कठै ∕ पोखराका वर-पीपल

एक महिना अघि पोखरा-लेखनाथ महानगरपालिका स्थित पालिखेचोक बरपीपलका वृक्षमा डोजर लगाइयो, मियाँपाटन र कुँडहर चौतारामा बञ्चरो, खुर्पा चलाइयो। अहिले ती स्थानहरु खुला छन्। पालिखेचोक पार्किङ स्थलका रुपमा प्रयोग भइरहेको छ भने मियाँपाटन उजाड बनेको छ। कुडँहरमा ठुन्क्याइएका विशाल हाँगाका ससाना मूढाहरु बनाएर राखिएका छन्। प्रत्यक्षतः पोखरामा केही दशक अघि बरपिपलको बाक्लो उपस्थिति थियो। राजनीतिक परिवर्तनपछि ठूला रुखहरु क्रमशः हराउँदै गए। कतै सडक चक्लाउने, कतै वरपर घर बनाउने क्रममा प्रबुद्ध उनै पदाधिकारीहरुले अर्जुन दृष्टि लगाए। अन्ततः विकल्प एउटै देखियो, चौतारीलाई मास्ने। हतियार चलाएपछि अलिकति भने पनि जनहित गर्ला भन्ने अनुमानले बूढा रुखहरु काटिए। वडा कार्यालय हाम्रा सम्पदा अधिकारी। कतै बाटो फराकिलो बनाउनुपर्ने, कतै छिमेकीलाई रिझाउनुपर्ने। वातावरणीय प्रभाव मूल्यांकनको सिद्धान्तअनुसार बाटो निर्माण गर्दा वातावरणीय महत्त्वको कुनै पनि वनस्पति मासिन गएको खण्डमा बाटो घुमाएर लैजानुपर्छ।

अहिलेको बस स्टेशनजस्ता जमानाका चौतारा। मोटरमार्ग नहुँदा बटुवाहरुका विश्रामस्थल, तिनै चौतारीले  थकित बटुवा, भरियाहरुलाई थकाइ मेटाए, सिर्सिर वायु खुवाए, हप्प तातेको दिमाग ठण्डा गराए। सभा, सम्मेलन, बैठक स्थान चौताराहरु। हरामविराम गर्दा न्याय दिने स्थल, देवता भाकेर कसम खुवाउने चौतारा। कसैलाई भेटघाट स्थल तोक्नु पर्दा भेटघाट केन्द्र। चौताराहरुलाई धेरै उपमा दिन सकिन्छ। ऐतिहासिक केन्द्र हुन्, सामाजिक, साँस्कृतिक, धार्मिक महत्त्व बोकेका बूढा रुखहरु। अहिले साधुलाई सुली, चोरलाई चौतारो भएको छ।

लाँकुरी, आँप, डुम्री, समी आदिका चौताराभन्दा बरपीपललाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ। यी वृक्षका मोटाइ, अग्लाइ र फैलावट अरु वृक्षभन्दा बाक्लो हुन्छ। त्यसैले गुणस्तरीय दृष्टिले वरपीपलको जोडीलाई मानव सभ्यतादेखि नै नजिकको सम्बन्धको रुपमा लिइएको छ। यो विश्राम स्थलको रुपमा मात्र सीमित छैन। निश्चित स्थान पार गरेपछि अर्को हेमजाको अर्को स्टेशनमा खोकना बिसाएर हिमालतिर हेर्थे, हाम्रै पुर्खाहरु। पोखरास्थित राष्ट्रबैंकचोकबाट सिर्जनाचोकसम्म धेरै संख्यामा निश्चित दूरीमा अझै पनि चौताराहरु देख्न सकिन्छ। पैदलमार्गमा यी चौताराले दिनसम्म आनन्द दिए। राजमार्ग निर्माण नहुँदै काठमाडौं पोखरा जोड्ने लगायत अन्य स्थानमा हजारौ चौतारीहरु हुन्थे, कतै बास बस्नको लागि पाटीपौवा। पुण्य कमाउनका लागि अझ ग्रागाभरि पानी राखिन्थ्यो। जमानाले कोल्टो फेर्‍यो। पृथ्वी राजमार्ग निर्माण भएपछि मान्छे हिंड्न छोडे। भएका चौताराहरुको त्यति सर्म्बर्द्धन हुन सकेन। बाटोबाटोका धार्मिक महत्त्वका बोटबिरुवाहरु ओझेलमा पर्न थाले। भएका वृक्षहरु संरक्षण हुन छोडे। कतिपय मोटरबाटो पर्ने चौताराहरुमा आधुनिक सम्यताका नातिपुुस्ताहरुले हात्तीजस्तो ठान्न थाले। क्रमशः बिस्तारैबिस्तारै बाँकी रहेका चौताराहरु पनि लोपको संघारमा पुग्न लागे।

