किन मनाइँदैछ यस्तो तीज ?

हाम्रा चाड पर्वहरु राष्ट्रिय सम्पदा हुन्। यिनको संरक्षण सर्म्बर्द्धन हुनुपर्छ। यसमा कसैको दुर्इमत छैन। समय अनुसार मानिसको आनीबानी परिवर्तन हुन्छ। संस्कार संस्कृति परिवर्तन हुँदै जान्छ। यो परिवर्तन प्रगतितर्फ उन्मुख हुनुपर्छ। प्रतिगमनतर्फ होइन। तर तीज पर्व प्रगतितर्फ होइन किन उल्टो दिशातर्फ गइरहेको छ। पर्व पर्वको मूल मर्म र भावनाविपरीत महिलाहरु पर्व मनाउँदैछन्। पौराणिक कालमा कथा अथवा मिथकलाई मान्ने हो भने भगवान् शिवसँग पार्वतीको प्रेम प्रसंगलाई लिएर तीज मनाइएको मानिन्छ। पार्वतीले विवाह गर्न चाहेको व्यक्तिसँग विवाह गर्न उनको पिताजीले रोकेपछि पार्वती पनि केही नखाएर निराहार व्रत बसेको प्रसंग तीजको पर्वसँग जोडिएको छ। यसरी हेर्दा तीज पर्व महिलाको आत्मनिर्णयको अधिकारसँग जोडिएको छ। हिजो महिला माथिको चरम शोषण र दमनको प्रतिरोध स्वरुप तीजको पर्व जोडिएको थियो। वर अथवा जीवनसाथी रोज्न पाउने अधिकारसँग यो पर्वको मर्म र भावना थियो। आजकल तीज पर्व विकृति र विसंगतितर्फ भासिँदैछ ।

भात खाँदै हो कि दर खाँदै हुनुहन्छ ?

तीजमा दर खाने चलन छ। आज दर खाएर भोलिपल्ट ब्रत बस्ने तीजको वास्तविकता हेा। तर पनि महिनौसम्म होटल, पार्टी प्यालेसमा भात खाने र खुवाउने चलनलाई दर खुवाउने भनिन्छ। समाजका सचेत वर्ग पत्रकरा, वकिल, नागरिक समाजका संघसंस्थाले समेत आफ्नो संस्थाको व्यानर टाँसेर भात खुवाएका छन्। सबै क्षेत्रका महिलाहरु फुरु· परेर भात खाएर छमछमी नाचेका देखिन्छन्। भात खानुलाई दर  खाने भन्ने हो भने तीजको वास्तविकता खुइलिँदै गरेको देखिन्छ।

एकथरी मान्छेहरु भन्छन्, तीजको नाममा कमसेकम महिलाहरु आपसमा भेटघाट गर्ने अवसर पाएका छन। आध्यात्मिक आनन्द लिएका छन्। यो तर्क मान्ने हो भने महिलालाई मान्छेको दर्जामा नराखी यस्तै पर्वमा मात्र मानवअधिकार, स्वतन्त्रता दिने अन्य बेलामा नदिने परिपाटीभित्र खुम्चिन्छ। महिलालाई उनको जीवनभरि पुरुषसरह स्वतन्त्रता उपभोग गर्न दिनुपर्छ। तीजमा अथवा यो पर्वको वरिपरिको महिनामा मात्र भात खुवाएर नाच्न दिएर के महिलाको जीवन सुध्रन्छ र ? अझ भनिन्छ रे पुरुष वर्षभरि होटल रेष्टुरेन्टमा गएर खान हुन्छ हामी महिला तीज लागने महिनाभरि होटलमा खाना खाँदा नाँच्दा के को आपत्ति –

विचरा त्यो दिमागको के गल्ती होला र ? पुरुषप्रधान समाजमा पुरुषले महिलाको दिमागमा जे भरिदिए त्यो भने। यसमा उनीहरुको गल्ती छैन-हाम्रो समाज, संस्कार र संस्कृतिको परिणाम हो, यो। पुरुषले वर्षभरि गल्ति गर्‍यो भनेर महिलाले पनि गल्ती गर्नुपर्छ भन्नु प्रतिरोध मात्र हो। गलत कार्य गर्नेलाई रोक्नुपर्छ। गल्ती पछ्याउने होइन, महिलाहरु आफै जमघट भएर आफै भात खान रेष्टुरेन्ट जान सक्छन्। त्यहाँ पुरुषले आयोजना गरिदिनुपर्ने कमजोरी हामी आफै निर्माण गर्दैछौं।  होटल, पार्टीप्यालेस रेष्टुरेन्टमा महिला आफै जान सक्छन्, कसैले लगेर जाने होइन। यो प्रवृत्तिले महिलालाई परजीवी बनाउँछ। वर्षभरि पुरुषले खाएको जूठो थाल स्याहार्नुपर्ने एकदिन दरको नाममा भात खुवाउने ढोंगी चलनलाई स्वयंमा महिलाले विचार गर्नुपर्ने। अब तीजमा दर खाने हो भात खाने होइन। भात खान भनेर महिलाहरु होटल रेष्टुरेन्ट, पार्टीप्यालेस नधाएकै राम्रो हुन्थ्यो कि ?

