कांग्रेस अब के गर्छ ?

नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाली काँग्रेस सात दशकसम्म राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रही हाल किनारा लाग्न पुगेको छ। संविधान निर्माणका लागि संविधान सभाको वीजारोपण गरे पनि उक्त मुद्दा थाती राखेपछि वामपन्थी शक्तिहरुले कुनै न कुनै रूपले त्यो मुद्दा बेला बेलामा उठाइरहे। माओवादी आन्दोलनको अन्त्यतिर आइपुग्दा उक्त माग बलवान बन्दै गयो।

मुलुक २०६२।६३ को आन्दोलनपछि संविधान सभामा प्रवेश गर्‍यो। २०६४ र २०७० मा दुर्इ दुर्इ पटक भएको संविधान सभा निर्वाचनले बल्लतल्ल २०७२ मा आएर नयाँ संविधान जारी गर्‍यो। २०७४ मा त्यही संविधान अनुसार स्थानीय प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई मुलुक वामपन्थीको पकडमा पुगेको छ। राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको नेपाली काँग्रेस विगतको स्वर्णिम इतिहासलाई सिरानी हालेर अन्धकार भविष्यतिर डोरिएको छ।२००७, २०४६, २०६२।६३ का आन्दोलनहरुको नेतृत्व गरी काँग्रेस केन्द्रीय भूमिकामा रहे पनि २०६४ र २०७४ का निर्वाचनहरुले बामपन्थी शक्तिहरुलाई निर्णायक शक्तिका रूपमा स्थापित गरी काँग्रेसको जनमत र राजनीतिक प्रभाव अभूतपूर्व रूपले खुम्चिन पुगेको छ।

झापा आन्दोलनको नायक (तत्कालीन माले) हाल एमाले र २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शक्ति बीचको पछिल्लो चुनावी गठबन्धन र पार्टीएकीकरणसम्मका प्रयत्नहरुले राजनीतिक स्थिरता समृद्धितर्फ मुलुक लाग्ने झिनो आशालाई भने राष्ट्रिय सभा गठन अध्यादेश प्रकरणमा अल्झेको राजनीतिले शुभ सङ्केत गरेको छैन। बरु आगामी दिनहरु राजनीतिक स्थायित्वको सट्टा भूराजनीतिक चपेटामा परी स्थायी रूपले अस्थिर राजनीतितर्फ नेपाल फँस्न सक्ने खतराको सङकेतहरु मिल्न थालेका छन्।

नेपालका निकटतम दुर्इ छिमेकी मुलुकहरु भारत र चीन नेपाल मामिलामा सुरक्षा चासो र उनीहरुका आआफ्ना अन्य राष्ट्रिय हित अनुरूप बेग्लाबेग्लै रणनीतिका साथ सक्रिय हुने सङ्केत गर्दैछन्। विशेष गरी आर्थिक र पूर्वाधार विकासमा द्रुत गतिले विकास गरिरहेका नेपालका यी दुवै छिमेकी चीन र भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा पार्न गरिरहेको पछिल्लो अभ्यास विद्युतीय तथा छापा माध्यमहरुमा प्रक्षेपण भइरहेका छन्।

नेपालको पछिल्ला निर्वाचनहरुमा बामपन्थीहरुको दिग्विजयले पुलकित चीन र विस्मित अवस्थामा रहेको भारतीय नीति निर्माताहरुको पछिल्ला अभिव्यक्तिहरुले धेरै कुराको सङ्केत गरिरहेका छन्। दक्षिण एसियामा प्रवेश गर्न सुगम द्वार मानिएको नेपाल चीनका लागि रणनीति महत्वको क्षेत्र बन्दै गएको छ। भारत पनि आफ्नो विगतदेखिको प्रभाव क्षेत्र कमजोर हुन नदिने रणनीतिक हिसाबले नेपाल नीति बारे छलफल चलाइरहेको छ। सिक्किमलाई भारतमा गाभेपछि भारतीय रणनीतिकारहरूको तीर नेपालतिर सोझिएको ठानी भारतमा ८ वर्ष स्वनिर्वासनमा रहेका विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश र्फके। उनले मेलमिलापको शर्त राष्ट्रियता र प्रजातन्त्रलाई बनाए।

