खाँचो लुम्बिनी जोगाऔं अभियानको

बुद्ध नेपालमा जन्मेका हुन् :

यही १९ गते शनिवार काठमाडौंको टुँडिखेलमा हजारौं मानिसहरु भेला भई ‘धम्मपद’ सामूहिक वाचन गरिँदैछ। उपस्थितिको लागि साहित्यकार एवं प्रसिद्ध चिकित्सक डा भोला रिजाल, सिनेनायक राजेश हमाल लगायतका दर्जनौ विशिष्ट ख्यात्रि्राप्त व्यक्तिहरुको सक्रिय आहृवान रहेको यस स्तुत्य कार्यको सफलता सबै नेपालीको गौरवको विषय हो। यो महा जनभेलाको मूल उद्देश्य-शाक्यमुनि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर प्रवाहित गर्ने रहेको छ। त्यसैले सबै एकैश्वरमा भन्नेछन्-‘बुद्ध वाज वर्न इन नेपाल।’

धम्मपदको संयुक्त वाचन यसको अर्को उद्देश्य हो। ‘धम्मपद’ बुद्धले विभिन्न समयमा, विभिन्न विषय सर्न्दर्भमा, विभिन्न जिज्ञासुलाई उपदिष्ट गर्न दिइएका शिक्षाको सँगालो हो। प्रेम र करुणा, सेवा र सहिष्णुता, सजगता (होश) र समाधिका बुद्ध उपदेशको यो अमरकृति पाली भाषाबाट नेपालमिा अनुवाद गरी हामीहरु जस्तो अल्पज्ञानीलाई उपलब्ध गराउनु हुने सुविख्यात भिक्षु अमृतानन्द महास्थवीर सधैँ प्रातः स्मरणीय छन्।

बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणको त्रि-संयोग परेको वैशाख पूणिर्माका दिन सार्वजनिक बिदा दिनुपर्ने माग गर्न श्रीलंकाबाट नेपाल आएका भिक्षुलाई लिएर सन् १९४८ मा उहाँ तत्कालीन श्री ३ प्राइमिनिष्टर मोहनशमशेर कहाँ गएको र बुद्धपूणिर्माका दिन सार्वजनिक बिदा दिने मोहन शमशेरले घोषणा गरेपछि आफ्नो माग पूरा भएको खुसीमा धम्मपदको नेपाली अनुवाद गर्ने संकल्प गरेको कुरा स्वामिजीले नै भूमिकामा लेखेका छन्। सरल एवं सुललित भाषामा यो ग्रन्थ अनुवाद गर्ने स्वामी अमृतानन्दप्रति कृतज्ञ छौं। साधु ! साधु ! साधु ! (बौद्ध संस्कृतिमा स्याबास-स्याबास भनिएको)

धम्मपदको सामूहिक वाचन  (अर्थसहित) हुनु सबैभन्दा ठूलो कुरा हो। किनभने बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने ध्रुवसत्य कुरा नै भएको छ। पहिले पनि थियो र अहिले पनि छ। बरु बुद्ध जन्मेको  देशका बासिन्दा हुनुको गौरव दावा गर्नेमात्रै होइन त्यो गौरव प्राप्त गरेका हामीले बुद्धको जन्मथलो लुम्बिनीलाई कति जतन गर्न सकेका छौं ? यसको गौरवलाई अक्षुण्ण राख्न, बचाउन र प्रदूषणमुक्त राख्न योगदान दिएका छौं कि छैनौ ? छातीमा हात राखेर प्रत्येक नेपालीले आफैलाई प्रश्न गर्ने र लुम्बिनी बनाउने अठोटका साथ क्रियाशील हुन भने अब ढिलो भइसकेको छ। ‘लुम्बिनी मुलुककै प्रदूषित’- गत १० गतेको कान्तिपुरमा प्रकाशित भएको एक समाचार हो ,यो। यस्तै समाचार ‘अन्नपूर्ण दैनिक’ मा समेत छापिएको छ। लुम्बिनीको यो अवस्था हुनु सम्पूर्ण नेपालीको लागि राष्ट्रिय लज्जाको विषय हो।

बुद्ध भारतमा जन्मेकेा दावी गर्ने भारतीयहरु केही छन्, ती उच्च कोटीका व्यक्ति होइनन्। उच्चकोटीका विद्वान र राजनेताले त सधैँ साँचो बोलेका, लेखेका र व्यवहार गरेका छन् -बुद्धको जन्म लुम्बिनीमा भएको हो र लुम्बिनी नेपालमा पर्छ भन्ने कुरामा।

