कवाडी र राजनीति

नेपालमा कवाडीको व्यवसाय शुरु भएको धेरै वर्ष भएको छैन। कवाडी भनेको कुनैपनि काम नलाग्ने बस्तुलाई फाल्नु जस्तै हो। कुनैपनि चिज पुरानो भयो, विग्रियो र केही काम लागेन भने त्यो चिज अवश्य फालिन्छ। यसरी फालिएको चिजलाई कवाडी संकलकहरुले सस्तो मूल्यमा लान्छन् र त्यसलाई प्रशोधित गरेर कुनै उपयोगी सामान बनाएर विक्री गर्छन। यो राम्रो कुरा हो यस्वाट स्वतः बातावरण सफा हुनुको साथै नचाहिने पुराना सामानहरुबाट मुक्ति मिल्छ।

आज गाउँ शहर बजारमा यस्ता कवाडी सामान संकलन गर्ने थुप्रै स्वदेशी विदेशीहरुको समूह नै छ। खास गरी यस्तो व्यवसायमा भारतीयहरु बढी संलग्न छन्। किनकि यस्ता कवाडी सामानहरु भारततिरै पैठारी हुन्छ र त्यस्लाई प्रशोधित गर्न नेपालमा कलकारखाना नभएकोले यस्को फाइदाहरु उनीहरुले लिइरहेका छन्। कवाडी संकलकहरुले भारतमा गएर भन्ने गर्छन। नेपालको गल्ली गल्लीमा सुन पाइन्छ। हामी नेपालीहरु पुरानो चिजहरु त फाल्छौँ नै काम नलाग्ने, अलिकति सफाई र मर्मत गरेर हुने, चिज पनी हामी कवाडी भनेर फालिदिन्छौँ।

आजको जमाना भनेको पैसाको हो। पैसालई चिनेर जस्ले जोगाउन जान्यो उस्ले कमायो। कमाउन सजिलो छ तर त्यस्लाई जोगाउन गाह्रो छ। नेपालीहरु धेरै विलासी छन्। पैसालाई पानी सरह फाल्न हामी हिच्किचाउदैनौँ। यही कारण हो कि हामीलाई सधैँ असन्तुष्टी र समस्याको दास हुन परिरहको छ।

आजको जमाना भनेको आधुनिक युग हो। सारा संसार एउटा मोबाइलको सिमकार्डमा सीमित भएको छ। सारा उपग्रहदेखि लिएर पृथ्वीका कुना काप्चाहरु कोठामा सीमित भएका छन्। यो एउटा बौद्धिक विकासको नमूना हो। हामी त्यसैको पछि दगुर्दै छौँ तरपनि हामी धेरै पछि छौँ ।

हामी पछि पर्नुको कारण देशमा लामो समयदेखि अस्वस्थ राजनीति, हुनु हो। नेपालमा पनि सयौँ वर्षदेखि ठूल्ठूला विद्वानहरु, वकीलहरु, वैज्ञानिकहरु छन् योग्य इमान्दार नेताहरु पनि छन् तर के गर्ने स्रोत र साधनको अभावमा सबै कवाडी हुन्छन्। नयाँनयाँ आकर्षक कार्यक्रम आउँछन् तर दुर्इ तीन वर्षमै कवाडी बनेर फ्याकिन्छ कार्यान्वयनमा नै हुँदैन।

यस्तै यस्तै छ नेपालको विडम्बना समयअनुरुप उहिलेको भन्दा केही त विकास भयो होला तर जहाजमा बसेर हेर्‍यौँ अथवा अलि अग्लो डाँडाँमा गएर हेर्‍यौँ भने विकास जम्मै एउटा कवाडीको थुप्रै थुप्रो जस्तो देखिन्छ। अव्यवस्थित रुपमा बनेका घर टहरा, विजुली, टेलिफोन, केवलका तारहरु ढल खानेपानीको पाईपहरुले गर्दा शहर बजार मात्र नभएर देश नै कुरुप भएको छ। धूँवा, धुलो, फोहर दुर्गन्ध र जथाभावी खानाले जनता रोगी अस्वस्थ छन्। आज औषधि, अस्पताल र चिकित्सक  सवै पैसा कमाउने थलो भएको छ। शिक्षा पाउन कठिन छ बच्चाहरु पढाउन सानै देखि पैसाको खोलो बगाउनु पर्छ।

यसरी नेपालमा बस्ने नेपालीहरु आर्थिक अभावले अति ग्रस्त छन्भने छिमेकी राष्ट्र चीन र भारत अति संम्पन्न बनेर तमासा हेर्दै बसेका छन। यो हाम्रो निम्ति दुर्भाग्यको कुरा हो कि हामी आत्म निर्भर बन्न सकेका छैनौँ। हामी आफ्नो समस्याको लागि अरुको मुख ताक्न मात्र जानेका छौँ समस्या समाधान गर्न जानेका छैनौँ। हाम्रो वीरता, क्षमता, सवै कवाडी बनेका छन् यही नै हाम्रो दुर्भाग्य हो। हामीमा चेतना छैन, ज्ञान छैन, शिक्षा छैन, यही कारण हो कि हामी घरको सानो विजुलीको तार लुज भयो भने बनाउने मान्छे खोज्छौँ।