वीपीको निधन भएको आज ३५।३६ वर्ष बितिसक्दा पनि नेपालको भारतीय नीतिमा कुनै फेरबदल आएको छैन। बरु नेपालका विविध अङ्गहरुमा उसले आफ्नो पकड जमाउँदै गएको छ। यही पकडलाई लुज गर्न उत्तरी छिमेकी देश चिन पनि केही समय यता आएर निकै सक्रिय बन्दै गएको छ। यस स्थितिमा नेपालको राष्ट्रियता र प्रजातन्त्र अझै कमजोर अवस्थामा रहेको र यसलाई मजबुत बनाउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ।

राष्ट्रियता र प्रजातन्त्र जस्ता दुवै मुद्दाको बाहक नेपाली काँग्रेसको उपस्थिति केन्द्रदेखि स्थानीय तहसम्म क्रमशः कमजोर बन्दै गएको अवस्थामा नेपालका आगामी दिनहरु कसरी अगाडि बढ्दै जालान् ? र नेपाली काँग्रेसले के गर्ला ? भन्ने प्रश्न एक कोणबाट उठ्न थालिसकेको छ। पूर्व पश्चिम र दक्षिणतिर भारतले घेरिएको यो नेपाल भूपरिवेष्ठित मात्र होइन झण्डै भारत परिवेष्ठित स्थितिमा छ। भारतले २००७ सालदेखि २०४६, २०६२।६३ सम्मका आन्दोलनहरुमा खेलेको भूमिकालाई उत्तरी छिमेकीले पनि निकै रुचिपूर्वक हेरिरहृयो। राजतन्त्रको अन्त्यपछि र गणतन्त्रको स्थापना पछि ऊ आफ्नो भूमिकालाई निषक्रिय होइन प्रोएक्टिभ बनाउन थालिसकेको छ।

उत्तरतर्फ चीनले सीमा छोए पनि विकट हिमाली र पहाडी शृङ्खलाले अझै पनि चीनतर्फ आवत जावत कष्टकर नै छ। खुल्ला स्थितिमा रहेको भारतीय सीमा र यसमा भएको आवत जावत र सर्म्पर्कले दुवै देशलाई ज्यादै निकट पुर्‍यायो। तर सर्म्पर्क र यातायातमा उत्तरी चीन छिमेकी अझै सुगम त छैन त्यही विकट स्थितिलाई तोड्न पछिल्लो चिनियाँ नेतृत्वले पूर्वाधार विकासका लागि नेपाललाई आफ्नो वान बेल्ट वान रोड तथा बेल्ट एण्ड इनिसिएसन जस्ता योजना मार्फत समाहित गर्न आतुरताका साथ घचघचाइरहेको छ।

नेपाल पनि ओली सरकारको पालामा भारतीय नाकाबन्दीलाई असफल पार्न भनी उत्तरतर्फ पारवाहन सन्धी समेत गर्न पुगी नेपाल चीन सम्बन्धलाई नयाँ अध्यायमा प्रवेश गराउन पुगेको छ। सम्पूण्ा बाम गठबन्धन पनि त्यही चिनियाँ सपनालाई नेपाली सपना भन्दै नेपालका मतदातालाई भ्रममा पारी भोट कुम्ल्याउन सफल बने पनि नेपाली काँग्रेस जस्तो लामो इतिहास बोकेको प्रतिपक्षलाई समेत साथ र समर्थन लिएर अगाडि बढ्नुपर्नेमा काँग्रेससँग अहिलेदेखि नै सम्बन्ध बिगार्दै एकलौटी रूपले अगाडि बढ्ने सन्देश राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश प्रकरणमा दिइसकेको छ।

उता दक्षिणको छिमेकी देश भारत रिभर लिङ्किङ प्रोजेक्टलाई निकै गुपचुपका साथ नेपालका सीमा क्षेत्रहरुमा डुवान पार्दै अगाडि बढिरहेको छ। नेपालको जलस्रोत, खनिज, ऊर्जा, विद्युत जस्ता प्राकृतिक स्रोत र साधनमाथि क्रमशः ठूला भूक्षेत्र जनसङ्ख्या भएका दुवै छिमेकी देश चिन र भारतले अहिले आएर निकै आँखा गाडिरहेका छन्। लगानीका लागि समेत यी दुवैले तछाड मछाड गर्दै प्रतिस्पर्धा गरिरहेका छन्।

