कास्की क्षेत्र-२ का वाम उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा यही मंसिर २१ गते मतदान हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवार आ-आफ्ना एजेण्डासहित चुनावी मैदानमा होमिएका छन्। कास्कीमा ९ पदका लागि १७ दल तथा स्वतन्त्र गरी ९५ उम्मेदवार रहे पनि मुख्यतः नेपाली काँग्रेस र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा छ। निर्वाचन तिथि नजिकिँदा जित आफ्नो पक्षमा पार्न उनीहरूको प्रचार उत्कर्षमा छ। यसै सर्न्दर्भमा मुख्य प्रतिष्पर्धी उम्मेदवारको राजनीतिक यात्रा र मतदातासामु उनीहरूको प्रतिबद्धता कस्तो छ त – प्रस्तुत छ आदर्श समाजको निर्वाचन विशेष सामग्री :

मेयर हुुँदाको काम बाँकी छ

पोखरा नगरमा २० वर्षअघिका मेयर हुन्, कृष्ण थापा। २०१७ साल चैत १६ मा पोखरा १६ बाटुलेचौरमा जन्मिएका थापाले शिक्षा संकायमा स्नातक र सीएमए गरेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनपछि उनी राजनीतिमा सक्रिय भए। उनले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौबाट राजनीति थालेका थिए। २०४१ सालमा पार्टीको सदस्यता लिएका थापा उतिबेलै अनेरास्ववियु कास्कीको अध्यक्ष र पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य भएका थिए। २०४३ देखि २०४५ सम्म उनी पोखरा, दमौली र गोरखा गरी झण्डै २ वर्ष जेल परे। २०४५ मा छुटेपछि अनेरास्ववियु केन्द्रीय सदस्य भए भने ०४७ सालमा पोखरामा अनेरास्ववियुको दशौं महाधिवेशन हुँदा मूल व्यवस्थापन समितिको संयोजक थिए। त्यसपछि २०५० मा पोखराको नगर सचिव बने। जनसांस्कृतिक संघको संस्थापक नगर अध्यक्ष थापा दुर्इ दशकदेखि लगातार नेकपा एमाले कास्कीको जिल्ला कमिटीमा छन्। २०६६ सालदेखि पार्टीसचिव हुँदै हाल अध्यक्ष थापासँग पोखरा उपमहानगरपालिकाको प्रमुख भएर जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव छ। २०४९ सालमा उपमेयरमा पराजित भएका थापा ०५४ सालमा मेयरमा निर्वाचित भएका थिए। २०४७ मा नेकपा माले जिल्ला सदस्य भएका उनी पार्टीएकीकरणपछि २०५१ मा एमालेका जिल्ला सदस्य थिए। थापाले ०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र क्षेत्र २ को पार्टीसंयोजक भएर पनि काम गरे भने विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व सम्हाले । उनी नेपाल चिकित्सक सहायक संघको संस्थापक सचिव समेत हुन्। साहित्य, संगीत तथा खेलमा विशेष रुची राख्ने उनी गीतकार समेत हुन्। थापा दोस्रो संविधानसभामा टिकट पाएर पनि नेपाली काँग्रेसकी नेतृ शारदा पौडेलसँग झिनो मतान्तरले पराजित भए। अहिले दोस्रोपटक जनताको मतको आशमा रहेको उनी बताउँछन्। क्षेत्र २ प्रदेश (क) का वाम गठबन्धन उम्मेदवार थापाले विकासको लागि निकास ल्याउने जिम्मा आफ्नो रहेको बताए।

आफू मेयर हुँदा अन्य शहरका मेयरको तुलनामा उदाहरणीय काम गरेको दावी गर्छन्। पोखरामा त्यस बेला ढलको व्यवस्था गरेर न्यूरोडको बाटो चाक्लो बनाउने, पोखरासँग विभिन्न अन्तर्राष्ट्रिय नगरसँगको सम्बन्ध विस्तारमा उनले काम गरे। पोखराको फोहोर व्यवस्थापनमा उनकै पालामा ल्याण्डफिल साइट बन्यो । ‘जनताको काम भोट हाल्ने हो, हाम्रो काम विकास गर्ने’-उनले भने-‘विकासका लागि आवश्यक पर्ने सबै पूर्वाधार योजना बनाएर अघि बढ्ने छौं।’ सबै जनताको साथ पाउने आशा व्यक्त गर्दै थापाले चुनावमा अत्यधिक मतले विजयी हुने विश्वास प्रकट गर्दछन्। ‘कम्युनिस्ट र यो क्षेत्रको सम्बन्ध जति पुरानो छ, त्यतिनै बलियो पनि छ’- उनले भने-‘जनताको विश्वास कायम राख्न सोही अनुसारको काम गर्नेछु।’

