के गरीबका छोराछोरी डाक्टर बन्न सक्दैनन् ?

म आँटिलो तथा आत्मविश्वासयुक्त एक साधारण तथा गरीब विद्यार्थी हुँ। मेरो जन्म २०५९ कार्तिक २५ गते सोमवार भएको हो। दोर्र्दी गाउँपालिका -५, लमजुङ जिल्ला तथा हिमाली प्रदेश तिर नै मेरो जन्म भएको हो। जहाँ मानिसहरु अज्ञानी तथा पुरानो कुराहरु प्रयोग गर्छन।

जब म कक्षा २ मा पढदै थिएँ मेरो हात भाचिँएको थियो म आँपपीपल अस्पतालमा भर्ना हुन गएँ। त्यसबेला मैले सधैँ कसरी डाँक्टर बन्ने अनि कसरी डाक्टर बन्न सकिन्छ भन्ने कुराहरु मात्र दिमागमा राख्थेँ। त्यसबेला विद्यालयमा शिक्षकले मलाई धेरै पिट्ने गर्दथे। मेरो पर्ढाई पनि त्यति राम्रो थिएन। किनकि जहिले पनि घाँस काट्ने र बाख्राको हेरचाहमा मात्र मेरो दिन व्यतीत हुन्थ्यो। केही दिनपछि वि.स. २०६५ साल आश्विन २५ गते मेरी आमा फोक्सोको क्यान्सरबाट पीडित हुनुभएको कुरा थाहा भयो। जहाँ ६ महिना जति आमाको उपचारको क्रममा ८ लाख ऋण लाग्यो।

अनि एक दिन अचानक आमाले मलाई भन्नुभयो “छोरा तिमी धेरै पढेर एउटा सच्चा तथा सत्य डाक्टर बन्नु है म जस्तै अरु आमाहरुलाई अकालमै मृत्यु हुनबाट बँचाऊ है भन्नुभयो। किनभने सम्पूर्ण डाक्टरहरुले सर्वप्रथम पैसाको माग गर्छन्। यसैकारणले गरीब आमाहरुको अकालमै मृत्यु हुन्छ”। अब मेरासामु धेरै प्रश्नहरु उत्पत्ति हुन थाले।

किनभने म कक्षा २ पढ्दादेखि नै आमाको मुखबाट एउटै कुरा सुन्थेँ कि तिमी पछि ठूलो डाक्टर हुनु। अनि म पनि आमाको सपना साकार पार्न अत्यन्त उत्सुक थिएँ। यसपछि म मेडिसिन पढ्ने प्रस्ताव लिएर सहयोगको लागि सबै परिचित व्यक्तिहरुसँग गएँ, नाता सम्बन्धीसमक्ष पुगेँ। तर यो लक्ष्यमा कसैले पनि मलाई सहायता गरेनन्।

बरु आमाको मृत्युपछि छिमेकीहरुले हाम्रो खेतहरु मिच्दै लगे। झन अरु कुराहरुमा पनि आँखा लगाउने गर्नथाले। अनि केहीले त चामल तथा अन्य खानेकुराहरुसमेत झिकेर लैजाने गर्दथे। त्यस बेला म धरधरी रुन्थेँ। किनभने एकातिर आमाको याद अनि अर्कातिर छिमेकीहरुको यस्तो व्यवहार ?

एकातिर बाबाले आमाको निधन पछि अत्यधिक मात्रामा चुरोट तथा रक्सी खाँदै गाउँ गाउँ डुल्दै हिँड्न थाल्नु भएको थियो। अर्कातिर मेरा भाइ र बहिनीको पर्ढाईमा धेरै नराम्रो असर पर्न थालेकोमा मलाई सहीनसक्नु पीर पर्न थाल्यो। तर हामी तीन जना आमा नभएका टुहुरा बालक बालिकाहरुले मात्र के गर्न सकिन्थ्यो र ?