नेपालले यस्तो अवस्थामा आफ्नो राष्ट्रिय हित रक्षा गर्दै दुवै छिमेकीलाई सन्तुलनमा राखी दुवैबाट बराबर सहयेाग र समर्थन लिन सके मात्र नेपालको राजनीतिक स्थिरता र समृद्धि सम्भव छ। अन्यथा दुवै मध्ये एकापट्टि ढल्किने बित्तिकै नेपालको तराजु असन्तुलनमा पर्नेछ। भर्खरै स्थापित लोकतन्त्र र समृद्धिको चाहना पनि धरापमा पर्ने केही खतराका सङ्केतहरु पनि देखा पर्न थालेका छन्।

चीनको बेल्ट एण्ड इनिसिएसन बृहत् परियोजनालाई आफ्नो हित प्रतिकूल ठानी छिमेकी देश भारत चीनसँग भुटानको टोक्लाम प्रकरणमा आमनेसामने हुन पुग्यो। दक्षिण एसिया तथा दक्षिण पूर्र्वी एसियामा आआफ्नो प्रभाव विस्तार गर्न चीन र भारत अहिले रणनीतिक रूपमा चर्को प्रतिस्पर्धा गरिरहेका छन्। विश्व महाशक्ति राष्ट्र अमेरिका पनि बढ्दो चीनको प्रभाव र विस्तारले चिन्तित बन्दै यस क्षेत्रमा जापान, भारत, दक्षिण कोरिया तथा अस्ट्रेलियासम्मलाई रणनीतिक साझेदार बनाउँदै आफ्नो उपस्थितिलाई घनिभूत बनाउँदै छ।

युरोपियन युनियनका मुलुकहरु र बेलायत पनि कुनै न कुनै रूपले आफ्नो उपस्थिति जनाउन यस क्षेत्रमा प्रयासरत रछन्। यी सबै परिवेशमा नेपाल, भुटान जस्ता ससाना मुलुकहरु कतै साढेको जुधाइमा बाच्छाको मिचाइ हुने स्थितिमा त प्रवेश गर्दै छैनन् भन्ने स्थिति समेत देखा परेको छ। किनकि विश्व राजनीति र क्षेत्रीय राजनीति अब यही भूराजनीतिक अवस्थामा प्रवेश गरी क्रमशः अगाडि बढिरहेको छ।

यस स्थितिमा नेपाल जस्ता मुलुकले आफ्नो भौगोलिक अखण्डता र राष्ट्रिय अखण्डता जोगाउँदै यस क्षेत्रमा सक्रिय हुन खोजेका राजनीतिक खेलाडीहरु बीच सन्तुलित व्यवहार गर्न सकेन भने हालसम्मको राजनीतिक उपलब्धि र देशको अस्तित्व समेत खतरामा पर्ने जोखिमहरु पनि त्यतिकै बढ्दै गएका छन्। विशेष गरी दक्षिण एसियाको मत्ता हात्ती उपमा पाएको भारत र यसका पछिल्ला गतिविधि छिमेकीहरुसँगको व्रि्रदो सम्बन्धले यसको पुष्टि गर्दै गएका छन्।

त्यसरी नै ड्रागनको उपमा पाएको उदाउँदो विश्व शक्ति चीनको सक्रिय उपस्थितिले दक्षिण एसियामा अर्को तनाव सिर्जना गर्न पुगेको छ। साथै विश्व शक्ति मानिएको अमेरिका पनि जापान र भारत समेत यस क्षेत्रमा रणनीतिक रूपमा सहकार्य गरिरहेका छन्। यसरी ठूला शक्ति राष्ट्र र क्षेत्रीय शक्तिहरु आआफ्नो अस्तित्व रक्षाका लागि सक्रिय भइरहँदा नेपाल जस्तो भू सामरिक स्थितिमा रहेको मुलुकले यी सबै घटनाक्रमहरुलाई अनदेखा गरी भावी रणनीति बनाउन हुँदैन। त्यसैले सर्वप्रथम राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि सबै राजनीतिक शक्तिहरु बीच एकबद्धता र सहकार्यको खाँचो अहिले बलियो रूपमा खड्किएर रहेको विषय हो।