ऐतिहासिक महत्त्व बोकेको चौतारा प्रतिको दृष्टिलाई यत्तिकै छोट्याउन सकिन्छ। यसमा धेरैले शंका-उपशंकाले विभिन्न मत राखे। वृक्षको माया हुनेहरुले देवीदेवताका वासदेखि लिएर स्वच्छ वायुको फ्याक्ट्रीसम्मको कुरा गरेको सुनियो। पछिल्ला दिनमा पीपल वृक्षलाई शहरिया संस्कृतिले खासै महत्त्व दिएको पाइदैंन। शहरबजारमा कताकतै देखिएका बृक्षलाई यथोचित संरक्षण भन्दा पनि स्वार्थमा हाँगाविगा छिमोल्ने, जरै उखेल्नेे र गर्मीमा शीतल दिने चौतारोलाई नामोनिशानै नराखी फाल्ने संस्कृति बढेको देखिएको छ। अहिले जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीड भन्ने उखान चरितार्थ छ। राम्रो पोखरा बनाउनेहरु भन्छन्, ‘चौताराले सडकलाई बाधा पुर्‍यायो। वनस्पतिविद्हरु भन्छन्, ‘महत्त्व नबुझिकनै फालियो।’ धार्मिक अनुयायी भन्छन्, ‘देवीदेवताका निवास उप्काइयो।’ आयुर्वेदाचार्य भन्छन्, ‘सहस्र बुटीलाई ध्वस्त पारियो।’ वनस्पतिशास्त्रको एउटा हाँगो डेन्डोक्रोनोलजीले पुराना लगाइएका रुखहरुले मानवबस्ती, हिमनदी, लगायतका मिति एकिन गर्दछ। यसबाहेक यसले सम्बन्धित स्थानको जलवायु परिवर्तन अवस्था जानकारी दिन्छ। यो पर्यावरणको अभिन्न अंग हो।

पुरानो पोखरालाई हेर्ने दृष्टिकोण र आधुनिक बुझाइ आकाश-पातालको छ। प्रशस्त बरपिपलका चौतारी र सानातिनादेखि ठूलाठूला पोखरी, तालतलैया भएको यो स्थल अड्डा-अदालतदेखि लिएर सम्पूर्ण सरकारी कामकाजका लागि धाउने स्थल पोखरा हो। २०४६ सालको जनआन्दोलनपछि धेरै कंक्रिटका भवन, घरहरु बन्ने क्रम होडबाजीजस्तै भइसकेको अवस्था छ। न जाडो न गर्मी प्रकारको हावापानीको स्थल रहेको हुँदा यो स्थान तराई र लेक क्षेत्रको भन्दा उपयुक्त खालका वनस्पतिहरु रहेको छ। पीपल पतझर वर्गको एक धार्मिक वृक्ष हो। यो लगभग ३० मिटर अग्लो ३ मिटरसम्मको यसको मोटाइ हुन्छ। यसको झण्डै पानको पातजस्तै देखिने यसको फल गुच्चाकारको हुन्छ। झ्याम्म हाँगाबिगा चारैतर्फ गएका हुन्छन्। पीपल र वरको पातको डाँठ अन्य पातको भन्दा लामो (६ देखि १० सेन्टिमिटरसम्म) हुन्छ। यही लामो भएको कारण यो अघिपछि राम्ररी हल्लन्छ। शुद्ध वायु दिन्छ। धार्मिक मान्यता अनुसार पीपललाई भगवान विष्णु र वरलाई शंकरको स्वरुप मानेको कारण यस रुखलाई मास्न, वा काट्न हुँदैन। यसले संरक्षणको भाषा बोलेको छ। वरपीपल दीर्घायु प्रकृतिका हुन्छन्। शीतलता दिने, औषधीय तथा प्रदूषणरहीत, गुणले परिपूर्ण गुण छ भने पर्यावरण जोगाउन समेत यसले भूमिका खेलेको छ। वायुमण्डललाई स्वच्छता राख्ने कार्य गर्दछ। पिपल वृक्षमा सेरोटिनोनजस्तै मेलाटिनोन भन्ने रसायन पाइन्छ यो मानव स्वास्थ्यका लागि अत्यन्तै हितकर छ।

अक्सिजनको स्रोतः पिपललाई अक्सिजनको राम्रो मानिएको छ। यसले चौबीसै घण्टा तुलसी समान अक्सिजन ग्याँस दिन्छ। एक अनुमान अनुमान अनुसार यसले प्रति घण्टा १ हजार ७ सय १३ लिटर अक्सिजन उर्त्र्सजन गर्छ। २ हजार २ सय ५२ लिटर अक्सिजन लिएर आफ्नो खाना बनाउँछ।