समृद्ध पोखरादेखि नमूना क्षेत्र बनाउने उनको योजना छ। समृद्ध पोखराका लागि पोखरालाई स्मार्ट सिटी बनाउने र त्यसका लागि अत्यधुनिक सुविधा सहितको पर्यटन, शिक्षा, खेलकुद र स्वास्थ्य सेवाको उत्कृष्ट सहर बनाउने उद्घोष गरेको छ। प्रत्येक वडामा एक महिला वा पुरुषलाई रोजगार बनाउने कार्यक्रम लागू गर्ने, प्रदेशको आर्थिक समृद्धि र रोजगार वृद्धिका लागि उद्योग व्यवसाय सञ्चालन गर्न स्वेदशी तथा ‘विदेशी पुँजी आकषिर्त गर्ने, युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, तालिम तथा लगानीमै वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ। पोखरालाई पर्यटन, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन, चलचित्र निर्माण, सूचना प्रविधि लगायत सेवा प्रदान गर्ने उद्योग सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने, राष्ट्रिय स्वाधीनता अनुकूलको अर्थतन्त्रको निर्माण गर्न पहल गर्ने थापाको योजना छ। पोखरामा पर्यटन, कृषि तथा वन, स्वास्थ्य, इञ्जिनिरिङ र सूचना प्रविधिसम्बन्धी प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि महाविद्यालय सञ्चालन गर्ने, वन, वन्यजन्तु, जैविक विविधता र वातावरणको अध्ययन अनुसन्धान गर्ने मानीत विश्वविद्यालय स्थापना गर्न पहल गर्ने भनिएको छ। प्रत्येक वडामा वाचनालय खोल्न तथा प्रत्येक बालबालिकालाई अनिवार्य विद्यालय पठाउन आवश्यक कार्यक्रम लागू गर्ने थापाको प्रतिबद्धता छ।

विकासकै लागि राजनीति

तत्कालीन भरतपोखरी गाविसको जामुनाबोटमा २०२६ सालमा जन्मिएका रवीन्द्र अधिकारी विद्यार्थी जीवनबाटै राजनीतिमा उदाएका हुन् । उनी अहिले नेपाली राजनीतिमा स्थापित भैसकेका छन् । गाउँमै रहेको ब्रहृमज्योति स्कुलमा प्राथमिक शिक्षा लिएका उनले शान्ति उदयबाट माध्यमिक तहको पढाइ पूरा गरे। २०४२ सालमा पृथ्वीनारायण क्याम्पस भर्ना भएसँगै उनको राजनीति सक्रिय हुन थाल्यो। उनी २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ मै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पसहुँदै २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए।

२०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजक भएका अधिकारी २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बने। उनले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तर्राष्ट्रिय संगठनमा रहेर काम गरेका उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भैसकेका छन्। नेपालको परिवर्तित शासन व्यवस्थामा पनि उनको भूमिका सह्रानीय छ। पञ्चायत विरोध गरेकै कारण २०४६ सालमा उनी पटकपटक गरी ६ महिना जेल परेका थिए। शिक्षामा भएको निजीकरण र व्यापारिकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा लगायत आन्दोलनमा उनी अग्रभागमा थिए।

२०४५ सालमा पार्टीको संगठित सदस्यता पाएका उनी २०४६ मा पोखरा नगर कमिटी, २०४८ मा पार्टीजिल्ला कमिटीमा हुँदै केन्द्रीय राजनीतिमा होमिए। २०५४ मा पार्टीविभाजन हुँदा नेकपा मालेमा लागेका रवीन्द्र २०५६ को चुनावमा कास्की क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ चुनाव लडेका थिए। त्यसपछि २०५८ मा पार्टीएकीकरणसँगै उनी एमालेमै छिरेर २०६० र २०६३ मा दुर्इ कार्यकाल कास्कीको सचिव भए। त्यसपछि दुर्इवटै संविधानसभा चुनावमा तत्कालीन कास्की क्षेत्र ३ बाट विजयी भएका थिए। सांसद भएपछि उनी सार्वजनिक लेखा समिति र विकास समितिमा रहेर काम गरे। उनले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्युवा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायत देशमा पुगेर विकास र राजनीतिबारे जानकारी लिएका छन्। उनै अधिकारी अहिले चौथो पटक कास्कीबाट संसदीय चुनावमा प्रतिष्पर्धा गर्दैछन्। एमाले र माओवादी गठबन्धनपछि साझा उम्मेदवार उनी अहिलेको चुनावमा जित आफ्नै पोल्टामा पारेर सांसदको हृयाटि्रक गर्ने दाउमा छन्।