संसदीय व्यवस्थामा फितलो अडान भएका बाम शक्तिहरु अब पाँच वर्षसम्म सरकार चलाउने जनादेश लिएर नेपालको राजनीतिमा हावी हुँदैछन्। संसदीय व्यवस्थाको हिमायती ठान्ने नेपाली काँग्रेस निकै कमजोर अवस्थामा संसदमा प्रतिपक्ष दलको भूमिकामा रहने गरी सत्ताबाट बहिर्गमन हुँदै छ। बहुराष्ट्रियताको वकालत गर्दै आएका मधेशवादी दलहरु निकै लामोसमयदेखि भारतको रट पाएर विगतका विभिन्न आन्दोनलहरुमा उत्रिएर नाकाबन्दी प्रकरणमा समेत मुलुकलाई आर्थिक रूपमा थला पार्ने गरी प्रस्तुत भए। अझै उनीहरु भारतकै आडमा संविधान संसोधनको रट लगाउन छाडेका छैनन्।

त्यसै गरी बामपन्थी गठबन्धनले पनि आफ्नो राम्रो पकड भएमा राष्ट्रपतीय प्रणालीमा जाने रट लगाइरहेका छन्। उनीहरु अझै पनि नेपाली काँग्रेस र २ नं. प्रदेशमा बलियो उपस्थितिमा रहेका मधेश तराई केन्द्रित दलहरुको खुम्चेको प्रभाव तराइभर क्रमशः खुम्चेको आँकलन र मनन गरी त्यही अनुरूपको आगामी रणनीति तयार पार्न भित्रभित्रै गृहकार्यमा जुटिरहेका छन्।

उता नेपाली काँग्रेस पनि विगत निर्वाचनहरुमा मधेशी नेताहरुलाई जिताउन सकारात्मक भूमिका खेले पनि ती दलहरुले काँग्रेसलाई हराउन अझै कमजोर पार्न हदसम्म प्रयत्न गरिरहे। काँग्रेसले यी सबै परिवेशलाई कसरी मूल्याङ्कन गरिरहेको छ। काँग्रेसले गर्न खोजेको चुनावी गठबन्धन स्थानीय देखि प्रदेश र राष्ट्रिय निर्वाचनसम्म उसका लागि प्रत्युत्पादक बनेको आम ठम्याइरहेको छ। विशेष गरी स्थानीय चुनावमा गरेको माओवादीसँगको गठबन्धन र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा राप्रपासँग गरेको गठबन्धनले काँग्रेसका भोट काट्ने। प्रभाव खुम्च्याउने र बामपन्थीतिर मतदाताहरु लहसिने आधारहरू बने।

काँग्रेसका नाराहरु पनि राष्ट्रियता, लोकतन्त्र र समाजवाद सबै विपक्षीहरुले खोसेर आफ्नो पेवा बनाइ काँग्रेसलाई नङ्ग्याउनसम्म नङ्ग्याए। अब काँग्रेस केही समय माथि उठ्नै नसक्ने गरी थला मात्र परेको छैन पेचिलो बन्दै गरेको भूराजनीतिक अवस्थामा काँग्रेसले अब आफ्नो अवस्थालाई कसरी प्रस्तुत गर्छ त्यो गर्भमा रहेको छ। यद्यपि काँग्रेस अहिले शृङ्खलाबद्ध रूपमा ड्रि्रेसनले अझ थला पर्न खोजेको सङ्केत पछिल्ला उसका गतिविधि र अभिव्यक्तिहरुले दिन थालेका छन्।

यस्तो स्थितिमा बामपन्थी र स्वयमं काँग्रेसले निर्वाचनका बेला जनतामा प्रवाह गरेको राजनीतिक स्थायित्व र मुलुकको समृद्धि कसरी प्राप्त होला थला पर्दै गएको प्रतिपक्षी अवस्थामा पुग्न लागेको काँग्रेस मुलुकको लोकतन्त्रको पहरेदार हुन सक्ने हो कि होइन – प्रचण्ड बहुमतका साथ सत्तामा गएका बामपन्थी शक्तिहरुलाई सत्ताको उन्माद र मातमा नियन्त्रण र सन्तुलनमा राख्न सक्रिय क्षमता र खुबी काँग्रेसले आर्जन गर्न सक्छ कि सक्दैन – जस्ता प्रश्नहरुको ओइरो निरन्तर लागिरहेको छ। यही चिन्तनले गर्दा हालै सम्पन्न निर्वाचनबाट राजनीतिक स्थायित्वको लागि आश र भर गरेका आम मतदाता र नेपाली जनताहरु बेग्लै चिन्ता र चासोका साथ आफ्नो भविष्य खोजिरहेका छन्।

