खाद्यान्नमा आत्मनिर्भर पोखरेली बेसाएर खान बाध्य

आजभन्दा पच्चीस वर्ष अगाडि पोखरा उपत्यकाका नागरिकहरू खाद्यान्नमा आत्मनिर्भर थिए। अहिले आएर भारतबाट आयातीत पालिश लगाएका चामल खान पोखरेलीहरू बाध्य भएका छन्। आफ्नो धान खेतमा धान र भट्टमास, पाखोबारीमा कोदो, मकैको खेतीगर्ने प्रचलन थियो। तरकारी पनि आफूलाई पुग्ने आफ्नै बारीमा उत्पादन गरिन्थ्यो। पोखराका सबै खेतहरूमा जेठोबूढो, पँहेले, रमनि, गुर्दी, जस्ता अति स्वादिष्ट धान खेती र आलि कान्लामा मास र भट्टको खेती गरिन्थ्यो। खेतबारी बाँझो राख्ने र खाद्यान्न बेसाएर -किनेर) खानेको समाजमा मान प्रतिष्ठा रहँदैनथ्यो।

पोखराको जेठोबूढो र पँहेले धानको चामलको भात मीठो भनेर नेपाल प्रसिद्ध थियो। यो धान पाकेको बेला खेत नै मगमग बसाउँथ्यो। यस्तो धान फल्ने खेतहरू पोखरामा प्रशस्त थिए। अहिले त थिए र भन्ने परिस्थिति सिर्जना भएको छ। पोखराका धान खेतहरूको तथ्याङ्क यस्तो थियो। जहाँ धान र मासको खेती गरिन्थ्यो र पोखरेलीहरूले आफूले मीठो दालभात खान्थे र आफूलाई पुगेर विक्री पनि गर्थे। कृषिभूमि संरक्षण गर्ने तर्फ सरकारले कहिल्यै पनि ध्यान दिएको छैन। बसाइ सराइ र अतिक्रमणले गर्दा पोखराको स्वरूप नै नराम्रो भएको छ।

तथ्याङ्कले धान खेत ४ हजार ७ सय १० हेक्टर अर्थात् २० रोपनी बराबर १ हेक्टरले ९४ हजार २०० रोपनी हुन आउँछ। १ रोपनीमा औसत ३ मुरीका दरले फलेको धान २ लाख ८२ हजार ६०० मुरी हुन आउँछ भने पराल रोपनीमा ५ भारीका दरले ४ लाख,७१ हजार भारी हुन आउँछ भने एक रोपनीमा १ पाथीका दरले मास भट्ट ९४ हजार २०० पाथी फल्ने गर्दथ्यो।

खेतको अवस्थाले मीठो दालभात खान र परालले पशुपालन गरेर दूध र भात पोखरेलीहरूले खाएका थिए। आफ्नै खेतको दाल, भात बारीको मकै कोदो फलफूल तरकारी गाई भौसकिो मल खेतबारीमा हालेर उत्पादन गरेर खाएका पोखरेलीहरू निकै स्वस्थ पनि थिए। पोखराको वातवारण पनि स्वच्छ थियो। जताततै हरियाली पनि थियो। खाद्यान्न, फलफूल, तरकारी दूध दही मही घिउ सबै सर्व सुलभ र सस्तो पनि थियो। आफ्नो खेतीबारीको अन्नले खान नपुगी किनेर, बेसाएर खाने थिएनन्। बेसाएर खाने काम वेइज्जतको मानिन्थ्यो।

त्यति बेला सबै किसान खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, आफूलाई पुगेर बेच्ने पनि गर्दथे। कुनै समय यस्तो थियो। उत्तम खेती, मध्यम व्यापार, खत्तम जागिर भनिन्थ्यो। तर अहिले ठीक उल्टो भएको छ। भ्रष्टाचार गरेर खानेहरू नै ठूलो ठालु भएका छन्। सबैलाई पाल्ने, कृषक हुन् तर आज आएर जागिरदार र व्यापारीले कृषकहरूलाई हेप्न सम्म हेपेर व्यवहार गर्दछन्। माथि उल्लेखित तथ्याङ्कलाई मिथ्याङ्कमा परिणत गरिदिएका छन्।

अहिले पोखराका सम्पूर्ण खेती योग्य जमिन धान खेत, कोदो मकै बारी सबै भूमाफियाका चङ्गुलमा परेका छन्। कृषकका खेतबारीहरू दुर्इ चार हजार बढी मूल्य दिएर खरिद गरेर प्लटिङ गरी घडेरी बनाएर महङ्गो मूल्यमा बेचेर सम्पत्ति आर्जन गरेर आफूलाई पुरुषार्थी ठानेर समाजमा छाती फुकाएर हिँडेका छन्।