उनी पोखरा र समग्र कास्कीकै विकासका लागि सफल सांसद हुन्। यहाँका सडक, खानेपानी, प्राकृतिक श्रोतसाधन संरक्षण तथा उपयोग गर्न उनको नेतृत्व महत्वपूर्ण छ। पोखरा विमानस्थल निर्माणमा पनि अधिकारीले अग्रणी भूमिका निर्वाह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहयोग समितिको संयोजक भएर काम गरेका उनले आफै संयोजक हुँदा विमानस्थल शिलान्यासको मेसो मिलाए। कोरलादेखि सुस्ता जोड्ने सडकको ट्रयाक खोल्न उनी सक्रिय भएर लागे। त्यसबाहेक उनको विकासमा योगदान सम्झनालायक छ। विकास र राजनीतिसँगै अगाडि बढाउनुपर्ने अधिकारी बताउँछन्।

‘राजनीतिविना विकास सम्भव नै छैन, विकास नगरे त्यो राजनीति टिकाउ हुन सक्दैन’-सांसद विकास समितिका पूर्व सभापति रहेका उम्मेदवार अधिकारी भन्छन्-‘म देशको समृद्धि र विकासकै लागि राजनीति गरिरहेको छु।’ कास्कीमा आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण काम थालनी भएको भन्दै त्यसको पूर्णताका लागि आफूले दावेदारी पेस गरेको अधिकारीको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं-पोखरा-लुम्बिनी फाष्टट्रयाक, काठमाडौं-पोखरा रेलमार्ग, मध्यपहाडी राजमार्ग लगायत योजना तयारी र कार्यान्वयनमा आफ्नो महत्वपूर्ण भूमिका रहेको अधिकारीले बताए। त्यसकै पूर्णता दिन उम्मेदवार बनेकोले जनताको विश्वासको मत जित्ने रवीन्द्र दावी गर्छन्। ‘मैले यसअघि गरेका काम नै मेरो जितको आधार हो। मैले कति गरें, यसअघि कति काम भयो जनताले मूल्यांकन गरेका छन्’-उनले भने-‘अत्यधिक मत ल्याएर चुनाव जित्छु। म ढुक्क छु।’

पोखराले बेच्ने पर्यटन नै हो

कास्कीमा दोस्रो पटक चुनावमा होमिएका छन्, नेकपा माओवादी केन्द्र कास्की इञ्चार्ज राजकाजी गुरुङ। २०३४ साल फागुन ७ गते पर्वत, पैयुँ गाउँपालिका वडा नं. ५ बानीडाँडा, साविक हुवास गाविस वडा नम्बर ४ मा जन्मिएका गुरुङ सानै उमेरदेखि राजनीतिमा होमिए। त्यसैले एसएलसीपछि उनको अध्ययन अघि बढ्न पाएन। १२ वर्षकै उमेरमा २०४६ मा विद्यार्थी राजनीति (मोटो मशाल) बाट उनको राजनीतिक जीवन अघि बढ्यो। २०५० सालमा पार्टीसदस्यता लिए। २०५१ सालमा नेकपा माओवादीको पूर्णकालीन सदस्य भएका गुरुङ २०५२ मा विद्यार्थीको जिल्ला अध्यक्ष (मोटो मशाल), २०५३ मा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुँदै २०५४ मा क्रान्तिकारी विद्यार्थीको धौलागिरी अञ्चल इञ्चार्ज भए।

सोही वर्ष धौलागिरी क्षेत्रको पर्वत, बागलुङ र म्याग्दीको नेकपा माओवादी जिल्ला कमिटी सदस्य बनेका उनको २०५५ सालमा विद्यार्थी फाँट हेर्न कास्की आगमन भयो। त्यही वर्षदेखि नेकपा माओवादी कास्कीको जिल्ला कमिटी सदस्य, २०५६ मा गोर्खा, लमजुङको संयुक्त जिल्ला कमिटी सदस्य, २०५९ मा लमजुङ जिल्ला सेक्रेटरीदेखि २०६० मा लमजुर्ङ इञ्चार्ज बन्दै भूमिगत राजनीतिमा लागे। २०६२ देखि २०६४ सम्म कास्की सेक्रेटरी भएका उनी २०७२ सालबाट कास्की र पर्वत दुवै जिल्लाकोर्र् इञ्चार्ज तथा २०७३ बाट कास्की इञ्चार्जका रुपमा कार्यरत छन्।

