंला हालेर घुमाउने टेलिफोन सेट आयो। यो सेवा उच्च घटनामा सीमित थियो। हाम्रा दाजुभाइहरु रोजगारीको लागि विदेश जाँदा हुलाकबाट चिठी पठाउँथे। चिठी आउन दुर्इ तीन महिना लाग्थ्यो। घरबाट उता जान पनि तेति नै समय लाग्थ्यो। विदेशबाट खसमले चिठी पठाउँदा यता श्रीमती, बाबा आमा कति खुसी हुन्थे। छोराले बाबा आमालाई चिठी पठाउँदा पूजनीय बाबा आमा हजुरको पाउमा सेवा ढोग भनेर लेख्थे। यता खसमलाई श्रीमतीले चिठी लेख्दा स्वस्ती श्री छ श्री आगे ताहाँ राज गरी बस्नुभएका स्वामीजीमा सेवाढोग’ भनेर चिठीको सुरुवात गरिन्थ्यो। ‘ताहाँ तपार्इँको गाथमा आरमै होला भनी भगवानसँग प्रार्थना गर्दछु यता हामी पनि हजुरको आर्शिवादले सञ्चै छौँ’ भनेर घरबाट चिठी मुग्लान जान्थ्यो।

परदेशबाट घरदेशमा बेलामा चिठी नआउँदा त्यो घरपरिवारको अनुहार निन्याउरो हुन्थ्यो। वल्तीर पल्तीर हुलाकमा चिठी आएन भनेर सोधीखोजी हुन्थ्यो। वृद्ध बाबुआमा र भर्रर्खर विवाह गरेर छोडेर गएको श्रीमती पीर मानेर देवताको भाकलसम्म गर्थे। जब चिठी घरमा आउँथ्यो त्यो घरमा खुसीको सीमा हुन्थेन। सबै परिवार झुरुप्प बसेर चिठी वाचन गरिन्थ्यो। चिठीमा बाबा आमा, भाइ, बहिनी, दिदी, भाउजू, श्रीमती छोराछोरी सबैलाई सोधेछ भनिन्थ्यो। त्यो शब्द सुनेर सबै खुसी हुन्थे। त्यतिमात्र होइन गाउँलेर्र् इष्टमित्रलाई साइनो अनुसारकोे ढोग र सम्झना सुनाइदिनु भनिन्थ्यो। म यहाँ भगुमानको कृपाले सञ्चै छु भन्ने शब्द सुन्न मात्र पाए घरदेशका मानिस खुसी हुन्थ्ये। यति शब्द सुन्न दुर्इ तीन महिना कुर्नुपथ्यो।

आजकल तत्काल रिप्लाई आएन भने रिलेशन ब्रेक हुन्छ मान्छेहरुको। प्रविधिले हामीलाई धैर्य हुन सिकाएन। मोबाइलको प्रयोगले कति घरपरिवार विखण्डन भएको छ। मोबाइल प्रयोगले जोड्ने मात्र होइन तोड्ने काम पनि गरेको छ। सामाजिक सञ्जालको विकृतिले मानव समुदायलाई दुःख पनि दिएको छ। कतिपय अवस्थामा मोबाइल प्रयोग कर्ताले ठाउँको ठाउँ ढाँटेको सुन्दा अनौठो लाग्छ। बसभरी यात्रुहरुले सुन्ने गरी म फलानो ठाउँमा छु भनेर भन्दा सबैलाई ढाँटेझैं लाग्छ। मोबाइलबाट आउने खराब रेडियसनले मानव स्वास्थ्यलाई पार्ने असर त छँदैछ । यसको दुरुपयोग मात्र पनि कम गर्न सके कति सुन्दर हुन्थ्यो हाम्रो समुदाय ?

- सुरेन्द्र थापा मगर