बहिनी र भाइले केही काम गर्न सक्दैनथे। तर मैले अलि-अलि घाँस काट्ने र भात पकाउने काम गर्थे। अवेला रातितिर आएर बाबाले हामीलाई धम्क्याउने काम गर्नुहुथ्यो। हाम्रो पढाइमा ठूलो असर परिरहेकोमा मलाई चिन्ता लागिरहन्थ्यो। मेरो विद्यालय पनि टाढा पर्दथ्यो।

श्री पाचोक मा.वि.मा पुग्न मेरो घरबाट १ घण्टाको लामो बाटो हिँड्नु पर्दथ्यो। विहानै उठेर बाख्र्राको घाँस काटेर आउँदा घरमा खाना नै पकाएको हुँदैनथ्यो अनि भोकभोकै स्कुल जान्थेँ। परीक्षा पनि आइहाल्यो। रातभरि रातभरि पढ्थेँ विहान घरको कमकाज सकेर परीक्षा दिन जान्थेँ। यस्तै थियो मेरो डेली रुटिन। केही समय पछि परीक्षाको रिजल्ट पनि प्रकाशित भयो। म कक्षा ९ मा प्रथम हुन पुगेँ। सम्पूर्ण साथीहरु पनि खुसी थिए। साथीहरुलाई पनि कहिलेकाँहीँ शिक्षक नभएको बेलामा म आफूले नै पढाउने काम गर्थे र यसैबाट मन बुझाउने र सन्तोष लिने गर्दथेँ।

विस्तारै मैले आफू भन्दा ठूला दाईहरुलाई सोधी डाक्टर पढन्लाई अप्शनल म्याथ लिनुपर्छ भन्ने कुरा सुनाएँ। दाइहरुसँगै मैले पनि शिक्षक तथा प्राधानाध्यापक सँग अप्शनल म्याथको पढाइ हुनुपर्दछ भनेर माग गर्‍यौँ। अनि ओ.पी.टी.म्याथको पढाइ पनि सुरु भयो। यो विषयमा मेरो जहिँले पनि ४०, ५० जति अंक मात्र आउने गथ्यो। तर कक्षा ९ र १० मा  मैले ७६.८ ल्याएर विद्यालयको उत्कृष्ट विद्यार्थी भएँ। त्यस बेला मेरा अंग्रेजी शिक्षकले मलाई एउटा अंग्रेजी डिक्शनरी दिनुभयो। किनकि म अंग्रजी विषयमा अलि कमजोर थिएँ। कक्षा १० उत्तीर्ण भएपछि मैले एस.इ.इ. परीक्षाको लागि तयारी गरेर कक्षा १० मा ओ.पी.टी. म्याथमा ८० मार्क ल्याउँदा खुशीले मन थाम्न सकेको थिइन।

जब एस.इ.इ परीक्षा  नजिकै आयो। म अत्यन्त उत्सुक र चञ्चल थिएँ परीक्षा दिनका लागि। हाम्रो परीक्षाको केन्द्र भू.पू सैनिकमा परेको थहा भयो। परीक्षामा उत्कृष्ट हुने ठूलो आत्मविश्वासकासाथ डेरामा पुगेँ। कठोर मिहिनेत गर्दछु र परीक्षा दिन्छु भन्ने अठोट मनमा लिएको थिएँ तर मेरो अठोट त्यतिबेला अचानक आक्रोश र आँसुमा बदलियो जतिबेला डेरामा यस्ता साथीहरु थिए, जहाँ मैले पढ्ने त के किताब समेत छुन नपाउने भएँ। किनभने उनीहरु यति धेरै लागूपदार्थ सेवन गर्दथे र हल्ला गर्दथे जहाँको वातावरण अत्यन्त प्रदूषित भएको थियो। म अको डेरा सर्न पनि सक्दैनथेँ। किनभने मेरो आर्थिक अवस्था अत्यन्त कमजोर थियो। यसैले म तिनै लागूपदार्थ सेवन गर्ने साथीहरुसँग ८ दिनसंम एउटै कोठामा बस्न म बाध्य हुन पुगेँ।