जनआन्दोलनपछि पहिलो संविधासभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजयी उनी २०७० को चुनावमा भने पर्वत २ बाट पराजित हुन पुगे। गुरुङ अहिले एमाले र माओवादीको साझा उम्मेदवार बनेका छन्। वाम गठबन्धनले बहुमतको सरकार बनाएपछि जनताले साँच्चैको विकासको अनुभूत गर्ने गुरुङ बताउँछन्। ‘समाजवाद भनेको समानता हो, विभेदको अन्त्य हो, समृद्धि प्राप्ति हो, कसैको निजी सम्पत्ति खोस्ने व्यवस्था ल्याउन लागेका छैनौं’-उनले भने-‘एजेण्डाले जित्ने हो। कोहीदेखि कोही तर्सन आवश्यक छैन।’

उनी कास्की क्षेत्र नं’ २ को प्रदेश(ख) यहाँको खास बजार र कोर ठाउँ भएकाले यसलाई कोरलाबाट पोखरा, केरुङबाट पोखरा, सुनौलीबाट पोखरा सिधैँ आउने द्रूतमार्ग निर्माण गर्ने लक्ष्य रहेको बताए। पोखरामा भएका ताल, गुफा, हिमाल लगायतलाई संरक्षण, सर्म्बर्द्धन र प्रवर्द्धन गरेर त्यसको समुचित विकास गर्दै पर्यटन व्यवसायमा छलाङ मार्न सकिने उनको विश्वास छ। उनले पोखराका हरेक घरमा पानीको ट्याङ्कर र दमकल पुग्न सक्ने गरी पोखरा सहरलाई व्यवस्थित गरिनुपर्ने र त्यसका लागि आफूले योजना बनाइरहेको सुनाए। पोखरामा वाषिर्क २० लाख आन्तरिक तथा बाहृय पर्यटक भित्राउने योजना प्रस्तुत गर्दै उनले प्राकृतिक सम्पदा र सौर्न्दर्यले भरिपूर्ण यो क्षेत्रको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएकाले पोखरालाई पर्यटनको उत्कृष्ट गन्तव्यस्थल बनाउने बताए।

अर्मलाकोट, जुम्लेटी, काहुँ, मौजा, भलाम तथा वरपर रहेका डाँडामा पर्यटन पूर्वाधार विशेष लागू गरी हाइकिङ, दृश्यावलोकन केन्द्र एवम् सूयोर्दय र सूर्यास्तको अवलोकन केन्द्रको रुपमा विकास गर्ने, केवलकार सञ्चालन, आवश्यकता अनुसार थिम पार्क, बोटानिकल गार्डेन, रिक्रियसन पार्क र भ्यू टावर निर्माण गर्ने उनको प्रतिबद्धता छ।

पोखरामा पर्यटन, कृषि तथा वन, स्वास्थ्य, इञ्जिनिरिङ र सूचना प्रविधिसम्बन्धी प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि महाविद्यालय सञ्चालन गर्ने, प्रत्येक वडामा वाचनालय खोल्न तथा प्रत्येक बालबालिकालाई अनिवार्य विद्यालय पठाउन आवश्यक कार्यक्रम लागू गरिने उल्लेख छ। धार्मिक पर्यटनको विकास गरिने, वाम गठबन्धनले महानगरका सबै वडामा एकीकृत सेवा केन्द्र, स्वास्थ्यचौकी, सामुदायिक सेवा भवन र सुरक्षा चोक निर्माण लागि गुरुयोजना निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

‘एक घर, एक धारा’ को नीति लागू गरी कार्यान्वयन गर्ने, यातायाततर्फ सबै ग्रामीण क्षेत्रबाट वडा केन्द्रसम्म र त्यहाँबाट नगरपालिकाको केन्द्रमा एवम् प्रदेशको केन्द्रलाई आधुनिक सडक सञ्जालले जोड्ने प्रतिबद्धता छ। सडक स्तरोन्नति गर्ने, पोखरा उपत्यकालाई सडक सञ्जालले जोड्न रिंङरोड निर्माण गर्ने, ग्रामीण भेगमा फलफूल खेती तथा नगदेबालीको संरक्षण र विकासका लागि पकेटक्षेत्र घोषणा गरी उत्पादनमा जोड छ।

- अादर्श समाज सम्वाददाता