तीजको विकृत पक्ष?

हाम्रो धर्म संस्कृति, विधि विधान पनि महिला विरोधी छन्। पौराणिक कालको कथा हेर्ने हो भने पनि पार्वतीले शिव पति पाउन त्यत्रो त्याग गरेको इतिहास छ। तर पार्वतीलाई पाउन शिवले के त्याग गर्ने ? हाम्रो धर्मका ठेली मौन छ। के प्रेममा महिलामात्र समर्पित हुनुपर्ने हो। पुरुषले त्याग समर्पण गर्न पर्दैन। यदि त्यस्तै हो भने अब महिलाले शिव र पार्वतीको गाथा नपढे हुन्छ। तीज मनाउनुको कुनै अर्थ छैन। दिनभरि निरहार भएर लोग्नेको आयु बढाउन व्रत बस्ने चलन सर्वदा बेठीक छ। यो कुसंस्कारले पुरुषलाई श्रेष्ठ र नारीलाई कमजोर मानिरहन्छ। पुरुषको भक्तिभाव, सेवा गरेर नारीको जीवन बिताउने कथित किम्वदन्तीको पर्व देखिन्छ, तीज।

यसैगरी पञ्चमीको दिन दतिवन चपाएर नुहाउने प्रचलनको पछाडि पनि कुसंस्कार र भ्रम छ। महिला रजस्वला हुँदा छोइछिटो भएका कारण पाप कटनी गर्न दतिवन चपाएर खोलामा फाल्ने  प्रचलन छ। रजस्वला प्राकृतिक नियम हो। यो सृष्टिको संरचनालाई विभेद गरेर छोइछिटो गर्नु गम्भीर अपराध हो। बरु दतिवन स्वास्थ्यको दृष्टिकोणले लाभदायक छ भनेर प्रयोग गरे राम्रो मानिन्छ। यसलाई धर्मसँग जोडेर महिलालाई कुसंस्कार सिकाउनु सर्वथा अनुचित छ। अब पत्नीले धर्म कर्म गरेर पतिको आयु बढाउने भ्रमको खेती गर्नु हुँदैन। रक्सी चुरोट तथा मादक पदार्थ खाएर कुलतमा फँसेको पतिलाई पत्नीले निराहार व्रत बसेर सुध्रने भए अझै आर्श्चर्य हुन्थ्यो।

भेंडो संस्कार :

मान्छे भेंडो संस्कारमा रमाउँछ। तीज पर्व पनि यस्तै भइरहेछ। एउटा संघसंस्थाले दर खुवायो भनेपछि अन्य संघसंस्थाले पनि सिको गर्ने चलन छ्यापछ्याप्ती छ। एउटाले होटलमा खुवाए सबैले होटलमा दर खुवाउने, अकोर्ले पार्टीप्यालेसमा खुवाए अन्यले पार्टीप्यालेसमा नै लगेर दर -भात), खुवाउने चलन अथवा भेंडो संस्कृति हामीकहाँ छ। महिलाहरुमा पनि देखासिकी संस्कृति छ। गहना सारीको प्रदर्शन गरेर कथित राम्री बन्ने होडमा महिलाहरु आफै लिलाममा हाजिर भएका छन्। यो लिलामी अभियानमा साक्षर आमा दिदीबहिनीको लावा लस्कर भन्दा महिला अधिकारकर्मीहरु अझ अगाडि देखिए।

यतिबेला उनीहरुलाई सोह्र श्राद्धको पण्डितभन्दा बढी चटारो भयो। एकै दिनमा दर्जनौ होटल रेष्टुरेन्टमा हाजिर हुनुपर्ने तीजे उर्दी आयो। यो उर्दीले उनीहरुको महिला अधिकारको धज्जी उडाएको छ। महिला चरणकी दासी होइन, दयामायाको पात्र होइन भन्ने भनाइलाई होटल रेष्टुरेन्ट तथा पार्टीप्यालेसको खानपानले पुरिदियो। दिदीबहिनीहरु पुतली बनेर नाचे अधिकारको खान्की वानकीमा सुनको जलप लाग्यो। तीजमा महिलाको आत्मनिर्णयको अधिकारबारे विचार विमर्श भएको भए कति राम्रो हुने थियो। तीज पर्व नाच्न र खानको लागिमात्र होइन। यो अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पर्व पनि हो।

- सुरेन्द्र थापामगर