केही कृषकका बचेका खेतमा सिंचाइको लागि पानी लाने कुलाहरू पनि विना अधिकार अतिक्रमण गरेर कृषकलाई आफनो खेत उसैलाई बेच्न बाध्य पारेका छन्। यी भूमाफिया शोषकहरूले कृषकका खेतमा पानी लाने हक समेत नष्ट गरेर कृषकका छातीमा गाडी गुडाएर हिँडेका छन्।

यिनीहरूका यी दुष्कर्महरूमा सहयोग गर्ने पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय कास्की, मालपोत र नापी कार्यालयहरूले पनि साथ दिएका छन्। काले काले मिलेर कृषकहरूलाई रुवाएर भाले काटेर खाएका छन्। कृषि योग्य भूमि संरक्षण गरेर कृषि प्रधान देशको नाम धान्नेतर्फ कुनै सरोकारवाला सरकारी कार्यालयहरूले ध्यान दिएका छैनन्। सबैले कृषकको शोषण गरेर मोज गरेका छन्।

मित्र राष्ट्र चीन सरकारले निर्माण गरिदिएको  सेती सिंचाइ योजना बेकार बनाइ दिएका छन्। जेठोबूढो धान झुल्ने फाँटहरू कंक्रीट घरहरू, पिच र ढलान सडकले भरिएका छन्। २०३१ सालमा पोखरा नगरविकास योजनाको स्थापना भएको थियो। त्यो समयमा पोखरालाई सुन्दर नगरीको रूपमा विकास गर्ने भनेर नगर क्षेत्रलाई सरकारी कार्यालय क्षेत्र, कृषि क्षेत्र, व्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र र बसोबास क्षेत्र भनेर वर्गीकरण गरिएको र क्षेत्र छुट्याउने सिमेन्टका पिलरहरू पनि गाडिएका थिए।

माथि उल्लेखित सबै फाँटहरूलाई कृषि क्षेत्रमा राखिएको थियो। यो क्षेत्रलाई पछि आएका पदाधिकारीहरूले ध्वस्त बनाए। जे जति पदाधिकारीहरू आए सबै कृषिमा विकास विरोधी भ्रष्टमात्र आए। पोखरालाई सपार्न होइन विगार्नेहरूको मात्र बोलवाला रहृयो। पोखराका गौचर, सार्वजनिक पाटनहरू निजी बनाएर धनी भएका धनाढ्यहरू नै पोखराका नेता भए। अहिले पनि भएका छन्। सार्वजनिक सम्पत्ति हडप्नेहरू नै राजनीतिज्ञ भएका छन्। कृषकको हितमा काम गर्ने त कुरै छाडदिउँ बोल्नेसम्म छैनन्। तिनै कृषकले उत्पादन गरेको अन्न खाएर बाँच्नु छ उनैको हकहितमा काम गर्ने कोही छैन।

खाद्यान्नमा आत्मनिर्भर नभएसम्म देशको विकास हुँदैन। भोकोपेटले देश विकासको बारेमा सोच्न सक्तैन। घाँस खाने पशु कृषकको हकहितमा छन् तर अन्न खानेहरूले कृषकहरूलाई उपेक्षा गरेका छन्। स्र्वर्ग र नर्क जाने कुरा हाम्रा धर्मशास्त्रमा वर्णन गरिएको छ। नेताले स्र्वर्ग जाने काम गरेको जस्तो लाग्दैन। नरक अवस्वयंभावी छ। भीरबाट लड्ने नेता र भूमाफियाको लागि काँध थाप्न सकिँदैन। राम राम भन्नै पर्‍यो हैन र ?

पीडित पक्ष कृषक, दाजुभाइ दिदीबहिनीहरू शासनको डाडु पनियो हातमा भएका नेता प्रशासकले कृषकको हक हितको लागि केही नगरे पनि भगवान् छन्। नेपालको कृषि मनसुनको जुवा हिजो पनि थियो आजको एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि यो उखान जीवित नै छ। जो गर्छन् कृषकहरूलाई भगवान्ले नै भलो गर्छन्।

प्रकृति मानिस जस्तो पक्षपाती छैन। बेलैमा वर्षा होस् कृषकहरूले समयमा बचे कुचेका खेतबारीमा खेती गर्न पाऊन् यही सदीक्षा राख्दै नेता र प्रशासकले त कृषकको हितमा काम गरेनन् भगवान् पशुपतिनाथले कृषकको कल्याण गर्दै आउनु भएको छ। अब पनि कल्याण गर्दै रहून् भन्ने प्रार्थना गर्दै कलम रोकेँ। अस्तु, जय कृषक।

- शिव प्रसाद गौतम