क्यालेण्डर किन नबनाउने ?

माननीय सांसद शारदा पौडेलज्यू

हामी कास्कीबाट देवरहरूका लागि आदरणीय शारदा भाउजू। यहाँको क्रियाशीलता देखेर हामी आभारी छौं। बिहानदेखि बेलुकासम्म कार्यक्रममा दौडिरहेको देखिन्छ। संसद् चलेका बेलामासमेत बैठक र भत्ताकोसमेत पर्वाह नगरी जनताको दैलोमा पुग्नु हुन्छ। जसले बोलाए पनि जहाँ भए पनि पुगी दिनुहुन्छ। यो र ऊ भन्ने भेदभाव पनि राख्नु हुन्न। कसैले सहयोगका लागि याचना गरे भने सहयोग पनि गर्नुहुन्छ। अरुको जस्तो उधारो होइन, तत्काल नगद प्रदान गर्नुहुन्छ। कार्यक्रममा बोलाउँदा हुन्छ, आउँछु भनिदिनुहुन्छ। नाई भन्ने शब्द शायद यहाँको शब्दकोश मै छैन। अति सरल, सहज, तपाईंको गुणको वर्ण गरी साध्य छैन। मैले धेरै थोरै मात्र व्यक्त गरें रिसानी माफ होला।

तर, माननीय सांसदज्यू, चार ठाउँका आयोजकले एकै पटक बोलाए पनि तपाईंले हुन्छ, आउँछु भन्नु हुन्छ रे। एउटा मान्छे चार ठाउँमा कसरी पुग्नु हुन्छ – तर पुग्नु हुन्छ रे सुन्दा पनि आर्श्चर्य लाग्छ। एकै दिन चार ठाउँमा प्रमुख अतिथि बन्नुभएको कुरा पत्रपत्रिकामा पढ्दा हामी द· पर्दछौं। चार वटा कार्यक्रममध्ये पहिलो कार्यक्रम त समयमा होला। तर बाँकी कार्यक्रम प्रमुख अतिथिको प्रतिक्षामा अस्तव्यस्त हुन्छन्। आयोजकलाई पनि तनाव, कार्यक्रममा आएका अरु अतिथि तथा सहभागीहरुको पनि समय बर्बाद। यसतर्फ यहाँको ध्यान गइदिए राम्रो हुन्थ्यो कि – यतिखेर बजारमा नयाँ वर्ष २०७४ का क्यालेण्डर छ्यापछ्यापी आएका छन्। यहाँले पनि आफ्नो दैनिक काम गर्ने विवरणसहितको क्यालेण्डर बनाएर सार्वजनिक गरिदिए कसो होला ?

– कृष्ण सुदामा, पोखरा-११, फूलबारी

- अादर्श समाज सम्वाददाता