संसदीय व्यवस्थामा बलियो र स्थिर सरकार तथा त्यतिकै प्रभावशाली प्रतिपक्षको नितान्त जरुरी हुन्छ। जसले गर्दा दुवै जनमतलाई सन्तुलनमा राखी राजनीतिक व्यवस्थाको सुदृढीकरणका लागि ठूलो सहयोग पुग्दछ। माथि उल्लेखित विश्व राजनीति, क्षेत्रीय राजनीति र नेपालको भूराजनीतिक अवस्थाको चित्रणलाई ध्यानमा राख्दा निकट भविष्यमा नेपाल समृद्धि तर्फ जाला कि अझै केही बेर अलमलिने हो आशङ्काको नजरले हेर्ने जनमत पनि देखा पर्न थालेको छ।

नेपाली काँग्रेस लामो इतिहास बोकेको ठूलो पार्टीकतै नेपालकै जेठो पार्टीप्रजापरिषद त बन्दै छैन ? तथा उत्तरी देश चिनलाई आधुनिकीकरण र गणतन्त्रमा लैजान प्रमुख भूमिका खेलेको दल कुमिनताङ जस्तै त बन्दै छैन ? नेपाली काँग्रेस। किनकि डाक्टर सन्यात्सेनले नेतृत्व गरेको कमिनताङ पार्टीकाई माओको उदयले सखाप मात्र पारेन उनी भागेर ताइवानतिर पलायन हुन पुगे।

त्यसरी नै दक्षिण छिमेकी देश भारतको भारतीय राष्ट्रिय काँग्रेस भारतको स्वतन्त्र सग्रामदेखि भारतको विकासमा महत्वपूर्ण भूमिका खेले पनि पछिल्लो निर्वाचनमा मोदीको उदय र काँग्रेसको लज्जाजनक हारले भारतीय राजनीति अहिले अचम्मसित गुज्रदै रहेको छ। कतै नेपाली काँग्रेस यी तीनओटा पार्टीमध्ये कुनै एकको हविगत बेहोर्न अभिशप्त बनेको त छैन – जस्ता प्रश्नको घेरामा अहिले ठिङ्ग उभिएर रहन पुगेको छ।

चीनियाँ राजनीतिक प्रभाव र प्रेरणाबाट अहिले नेपाली जनमत आफ्नो पक्षमा पार्न सफल बाम गठबन्धन अब भविष्यमा सत्तँको चावी हातमा लिएर आफूलाई कसरी प्रस्तुत गर्ला ? स्थानीय, प्रदेश र केन्द्रीय संसदमा कमजोर उपस्थिति जनाउन पुगको काँग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको सम्मानजनक जनमत र प्रत्यक्षतर्फ प्राप्त गरेको लज्जाजनक हारलाई कसरी मूल्याङ्कन गरी आफूलाई थला परेको स्थितिबाट जोगाउँदै सुधार गर्दै जाला – राष्ट्रिय राजनीतिमा कसरी प्रस्तुत होला ? जस्ता प्रश्नहरुले पनि आम मतदाता र नेपाली जनतालाई अहिले उद्देलित पारिरहेको छ।

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश प्रकरणमा बाम गठबन्धनले देखाएको रवैया र काँग्रेसको अडानले सत्ता बहिर्गमन कसरी होला जस्ता पछिल्ला पेचिला प्रश्नहरुको तार्किक निराकरणरले पनि आगामी दिनमा दलहरुले लिने बाटो र नीति केही हदसम्म प्रष्ट हुनेछ।

नेपाली जनताले आश गरेको राजनीतिक स्थायित्व र समृद्धिको सपना साकार पार्न आगामी सत्ताधारी बाम गठबन्धन र भावी प्रतिपक्षी दल नेपाली काँग्रेस कसरी प्रस्तुत हुन्छन् – सत्ता पक्षको साँचो लिन तम्तयार रहेको बाम गठबन्धन र प्रतिपक्षको भूमिका निर्वाह गर्न जनादेश प्राप्त काँग्रेस अब के गर्छ – भन्ने अहिलेको जनचासो र चिन्ता यसैमा केन्द्रित रहेको छ। यो चिन्तालाई दूर गर्ने जिम्मा यी दुवै ठूला राजनीतिक शक्तिहरुको काँधमा आइपरेको छ।

(लेखक त्रिविविका प्राध्यापक हुन्। सं.)

- पद्मशरण रेग्मी