परीणामस्वरुप एस.इ.इ. परीक्षामा मैले ३.२ जी.ए. मात्र ल्याउन सफल भएँ। मन थाम्न नसकेर म धेरै दिनसंम आमालाई संझेर एक्लै रोइरहेँ, रोर्इरहेँ। कक्षा २ देखिको डाक्टर बन्ने र आमाको सपना साकार पार्ने काम जस्ताको त्यस्तै रहृयो। राम्रो डिभिजन ल्याएर काठमाण्डौँको राम्रो क्याम्पसमा पढछु भन्ने मेरो सपना पोखरामा नै सीमित भयो।

आखिरमा कालिका बहुमुखी क्यापसमा मेरो भर्ना भयो। ११ कक्षामा  मैले विज्ञान विषय लिएर पढेको थिएँ प्रथम दिनमा शिक्षक आउनुभयो र पढाउनुभयो। अनि मात्र थाहा भयो म त इनारमा डुबेको मानिस रहेछु भन्ने कुरा। किनभने अरुले विज्ञान पढ्ने सम्बन्धमा पहिले नै जानकारी गरेका रहेछन् तर म गाउँको मान्छे  के हो विज्ञान भन्ने नै थाहा थिएन। जतिबेला मैले ९० प्रतिशत अंक ल्याएर नेपाल टप हुनेे र छात्रवृत्रि लिएर डाक्टरी पढ्ने सपना  देखेको थिएँ, जुन मेरो लागि सबै अधुरो भयो। किनभन्दा डाक्टर पढन्लाई मसँग धेरै सम्पत्ति थिएन।

उच्च माध्यमिक बोर्ड परीक्षामा पनि अंगे्रजी, केमेष्ट्री र बायलोजीमा राम्रै अंक आएपनि फिजिक्स र गणितमा मनले सोचेको भन्दा निकै फरक अंक आयो।  बेला बेलामा मनमा केही कुराहरु आउथ्यो ती धनी मानिसका छोराछोरीहरु किन डाक्टरी पढ्न चाहँदैनन् ? आखिर किन ? म परीक्षाको अन्तिम दिनमा मन थाम्न नसकेर धरधरी रोएँ। के यस्तै हो जिन्दगी ? केवल दुःखः र आँशुमा मात्र सीमित हुन्छ जस्तो लाग्नथाल्यो।  मेरो मन कहिले हँसिलो हुन्थ्यो त कहिले एकदम दुखी हुन्थ्यो। मैले डाक्टर बन्छु  भने पनि समयले साथ नदिएपछि म के गरुँ – जव कि मसँग पढ्नको लागि सम्पति नै थिएन। के गरीबको छोरो डाक्टर बन्न सक्दैन त –

कोठामा म धेरैजसो भोकभोकै सुत्नुपर्दथ्यो किनभने मसँग पैसा थिएन। कहिले कहिले मनमा यस्तो कुराहरुपनि आउने गरेको थियो यदि म धनीको छोरा हुँदो हूँ त  सबै विषय लिएर पढ्थेँ हुँला। प्लसटुमा सधैजसो नराम्रो लुगा नै लगाउने गर्थे। सधै चप्पलको प्रयोग गर्थे। अरु साथी जुत्ता लगाएर आउँथे। जुत्ता लगाएर आएको बेलामा मलाई कस्तो कस्तो लाग्थ्यो।

कहिले आज के पकाउने के खाने भन्ने कुरामा पनि धौँ-धौँ पर्दथ्यो मेरो सोचाई भनेको नेपाल टप बन्ने र छात्रवृत्ति प्राप्त गरेपछि डाक्टरी पढ्ने गहिरो इच्छा थियो तर म बन्न सकिन मेरी आमाको धोको पूरा गर्न पनि सकिन। आजकलका डाक्टर सबै पैसाबाट नै हुँदारहेछन्। ती गरीबका छोरा सधैँ सधैँ पछि परिरहेका छन्। यसकारणले होला नेपलाका डाक्टरहरु सबै र सधैँ पैसाको लागि मात्र मानिसको  उपचार गर्दारहेछन्। के हामी गरीबका छोराछोरीहरु डाक्टर बन्न नपाउने हो  त ? नेपाल सरकारले यसको उत्तर देओस्।

- मैतसिङ गुरुङ