आजको परिवर्तनशील युगमा समयअनुरुप परिवर्तन हुनु आवश्यक छ। यदि परिवर्तन हुन जानेनौँ भने हामी पुराना कवाडी जस्तै हुनेछौँ। आफूलाई परिवर्तन गरौँ, आफूलाई विझेको काँढा आफै निकालौँ। आफ्नो डाक्टर आफै बनौँ। रोगी, बिरामी हुनु ठूलो अभिशापको कुरा हो जस्ले गर्दा धन सम्पतिको नाश मात्र होइन् आफ्नै परिवारबाट समेत अपेहिलत भईन्छ। यसैले बैलेमा सचेत रहौँ।

हाम्रो देश नेपाल धार्मिक परम्परा, मठ-मन्दिर, मूर्तिमा आस्था राखेर बनेको सिङ्गो देश हो। हिन्दुधर्मको फराकिलो आँगनमा विश्वका सबै धर्महरु अटाउन सक्छन्। प्रत्येक मानवमा धर्म-धर्ममा कुनैपनि भेदभाव रहनु हुदैन भन्ने मान्यता हुनुपर्छ। अन्यथा धर्मको व्यापार हुन्छ व्यापारमा ठगी हुन्छ, पाप हुन्छ सबैकुरा हुन्छ। आज जताजतै धर्मको व्यापार भईरहेछ, धर्मको किनबेच भईरहेछ तर यो राम्रो कुरा होर्इन प्रत्यक्षमा केही सुख लाभ होला तर अप्रत्यक्ष रुपमा आत्म-शान्ति पाईदैन। एउटा तथ्यकुरा हामीले खोज्नु पर्छ जस्बाट हाम्रा समस्याहरु सुल्झदै जाऊन्। मुलुक सबै जातिहरुको फूलबारी होवोस्। आज देशमा निर्वाचन भएर नयाँ-नयाँ सुयोग्य राजनीतिज्ञ व्यक्तिहरु जनहितका लागि कम्मर कसेर आएका छन्। जनताको माझँमा आएर कस्तो प्रतिक्रिया दिने हो त्यो हेर्न बाँकी नै छ। कस्को के लक्ष छ त्यो आजका जनताले राम्ररी बुझेका छन्। तर पनि हाम्रो मुलुकमा अझै पनि पुरानै शैली छ। निर्वाचित जन-प्रतिनिधि भए पनि कर्मचारीहरु पुरानै छन्। जनविकासमा आएको बजेट नेता र कर्मचारीहरुले फुस्रो आडम्वरमा सखाप पार्छन्। यसरी जनताको आँखामा धुलो फ्याकेर ठूला बडाहरुको चापलुसी र चाकडी गर्दै आफ्नो अयोग्यपनको फाईदा लिन्छन्।

आज हाम्रो समाजमा शिक्षित योग्य युवा-जोसहरु काम नपाएर कवाडी जस्तै बनेका छन् भने कतिपय विदेश पलायन भएका छन्। तर अशिक्षित, अयोग्य असक्षम व्यक्तिहरु आजपनि उच्च कुर्चीमा बसेर शासन गरिरहेका छन्। अस्वस्थ राजनीति हावी छ। कुनैपनि विकास कार्यमा दीर्घकालीन लक्ष हुदैन, सामाजिक स्वार्थलाई पर धकेलेर निजी स्वार्थवश अल्पकालीन कार्यलाई मात्र प्रश्रय दिईन्छ। आउँदो भविष्यप्रति रत्तिभर चिन्ता गरिँदैन। यहीकारण हो कि यहाँको कुनैपनि भौतिक कार्य दिगो छैन।

आज सरकारका पदाधिकारी र कर्मचारीहरुको जस्तोसुकै अवस्था भएपनि नागरिकहरु सचेत एवं जागरुक हुन जरुरी छ। यसरी हरेक कुराहरु कवाडी जस्तो फ्याँक्न नपरोस्। जुनसुकै अवस्थाका साधन स्रोतहरुलाई हामी समय अनुरुप सदुपयोग, गर्न सकौँ। पैसालाई मात्र धेरै महत्व नदिऊँ। पैसा र नोटका टुक्राहरुपनी आज कवाडीको थुप्रो भैइसकेको छ। एउटा घडेरी किन्न करोडौँको थुप्रो चाहिन्छ। पैसाको थुप्रै-थुप्रो लाग्नेछ तर खानलाई एक गेड अन्न पनि पाईने छैन।

पैसा, सुनचाँदी, हिरामोती संम्पत्ति भन्नेकुरा एउटा झूठो, कवाडी मात्र हो। सुनको पल·मा मानिस मर्छ तर उस्ले आत्मशान्ति पाएको हुदैन। सास रहेसम्म असन्तुष्ट नै रहन्छ मान्छे। यसैले पैसाको लागि पाप नगरौँ। बाँचिञ्जेल जे छ, जस्तो छ दुर्इछाक सन्तुष्ट भएर खाउ। बढी कमाएर धन थुपार्नु कवाडी जस्तो हो जस्ले गर्दा स्वयं आफैलाई भार पर्न सक्छ।

- धर्मराज रन्जीत