भारतीय महानसम्राट अशोक शाक्य मुनि बुद्ध जन्मेको यस पावनभूमिमा आएर अशोक स्तम्भ खडा गरी भगवान्को जन्म यही ठाउँमा भएको हो भनी अभिलेख समेत गरेर अकाट्य प्रमाण छाडेर गएका हुन्। आफ्नो राज्याभिषेकको २० औं वर्ष अर्थात् इ.पू. २४५ तिर उनी लुम्बिनी आएको विद्धानहरुले बताएका छन्। लुम्बिनीमा मात्रै होइन, कनकमुनिको जन्मस्थान नीग्लिहवामा पनि स्तम्भ राखे।

आधुनिककालमा बुद्ध र बुद्ध दर्शनमाथि विशद अध्ययन, अनुसन्धान र लेखन गर्ने भारतीय विद्धान हुन्-महापण्डित राहुल सांकृत्यायन। उनीले लेखेका छन्-‘सिर्द्धार्थकी आमा मायादेवी आफ्नो माइत जाँदै थिइन्, त्यसैबेला कपिलबस्तु भन्दा केही पर लुम्बिनीनामक शालवनमा सिर्द्धार्थ जन्मे। उनको जन्म भन्दा ३१८ वर्षपछि अर्थात् आफ्नो राज्याभिषेकको २० औं वर्षमा अशोकले यसै ठाउँमा ढुंगाको स्तम्भ गाडेका हुन्, जुन अहिले पनि कायम छ। ‘महामानव बुद्ध-पृष्ठ ९।’

स्वतन्त्र भारतकाप्रथम प्रधानमन्त्री पण्डित नेहरु विश्व इतिहासका एक अध्येता पनि हुन्। उनका कृतिहरुमध्ये डिस्कभरी अफ इण्डिया अर्थात् हिन्दूस्तानकी कहानीलाई धेरै महत्वपूर्ण पुस्तक मानिन्छ। यस किताबमा बुद्धका सम्बन्धमा उनले लेखेका छन्-‘यही’ नेपाल सरहदमा बुद्धको जन्म भयो, यहीँ उनी घुमफिर गरे, यहीँ गया विहारमा उनले बोधी वृक्षको तल बसेर ज्ञान प्राप्त गरे…।’

बुद्धको धम्मपदका सूत्रहरुको विशद व्याख्या प्रस्तुत गरेका गुरु ओशोले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरा लेखेका छन्। प्रसंग के छ भने भिक्षु आनन्दले बुद्धको महापरिनिर्वाणको अन्तिम क्षण हुँदै गर्दा सोधेका छन्- भगवान्। उत्तम पुरुष (बुद्ध पुरुष)को जन्म कस्तो ठाउँ र कस्तो कुलमा जन्म हुन्छ ? त्यसको जवाफमा बुद्धले भनेका सूत्रको व्याख्याको सर्न्दर्भमा ओशोले बताएका छन्-बुद्ध मध्ये क्षेत्र अर्थात् नेपालको लुम्बिनीमा जन्मेको कुरा।

अरुको कुरा छाडौं। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो नेपाल भ्रमणमा संविधानसभाको बैठकलाई सम्बोधन गर्दा-बुद्ध नेपालमा जन्मेको भन्ने कुरा धेरै पटक दोहोर्‍याए। उनले जतिपटक यो भन्छन् त्यत्ति नै पटक हाम्रा सभासद्हरुले खुबै ताली पिटेको दृश्य यो पंक्तिकारले टीभीमा हेरेको अहिले पनि सम्झना छ। यो हाम्रो लघुताभाषको प्रदर्शन बाहेक अरु केही होइन।

नेपालमा बुद्ध जन्मेको कुरा मोदीहरुले भन्दा मात्रै प्रमाणित हुने पनि हो र ? यो त इ. ४०३ तिर आएका चिनिया यात्री फाहियान हुवेनसा·का यात्रा वृतान्त र अभिलेख, पश्चिमा पुरातत्वविद् डा फुहर र खड्गशमशेरले गरेको उत्खननमा प्राप्त भएको शिलाचिन्ह (मार्करस्टोन) समेतले पनि सबै कुरा प्रमाणित गरेकै छ।