धर्ममा पीपलः पीपलको वानस्पतिक नाम फाइकस रेलिजियोसा हो। रेलिजियोसाको अर्थ नै धर्मसित जोडिएको छ। हिन्दू, जैन र बौद्धमार्गीहरु समेत पीपलको गुणगान गाएका छन्। श्रीमद्भागवद गीताको दशौं अध्यायको तेस्रो श्लोकमा श्रीकृष्णले म वृक्षमा पीपल हुँ भन्नुभएको छ। स्कन्दपुराणले पनि उल्लेख गरेको छ, पीपलको जरामा भगवान् विष्णु, काण्डमा केशव, हाँगामा नारायण र फलमा अच्यूत भगवानको निवास हुन्छ। त्यसैले साधु, सन्त महन्तहरुले यही रुखमुनि अन्तर्ध्यान गर्दछन्, पूजा गर्नेहरु ससम्मान परिक्रमा गर्ने गर्दछन्। बरपिपलको बिहे पनि गर्दछन्। भगवान् गौतम बुद्धले भारतको बिहारस्थित बोधगया भन्ने स्थानमा पीपलकै वृक्षमुनि बुद्धत्व पारेका थिए। यसलाई बोधी वृक्ष पनि भनिन्छ। स्कन्दपुराण र वामनपुराणले सरस्वती नदी ब्रम्हाको कलशबाट यही वृक्ष भएर बगेको कुरो बताइएको छ। ऋग्वेदमा पनि सरस्वती नदीको स्रोत पीपल भएको बताएको छ। पीपलको पातमा भगवान् विष्णुको निवास हुन्छ भनिएको छ। विधिपूर्वक यस वृक्षको पूजाअर्चना गर्नाले सम्पूर्ण देवीदेवता खुसी हुने विश्वास छ। एक धार्मिक मान्यता अनुसार पीपलको वृक्ष लगाउनेले आफ्ना परिवारमा सुख, समृद्धि प्राप्त हुने र स्वधर्म कहिल्यै नष्ट नहुने कुरो बताइएको छ।

आयुर्वेदमा पीपलः आयुर्वेदाचार्य बालकृष्णका अनुसार रक्तमासी परेमा पिपलका कलिला मुना, धनियाँका बीउमा बराबर मात्रामा चिनी मिलाएर पिनेर दिनको दुर्इ पटक खाने गर्नाले रक्तमासी नियन्त्रणमा आउछ। खानामा रुचि कम भएमा पाकेको पीपलका गेडा खाने गर्नाले खोकी, पित्त र अन्य रक्तसम्बन्धी समस्या, पोल्ने र वान्ता आउनेजस्ता समस्या समाधान हुन्छ। पेट दुखेमा साढे २ ग्राम जति पीपलको पात र ५० ग्राम शखर मिलाएर साना गोलि बनाएर दिनको तीनचार पटक खाएमा पेट दुखेको शान्त हुन्छ। त्यसरी पाकेका पीपलका दाना र बोक्रालाई छु्ट्टाछुट्टै पिंधेर मिसाएको रसलाई दिनको तीनपटक खाँदा दमको रोगीलाई लाभ पुग्दछ। सर्पले टोकेमा पीपलका पातलाई पिधेंर छानेको रस दुर्इदुर्इ चम्चा खानाले सर्पको विषको असर कम हुन्छ। पीपलका कलिला पात खाने गर्नाले चिलाउने र छालासम्बन्धी रोग निको हुन्छ। दादमा ५० ग्राम पीपलको बोक्राको खरानी र कागती र ध्यू राम्ररी मिलाएर बनाएको लेप दाद आएको स्थानमा लगाउनाले दुखेको निको हुन्छ। पीपलको चोप वा पातको रस हातखुट्टा फुटेको ठाउँमा लगाउनाले फाइदा पुग्दछ। कब्जियतमा पीपलको ५ देखि १० ओटा गेडा खानाले कब्जियत हट्छ। यसैगरी कलेजो, फियोको समस्या, आँखा वा दाँत दुखेमा पनि पीपलका विभिन्न भागबाट लाभ पुग्दछ।

समग्रमा भन्दा चौतारा हाम्रा सम्पदा हुन्। यिनको चौतर्फी महत्त्व छ। तसर्थ यसको गुणकारी पक्षलाई बुझेर कार्य सम्पादन गर्नु बुद्धिमानी हुनेछ।

- कल्याण पन्त