लुम्बिनीको संरक्षण र विकासः मुल मुद्दा

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उत्थान्तले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको विकासको चर्चाले राष्ट्रिय एवं अन्तराष्ट्रिय चासो बढाएको हो। भनिन्छ, बुद्ध जन्मभूमिको दारुण अवस्थादेखेपछि उत्थान्त निकै दुःखि र भावुक बनेका थिए। राजा महेन्द्रसंग उनले लुम्बिनीको महत्ता र अवस्था बारे गरेका कुराले लुम्बिनीको विकासमा केही प्रतिवद्धता बढे पनि ‘श्रृखण्डलाई हसियाँको बिंड’ बनाउने भने झैँ मात्रै भएको छ। सत्यकुरा यही हो हामीले श्रीखण्डरुपी लुम्बिनी महत्ता बुझ्न सकेनौं।

जापानका वास्तुकलाविद् प्राध्यापक केन्जो टागेले तयार गरेको गुरुयोजनाले निषेध गरेको सिमेन्ट उद्योगलगायतका धुलो र धुवा एवं कार्वन विर्सजन गर्ने उद्योगहरु यही क्षेत्रमा स्थापना गर्ने अनुमति सरकारले किन दिएको हो – प्राध्याकप टागेपछि बुद्ध संग संबन्धित विशाल क्षेत्रलाई समेटेर विश्व शान्ति शहरको गुरुयोजना अमेरिकाको हार्वर्ड विश्व विद्यालयमा प्राध्यापन गर्ने कोरियन नागरिक क्वाकले पनि बनाएका हुन्। तर, यी गुरुयोजनाले निषेध गरेका कामहरु गरेर हामी आफै लुम्बिनीलाई वर्बाद गर्दछौं। अहिलेको हाम्रो मूल राष्ट्रिय ध्यान लुम्बिनीलाई बचाउनमा लगाउनु पर्ने भएको छ। बुद्ध जन्मेको ठाउँकै हामीले रक्षा गर्न सकेनौं भने राष्ट्रिय कर्तव्यबाट च्यूत भएको ठहरिनेछ।

कपिलबस्तु र रुपन्देही जिल्ला कति सौम्याग्यशाली छ भने कनमुनि, क्रकुच्छन्द र शाक्यमुनि बुद्ध यही क्षेत्रमा जन्मेका हुन्। सांख्य दर्शका  प्रवर्तक कपिल मुनिको जन्म यही ठाउँमा भएको हो। यस्तो गुण गौरव र राष्ट्रिय धरोहर लाई प्रदूषण मुक्त राख्नु तीन करोड नेपालीको कर्तव्य हो।

१८ औं सार्क सम्मेलनमा भागलिन काठमाण्डौं आएका श्रीलंकाका तत्कालीन राष्ट्रिपति राजपाक्षे सम्मेलनमा सहभागी हुनु अगाडि लुम्बिीनीको दर्शन गर्न गए। दक्षिण एसियाली बुद्ध सर्किट निर्माण गर्ने उनले प्रस्ताव नै राखेका  हुन्। भुटानी प्रधानमन्त्री छिरिङ्को जोड पनि यसैमा थियो। दक्षिण एसियाका इस्लामिक राष्ट्रमा समेत बुद्धका महत्वपूर्ण चिनारीहरु छन्। अफगानिस्तानको बामियान बुद्ध प्रतिमा संसारको ठूलो मूर्ति मध्येको हो। त्यसैले हाम्रो देश भित्र पनि राष्ट्रिय बुद्ध सर्किट बनाई क्षेत्रीय बुद्ध सर्किटसंग जोडिन सक्यौं भने यसबाट सम्यताको पुनरोदय हुनसक्छ।

पहिलो पटक प्रधानमन्त्री हुँदा र प्रधानमन्त्रीहरु हटेपछि पनि पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीको विकासमा लागिहाल्ने जस्तो हाउभाउ देखाएका थिए। बुद्ध जन्मस्थलको विकासमा अशोक झैँ लाग्ने पनि बताएका हुन्। तर, अहिले उनको कार्य  सूचीमा लुम्बिनी हटे जस्तो छ। लुम्बिनीलाई भजाउने क्यास गर्ने हरु त धेरै निस्के तर, मुख्य कुरा लुम्बिनीको संरक्षण सर्ंबर्द्धन र विकासमा समर्पणको कुरा हो। प्रदेश ५ का युवा मुख्य मन्त्री शंकर पोखरेल तिलौराकोट पुगेको तस्वीर देखियो। वातावरण मन्त्री लालबावु र मुख्यमन्त्री पोखरलेले लुम्बिनी क्षेत्रलाई प्रदूषणमुक्त गर्न सके भने पनि ठूलो काम ठहरिने छ। नागरिक भेलाले समवेत स्वरमा प्रण गर्नु पर्छ-लुम्बिनीलाई प्रदूषित हुनबाट जोगाउन हामी सबै एक छौं। भवतु सब्ब मंगलम्।।

- तिलक पराजुली